
२७ वैशाख, काठमाडौं । पाकिस्तानी सेनाले भारतको ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही सुरु गरेको जनाएको छ ।
पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले गरेको घोषणा अनुसार भारतको आक्रमणको जवाफमा पाकिस्तानले आधिकारिक रूपमा ‘बुनयान-उल-मरसूस’ को नाममा जवाफी कारबाही सुरु गरेको हो।
अलजजिराले सेनासम्बन्धी स्रोतहरूलाई उद्धृत गर्दै पाकिस्तानले भारतको उधमपुर सहरस्थित एक वायुसेना बेस र पठानकोट स्थित एक एयरफिल्डलाई निशाना बनाएको उल्लेख गरेको छ ।
पाकिस्तानी सुरक्षा स्रोतहरूले भारतको पञ्जाब राज्यको ब्यास सहरमा रहेको ब्रह्मोस मिसाइल भण्डारणस्थल पनि पाकिस्तानको हमलाबाट प्रभावित भएको दाबी गरेको छ ।
यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफले एक टेलिभिजन सम्बोधनमार्फत भारतले पाकिस्तानका तीन वायुसेना अड्डाहरूमा मिसाइल आक्रमण गरे पनि सबै वायुसेना संरचनाहरू सुरक्षित रहेको जिकिर गरेका छन् ।
उनका अनुसार भारतले रावलपिन्डीको नूर खान एयरबेस, चकवाल सहरको मुरीद एयरबेस र झांग जिल्लास्थित रफीकी एयरबेसमा आक्रमण गरेको हो।
शरीफले यो पनि दाबी गरे कि भारतद्वारा प्रक्षेपित केही मिसाइलहरू अफगानिस्तान पनि पुगेका छन्, यद्यपि यसबारे उनले तत्काल प्रमाण भने प्रस्तुत गर्न सकेनन् । तर उनले पाकिस्तानसँग प्रमाण रहेको दाबी गरे।
भारतको प्रतिक्रिया
भारतको रक्षा मन्त्रालयले भारतमा बारामुलादेखि भुजसम्म २६ स्थानहरूमा शंकास्पद सशस्त्र ड्रोनहरू देखिएका बताएको छ । यी ड्रोनहरूले नागरिक तथा सैन्य संरचनाहरूमा क्षति पुर्याउन सक्ने सम्भावना पनि मन्त्रालयले औंल्याएको छ ।
यी ड्रोनहरू पाकिस्तानसँग सीमा जोडिएका अन्तर्राष्ट्रिय सिमाना र नियन्त्रण रेखा नजिकका विभिन्न स्थानहरूमा देखिएका हुन् ।
यीमध्ये फिरोजपुरमा एक ड्रोनले एक नागरिक क्षेत्रलाई लक्षित गरी आक्रमण गरेको भारतको रक्षा मन्त्रालयले दाबी गरेको छ । यसबाट धेरै स्थानीय बासिन्दाहरू गम्भीर घाइते भएका छन्।
घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र सुरक्षा निकायहरूले घटनास्थलको अनुसन्धान गरिरहेका मन्त्रालयले जनाएको छ ।
रक्षा मन्त्रालयको वक्तव्यमा भनिएको छ, ‘भारतीय सशस्त्र बलहरू पूर्ण सतर्क अवस्थामा छन् र यस्ता सबै हवाई खतराहरूलाई काउन्टर-ड्रोन सिस्टमबाट सामना गरिँदैछ। हामी प्रत्येक परिस्थितिमा कडा नजर राखिरहेका छौं र आवश्यक परे तत्काल कारबाही गरिरहेका छौं।’
रक्षा मन्त्रालयले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई घरभित्रै बस्न र स्थानीय सुरक्षा निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ। सेनाले भनेको छ, ‘डराउनु पर्दैन, तर सतर्क रहनु आवश्यक छ।’
के हो ‘बुनयान-उल-मर्सूस’ ?
बुनयान उल मर्सूसको अर्थ एक दृढ, एकीकृत मोर्चा भन्ने हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
यो अपरेशनको नाम कुरानबाट लिइएको हो । यसले राष्ट्रको सुरक्षा गर्न सेनाको एकता, शक्ति र अनुशासनमाथि जोड दिन्छ ।
इस्लामी सन्दर्भमा यसलाई एकता, अनुशासन र संकल्पको प्रतिकको रूपमा लिइन्छ ।
पाकिस्तानका सूचना मन्त्री अताउल्लाहका अनुसार यस नामको अर्थ हो, ‘सिसाबाट बनाइएको बलियो पर्खाल’, अर्थात् एक यस्तो पर्खाल जुन अत्यन्तै सतिसालझै रक्षाका लागि उभिन्छ।
प्रतिक्रिया 4