+
+
Shares
वार्ता : मीन विश्वकर्मा :

नेतृत्व उमेर होइन, विचारका आधारमा आउनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते २०:०९

२०८२ सालमा कांग्रेसको १५औं महाधिवेशन हुन असम्भव रहे पनि चर्चा भने शुरू भइसकेको छ । १५औं महाधिवेशनमा रहेर चर्चा हुनुको विशेष कारण सभापति शेरबहादुर देउवाको स्वतः बहिर्गमन हो । देउवाले कांग्रेसको नेतृत्व छोड्दा त्यसले कांग्रेस र आम नागरिकमा समेत आशा ल्याउने विश्लेषण कतिपयले गर्छन् ।

अन्य दलमा मूल नेतृत्वको बहिर्गमन नदेखिइरहँदा कांग्रेसको महाधिवेशनले दिने सन्देशका विषयमा रहेर प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँग अनलाइनखबरकर्मी लिलु डुम्रेले गरेको कुराकानीः

क्रियाशील सदस्यता नवीकरणको समयावधि असार मसान्तसम्मका लागि थपियो । सदस्यता वितरण र नवीकरणको काम नसकिएकाले यही वर्ष कांग्रेसको १५औं महाधिवेशन हुने सम्भावना टर्‍यो है ?

२०८२ सालमा महाधिवेशन हुन सम्भव छैन । यो वर्ष कांग्रेसको महाधिवेशन भएको ४ वर्ष पुग्छ । महाधिवेशनको कार्यतालिका अहिलेसम्म सार्वजनिक भइसकेको छैन ।

विधानले ५ वर्षभित्र महाधिवेशन गर्ने व्यवस्था गरेको छ । ५ वर्षभित्र नभएर उता लैजान विधानले दिंदैन । त्यस कारण ४ वर्षभित्रमा महाधिवेशन गर्न सम्भव छैन । र, ५ वर्ष उता लगेर महाधिवेशन गर्न मिल्दैन । यो वर्ष महाधिवेशन हुँदैन । २०८३ भन्दा उता लैजान सकिंदैन । मिल्दैन पनि ।

छिटो महाधिवेशन हुन नसके २०८४ सालको चुनावपछि गर्न उपयुक्त हुने विचार कतिपय नेताको आएको छ । यसमा तपाईंको बुझाइ के हो ?

जसले चुनावमा उम्मेदवार हुने इच्छा राख्नुभएको छ; अथवा, इच्छा नभए पनि पार्टी हार्छ कि भन्ने चिन्ता व्यक्त गर्नुभएको छ, यो उहाँहरूको विचार हो । पार्टीको निर्वाचन र आमनिर्वाचन एकै वर्ष वा एकै समयमा पार्न हुँदैन भन्ने मनसायले यस्तो धारणा आएको हो ।

आम निर्वाचन सार्न मिल्दैन । त्यसो हुँदा पार्टीको सार्ने कि भन्ने कुरा केही नेताहरूले उठाउनुभएको छ । तर सार्न पाउने वैधानिक व्यवस्था छैन । संविधान अनुसार साढे ५ वर्षभन्दा उता लैजान सकिंदैन । साढे ५ वर्षमा गर्दा ठ्याक्क निर्वाचनको बेला पर्छ ।

२०८३ मंसिरमा पार्टीको महाधिवेशन गरिसक्दा संघीय निर्वाचनका लागि हामीले तयारी गर्न एक वर्षको समय रहन्छ । स्थानीय, प्रदेश र संघीय चुनाव कुन अघि, कुन पछि गर्ने बारेमा सबै दलको सहमति जुटाउन छलफल गर्न सकिन्छ । पहिले संघीय र प्रदेशको चुनाव गराएर पछि स्थानीय चुनाव गराउने कि भन्ने पनि अहिले सँगसँगै उठेको छ ।

२०८४ पछि महाधिवेशन गर्ने कुरा सभापति शेरबहादुर देउवाको चाहनालाई अरू नेताले बोलिदिएका हुन् भन्ने आशंका पनि छ नि ?

सभापतिले सबैले भनेको कुरा सुन्नुहुन्छ । सबैले भन्न खोजेको कुरा बुझ्नुहुन्छ । र, आफू निर्णय लिनुहुन्छ । केही केन्द्रीय पदाधिकारी, सदस्य, स्थानीय तहका नेताले पार्टी र आम निर्वाचनसँगै नपार्नुस् है भनेर सभापतिलाई भन्नुभएको छ ।

उहाँहरूको कुरा महाधिवेशन अलि अघि गरौं वा सार्ने नै हो भने अलि पछि पारौं भन्ने राय छ । यस सम्बन्धमा केन्द्रीय समिति बैठकमा पनि छलफल हुन्छ । अब बस्ने केन्द्रीय समिति बैठकमा विधान मस्यौदा समिति गठनको कुरा होला । महाधिवेशनको तयारीको लागि पनि आवश्यक कामहरू तय गर्ला ।

समयमा महाधिवेशन गर्नुपर्छ भन्ने नै छ । तर, महाधिवेशन र आम चुनाव कम्तीमा एक वर्षको समय अन्तर गर्नुपर्ने कुरा छन् । आम चुनावलाई कसरी लैजाने भनेर संविधान संशोधनको विषयसँग पनि जोडेर हेरिएको छ । एमाले र कांग्रेस बीचमा सरकार बनाउँदा भएको सहमति अनुसार यही वर्ष संविधान संशोधन एजेण्डामा छलफल पनि होला । संविधान संशोधन हुँदै गर्दा निर्वाचन प्रणाली र चुनावको समय पनि के कसो हुन्छ ? त्यसमा पनि छलफल होला ।

२०८४ पछि महाधिवेशन गर्नुपर्ने तर्कमा आमनिर्वाचनको मात्रै विषय जोडिएको होला ?

विद्यमान कार्यसमितिले नै चुनावमा टिकट वितरण गर्‍यो भने एक खालको शक्तिको निरन्तरता हुनेभयो । आफू हुँदा सजिलो हुन्छ भन्ने पनि लागेको होला ।

सभापतिलाई लामो समय सहयोग गरेका, अनुभव प्राप्त नेताहरू एकठाउँ बस्नुभयो भने, त्यो बलियो समूह बन्छ । प्रभावकारी समूह हुन्छ ।

तर, यस विषयमा सभापतिले अहिले केही पनि बोल्नुभएको छैन । कुनै कुनै पदाधिकारी र केन्द्रीय सदस्यले महाधिवेशन चुनावपछि गर्नुपर्छ भनेर धारणा राखिरहनुभएको छ । यो विषय संविधान र कांग्रेसको विधानसँग पनि जोडिएको छ । यसमा यसो गर्ने भनेर पार्टीले गहन छलफल, विश्लेषण गरेर निष्कर्ष ननिकालेसम्म त व्यक्तिगत धारणा मात्रै हुन्छ । पार्टीको धारणा बनिसकेको छैन ।

कांग्रेसको १५औं महाधिवेशनलाई पार्टीभित्र मात्रै होइन, बाहिरबाट पनि चासोका साथ हेरिएको छ । किनकि, यसपटक सभापतिमा देउवा उम्मेदवार हुन विधानले दिंदैन । त्यसो हुँदा कांग्रेसको महाधिवेशन विगतकै निरन्तरता नभई फरक सन्देश पनि दिन्छ भनेर बुझ्न सकिन्छ ?

दलले आफूले आफूलाई परिमार्जित गरेन, रूपान्तरण गरेन र आम जनताले महसुस गर्ने गरी पार्टीभित्र र बाहिर परिवर्तन गरेन भने जनताले अर्को विकल्प खोज्न सक्छन् ।

नागरिकले खोजेको विकल्प हामीले नै दिन सक्छौं भन्ने सन्देश दिनुपर्छ । नेतृत्व हस्तान्तरण सँगसँगै पुस्तान्तरण पनि गर्ने, पार्टीभित्र भएको उकुसमुकुसलाई हटाउन सक्ने गरी अघि बढ्नुपर्छ । अब हुने महाधिवेशनले तीन विषयलाई सम्बोधन गर्नुपर्छ । पहिलो, पार्टी कार्यशैलीको रूपान्तरण । दोस्रो, नेतृत्व हस्तान्तरण । तेस्रो, नेतृत्व हस्तान्तरण सँगसँगै पुस्तान्तरण ।

तर, उस्तै कार्यशैली भएका नेताहरू नेतृत्वमा आउने अवस्था बन्यो भने नागरिकले खोजेको विकल्प हामी नै हौं भन्न कांग्रेसले कसरी सक्छ ?

स्वाभाविक तरिकाले अहिले जो शक्तिमा हुनुहुन्छ, उहाँहरूले पनि निरन्तर शक्ति कायम राख्न कोसिस त गर्नुहुन्छ नि ! साथै, पार्टीको तल्लो तहमा पार्टीको लागि जसले जमिनमा रहेर काम गरिरहनुभएको छ, त्यो तहमा काम गरिरहेका साथीहरूको भावना कांग्रेसले नै पटक–पटक यो मुलुकमा संकट दिने बेला निकास दिएको बुझ्नुभएको छ । कांग्रेसको नेतृत्वले मात्रै मुलुकमा परिवर्तन हुन्छ भन्ने विश्वास छ ।

कांग्रेस परिवर्तन नभई मुलुकले खोजेको परिवर्तन सम्भव हुँदैन । विगतको हेर्‍यौं भने, जब कांग्रेसभित्र एकता भयो, राणा शासन विरुद्ध लड्यो । त्यो शासन ढल्यो । निर्दलीय पञ्चायतको बेला कांग्रेस संगठित भयो, आन्दोलित भयो । पञ्चायती व्यवस्था ढल्यो । कांग्रेसले गणतन्त्र नभनेसम्म हिंसात्मक गतिविधिले परिवर्तन ल्याउन सकेको थिएन । कांग्रेस प्रजातान्त्रिक र कांग्रेसले राजतन्त्र छोड्ने निर्णय लिए मुलुक गणतन्त्रमा गयो ।

समानुपातिकको नमूना नै कांग्रेस बनेको छ । अहिले मुलुकले खोजेको आर्थिक समुन्नति र सुशासनका लागि जनअपेक्षा छ । विगतमा आफ्नो क्षमता, योग्यता, योगदानले जसले काम गर्नुभयो, उहाँहरूलाई नागरिकले हेरिसके । मुलुकको परिवर्तनका लागि नेतृत्व परिवर्तन गर्नुपर्छ । कार्यशैली पनि परिवर्तन गर्नुपर्छ । त्यसका लागि उमेरका आधारमा होइन, विचारका आधारमा हुनुपर्छ । कि नेताहरूले आफूलाई रूपान्तरण गर्नुपर्छ । होइन भने उहाँहरू पुस्तान्तरणका लागि तयार हुनुपर्छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विधानको कारण अब त्यही पदमा उम्मदेवार हुने अवस्था छैन । नागरिकको अपेक्षा पूरा गर्ने गरी कांग्रेसको सभापतिमा नयाँ अनुहार आउनेमा तपाईं विश्वस्त हुनुहुन्छ ?

पार्टीभित्र बहस भइरहेको छ । बहसलाई वर्तमान नेतृत्वले सहज स्वीकार्नुभएको छ । सम्भावनाको खोजी गर्नका लागि अवसर पनि दिइरहनुभएको छ । कसैलाई पनि आफ्नो समर्थनको सभापतिको उम्मेदवार फलानो हो भनेर भन्नुभएको छैन ।

त्यसरी सभापतिले कसैलाई नतोक्नु पनि माथि मैले भनेको तीन कुराका लागि उहाँ तयार भएको हो । नेतृत्व हस्तान्तरण गर्ने पहिले नै बोलिसक्नुभएको छ । पुस्तान्तरणका बारेमा जो लोकप्रिय हुन्छ, उही सभापति बन्छ भन्नुभएको छ । त्यसको अर्थ हस्तान्तरणसँगै पुस्तान्तरणमा पनि जानुपर्छ भन्ने देखिन्छ ।

यतिबेला राजनीति र आर्थिक क्षेत्रमा उकुसमुकुुस छ । यो उकुसमुकुसबाट बाहिर निकाल्न सक्ने दृष्टिकोण प्रस्तुत गरेर नेतृत्व लिनसक्ने व्यक्ति भयो भने संकट हटाउन असम्भव भन्ने हुँदैन ।

यतिबेला व्यवस्था विरोधी र वैकल्पिक शक्तिहरूको चुनौती मुख्य दलहरूले भोगिरहेका छन् । चुनौतीलाई सामना गर्दै नागरिकलाई आफूप्रति विश्वास आर्जन गर्ने शक्तिका रूपमा कांग्रेसले आफूलाई महाधिवेशन मार्फत उभ्याउन सक्ला ?

कांग्रेस र मुलुक परिवर्तनको सन्देश महाधिवेशन मार्फत दिनुपर्छ । एकथरी निरंकुशतावादी, जो राजावादी भन्छौं । अर्कोथरी, लोकप्रियतावादी, जो व्यवस्थाको विरुद्धमा जान सक्दैनन् तर असन्तुष्टिहरू बटुलेर लोकप्रिय बनाउन कोसिस गर्छन्, उनीहरूसँग दृष्टिकोण पनि हुँदैन । र, अर्को एकथरी, जो अराजकतावादी छन्, उनीहरू अस्थिरता सिर्जना गरेर मुलुकलाई दुर्घटनातिर लैजाने कुत्सित उद्देश्य राख्छन् ।

यी तीनथरीको एउटै उपचार गर्ने मुख्यतः कांग्रेस, एमाले, माओवादीले हो । उनीहरूले पटकपटक सरकारको नेतृत्व गरेका छन् । व्यवस्था जगाउने दृष्टिकोण भएका दलहरू हुन् । समस्या उनीहरूको कार्यशैलीमा हो । कार्यशैलीमा रूपान्तरण नभएसम्म विचार र सिद्धान्त मात्रै बोकेर, किताब मात्रै पढेर मुलुक अघि बढ्दैन ।

नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको अवधि असार मसान्तसम्म लम्ब्याएको छ । क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य नसकिंदासम्म महाधिवेशनको प्रक्रियाले गति लिंदैन ।

त्यस कारण यी तीनवटै प्रवृत्तिलाई बुझ्दै कांग्रेसको महाधिवेशनले विसंगति चिर्दै अघि बढ्नुपर्छ । नेतृत्व, दस्तावेज, रणनीतिका आधारमा अघि बढ्नुपर्छ । पार्टीभित्र विचारका आधारमा समूह बन्छन् । विचारका आधारमा निर्माण हुने समूहमा जसको अग्रगामी विचार हुन्छ, जसले चुनौती बोक्छ, जसले मुलुकका सबै विषय समेटेर पार्टीलाई लोकप्रिय बनाउँछ त्यस्तो नेतृत्वका लागि पार्टीभित्र खोजी पनि भइरहेको छ । त्यस्तो नेतृत्वको सम्भावना पनि छ ।

यतिबेला कांग्रेसका केही नेताहरू एउटा समूह बनाउने गरी छलफलमा हुनुहुन्छ । पूर्व पदाधिकारीको छुट्टै समीकरण बनाउने उहाँहरूको तयारीले मूर्तरूप पाउला ?

कांग्रेसको महाधिवेशनमा प्रायःजसो ३/४ जना सभापति उम्मेदवार हुँदै आउनुभएको छ । यसपटक सभापतिको उम्मेदवार अलि बढी हुने सम्भावना पनि छ । सभापतिले फलानो व्यक्ति मेरो उत्तराधिकारी भन्नुभएको छैन । सभापतिले फलानो व्यक्तिलाई मेरो समर्थन छ भनिदिनुभयो भने एउटा समूह त्यही बन्छ ।
दोस्रो पुस्ताका नेताहरूले अब हाम्रो पालो आयो, तर हामीमध्ये को ? भनेर समूह निर्माण गर्नुभएको छ । मेरो विचारमा धेरै जना हुनुहुन्छ । आफूआफू सल्लाह गर्नुस् न भनेर सभापतिले भने जस्तो मलाई लाग्छ । त्यही कुरा बुझेर उहाँहरू एकठाउँमा बस्नुभएको छ । एकठाउँ बसेर आगामी नेतृत्व लिने प्रयत्न गर्नुभयो भने एउटा बलियो समूह बन्छ ।

सभापतिको समर्थन खोज्ने उद्देश्यले बन्न लागेको समूह भनिन्छ । एकठाउँ उभिएको सन्देश दिंदै सभापतिलाई समर्थन गर्नुहोस् भनेर दबाब सिर्जना गर्न गठजोड भएको आशंका पनि छन् नि ?

त्यो पनि हो । सभापतिको आशीर्वाद लिन को जाने त ? समर्थन कसलाई दिनुहुन्छ भन्ने पनि होला । मैले नै सभापतिबाट समर्थन पाउँछु भनेर यकिन गर्न नसकेपछि मिलेर जाऔं र सभापतिको मनसाय पनि बुझौं भन्ने होला । उहाँले के भन्नुहुन्छ भन्ने कुरा एउटा भयो ।

शेरबहादुर देउवाको इतिहास कस्तो छ भने, प्रधानमन्त्री बन्दा पनि सबैलाई समन्वय गरेर बन्नुभएको छ । सभापति हुँदा पनि समकक्षी नेताहरूसँग समन्वय गरेर हुनुभएको छ । सभापतिको इतिहास बुझेका कारणले नेताहरूले उहाँकै समर्थन पाउने व्यक्ति सभापति बन्न सक्छ भन्ने विश्वासले समन्वयको बाटोतिर लाग्नुभएको देखिन्छ । समन्वय गरिसकेपछि बलियो हुने र तपाईंहरूबाट एक व्यक्ति आउँदा उसलाई साथ हुन्छ भन्ने सभापतिसँग अपेक्षा पनि हुन सक्छ । हुने/नहुने एकठाउँमा छ तर सम्भावनाको ढोका खुल्छ ।

त्यो समूहबाट सभापति बनिहाल्नुहुन्छ भनेर त अहिले नै भनिहाल्न सकिंदैन । महाधिवेशन हुन अझै एक/डेढ वर्ष बाँकी छ । त्यसका लागि आकांक्षीको दौड शुरू भएको हो । त्यो दौडका लागि रिबन छुन को पुग्नुहुन्छ, अहिले भन्न सकिंदैन ।

सभापतिलाई लामो समय सहयोग गरेका, अनुभव प्राप्त नेताहरू एकठाउँ बस्नुभयो भने, त्यो बलियो समूह बन्छ । प्रभावकारी समूह हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?