+
+
Shares

भारत–पाकिस्तान सैन्य तनाव क्षेत्रीय स्थायित्वका लागि गम्भीर खतराः जी-सेभेन

जी-सेभेन ले भारत र पाकिस्तानलाई प्रत्यक्ष संवादमा सहभागी हुन आह्वान गर्दै कूटनीतिक समाधान खोज्न आग्रह गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २७ गते ७:१६
Photo Credit : Narinder NANU/AFP
भारत-पाकिस्तान तनावपछि सीमा क्षेत्रमा विस्थापित एक महिला ।

२७ वैशाख, काठमाडौं । विश्वका प्रमुख सात औद्योगिक राष्ट्रहरूको समूह जी-सेभेनले भारत र पाकिस्तानलाई उच्चतम संयम अपनाउन आग्रह गरेको छ । जी-सेभेनले दुवै परमाणु सम्पन्न छिमेकी राष्ट्रहरूबीच बढ्दो तनावलाई लिएर गहिरो चिन्ता व्यक्त गरेको छ।

जी-सेभेनद्वारा शनिबार प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘थप सैन्य तनावले सम्पूर्ण क्षेत्रीय स्थायित्वलाई गम्भीर खतरा पुर्‍याउन सक्छ। हामी दुवै पक्षका नागरिकहरूको सुरक्षाप्रति गहिरो चिन्तित छौँ ।’

जी-सेभेनले भारत र पाकिस्तानलाई प्रत्यक्ष संवादमा सहभागी हुन आह्वान गर्दै कूटनीतिक समाधान खोज्न आग्रह गरेको छ।

‘हामी घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेका छौँ र चाँडो र दिगो कूटनीतिक समाधानका लागि समर्थन जनाउँछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

जी-सेभेनमा अमेरिका, क्यानडा, बेलायत, फ्रान्स, जर्मनी, इटाली र जापान समावेश छन् ।

के हो जी-सेभेन ?

जी–सेभेन अर्थात् ‘ग्रुप अफ सेभेन विश्वका सातवटा अत्याधुनिक अर्थव्यवस्था भएका देशहरूको एक समूह हो । विश्वव्यापी व्यापार तथा अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा यो समूहको दबदबा छ ।

यसका सदस्य मुलुकहरुमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका हुन् ।

रुसलाई पनि सन् १९९८ मा यो समूहमा सामेल गरिएको थियो र त्यसको नाम जी–८ भयो । तर सन् २०१४ मा क्राइमियामाथि कब्जा गरेसँगै रुसलाई सो समूहबाट निस्कासन गरियो ।

एउटा विशाल अर्थतन्त्र तथा विश्वको दोश्रो ठूलो जनसंख्या भएको देश हुनुका बाबजुद चीन हालसम्म यो समूहमा सहभागी छैन ।

चीनमा प्रतिव्यक्ति आय यी सात देशहरुको तुलनामा निकै कम छ । त्यसैले चीनलाई समृद्ध अर्थतन्त्र मानिँदैन । तर जी–ट्वान्टी समूहमा भने चीन लगायतका विकासशील देशहरु समेत सामेल छन् ।

युरोपेली संघ पनि जी–सेभेनको सदस्य छैन । तर पनि उसका अधिकारीहरुले जी–सेभेनको वार्षिक शिखर सम्मेलनहरुमा भाग लिन्छन् ।

जी–सेभेन देशका मन्त्री तथा अधिकारीहरुले वर्षभर नै बैठक गर्दछन्, सम्झौता तयार गर्दछन् र विश्वव्यापी घटनाहरुका विषयमा साझा वक्तव्य जारी गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?