+
+
Shares
पुस्तक समीक्षा :

धोबीघाट मेलोडी : जीवनका सुर–बेसुरहरू

धोबीघाट मेलोडी एक जीवन मेलोडी हो । यसले पाठकलाई जीवन जिउन सिकाएको छ ।

रघुनाथ वाग्ले रघुनाथ वाग्ले
२०८२ जेठ १० गते २१:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखकले निबन्ध सङ्ग्रहको समीक्षा गर्दै व्यक्तिगत अनुभव र सामाजिक यथार्थलाई समेटेका छन्।
  • उनले जीवनका क्षण, प्रेम, मृत्यु, र समाजका विभिन्न पक्षहरूलाई सरल र गम्भीर ढंगले प्रस्तुत गरेका छन् ।
  • समीक्षामा लेखकको दृष्टिकोण र शैलीप्रति केही शङ्का र प्रश्नहरू पनि उठाइएको छ।

निबन्धकार मुकुन्दराज शर्माको निबन्ध सङ्ग्रह समीक्षाको अनुरोध आउँदा म आफ्नै व्यक्तिगत काममा काठमाडौंतिर थिएँ । वैशाख ७ गते पोखरा आएर हिमालयन रिडर्स कर्नर छिरेर सञ्चालक विजय भण्डारी सरको हातबाट यो पुस्तक लिएँ । हातमा पर्‍यो– धोबीघाट मेलोडी । दैलो उघार्ने बित्तिकै पहिलो पानामा लेखिएको थियो– निबन्ध सङ्ग्रह, मुकुन्दराज शर्मा, कामना न्यूज पब्लिकेसन प्रा.लि. ।

यो पुस्तकको पहिलो पाना थियो तर पाना नं. १ भने होइन । सबै पहिलो पृष्ठ– पृष्ठ नं. १ हुँदारहेनछन् । निबन्धकार शर्माले पृष्ठको स्थान नै नदिएको अर्को पृष्ठमा स्व. बुवा निमानन्द शर्माको फोटो, जन्ममिति र मृत्युमिति पनि लेखेर बुबालाई भन्नुभएको छ, “बुबा यो पुस्तक धर्तीबाट समर्पण गर्दैछु, स्वर्गबाट ग्रहण गरिदिनुहोला ।”

निबन्ध सङ्ग्रहमा पृष्ठको स्थान नै नपाएको यो पृष्ठ मलाई निकै रोचक लाग्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हिमालय एअरलाइन्स चढेर चीनको ल्हासा हुँदै ‘आलि’ एअरपोर्ट मार्फत हिमालय पर्वत हिंडेको धोबीघाट मेलोडी हिमालय एअरलाइन्सले पोखरा–ल्हासा उडान नै गर्न नसकेका कारण शायद पोखरामै अड्कियो र मेरो हातमा पर्‍यो, धोबीघाट मेलोडी । हिमालय पर्वतलाई महादेवको वासस्थान भनिन्छ, लेखक स्वयम्ले पनि ‘हर हर महादेव’ निबन्धमा यसै भन्नुभएको छ ।

प्रकाशकले यो निबन्ध सङ्ग्रहलाई गणित साहित्य भनुन् कि विज्ञान साहित्य । नमस्तुभ्यम्मा लेखकले जोगी शैलीको भनुन् या भोगी शैलीको । विचार विमर्शमा प्रा.डा. दयाराम श्रेष्ठले जतिसुकै फन्को मारुन्, सी.के. श्रेष्ठले यो निबन्ध सङ्ग्रहलाई जोगीको कमन्डलु भनुन् या अरू केही भनुन् । यी सबै पछि हेरौंला भनेर म लागें लेखकका क्षणिकीहरूतर्फ ।

‘क्षणिकी’ नेपाली शब्दकोशको शब्द होइन, यो लेखकले नै क्वाइन गरेको शब्द हो । यसपछाडिको आफ्नो तर्कलाई मूढे तर्क भन्दै लेखक भन्छन्, “समयबाट सामयिकी, वर्षबाट वार्षिकी, मासबाट मासिकी, दिनबाट दैनिकी हुन्छ भने क्षणबाट क्षणिकी भनिदिए कसुर कत्रो होला ?” ‘क्षणिकी’ लाई सबल शब्द बनाउन लेखकले धेरै विज्ञहरूसँग राय लिनुभयो ।

नेपाली विषय प्राध्यापन गर्दै आउनुभएका कवि विप्लव ढकाल, बहुसम्मानित व्यक्तित्व प्रा.डा. दयाराम श्रेष्ठ, कालेबुङका कवि राजेन्द्र भण्डारी, डा. विष्णुविभु घिमिरे, अशेष मल्ल, डा. माधवप्रसाद पोखरेल लगायत सबैले सहमति जनाएपछि नेपाली कर्पसमा एउटा नाम थपियो, क्षणिकी । लेखकले क्षणलाई समयको कणिका भनेका छन् । उनी भन्छन्, “सामान्यभन्दा पनि सामान्यदेखि कुनै पनि आकारको घटनाबाट उठेको झिल्कोबाट विचार र चेतनाको डढेलो सल्काउनु नै क्षणिकी हो । अझ भन्नुपर्दा क्षणिकी विचारको त्यो ज्वाला हो जसको पहिलो झिल्को क्षण र घटनाको घर्षणबाट निस्कन्छ ।” मेरो ठेगाना के हो, डस्टिङ डटकम, मेरो रेडियो फुट्यो, होर्ता, भाषण गर्न जानु छ, जीवनः एक मास्टर पिस रचना, अनि हामीले भोज खायौं, यी सबै क्षणिकीहरू हुन् । क्षणिकीहरू नै निबन्धहरू हुन् । लेखकले भनेका छन्, क्षणिकी निबन्धभन्दा पृथक् विषय त हुँदै होइन । जुन क्षणिकी पढ्छु, आफ्नै क्षणिकी पढे जस्तो लाग्छ, आफ्नै कथा भने जस्तो लाग्छ ।

लेखकले आफ्ना मित्रलाई आफ्नो स्थायी र अस्थायी ठेगाना बताउन नसक्दा म आफूलाई पनि बेठेगानी महसुस गर्दैथिएँ । लेखकले क्षणबाट क्षणिकी बनाउन मिल्छ भने मैले ‘बेठेगान’ बाट ‘बेठेगानी’ बनाउन मिल्छ कि मिल्दैन होला ? २०६९/७० तिर तनहुँबाट पोखरा झरियो, पोखरामा १० वर्षमा १२ ठाउँमा कोठा सरियो । गाउँको घर मुसा र माकुराको नाममा भैगो । मालपोतमा गएर पास गरिदिन मात्र बाँकी छ । शायद धेरैले धर्तीलाई ढोग्दै पहिलो चोटि रोएको घर र शिरलाई माथि फर्काएर नीलो भुईंलाई आकाश भन्न सिकेको घरलाई ठेगाना भन्न पाएका छैनन् । भलै आज पनि उनीहरूको शरीर टकटक्याउँदा त्यही आँगनमा बामे सर्दा टाँसिएको धुलो झर्ने गर्छ ।

किताबका लेखक मुकुन्दराज शर्मा ।

डस्टिङ डटकम अर्को एउटा क्षण हो । अझ भन्ने हो भने जटिल क्षण हो । बिदाको दिन प्रत्येक श्रीमतीले आफ्ना श्रीमान्लाई घर सरसफाइ गर्न अनुरोध गर्नुहुन्छ र शायद धेरै श्रीमान्ले अनेक बहाना बनाउनुहुन्छ । मलाई आजको यो अवसर पनि श्रीमतीको डस्टिङ डटकम प्रस्तावबाट बच्ने राम्रो बहाना बनेको छ । मनमनै सोचें, लेखक किन यति धेरै पुरुषवादी बनेका होलान्, घर सरसफाइ महिलाकै थाप्लोमा किन राखिदिएका होलान् र पुरुषलाई यति अल्छी चित्रित किन गरेका होलान् ? हुन त भावनामा बहकिएर हुँदैन, समाज लेख्नुपर्छ ।

अर्को क्षणमा विचरा लेखकको रेडियो फुट्यो । भाग्य फुटे जस्तो, परिवार फुटे जस्तो । सुनकै बाकस फुटे जस्तै गरी उनी गुनासो गर्दै छन् । यस्तो कि उनको फुटेको रेडियो बाहेक बजारमा अरू कुनै रेडियो सेटले “यो रेडियो नेपाल हो” भन्दैन जस्तो तर एक जमाना थियो, त्यतिबेला रेडियो निकै खास थियो, जगत्कै भरोसा पनि । गाउँमा ६ बजे कोदो रोप्ने मेलो छुट्नुपर्नेमा रेडियोका प्राविधिकले त्रुटिका साथ ५ः०० बजे नै अहिले साँझको ६ः०० बज्यो भनेर टाइमचेक बजाइदिंदा एउटा गाउँभरिकै मेलो छुटेको देखेको छु मैले । रेडियो फुट्दा लेखकलाई एकाएक चकमन्न लाग्नु, बेखबर जस्तो हुनु, जगतसँगै जोडिएको त्यान्द्रो चँुडिए जस्तो लाग्नु स्वाभाविकै हो ।

लेखकको होर्ता बन्दाको क्षण झन् गजबको छ । ‘होर्ता’ शब्द नेपाली शब्दकोशमा छैन । मुकुन्द सरका अनुसार कुनै कार्यक्रममा हेर्ने र सुन्ने दुवै भूमिका सँगै निर्वाह गर्नेको नाम ‘होर्ता’ हो रे ! होर्र्ता निबन्धमा कुनै कार्यक्रममा सुन्न, हेर्न र ताली बजाउन मात्रै पुगेकाहरूको मनस्थिति कस्तो हुन्छ र मञ्चकाहरूले कसरी सर्वसाधारणलाई बेला–बेला विना रस ताली बजाउनुस्, हाँस्नुहोस्, सुन्नुहोस्, हेर्नोस् भनेर वाक्क दिक्क पार्छन् भन्ने कुरा निकै कलात्मक तवरले प्रस्तुत गरिएको छ । होर्ताले कार्यक्रम ‘चार आनाको मासु बाह्र आनाको मसला’ जस्तो होला कि भनेर शङ्का पनि गर्छ, यस्तो नहोस् भनेर शुभकामना पनि दिन्छ ।

होर्तासँग आलोचनात्मक चेत हुन्छ । होर्तालाई मञ्चासीन नायकको महावाणी “हाँसिरहनुस्, सुख बढिरहन्छ” मा “हाँसिरहनुस्” ले घोच्यो । होर्ता रिसायो, त्यसै कोही हाँसिरहन सक्छ ? होर्ताले तबसम्म हाँसोलाई हाँसो मान्दैन, जबसम्म त्यो प्रफुल्ल मनबाट उम्लिएर बाहिर नआओस् । मन थाम्नै नसक्ने गरी पेटका लाम्टा दोब्रिउन्जेल, आँखाबाट आँसु चुहिन्जेल रमाएर हाँस्नुलाई मात्र हाँस्नु ठान्छ । अडिन नसकेर धुलोमा पसारिंदै, मडारिंदै हाँस्नुलाई मात्र हाँस्नु भन्छ । सुतेको बालक ब्यँुझिने गरी खित्का छोडी–छोडी हाँस्नुलाई हाँस्नु भन्छ तर यस्ता कुनै प्रसङ्ग विनै मञ्चासीन नायकको महावाणी ‘हाँस्नुहोस्’ ले होर्तालाई पारा तातेर आउँछ । मेरो पारा भने होर्तालाई देखेर तात्यो– यत्रो गहिरो हाँसोको अपेक्षा गरेर कार्यक्रममा किन जानुपरेको ? आजकल कमेडीकै शोमा त अब हाँस्नुहोस् भन्ने होर्ता हाँस्दिने, हाँस्नोस् भनेको काट्ने, हाँसेको राख्ने गर्छन्, अन्य कार्यक्रमको कुरै छाडौं ।

क्षणिकीहरूको अर्को एउटा क्षणमा लेखकलाई भाषण गर्न जानु छ । होर्ता बन्दाको क्षणबाट लेखक शायद अल्लि माथि उक्लिएछन्, होर्ताले पनि भाषण ठोक्ने दिन आउँदोरहेछ । यसलाई यसरी बुझौं, मानिसको जीवन हो, कहिले तल बसेर माथि हेर्नुपर्छ त कहिले माथि बसेर तल । जस्तो कि अघिल्लो महिनाको अन्तिम शनिवार म होर्ता थिएँ, कसैले यहाँबाट भाषण ठोकिरहेको थियो, आज म भाषण पड्काइरहेछु, तपाईंहरू होर्ता । लेखकका लागि भाषणको विषयवस्तुभन्दा पनि भाषण गर्न जानु नै चुरो कुरो हो । वास्तवमा भाषणकर्ता नै अलमलमा छन् । भाषणकर्तालाई थाहा छ, उनी भाषणकलामा मार्टिन लुथर किङ जुनियर होइनन्, महात्मा गान्धी पनि होइनन्, न त नेल्सन मण्डेला नै । उनलाई थाहा छ, उनीसँग सम्बोधनमै दुई मिनेट ताली खान सक्ने स्वामी विवेकानन्दको जस्तो अद्वितीय क्षमता पनि छैन । उनलाई भाषणमै चाकडी गर्नु छ । मञ्चासीनदेखि होर्तासम्मलाई । मात्र उनको भाषणमा हल नरित्तियोस् भनेर । समाचारमा नाम छुट्ला कि भन्ने डरले सञ्चारकर्मी साथीहरूलाई त उनले बिर्सिंदै नबिर्सिने वाचा गरेका छन् । भाषणमा के भन्ने भन्दा पनि भाषणकर्ता, भाषण गर्न जाँदा के लगाउने, कस्तो बनेर जाने, कसरी बस्ने जस्ता कुरामा चिन्तित छन्, हाम्रा देशका नेताहरू जस्तै । दुई कौडीको भाषण गर्न दुई लाखको तयारी जस्तो । नेताको भाषण नेताकै पिएले पनि सुन्न नसके जस्तो, भाषणकर्ताको सहयोगी भाइले पनि उनको रिहर्सल सुन्न सकेनछ । भाषण सुन्न साह्रै गाह्रो छ ।

लेखकले जीवनलाई ‘एक मास्टरपिस’ रचना भनेका छन् । सूचनाप्रविधिको युगमा मानिसहरूले रमाउने खुराकको रूपमा सामाजिक सञ्जालमा पोस्ट्याउने फोटोलाई भरपूर प्रयोग गरिरहेका छन् । यो विज्ञापनको युगमा मानिस कसरी ज्यादा व्यक्तिवादी र प्रचारबाजी बनेको छ भन्ने कुरालाई लेखकले निकै रोमाञ्चक ढङ्गबाट प्रस्तुत गरेका छन् । अमेरिकाबाट आएका युवा कथाकार कृष्ण कुसुमको पहिलो कथा सङ्ग्रह “पाश्र्वधुन” को विमोचन कार्यक्रममा लेखक आफ्ना दुई जना मित्रहरू बाबा न्यौपाने र गोविन्द गिरीसँग सेल्फीमा रमाएका छन् । बेलुका फेसबुकमा पोस्ट्याउने खुराक बनाउँदै छन् । सबैका साथीभाइ, छिमेकीले थाहा पाइहाल्छन् आज ऊ कता थियो भनेर, कार्यक्रममा के के भयो, को कसले के के भने कसैलाई मतलब छैन । ठ्याक्कै आजभोलिका बजारका कार्यक्रमहरू जस्ता । आज पनि म २/३ वटा खुराक बनेर यो मञ्च उक्लिएको हुँ ।

हो, लेखकले भने जस्तै मानिस प्रचारवादी छ; मानिस विज्ञापनवादी छ; मानिस व्यक्तिवादी छ । मानिसको रमाउने बहानाको अर्को खुराक लेखकले भोज भनेका छन् । भोज गर्नलाई न कारण चाहिन्छ, न सन्दर्भ । आयोजक भने अवश्य चाहिन्छ । भोज खानेले पनि, खुवाउनेले पनि फोटो खिचिक्क नपारी खाने भए पो त ! भोजको कहाँ जमाना छ र जमाना त यहाँ फोटोको छ । लेखकले भोजलाई एकमुठी खुसीलाई एक मुरी बनाउने स्वादिलो बहाना भनेका छन् । हर्षको उन्माद भनेका छन् । आफ्नाहरूलाई बोलाएर मुग्ध पारिने कलापूर्ण चटक भनेका छन्, जसमा मेरो पूर्ण समर्थन छ ।

अनुभूतिहरू

जीवन जसरी हिजो आजसँग मिल्दैन, आज भोलिसँग मिल्दैन तर प्रत्येक दिनले आआफ्नो छाप छोडेकै हुन्छन् । त्यसरी नै धोबीघाट मेलोडीका निबन्धहरू एउटा अर्कोसँग मिल्दैनन् तर सबै निबन्धहरूले सशक्त सन्देश बोलेका छन्

लेखकले ‘एउटा प्रेमपत्र’ मा “प्रेम एउटा गम्भीर मानसिक रोग हो” भन्ने भनाइसँग सहमति जनाउँदै अहिले आफूसँग स्मृतिमा मात्र भएकी प्रेमिकासँग प्रेममा पर्न थालेपछि आफू रोगी भएको बताएका छन् । आफ्नो पूर्व प्रेमिकालाई सम्झिएर कसलाई प्रेमपत्र लेख्न मन लाग्दैन होला र ? कसको मनमा पूर्व प्रेमका स्मृतिहरूले गुँड लगाउँदैनन् होला र ?

प्रेमको जस्तै अर्को शक्तिशाली पाटो हो, बाल्यकालका साथीका स्मृतिहरू । जो कोहीलाई बाल्यकालका कुरा उघार्दा घामले दिन उघारे झैं लाग्छ । अझ बाल्यकालका भाँडाकुटी खेल्दाका, प्रेम सम्झँदाका काउकुतीको त के कुरा गरौं ! जब मानिस व्यावहारिक चपेटा र परिस्थितिको भुमरीमा पर्छ तब बाल्यकाल, साथीभाइ, गाउँघर सबैले भरिएको खुत्रुके मनको कुनामा लुकाएर औपचारिकतामा कोट र टाईले बनाएका नाफा–घाटाका साथीसँग भुल्न बाध्य हुन्छ ।

बाल्यकालको साथी सम्झिएर “आइज न यार बात मारौं” भन्न कसलाई मन लाग्दैन र, क्या मज्जाले भनिन्थ्यो ‘यार’ पनि । आजकल ‘औपचारिकता’ दलदलमा छ, अनि ‘यार’ खडेरीमा । “ए… कोही मेरो बाल्यकालको साथी, आइज न यार बात मारौं”– यो मेरो समीक्षा होइन, इच्छा हो ।

“भाग्यमानी रैछस् भुक्दै गर्” एउटा गज्जबको अनुभूति हो । यसमा पनि लेखकको अनुभूति र तपाईं हाम्रो अनुभूति ठ्याक्कै मिल्छ । आजकलका आधुनिक समाजका आधुनिक मानिसहरूले घरमा पाल्ने कुकुरको स्ट्यान्डर्डले आफ्नो स्तर मापन हुने कुरामा विश्वास गर्छन् ।

लोकल कुकुरलाई जर्मन शेफर्ड र लोकलको क्रस हो भनेर आफ्नो इज्जत जोगाउनेहरूको प्रतिनिधि पात्र निबन्धमा भेटिन्छन् । जेहोस्, महलको बार्दलीमा, पारिलो घाम ताप्दै, पोषणयुक्त भोजनको तागतले भुकिरहेका कुकुरहरू गरिबीको साँघुरो घेराभित्रका मानवभन्दा पनि भाग्यमानी छन् । गरिब निमुखा दिनदिनै मर्दा समाज मूकदर्शक छ तर महलमा कुकुर मर्दा सन्नाटा छाउँछ, रुवावासी चल्छ, घरमा भएका घरमै रुन्छन्, बाहिर भएका बाहिरै रुन्छन्, विदेशमा भएका भिडियोकलमा रुन्छन् । त्यो थाहा पाउन लेखकको यो निबन्ध पढ्नै पर्दैन । हाम्रो समाजको आधुनिकताको पराकाष्ठा टिकटकमै हेरे पुग्छ ।

उता “छबाट छोडें” भन्नेले रगत रगतमा इमान जमान छ भन्दै रक्सी चुरोट छोडेको घोषणा गर्छ । रक्सी छोड्ने बहाना अनेक अनेक बनाएको अनुभव तपाईं हामीसँग पनि छ होला । रक्सीका बोतल फुटाइयो होला, फालियो होला तर ‘छबाट छोडें’ मात्र हुँदैन ‘छोड्दिनँ’ पनि हुन्छ । कोही जमिनमा छोडेको हुँ भन्दै जहाजमा चढ्दा आकाशमा खान्छन्, कोही घरमा छोडेको हुँ भन्दै ससुरालीमा खान्छन् । ‘छबाट छोडें’ भए पनि ख–खानी ब–बहाना ध–धेरै छ– छन् ।

अहिलेसम्म मेरो कलमले राम्रै लेखेको अनुभूति भइरहेको थियो तर अब लाग्न थाल्यो मैले लेखेका सत्यहरू मिथ्या हुन् । मलाई लागेका सबै नयाँहरू पुराना हुन् । जब कलमचोर निबन्ध पढें, आफैंले लेखिरहेको कलमप्रतिको मोह भङ्ग भयो । यस्तो तिखो टुप्पो भएर पनि एउटा नयाँ लेख्न नसक्ने बेइमानी कलम । कलम मात्र होइन यो मेरो सोच पनि बेइमानी हो । जँड्याहाले आफ्नो कुलतको दोष रक्सी र चुरोटलाई लगाए जस्तै अल्छीले केही लेख्न नसक्नुको दोष कलमलाई लगाएको छ । निबन्धमा भनिएको छ– “एउटा नयाँ कलमको आविष्कार हुनु जरूरी छ, जसले पुराना केही नलेखोस्, नयाँ नै नयाँ लेखोस् ।” गुरुको जस्तै लेख्छु भनेर गुरुको कलम चोरेर, गुरुको जस्तो केही लेख्न नसकेर गुरुलाई नै कलम फिर्ता गरेको निबन्धको म पात्रलाई भन्न मन लाग्यो, ऐना चोर्दैमा कसैको आकृति चोर्न सकिंदैन, दिमाग चाहिन्छ, पासा दिमाग !

कलमका कुरा छोडौं, अब रहरका कुरा गरौं, गीतका कुरा गरौं । चाइनातिर गुड्ने ३०० किमी प्रति घण्टाभन्दा बढी वेगवान् त्यो रेललाई जुरुक्क उठाएर नेपालतिर ल्याउने रहर, दशैंमा बिहान महेन्द्रनगरमा टीका थापेर दिउँसो टीका थाप्न बिर्तामोडतिर पुग्ने रहर, छिनमै मुस्ताङ, छिनमै पोखरा, छिनमै स्वर्गद्वारी, छिनमै राराताल । चिल्ला सडकमा बिजुली वेग मार्ने रहर । लेखकका मनमा फुलेका जस्ता रहरका तोरीबारीहरू मेरा मनमा पनि फुलेका छन् । तपाईंका मनमा पनि फुलेका छन् । सारा नेपालीको मनमा फुलेका छन् । विकास नचाहने को नै हुन्छ र ? लेखक प्रत्येक ढुङ्गालाई शालिग्राम देख्छन्, प्रत्येक थुम्कामा सगरमाथा देख्छन्, प्रत्येक शान्तिमा गौतम बुद्ध देख्छन् । लेखक राष्ट्रप्रेमले ओतप्रोत एउटा गीत लेख्न चाहन्छन् । अनुरोध आएको छ, त्यो बहाना हो, गीत लेख्ने लेखकको आफ्नै चाहना हो ।

मृत्युसँग लेखक अलि क्रोधित छन् । उनी भन्छन्, “मृत्यु एउटा कपटपूर्ण खेल हो, अत्याचार हो ।” भर्खर मात्र शतायु पार गरेका आफ्ना बुबाको मृत्युपछि लेखकलाई यस्तो अनुभूति भएको हो । मृत्यु अन्तिम सत्य हो । जब मृत्युको समय आउँछ, सबैले हार्छन्, मृत्युले एक्लै जित्छ । ठूलो अस्पताल पनि हार्छ, अस्पताल छेउको सानो मन्दिर पनि हार्छ । मृत्युका अनेक रूपहरू हुन्छन्, कसैलाई अल्जाइमर्सले निल्छ, कसैलाई अरू नै केहीले निल्छ तर मृत्युले निल्यो भने शताब्दी निलिदिन्छ । लेखक भन्छन्, “हे मृत्यु ! एकचोटि तँ आफैं मृत्युको कहर भोगेर हेर् ।’ लेखक महोदय ! मृत्यु नै मर्‍यो भने मानव सभ्यता कसरी चल्ला ? सृष्टिको औचित्य के रहला ? सबैका लागि हुने समान सत्यमाथि यत्रो गुनासो नगरौं । लेखकका बुबाप्रति हार्दिक श्रद्धासुमन ।

अब लेखकका अन्तर्दृष्टिहरूबारे छलफल गरौं !

चम्चा पुराणले समाजका चम्चेहरूलाई व्यङ्ग्यको तीखो वाण प्रहार गर्दछ । चम्चा पुराण व्यङ्ग्य पुराण पनि हो । आजकल राजनीतिमा अलि बढी चम्चागिरी पोखिएको देखिन्छ । चम्चागिरी नै गर्न पनि कहाँ सजिलो छ र ? मेरुदण्ड कहिल्यै सोझिन नपाउने गरी ‘ख्वामित्’ का सामुन्ने घरीघरी झुक्नुपर्‍यो । निधारले पाउ छुनुपर्‍यो । नाक रगड्नुपर्‍यो । निर्लज्ज भई हाँस्नुपर्‍यो । आँसुविनै रुनुपर्‍यो । जुठो पनि चाट्नुपर्‍यो । दिन–रात, भोक–तिर्खा भन्नुभएन । सही र गलतको हेक्का राख्नुभएन । केवल जयजयकार गर्नुपर्‍यो । हाम्रो समाजमा चम्चामै आएजति भए पनि चाट्नका लागि चम्चागिरी गर्नेहरू ठूलाबडाका पैताला वरिपरि भेटिन्छन् । लेखकलाई मात्र होइन, मलाई पनि यस्तै लाग्छ । शायद यहाँ चम्चाकै प्रवर्तन हुनुभन्दा अगाडि चम्चागिरी विद्यमान थियो । लेखक थप्छन्, “चम्चा रहोस् कि नरहोस्, चम्चागिरी सधैं रहनेछ ।”

पृथ्वीलोकबाट स्वर्गलोकमा पुस्तक समर्पण गर्नु भनेको आफ्नै कृति आफैंसँग फर्किएर नआउने गरी पठाउनु होइन ? डेथ अफ द अथर त पढेकै हो, डेथ अफ द टेक्स्ट, यो तपाईंको कस्तो सिद्धान्त हो ?

ढाकाटोपीको अमेरिका भ्रमण निबन्धले सगरमाथालाई अमेरिका भ्रमण गराएको छ । बुद्धलाई अमेरिका भ्रमण गराएको छ । समग्र नेपाललाई अमेरिका भ्रमण गराएको छ । देशको पूर्ण परिचय झल्किएको ढाकाटोपीलाई कहाँ सबैको शिरले धान्न सक्छ र ? जसले टोपी लगाउँछ उसैले देश चिनाउँछ, विश्वसामु । साँच्चिकै भन्नुपर्दा यो निबन्धले मलाई राम्रोसँग ढाकाटोपी चिनाइदिएको छ । ढाकाटोपी लगाएको नेपाली र ढाकाटोपी विनाको नेपालीमा बोर्डर बाहिर कति भिन्नता छ भन्ने कुरा राम्रोसँग सिकाएको छ । गरिबले पसिना पुछुन्जेल मात्र टोपी नलगाओस्, एक घान मकै टोपीमा थापेर खानेले मकै सकिएपछि टोपी नफालोस्, फूल सिउरिएर युवतीलाई फकाउन लगाइएको टोपी युवती फकिएपछि नफालियोस्, झिल्केहरू ढाकाटोपी लगाएरै झिल्के बनुन् । हारेको जुवाडेले तालु आधा देखाएरै भए पनि टोपी लगाओस् तर नफालोस् । नेताले झुटो आश्वासन छोप्नकै लागि भए पनि टोपी लगाओस् । टोपी कसैले नफालोस् । टोपीको माग कहिल्यै नघटोस् । समय र स्वार्थको वेगले हुत्याएर ढाकाटोपीलाई कहिल्यै किनारमा नपुर्‍याओस्, जस्तो कि अहिले समयको वेगले हुत्याएर हर घरमा एक एक थान टेलिभिजन बिक्रीमा छन्, त्यो पनि कवाडीमा । मोबाइल र इन्टरनेटको विस्तारसँगै टेलिभिजनको उपयोगिता घटे पनि टोपीको कहिल्यै नघटोस् ।

क्षणिकी विमर्शमा लेखकले भनेका छन्, “एउटा स्वैरकल्पनाबाट पनि निबन्ध बन्न सक्छ ।” हर हर महादेव एउटा स्वैरकल्पनाबाटै बनेको निबन्ध हो जसमा मानव र महादेवको वार्तालाप, महादेवको नागरिकता बनाउने प्रक्रिया लगायतका काल्पनिक प्रसङ्गहरू प्रस्तुत गरिएको छ । यसलाई ‘न्यारेटिभ एस्से’ अथवा ‘ड्रामाटिक एस्से’ भन्न सकिन्छ ।

पात्रो बाजे भनौं, हल्ला सुन्दैछु, सरकार फेरिंदै छ रे भनौं या नाता चँुडिएको पुस्ता, सबैले ठ्याक्कै समाज बोलेका छन् । पात्रो बाजे जस्तै युद्धमा शहीद बनिसकेको छोरो फर्किन्छ कि भनेर नाइट बसको झ्याल कुरेर बस्ने बाहरू हाम्रो समाजमा अहिले पनि भेटिन्छन् । पात्रो बाजे जति फरासिलो देखिन्छन् उनको मन त्यति नै अमिलो छ । अमिलो मनको चटनी चाट्दै आँसुसँग रोटी निलेका बाहरू अनुहारमा निकै हिम्मतिला देखिन्छन् । बजैको दागबत्तीले पात्रो बाजेको स्वर्गको बाटो खुलोस् र भेट होस्, पात्रो बाजेको आफ्नै छोरासँग, बैकुण्ठको नाइट बसको झ्यालपट्टिको सिटमा ।

देशमा राजनीतिक स्थिरता आओस्, जनताको शासन आओस् भनेर पात्रो बाजेका जस्ता छोराहरूको बलिदानलाई आज फाँसी चढाइएको छ । वर्ष वर्षमा सरकार फेरिएको छ । जनताको सरकार भए पो जनतालाई थाहा हुन्छ सरकार फेरिनुको कारण !

नातिको हात समाएर वृद्धभत्ता लिन गए झैं भोट हाल्न गएकी जुनु आमालाई के थाहा सरकार किन फेरिंदै छ ? मकै पोल्दापोल्दै आगो निभाएर भोट खसाल्न दौडिएकी सुन्तली दिदीलाई के थाहा सरकार किन फेरिंदै छ ? बारी जोत्दाजोत्दै गोरु फुकाएर भोट हाल्न हिंडेको चौधरी माइलालाई के थाहा सरकार किन फेरिंदै छ ? पल्टनबाट छुट्टी मिलाएर चुनावको चाड मनाउन आएको लाहुरेलाई के थाहा सरकार किन फेरिंदै छ ? (पृष्ठ १९५)

आजकलका नयाँ पुस्तालाई त झन् यो मतलबै छैन । कृत्रिम बौद्धिकताको जमाना छ, जे चाहिए पनि च्याट जीपीटी गरे भैगो, चाइनातिर भए पाइतु गरे भैगो । केका शिक्षक, केका गुरु, अग्रजको औचित्य नै हराइसकेको छ । क्या मज्जाले चुडिएको छ, दुई पुस्ताको नाता, अलि अलि विकास र अलि अलि विनाश सहित ।

समग्रमा धोबीघाट मेलोडी एक जीवन मेलोडी हो । जीवन जसरी हिजो आजसँग मिल्दैन, आज भोलिसँग मिल्दैन तर प्रत्येक दिनले आआफ्नो छाप छोडेकै हुन्छन् । त्यसरी नै धोबीघाट मेलोडीका निबन्धहरू एउटा अर्कोसँग मिल्दैनन् तर सबै निबन्धहरूले सशक्त सन्देश बोलेका छन्, अझ भनौं, पाठकलाई जीवन जिउन सिकाएका छन् । जबर्जस्ती समानताहरू खोज्यौं भने केही निबन्धहरूमा समानताहरू पनि भेटिन्छन् तर जीवन बोलिरहेका निबन्धहरूलाई मैले त्यसो गरिनँ किनकि गत वर्षको जस्तो दशैं यो वर्ष हुँदैन, अनि यो वर्षको जस्तो अर्को वर्ष ।

यद्यपि प्रश्नहरू छन् :

१. पृथ्वीलोकबाट स्वर्गलोकमा पुस्तक समर्पण गर्नु भनेको आफ्नै कृति आफैंसँग फर्किएर नआउने गरी पठाउनु होइन ? डेथ अफ द अथर त पढेकै हो, डेथ अफ द टेक्स्ट, यो तपाईंको कस्तो सिद्धान्त हो ?
२. क्षणिकी विमर्शमा तपाईंले चलचित्रलाई मिथ्या आनन्दको स्रोत भन्नुभएको छ, पाठकहरूले चलचित्रहरूलाई मिथ्या आनन्द मानेर धोबीघाट मेलोडीलाई आनन्द मान्नुपर्ने हो ?
३. डस्टिङ डटकममा तपाईं अलि बढी पुरुषवादी हुनुभयो कि ?
४. तपाईंले नेपाली कर्पसमा एउटा नाम थपियो– क्षणिकी भन्नुभएको छ । क्षणिकी त तपाईंले क्वाइन गर्नुभयो, ठिक छ ‘कर्पस’ भनेको के हो ? नेपाली शब्दकोशमा भेटिनँ ।
५. तपाईंले एक पटक बेचिसकेका निबन्धहरू फेरि किन बेच्न लाग्नुभएको ? निबन्ध त तपाईंकै हुन् तर पाठकले दुई–दुई पटक किन किन्ने ?
तपाईंले आम मानिसका अति सूक्ष्म विषयवस्तुहरूमाथि सरल भाषामा गर्नुभएको गम्भीर प्रस्तुतीकरणको म फ्यान भएँ तर के तपाईंले निबन्धहरूमा देखाउनुभएको जस्तै बेसुरको जीवन जिउँछन् सबै ? जीवनका तिता र अपरिपक्व क्षणहरूमाथि मात्र तपाईं किन धेरै नजर लगाउनुहुन्छ ?
१. सबै आफ्नो ठेगानासँग असन्तुष्ट नै हुन्छन् ?
२. सधैं पुरुषले घरको सरसफाइमा अनेक बहाना बनाउँछन् ?
३. एउटा रेडियो फुट्दा यत्रो गुनासो कसले गर्छ ?
४. सबै कार्यक्रमहरू होर्ता गएका जस्तै हुन्छन् ?
५. सबै भाषण गर्न जानेले यस्तै चटक गर्छन् ?
६. के सबै फेसबुके खुशीमा सीमित छन् ?
७. के सबै भोजहरू स्वार्थले मात्रै ख्वाइन्छन् ?

तपाईंका क्षणिकी, अनुभूति र अन्तर्दृष्टिहरू किन धेरै नकारात्मकतामा केन्द्रित छन् ? यसरी तपाईंले के स्थापित गर्न खोज्नुभएको हो ? तपाईंको निबन्धगत प्रवृत्तिमाथि शङ्का छ यद्यपि निबन्धहरू पाठकलाई राम्रैसँग बाँध्न सक्षम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?