२७ वैशाख, काठमाडौं । भारतका स्टार क्रिकेटर एवम् पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने मनस्थिति बनाएको चर्चा बाहिरिन थालेको छ ।
केही दिनअघि कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट अचानक सन्यास घोषणा गरेपछि कोहलीबारे पनि यस्तो रिपोर्ट सार्वजनिक भइरहेको हो । इन्डियन एक्सप्रेसमा उल्लेख भएअनुसार कोहलीले सन्यास लिने मनस्थितिबारे बीसीसीआईलाई प्रारम्भिक जानकारी गराएका छन् ।
यद्यपी बोर्ड र चयनकर्ताहरूले भने उनलाई पुनर्विचार गर्न आग्रह गरेका छन्। अहिलेसम्म कोहलीले भने आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्।
एक स्रोतलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ, ‘उनले मनस्थिति बनाइसकेको र बोर्डलाई जानकारी पनि दिएका छन्। तर इंग्ल्यान्डसँगको महत्वपूर्ण शृंखला नजिकिएकाले बीसीसीआईले उनलाई पुनर्विचार गर्न भनेको छ।’
रिपोर्टअनुसार, कोहलीले बोर्डर-गावस्कर ट्रफीपछि नै आफ्नो टेस्ट भविष्यबारे सोचिरहेका थिए। त्यो सिरिजमा उनले ९ इनिङमा जम्मा १९० रन मात्र बनाए र औसत २३.७५ रह्यो। आठ पटक उनी अफ-साइडको बलमा आउट भएका थिए।
बोर्डर-गावस्कर ट्रफी २०२४ पछि उनले अस्ट्रेलियाको त्यो टुर आफ्ना लागि अन्तिम टुर हुन सक्ने संकेत दिएका थिए।
कोहलीले सन् २०११ मा टेस्ट डेब्यु गरेका थिए र अहिलेसम्म १२३ खेलमा ९२३० रन बनाइसकेका छन्। टेस्टमा उनको औसत ४६.८५ रहेको छ। यदि उनले टेस्ट क्रिकेट छाडेमा उनी अब मात्र एकदिवसीय खेलमा सक्रिय रहने छन्।
प्रतिक्रिया 4