+
+
Shares

आमाको काखदेखि कक्षाकोठाको दुरी : मेरी ममी खोइ ?

शैक्षिक सत्रको शुरुआती दिनहरूमा विद्यालय वरपर अभिभावकहरूले बाटोभरि आफ्ना नानीबाबुहरूलाई रुवाउँदै घिच्याउँदै लगेको समेत देख्दा त मलाई उपत्यका बाहिरबाट राँगा–भैंसी काठमाडौं ओसारेको ट्रकको झझल्को आउँछ ।

बुद्धिकुमार श्रेष्ठ बुद्धिकुमार श्रेष्ठ
२०८२ वैशाख २५ गते २२:०३

गत वर्ष माघतिरको कुरा हो, प्रारम्भिक बालविकास सम्बन्धी परियोजना शुरू गर्नको लागि सम्भाव्यता र आवश्यकता विश्लेषण गर्न विद्यालय भ्रमण गर्ने क्रममा एउटा विद्यालयमा पुग्यौं ।

करीब २५०० विद्यार्थी अध्ययन गर्ने गरेको उक्त विद्यालय जिल्लाकै चर्चित रहेछ । प्रधानाध्यापकले विद्यालयमा भौतिक पूर्वाधार राम्रो भएको र गुणस्तरीय शिक्षा प्रदान गरिने जानकारी दिनुभयो । यी कारणले विद्यार्थीको अत्यधिक चाप रहेको, थुप्रै विद्यार्थी निजी विद्यालय छाडेर आएको र कति विद्यार्थी त भर्ना नपाएरै फर्केको बताउनुभयो ।

गुणस्तर कायम गर्न सीसीटीभी जडान, अंग्रेजी माध्यममा पढाइ गरिने, विद्यालयले तयार गरेका मापदण्ड र नियमको कडाइका साथ पालना गरेको, कक्षा १० मा पुग्नासाथ अनिवार्य डे बोडर्स, खाली कक्षाको लागि अर्को शिक्षकको व्यवस्था लगायत विशेषता बारे जानकारी पाइयो ।

यसले विद्यार्थी बेफुर्सदिलो र जतिबेला पनि व्यस्त बनाइने गरेको रहेछ । यसरी व्यवस्थापन गरेर विद्यालयले दिएको सेवा सँगै स्तरीय शिक्षा सम्बन्धमा उहाँबाट हल्काफुल्का दीक्षित भएपछि हामी बालकक्षातिर गयौं ।

एउटा सामान्य आकारको बालकक्षा कोठामा ३५ जना जति बालबालिका राखिएको रहेछ । भित्तामा ठूला अक्षरमा ए बी सी डी लेखिएको छ । सबै भित्ताहरू रंगीविरंगी बनाएर सजाइएको रहेछ ।

एउटा कुनामा ४२ इञ्चको टीभी झुन्ड्याइएको, कार्पेट माथि बस्ने चकटी र सानो उचाइका टेबलहरू राखिएको रहेछ । करीब ११ बजेतिर हामी कक्षाकोठामा प्रवेश गर्दा एक जना करीब ४ वर्ष जतिको बालिका निकै चर्को स्वरमा रुँदै गरेको र शिक्षकले काखमा लिएर उनलाई फकाउन प्रयास गरिराख्नुभएको थियो ।

बालिका भने शिक्षकको काखबाट फुत्किन बल गरिराखेकी थिइन् । म भित्र पस्नासाथ नजिक गएँ र शिक्षकसँग के भएको भनेर कुरा गर्न खोजें । त्यही मौकामा उक्त बालिका शिक्षकको काखबाट फुत्केर म भएतिर दौडेर आइन् र अँगालो हालिन् ।

उनले रुँदै भनिन्, ‘मेरो ममी खोइ ? ममीकोमा लगिदिनू ।’

म बोल्न नपाउँदै उनी जोड–जोडले एकोहोरो रुँदै भनिरहिन्, ‘ममी जान्छु ? मेरो ममीकोमा लैदिनु ।’ उनले यति जोडका साथ समातेकी थिइन् कि मानौं उनलाई खोसेर कतै लगिंदैछ । यो क्षण निकै हृदयविदारक थियो ।

एकछिन त मलाई नै के गरौं र कसो गरौं भयो । यस घटनापछि मलाई केही दिनसम्म दिमागमा प्रश्न आइरह्यो– उनलाई विद्यालयको नयाँ परिवेशमा घुलमिल हुन के कस्तो तयारी गरियो होला ? ती प्रयासहरू कत्तिको बालमैत्री होलान् ? उनलाई आफ्नो कक्षाकोठा र त्यहाँ भएका साथीहरूसँग रमाउने, खेल्ने र सँगै सिक्ने बनाउन के गर्न सकिएला ?

विद्यालय आउन थालेको एक महिनासम्म यसरी विक्षिप्त प्रतिक्रिया जनाउँदै दिनभरि रोएको बालमस्तिष्कमा पछिसम्म शिक्षक र विद्यालय सम्बन्धी धारणा कस्तो होला ? बालबालिकाको सुन्दर भविष्यको कल्पनामा विद्यालय पठाउँदै गर्दा तिनका बुवाआमाको आशा अपेक्षामा हाम्रो विद्यालय शिक्षाले कस्तो योगदान पुर्‍याउला त ?

पछिल्ला तथ्यांकले भन्दछ– ७०.३ प्रतिशत परिवारमा बालबालिका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार ५ वर्ष मुनिका करीब २४ लाख ३९ हजार २८३ बालबालिकासँग प्रत्यक्ष–परोक्ष जोडिएको यो सवालमा हाम्रा नीतिगत व्यवस्थाहरू के–कस्तो रहेका छन् त ?

‘फस्र्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन’ भने जस्तै बालबालिकाको विद्यालय सम्बन्धी धारणा निर्माणमा महत्वपूर्ण भूमिका रहने यो अवस्थालाई गुणस्तरीय शिक्षाको बहसमा छुटाउन मिल्ला र ?

यो घटनामा झट्ट हेर्दा बालिका र उनको मुख्य हेरचाह गर्ने व्यक्ति, हाम्रो सन्दर्भमा अझै बालबालिका र आमाबीचको सम्बन्ध र आत्मीयतालाई व्यवस्थापन गर्न सहजीकरण गर्नुपर्ने देखिन्छ । यहाँ, आमासँगको सम्बन्धलाई बढी जोड दिनुको कारण परम्परागत अभ्यास मात्र नभएर अहिलेको नेपालको जनसाङ्ख्यिकीय संरचना पनि हो जस अनुसार १७ प्रतिशत बालबालिका आमासँग मात्र बस्ने देखाउँदछ ।

त्यति मात्र हैन; राम्रो पढाउने, ठूलो मान्छे बनाउने बुवाआमाको लाडप्यारले बिग्रन्छ भनेर बोल्वी सात वर्षको हुनासाथ होस्टलमा लगेर राखियो ।

यसरी हेर्दा बालबालिकाको मुख्य हेरचाहकर्ताको रूपमा आमाको भूमिका नै बढी अभ्यासमा रहेको पाइन्छ । माथि उल्लिखित बालिकाको सन्दर्भमा, आफ्नो आमासँग मात्र समय बिताएको बालिकालाई एकै पटक पूरै अपरिचित वातावरणमा घुलमिल गर्न कठिनाइ भएको बुझ्न सकिन्छ ।

बालबालिका र आमाबुवा, अभिभावक अर्थात् बयस्क मानिस बीचको सम्बन्धलाई लिएर जोन बोल्वीले ‘अट्याचमेन्ट थ्यौरी’ प्रतिपादन गरेका छन् । नेपालीमा यस सिद्धान्तलाई आत्मीयताको सिद्धान्त भन्न सकिन्छ । यस सिद्धान्तले आफ्नो सुरक्षाका लागि बालबालिकाले हेरचाहकर्ता व्यक्तिसँग विकास गर्ने गहिरो भावनात्मक सम्बन्धलाई व्याख्या गरेको छ ।

के भनिन्छ भने बोल्वी लन्डनको एक सम्पन्न परिवारमा जन्मेका थिए तर उनका आमाबुवाले बालबालिकालाई धेरै माया गर्‍यो, नरम व्यवहार देखायो र धेरै हेरचाह गर्‍यो भने बिग्रिन्छ भन्ने विश्वास गर्दथे । तसर्थ, उनीहरूले बोल्वीसँग थोरै मात्र समय बिताउँथे ।

त्यति मात्र हैन; राम्रो पढाउने, ठूलो मान्छे बनाउने बुवाआमाको लाडप्यारले बिग्रन्छ भनेर बोल्वी सात वर्षको हुनासाथ होस्टलमा लगेर राखियो । यसरी बुवाआमाको काखमा खेल्ने, रमाउने बेलामा छुट्याएर राखिएकोले पछि बोल्वीले उक्त कार्यलाई एकदमै दुःखद् र आत्मामा चोट पुग्ने कार्य भनेर व्याख्या गरेका छन् ।

उनै बालक पछि गएर बेलायती मनोवैज्ञानिक जोन बोल्वीको नाउँमा चर्चित बने । उनले मान्छेहरू बीचको मनोवैज्ञानिक सम्बन्धलाई आत्मीयताको सिद्धान्तको रूपमा व्याख्या गरेका छन् । उनका अनुसार साना बालबालिकाले आमासँग न्यानो, आत्मीय र निरन्तर सम्बन्ध अनुभव गर्न पाउनु अत्यन्त आवश्यक छ, जसबाट दुवैले सन्तुष्टि र आनन्द प्राप्त गर्न सक्छन् ।

बालबालिकाले जन्मदेखि ६ हप्तासम्म कुनै पनि व्यक्तिसँग त्यस्तो आत्मीयता देखाउँदैन तर ६ हप्ताबाट ७ महिनाको उमेरसम्ममा मुख्य हेरचाह गर्ने व्यक्ति जस्तै, आमा र अन्य सहयोगी हेरचाहकर्ता, परिवारका अन्य सदस्यहरूप्रति उस्तै आत्मीयता देखाउने गर्दछ ।

यस उमेरमा बालबालिकामा उसको हेरचाह गर्ने व्यक्तिले उसका आवश्यकताहरू पूरा गरिदिन्छ भन्ने विश्वास पैदा हुन थाल्दछ । आफूलाई लिने, खेलाउने सबैसँग खुशी हुने भएतापनि परिचित र अपरिचित अनुहार छुट्याउन तथा आफ्नो आमा वा मुख्य हेरचाह गर्ने व्यक्तिलाई पछ्याउन थाल्दछ ।

७ देखि ११ महिनासम्ममा बालबालिका आमा वा मुख्य हेरचाह गर्ने व्यक्तिसँग आत्मीयता विकास भइसकेको हुन्छ जसले गर्दा उनीहरूलाई नै खोज्ने, आमाले छोडेर कतै जान लाग्दा रुने र अपरिचितहरूसँग खुशी नहुने जस्ता गुणहरू विकास हुन्छ ।

बालबालिकाले करीब ९ महिनाको उमेर पश्चात् आफ्नो आमा, बुवा वा मुख्य हेरचाह गर्ने व्यक्ति बाहेक अन्य व्यक्तिहरू जस्तै हजुरबुवा, हजुरआमा, दाजु, दिदीहरूसँग सम्बन्ध विस्तार गर्न थाल्दछ । यसपश्चात् मात्र बालबालिकामा धेरै जना हेरचाहकर्तासँग आत्मीयता विकास गर्ने क्षमता (मल्टिपल अट्याचमेन्ट) को विकास हुन्छ ।

यसैलाई आधार बनाएर १९७० मा मेरी ऐन्सवर्थले बच्चा र आमाबीचको सम्बन्धलाई अध्ययन गर्न अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयमा एउटा प्रयोगात्मक अनुसन्धान गरिन् । जसमा, १२–१८ महिनाको बच्चा र उनको आमालाई सहभागी गराइएको थियो । अनुसन्धानको सिलसिलामा बच्चा र आमालाई सँगै कोठामा प्रवेश गराइन्छ, बच्चाले केही समय आमासँगै उक्त कोठाको अवलोकन गर्दछ अर्थात् समय बिताउँछ ।

त्यसपछि आमालाई कोठा बाहिर पठाइन्छ र अर्को अपरिचित व्यक्तिलाई उक्त कोठामा पठाएर बच्चासँग कुराकानी गर्न लगाइन्छ । केही समयपछि आमालाई नै फेरि उक्त कोठामा गएर बच्चाको हेरचाह गर्दछिन् । यसरी विविध तरिकाले बच्चाको प्रतिक्रिया अध्ययन गरिन्छ ।

यस अध्ययनको आधारमा ऐन्सवर्थले बच्चाले कसरी सुरक्षित सम्बन्ध र आत्मीयता विकास गर्छ भन्ने कुरा प्रष्ट पारिन् । उनका अनुसार बालबालिका र मुख्य हेरचाहकर्ता बीचको सम्बन्धलाई विस्तारै अन्य हेरचाहकर्तासँग सार्न सकिन्छ ।

समय परिवेशसँगै हामी नेपालीहरूको पारिवारिक संरचना र संस्कारहरू परिवर्तन हुँदै गएको देखिन्छ । संयुक्त परिवारबाट एकल परिवारको, एक दुई मात्र सन्तान जन्माउने प्रचलन बढ्दो छ । त्यसमा पनि धेरै परिवारमा बुवा वैदेशिक रोजगारीमा जाने र घरपरिवारको व्यवस्थापन आमाले धान्नुपर्ने अहिलेको बाध्यता रहेको छ ।

यस्तो अवस्थामा साना बालबालिकाले अधिकांश समय आमासँग मात्र बिताउँछन र सोही अनुसार अभ्यस्त भएको हुन्छ । यसरी सीमित व्यक्ति र स्थानमा अभ्यस्त भएको बालबालिकालाई विद्यालय शुरू गर्दा केही सहजीकरणको आवश्यकता हुन्छ ।

एआई सिर्जित तस्वीर

हिजोसम्म आमा, बुवा, हजुरबा, हजुरआमासँग खेलेर बसेको बालबालिका आज अचानक विद्यालय जाँदा हेरचाह गर्ने व्यक्तिसँगको सम्बन्ध मात्र नभएर समग्र वातावरण र प्रक्रियाहरू नवीनतम बन्दछन् । त्यहाँको वातावरण र व्यक्तिसँग कसरी घुलमिल गर्ने भन्ने बारेमा बालबालिकालाई सहयोग गरेर उनीहरूको विद्यालय शुरुआती दिन सहज बनाउनको लागि शिक्षक र अभिभावकहरूले सहयोगी संयन्त्र निर्माण गर्नमा ध्यान नपुगेको देखिन्छ ।

अझै कतिपय अवस्थामा घरपरिवार र विद्यालयले जबरजस्ती गरिरहेको पनि पाइन्छ । विगतदेखि नै बालबालिकालाई हेरचाह गर्ने, हुर्काउने क्रममा कतिपय हाम्रा तौरतरिका गर्जो टार्ने, तत्कालीन चुनौतीबाट छुट्कारा खोज्ने खालको देखिन्छ ।

जस्तै आफूले भनेको मानेमा यस्तो पाउँछौ, उस्तो दिन्छु भनेर पूरा गर्न कठिन हुने वा नसक्ने कुराहरूमा प्रतिबद्धता जनाउने, एकैछिनमा लिन आउँछु वा यस्तै झुटो आश्वासन देखाउने गरिन्छ । बालबालिकाको इच्छा चाहनामा सहजीकरण गर्ने, उनीहरूलाई बुझाउने प्रयास गर्न भन्दा पनि जबरजस्ती आफ्नो चाहना र आदेश लाद्ने गर्दछौं ।

विद्यालय जान नमानेमा कुट्ने, पिट्ने, गाली गर्ने, जबरजस्ती विद्यालयमा लगेर छाडिदिने गरेको पाइन्छ । कतिपय अवस्थामा शैक्षिक सत्रको शुरुआती दिनहरूमा विद्यालय वरपर अभिभावकहरूले बाटोभरि आफ्ना नानीबाबुहरूलाई रुवाउँदै, घिच्याउँदै लगेको समेत देख्दा मलाई त उपत्यका बाहिरबाट राँगा–भैंसी काठमाडौं ओसारेका ट्रकको झझल्को आउँछ ।

साना बालबालिकाको विद्यालय शुरू गर्दा बालबालिकाको आत्मीयता स्थानान्तरण (अट्याचमेन्ट सिफ्ट) गरेर उनीहरूको शुरुआती यात्रा सहज बनाउन थोरै मात्र ध्यान दिन सक्यौं भने धेरै बालबालिकाले सहजता महसुस गर्नेछन् ।

यसका लागि मुख्य हेरचाहकर्तासँगको आत्मीयतालाई विस्तारै शिक्षकहरूमा स्थानान्तरण गर्र्नेे, विद्यालयमा बालबालिकाले विश्वास गर्ने व्यक्तिको रूपमा सम्बन्ध बढाउने, घरबाट छुट्टिनुपर्दाको तनाव कम गर्ने उपायहरू अवलम्बन गर्न सकिन्छ ।

बालबालिकालाई घरबाट विद्यालयमा, आमाबुवाबाट शिक्षकमा सम्बन्ध विस्तार गर्न सहज संक्रमणका लागि शिक्षक र अभिभावकहरूले ध्यान दिनुपर्दछ । बालबालिकालाई विद्यालयमा पुग्नासाथ पहिलो दिनमा नै आफ्नो नानीबाबुलाई शिक्षकको जिम्मा लगाएर वा एक्लै छाडेर तत्काल घर फर्किनुहुँदैन ।

शुरुआती दिनहरूमा अभिभावकहरू आफ्नो बालबालिकासँग कक्षाकोठामा वा वरपर नै बसिदिंदा उनीहरूलाई नयाँ परिवेशमा घुलमिल हुन सहायता पुर्‍याउँदछ । अभिभावकसँगै बस्ने समय हरेक दिन बिस्तारै घटाउँदै लैजान सकिन्छ । सम्भव छ भने बालबालिकाको मन पर्ने र घरमा खेलिराखेको कुनै खेलौनाहरूसँगै ल्याउन दिंदा पनि उनीहरूलाई घरपरिवारको न्यास्रो मेट्न सहायता पुर्‍याउँदछ ।

अति कठिन महसुस गर्ने बालबालिकाको हकमा उनीहरूको आमा, बुवा वा परिवारका सदस्यको फोटो कक्षाकोठामा राखिदिंदा पनि कतिपय अवस्थामा बालबालिकाले सहजता महसुस गरेको पाइन्छ ।

त्यसैगरी, यस्तोमा शिक्षकहरूको पनि अहम् भूमिका रहन्छ । शिक्षकहरूले बालबालिकालाई बिहान विद्यालयमा भेट्नासाथ न्यानो माया सहित बालबालिकाको नामले बोलाउने, उनीहरूलाई अप्ठेरो पर्दा शारीरिक र मानसिक रूपमा साथ दिने गर्दा शिक्षक र बालबालिका बीच विश्वासको वातावरण बनाउन सहयोग पुग्दछ ।

अझै कतिपय अभिभावकले त फलानो स्कूलमा गएको फलानाले त यति पढ्न जान्यो, लेख्न जान्यो मेरो बच्चाले मात्र जानेन, यो विद्यालयको शिक्षकले पढाएन भनेर दोष लगाउने गरेको पनि सुनिन्छ ।

कक्षा सञ्चालनको लागि हरेक बिहान निश्चित रुटिनहरू बनाउने र दैनिक रूपमा त्यसैलाई अनुसरण गराउँदा बालबालिकाले सहज अनुमान गर्नसक्ने हुन्छ । जानकारहरूका अनुसार, बिहान कक्षाको शुरुआतीमा एउटै ढाँचाको क्रियाकलाप दैनिक रूपमा नियमित अनुसरण गर्दा बालबालिकामा पैदा गर्ने अनिश्चितता र संशय कम गर्न सहयोग पुर्‍याउँदछ र बालबालिकाहरू मनोवैज्ञानिक रूपमा शान्त बन्दछन् ।

कक्षाकोठाको कुनै भागमा बालबालिकालाई कोजी कर्नर जस्तो बनाएर बस्ने व्यवस्था मिलाउने, एकैचोटि ठूलो समूहमा भन्दा सानो–सानो समूहमा बस्ने, खेल्ने र कुरा गर्ने व्यवस्था मिलाउँदा उनीहरूको लागि घुलमिल गर्न सहज हुन्छ । एकअर्कामा छिटो मित्रता कायम हुन्छ र बालबालिकाको संवेग व्यवस्थापन गर्न सहयोग पुर्‍याउँदछ ।

हरेक दिन शुरू गर्दा बालबालिकालाई आफ्नो कुराहरू भन्ने अवसर दिनुपर्दछ । जस्तै कक्षाको शुरुआतमा हरेक दिन सबै बालबालिकालाई घेरामा राखेर उनीहरूका कुरा सुन्ने गर्न सकिन्छ । बालबालिकालाई आफ्नो अनुभूति बताउन लगाउन र संवेगको बारेमा छलफल गर्दा सानैदेखि आफ्नो संवेगात्मक अवस्था पहिचान गर्न र व्यवस्थापन गर्ने बानीको विकासमा सहायता पुग्दछ ।

विशेषतः विद्यालय जाने भन्नासाथ पढाइ–लेखाइमा नै एकोहोरो जोड दिने आम मानसिकताबाट बाहिर आउनुपर्दछ । अक्षर चिन्ने र लेख्न जानेकोलाई सिकाइको मापन बनाउने परम्परागत अभ्यासहरूमा परिवर्तन जरूरी छ । अझै कतिपय अभिभावकले त फलानो स्कूलमा गएको फलानाले त यति पढ्न जान्यो, लेख्न जान्यो मेरो बच्चाले मात्र जानेन, यो विद्यालयको शिक्षकले पढाएन भनेर दोष लगाउने गरेको पनि सुनिन्छ ।

विद्यालयमा मात्र हैन घरमा गएर लेख्न भन्दै गृहकार्य दिने अनि नदिएको अवस्थामा अभिभावकले नै गुनासो गरेको उदाहरण पनि छन् । यस्तो अभ्यासले बालबालिकालाई शुरुआती दिनमा विद्यालयमा घुलमिल गर्न मात्र हैन कि समग्र विद्यालय शिक्षाप्रति नै नकारात्मक धारणा निर्माण गराउन सक्दछ ।

समग्रमा, विद्यालय प्रवेश गर्ने उमेरका बालबालिकाका लागि आमाबुवाबाट शिक्षकतर्फको आत्मीयता र सम्बन्धको सहज स्थानान्तरण अत्यन्त महत्वपूर्ण छ । शिक्षकमाथि विकसित हुने सुरक्षित सम्बन्धले बालबालिकालाई आत्मविश्वासी, जिज्ञासु र सामाजिक रूपमा सक्रिय बनाउँछ । यसले सिकाइ वातावरणमा बालबालिकाको सहभागिता बढाउँछ र भावनात्मक सन्तुलन कायम राख्न सहयोग पुर्‍याउँछ । नेपाल जस्तो बहुसांस्कृतिक समाजमा विद्यालय र परिवार बीचको सहकार्यद्वारा यस्तो हेरचाहपूर्ण सम्बन्ध निर्माण गर्नु अझ आवश्यक र सार्थक हुन्छ ।

लेखक
बुद्धिकुमार श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?