+
+
Shares
विचार :

महाधिवेशनसम्म लम्बिने छ गणतान्त्रिक नयाँ कांग्रेसको प्रसव व्यथा

शंकर तिवारी शंकर तिवारी
२०८२ जेठ ९ गते २०:०८

नेपाली कांग्रेस पार्टी स्थापना भएको आठ दशकपछि १५औं महाधिवेशन हुँदैछ। मिति यकिन नभए पनि १५औं महाधिवेशनले कांग्रेस र सिङ्गो नेपाली राजनीतिलाई दिशानिर्देश गर्ने सामर्थ्यले यो महाधिवेशनको गरिमा र महत्व झल्किन्छ।

एकाध वर्षको अन्तरमा खोलिएका नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेस मिलेर नेपाली कांग्रेस पार्टी बनेको थियो। तर ती पार्टीको एकतापछि नेपाली कांग्रेस बन्दा नेपाली राष्ट्रिय कांग्रेसको प्रथम अधिवेशनको मितिलाई नै कायम गरेर एकताको अधिवेशनलाई चौथो महाधिवेशन भनिएको थियो। नेपाली कांग्रेस २००७ सालमा अस्तित्वमा आए पनि नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको २००३ साललाई आधार मानेर नै नेपाली कांग्रेसको महाधिवेशनको गणना र त्यस पार्टीको स्थापनाकाललाई मान्ने गरिएको छ।

नेपाली काङ्ग्रेस पार्टीको १५औं महाधिवेशनले निर्वाचित गर्ने सभापतिलाई लिएर पार्टी भित्र र बाहिर समान जिज्ञासा र कौतूहल छ। त्यो कांग्रेसप्रतिको आकर्षण मात्र नभएर पार्टीको राष्ट्रिय राजनीतिमा रहेको सर्वोपरि स्थानले गर्दा हो।

विशेषगरी गिरिजाप्रसादको अवसानपछि नेपाली कांग्रेसको नेतृत्व सुशील कोइरालाको कार्यकालमा होस् वा शेरबहादुर देउवा कार्यकालमा होस् प्रचण्ड र केपी ओलीको छायाँमा परेको जस्तो देखिन्थ्यो। १५औं महाधिवेशनपछि भने त्यो अवस्था रहने छैन। कारण क्रमशः ओली र प्रचण्ड दुवै ओरालो यात्रामा छन्। र, उनीहरु पुन: उकालो लाग्ने सम्भावना छैन। कांग्रेसले निर्वाचित गर्ने नयाँ नेतृत्वले नै ती सबै दल र राष्ट्रिय राजनीतिलाई नेतृत्व दिने सम्भावना ज्यादा छ।

नेपालको राजनीति तीव्र रूपमा संक्रमणकालबाट गुज्रिरहेको छ। २०६२/६३ को जनआन्दोलन, दुई–दुई वटा संविधानसभाका निर्वाचन, २०७२ सालमा नयाँ संविधान जारी भए यताका दुई वटा गणतान्त्रिक संसद्ले समेत देशको नयाँ राजनीतिबारे चित्तबुझ्दो स्थिर आकृति तयार गर्न सकेको छैन। २०७४ को प्रथम गणतान्त्रिक संसद्का लागि भएको निर्वाचनमा भएको वाम एकताले सिर्जना गरेको उभार ठूलो निराशामा परिणत भयो। त्यसयता वाम एकताको शीर्ष रटान जति भए तापनि त्यसले भुइँतहमा कुनै उत्साह सिर्जना गर्दैन।

२०७९ सालको दोस्रो गणतान्त्रिक संसद्का लागि भएको निर्वाचनले कांग्रेस र एमालेलाई ठूलो मतभार दिंदै गर्दा २०६४ कै हाराहारी नभए पनि वैकल्पिक राजनीतिका प्रतिको आम जनताको आकर्षण अभिव्यक्त भएको थियो। त्यो अभिव्यक्तिलाई निराशामा बदलिन धेरै समय लागेन।

रवि लामिछानेदेखि रेशम चौधरीका पार्टीहरूले वा स्थानीय निर्वाचनबाट मेयरमा निर्वाचित भएका बालेन शाह, हर्क साम्पाङ, गोपी हमालसम्म उनीहरूको पुरानो लोकप्रियताको शिखरमा छैनन्।

मधेश प्रदेशमा उपेन्द्र यादवको मुख्यमन्त्रीले पाँच वर्ष मुख्यमन्त्री चलाएको भन्दा सीके राउतको पार्टीको मुख्यमन्त्रीले के फरक कार्य गरिरहेका छन्, कसैलाई अत्तोपत्तो छैन। यसले कतातर्फ संकेत गर्छ भने मानिसहरू ‘जान्नेलाई छान्ने’ वा ‘नयाँ भनिएको नयाँ’ सँग समेत सन्तुष्ट छैनन्।

कोशी पूर्वमा पहिचानको लडाईं पाथीभरा मन्दिरको आडमा राज्यसँग वार कि पार गर्न खोजिरहेको छ। यो त सतहमा देखिने राजनीतिक र पहिचानको सामान्य अवस्थाको चित्रण मात्र हो। योभन्दा तल समाजलाई चलायमान बनाउने आर्थिक कुरा र गाउँबाट शहरसम्म मानिसहरूको अभूतपूर्व आप्रवासन/बसाइँसराइले र २०६२/६३ यता आरक्षण/समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी भएपछि लोकसेवा वा निर्वाचनका माध्यमबाट वा अरू संविधानले निर्दिष्ट गरेका बहुविधि माध्यमबाट अवसर पाएको तप्काले परम्परागत रूपमा बाहुन क्षेत्री र नेवारहरूको रजगजलाई नराम्रोसँग हल्लाइदिएको छ। त्यसले पारेका सांस्कृतिक असरहरूको बारेमा बृहत् समाजशास्त्रीय विवेचना जरूरी छ।

घरेलु अन्तरकथा मात्र नभएर संसारभरि देखिएका/देखापरेका सामाजिक उथलपुथल, आर्थिक असुरक्षा, अविच्छिन्न युद्धहरू, प्रविधिको द्रुत विकास र जलवायु संकटले निम्त्याएको अव्यवस्था र यी विद्यमान परिस्थितिबाट लाभ लिन खोजी बसेका राजनीतिक अवसरवादीहरूबारे आज विश्वको कुनै पनि लोकतान्त्रिक राजनीति गर्ने दल वा त्यस दलको नेताले यी सवालमा जानकार हुनै पर्दछ, सामना गर्नै पर्दछ। नेपाली कांग्रेस वा त्यसको नेतृत्व पनि यो चुनौतीबाट अछुतो रहन सक्दैन।

आधुनिक लोकतन्त्र राजनीतिक पार्टी विना चल्न सक्दैन। तर ती राजनीतिक पार्टीलाई कसरी लोकतान्त्रिक बनाउने त्यो विधिको निरुपण अमेरिका वा भारतमा समेत चित्तबुझ्दो मोडल छैन। नेपाल त्यसको अपवाद रहन सकेको छैन। बेलायतमा त्यसको सन्तोषजनक प्रबन्ध भएर पनि एउटा जनमतमा तीन जना प्रधानमन्त्री बने।

नेपालमा खुलेको र सबभन्दा लामो अस्तित्व र इतिहास रहेको नेपाली कांग्रेस पार्टीको आन्तरिक लोकतन्त्रको मापन गर्न स्थापना भएको २००३ सालदेखि आज २०८२ सालसम्मको साङ्गोपाङ्ग इतिवृत्त खोज्नुपर्ने हुन्छ। यो पार्टीको नेतृत्व, यसले लिएका नीति, सत्ता बाहिर–भित्र रहँदा देखाएका व्यवहार ती सबै कुराको मानकमा मात्र नेपाली कांग्रेस पार्टीको मूल्याङ्कन हुन सक्दछ।

नेपाली काङ्ग्रेस पार्टीको १५औं महाधिवेशनले निर्वाचित गर्ने सभापतिलाई लिएर पार्टी भित्र र बाहिर समान जिज्ञासा र कौतूहल छ। त्यो कांग्रेसप्रतिको आकर्षण मात्र नभएर पार्टीको राष्ट्रिय राजनीतिमा रहेको सर्वोपरि स्थानले गर्दा हो।

बीपी कोइराला समयको नेपाली कांग्रेस वा गणेशमान/किसुनजी/गिरिजाप्रसाद नेता त्रयको समयको कांग्रेस वा २०५१ सालदेखि गिरिजाप्रसादको एकछत्र नेतृत्व रहेको कांग्रेस र त्यसपछि सुशील कोइराला नेतृत्वको कांग्रेस र आज शेरबहादुर देउवा नेतृत्वको कांग्रेसको अलगअलग कालखण्डको सूक्ष्म तरंगहरू केलाउने हो भने नेपाली कांग्रेसले पन्ध्रौं महाधिवेशनमा चयन गर्न खोजेको नयाँ नेतृत्वको लागि त्यो पार्टीभित्र चलिरहेको प्रसव व्यथाको अनुमान गर्न सकिन्छ। नेपाली कांग्रेसभित्र पुस्तान्तरण हुने कुराको पक्कापक्की छ। कांग्रेसको विधानले व्यवस्था गरेअनुसार वर्तमान सभापति शेरबहादुर देउवा तेस्रो पटकका लागि सभापतिमा प्रतिस्पर्धा गर्न नपाउने भएकाले कांग्रेसको महाधिवेशनका प्रति आम मानिसको चासो हुन गएको हो।

२०७८/७९ मा नेपालका ठूला चार दल काङ्ग्रेस, माओवादी, एमाले र राप्रपाको पार्टी महाधिवेशनहरू सम्पन्न भएका थिए। ती अधिवेशनले कांग्रेसमा शेरबहादुर देउवाको निरन्तरता, एमालेमा केपी ओलीको वर्चस्व र माओवादीमा प्रचण्डको प्राधिकारलाई स्थापित गरिदिएको थियो। राप्रपाका हकमा भने कमल थापालाई विस्थापित गरेर राजेन्द्र लिङ्देनले नेतृत्व सम्हालेका थिए।

आज एमाले र माओवादी सभापतिको एकाधिकार नेतृत्वले गर्दा हिटलरको रेजिमेन्टेड पार्टी जस्तो देखिन्छन्। नेपाली कांग्रेसका हकमा त्यो पार्टीभित्र शेरबहादुर देउवाको जतिसुकै दबदबा भए पनि त्यो कुरा भन्न सकिंदैन। किनकि नेपाली कांग्रेसभित्र त्यसको शीर्ष नेतृत्वलाई धारे हात लगाउँदै फरक मत राख्ने अधिकार आजसम्म निर्वाध नै छ त्यही भएर नै कांग्रेसका महामन्त्री गगन थापा पार्टी सभापति शेरबहादुर देउवाले लिएको नीतिसँग फरक मत राख्दाराख्दै पनि सभापतिको नीतिलाई सफल पार्न हातमा हात मिलाएर हिंडिरहेको देखिन्छ। त्यो काङ्ग्रेस पार्टीको परिष्कृत पद्धति र संस्कार बनेको देखिन्छ।

प्रजातन्त्र स्थापनादेखि गणतन्त्र स्थापना बीचका महाधिवेशन

नेपाली कांग्रेस पार्टीले २००७ साल अगाडि चार वटा अधिवेशन सम्पन्न गरिसकेको थियो। सात सालको क्रान्तिको सफलतालगत्तै २००९ सालमा मात्रै जनकपुरमा पाँचौं महाधिवेशन भयो। अनि कांग्रेसको छैटौं अधिवेशन २०१२ सालमा वीरगञ्जमा भयो। कांग्रेसको सातौं महाधिवेशन पहिलोपटक देशको राजधानी शहर काठमाडौंमा भयो। पञ्चायतको ३० वर्ष प्रतिबन्ध, जेल र निर्वासनका वर्ष थिए। पटना, कलकत्ता र बनारसमा विभिन्न समयमा भएका पार्टी कार्यकर्ता भेला र सम्मेलनबाट पार्टीले आफ्ना नीति तय गर्नुपरेको थियो।

२०३६ सालमा जनमतसंग्रहको आह्वानपछि मात्रै दलहरूलाई आफ्ना गतिविधि गर्न सहज भयो। नेपाली कांग्रेसले बीपीको देहान्तपछि २०४२ को सत्याग्रहसम्म वर्षेनि काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गरेर संगठनलाई ताजगी गरिरहेको थियो। नेपाली कांग्रेसको आठौं महाधिवेशन झापाको कलबलगुडीमा भयो। नवौं अधिवेशन २०५३ मा पोखरामा भयो। त्यसयताका सबै महाधिवेशनहरू काठमाडौंकेन्द्रित भएका छन्।

नेतृत्व चयनको विधि

नेपाली कांग्रेस पार्टीको नेतृत्व चयन हमेशा समझदारी र सुझबुझ वा लोकतान्त्रिक विधिबाट भएको देखिन्छ। नेपाली कांग्रेसले आफ्नो पहिलो सम्मेलनमा त्यो पार्टीको कहिल्यै सदस्यता नलिएको र नेपालको जेलमा रहेको व्यक्ति टंकप्रसाद आचार्यलाई पहिलो पार्टी सभापति घोषणा गरेको थियो। प्रजापरिषद्को इतिहाससँग नेपाली कांग्रेसले आफूलाई जोड्न चाहन्थ्यो। दुई कांग्रेस पार्टीको एकता अधिवेशनबाट पार्टी सभापति बनेका मातृका कोइरालाले के स्वीकार गर्नुभएको छ भने कांग्रेसको नेतृत्व कोइरालाले गर्नुपर्छ भन्ने मत थियो र त्यसमाथि बीपीको नाममा भन्दा मेरो नाममा सहमति सहज बन्यो।

क्रान्ति अगाडि आफ्नो दाजु मातृकालाई सहजै पार्टी सभापति पद त्याग्न राजी भएका बीपीलाई क्रान्ति लगत्तैको अधिवेशनमा पार्टी सभापति पद लिने हुटहुटी पैदा भयो। फेरि त्यही बीपी कोइराला छैटौं अधिवेशनमा पार्टीले समाजवादी नीति अवलम्बन गर्ने तय गरेपछि सुवर्णशमशेरलाई पार्टी सभापतिमा अगाडि बढाउन तयार हुनुभयो। त्यो एक किसिमको गतिशीलता नेतृत्व चयनका क्रममा बीपीले देखाउनुभयो।

सुवर्णशमशेरको देहान्तपछि पार्टीको कार्यवाहक अध्यक्ष सैद्धान्तिक रूपमा बीपीसँग फरक मत राखेका कृष्णप्रसाद भट्टराईलाई कार्यकारी बनाएर बीपीले आफ्नो गल्ती स्वीकार्नुभयो। यो सानो लेखमा ती सबै घटनाको अन्तरवस्तु केलाएर समेट्न सकिन्न। त्यसका लागि लामो आलेख जरूरी हुन्छ। बीपी कोइरालाको अनुपस्थितिमा नेपाली कांग्रेसको सबल नेतृत्व गरेको कृष्णप्रसाद भट्टराईलाई २०४६ को राजनीतिक परिवर्तनपछिको पहिलो अधिवेशनबाट एक कार्यकालका लागि सभापति अनुमोदन गर्नु कांग्रेस पार्टीको धर्म थियो।

२०५३ मा गिरिजाप्रसाद कोइराला पार्टी सभापति भएपछि नेपाली कांग्रेसको नेतृत्व चयन प्रक्रियाको लोकतन्त्रीकरण शुरू भयो। सभापतिको केन्द्रीय कार्यसमितिमा मनोनयनको अधिकार अब पार्टी महाधिवेशन प्रतिनिधिको हातमा पुग्यो। ९औं महाधिवेशनयताका प्रत्येक अधिवेशनहरूमा केन्द्रीय कार्यसमितिको सङ्ख्या र दायरा मात्रै बढेन त्यसभित्र कार्यकर्ताबाट अनुमोदित हुने हिस्सा पनि बढ्दै गयो।

१२औं महाधिवेशनसम्म आइपुग्दा नेपाली कांग्रेस पदाधिकारीको निर्वाचन गर्ने र सामूहिक नेतृत्वको पद्धतिमा जाने कोसिस गर्‍यो तर त्यो सामूहिक नेतृत्वको पद्धतिको केन्द्रमा फेरि पनि सभापति नै रहे। केन्द्रीय सदस्यमा आरक्षणको व्यवस्था गरियो भने पदाधिकारीमा सहमहामन्त्री पदमा पनि आरक्षणको प्रावधान राखियो।

कांग्रेसको १५औं अधिवेशनले असीको दशकको नयाँ नेपाल, गणतान्त्रिक नेपालको असली राष्ट्रिय नेता दिनेछ। राष्ट्रिय राजनीतिमा नयाँ रक्तसञ्चार गर्नेछ। र, २०७२ सालयताको कालो बादललाई हटाएर आशाको चाँदीको घेरा उघार्नेछ।

नेपाली कांग्रेसको १२औं, १३औं र १४औं महाधिवेशनपछि निर्वाचित केन्द्रीय कार्यसमितिको काम गर्ने शैलीको एउटा स्वतन्त्र संपरीक्षण गर्न जरूरी छ। जसका बारे कांग्रेस नेतृत्वले सोचेको देखिंदैन।
अहिले आएर कुनै खास व्यक्तिलाई लक्षित गर्दै महामन्त्री वा उपसभापतिमा पनि आरक्षणको चर्चा गर्न खोज्दैछ जुन कुरा कांग्रेसको कार्यविधिमा प्रत्युत्पादक हुनेछ। आरक्षणबाट आएका सहमहामन्त्रीहरूले उनीहरूको पदको र्‍याशनल स्थापित गर्न सकेका छैनन्। त्यस्तो बेला महामन्त्री वा उपसभापति पदमा आरक्षणको व्यवस्था भद्दा मजाक मात्र हुनेछ।

नेपाली कांग्रेसको विधान आज पनि बीपी कोइरालालाई अन्तिम पटक पार्टी सभापति निर्वाचित गरेको २०१७ सालको विधानलाई आधार मानेर त्यसैलाई संशोधन गर्दै चलाइएको छ। त्यही कुरालाई टेकेर नेपाली कांग्रेस पार्टी बीपीकै समयको विधान अनुसार त्यसको भावनालाई समेटेर अगाडि बढ्नुपर्छ यो बहुपदीय पदाधिकारीमा र निर्वाचन गर्ने पद्धतिले सभापतिलाई काम गर्न अप्ठ्यारो पारेको आकलन अर्कोतिर छ।

के नेपाली कांग्रेसले १२औं, १३औं र १४औं अधिवेशनबाट पदाधिकारी समेत निर्वाचित गर्ने परम्परालाई छाडेर सभापतिको सुविधाका लागि सभापतिलाई नै पदाधिकारी चयन गर्ने सुविधा दिन सक्छ त ? त्यसका लागि पार्टीका निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले पदाधिकारी चयन गर्ने पद्धति बसाउने वा अन्य विधि मार्फत त्यो बारेमा बहस जरूरी छ।

बीपीको बेलाको जस्तो कांग्रेस बनाउन खोजेकाले के-के कुरामा त्यो समयको जस्तो बनाउन खोजेको हो त्यो बारेमा प्रष्ट खाका सहित अगाडि आउनुपर्छ। त्यसै बीपीको पाला जस्तो सभापतिलाई काम गर्न सहज परिस्थिति दिनुपर्छ भनेर एकोहोरो रटान गरेर मात्र हुँदैन।

बीपी कोइरालाले २००३ देखि २०३९ सालमा कांग्रेसको नेतृत्व गरेका बखत उहाँ जेलमा रहेको अवधिलाई हटाएर बाँकी अवधिको मूल्याङ्कन गर्दा के कांग्रेस विवादरहित चलेको थियो? अवश्य थिएन । त्यहाँभित्र अनेकन् विवाद, प्रतिवाद, घर्षण र प्रतिरोधका शृङ्खला चलेका थिए। आज हामीले इतिहासतर्फ झट्ट फर्केर हेर्दा बीपीको समयको कांग्रेस स्वर्ण समयबाट गुज्रिएको वा गिरिजाप्रसादको समयको कांग्रेस स्वर्ण समयबाट गुज्रेको भन्ने बुझाइ मनगढन्ते र एकाङ्गी हुन्छ।

बीपी कोइरालाले मातृकाप्रसादलाई कारबाही गर्दा स्पष्टीकरणको मौका दिनुभएको थियो। त्यो मौका, त्यो सफाइ गिरिजाप्रसादले शेरबहादुर देउवालाई दिनुभएको थिएन। शेरबहादुर देउवाले फुटेको कांग्रेसबाट एउटा आम निर्वाचनको पनि सामना गर्नु परेन। वामदेव गौतमको मालेको हविगत त्यो पार्टीले बेहोर्नु परेन। गिरिजाप्रसादले नै शेरबहादुर देउवालाई नेपाली कांग्रेस पार्टीमा ४० प्रतिशतको हिस्सा सहित रेड कार्पेट बिछ्याएर स्वागत गर्नुभयो।

१३औं महाधिवेशनमा शेरबहादुर देउबा सभापतिमा निर्वाचित हुनुभयो। कुनै समय सुवर्णशमशेरले बीपीलाई कारबाही गरेको पत्र पनि तयार भएको थियो। गणेशमान सिंहले नेपाली कांग्रेसको नेतृत्वको खिलाफमा जेहाद नै लड्नुभयो, कृष्णप्रसाद भट्टराईले पार्टीबाट आफूलाई अलग गर्नुभयो। गम्भीर विवेचनाको आवश्यकता पर्ने यस्तो अनेकन् घटनाले भरिपूर्ण इतिहास नेपाली कांग्रेस पार्टीको छ।

कुनै पनि पार्टीको नेता; त्यसमाथि राष्ट्रिय पार्टीको नेताले त्यो देशको जनता र आफ्ना कार्यकर्तासँग उसको सार्वजनिक सम्बोधन, भाषण र अन्तर्वार्तामा प्रत्यक्ष संवाद गर्न सक्ने हुनुपर्छ। त्यो भनेको पार्टीको प्रमुख व्यक्ति कुशल सञ्चारक, वक्ता वा सम्प्रेषणकर्ता हुनुपर्छ। पार्टीको मूल नेतृत्वको स्वीकार्यताको दायरा पार्टीभित्र, पार्टी बाहिर; प्रतिपक्षसँग र आम जनतामा समेत हुनुपर्दछ। राष्ट्रिय–अन्तर्राष्ट्रिय घटनाक्रमको ठिकठाक समझ हुनुपर्दछ।

नेपाली कांग्रेसको पार्टी सभापति प्रधानमन्त्री पनि बन्ने भएकाले उसको स्वास्थ्य अवस्था पनि कम्तीमा १८ घण्टा काम गर्न सक्ने हुनुपर्छ। सडकदेखि संसद्सम्म आफ्नो एजेन्डा प्रष्ट राख्न सक्ने हुनुपर्छ। यी सबै गुण आदर्श नेतामा हुनु अत्यावश्यक छ। धिकिरधिकिर नेतृत्वले पनि पार्टी त चलेकै हुन्छ तर नयाँ नेपालको नेतृत्व दिने कांग्रेस पार्टीका कार्यकर्ताले नयाँ सभापतिमा माथि व्याख्या गरिएका आदर्श नेताका गुणहरू अवश्य पनि खोज्नेछन्।

आदर्श नेतामा हुनुपर्ने गुण वा विशेषतामा उत्तीर्ण हुनसक्ने व्यक्ति मात्रै नयाँ सभापति निर्वाचित हुने सम्भावना छ। यो भविष्यवाणीको पछाडि विशिष्ट आधारहरू छन्। गणतान्त्रिक नेपालको आदर्श नेताका प्रतिमान प्रविधि र सामाजिक सञ्जालको उपस्थितिले बदलिदिएको छ। २०४६ पछिको कांग्रेस पुस्ताले ‘नेता कस्तो हुने!’ भन्ने अपेक्षा नै फेरिदिएको छ। अब यथास्थितिवादी र परम्परागत रूपमा पार्टीको भृत्यतन्त्रमा मात्र रमाउने, सीमित हुने नेतृत्वले पार्टी हाँक्न सक्दैन।

कांग्रेसमा हजुरबुवा, छोरा/छोरी र नाति/नातिना पुस्ता एकै पटक क्रियाशील छ। युवा नेता भनिरहेका नेताको छोराछोरी पुस्ता समेत यो पार्टीमा क्रियाशील छन्। जेनजीका कुरा छन्। त्यो सबै विविधता र बहुलतासँग एकै पटक संवाद गर्नसक्ने नेतृत्वको खोजी शुरू भइसकेको छ।

यी सबै योग्यताको प्रतिमानमा गगन थापाको तुलनामा नेपाली कांग्रेसमा अरू कुनै व्यक्तित्व देखिंदैन। त्यसमाथि गगन थापासँग जुन सांस्कृतिक पूँजी छ त्यो पूँजी भएको नेतृत्व अरू छैनन्। नेपालमा राजनीतिक दलहरूको लोकतन्त्रीकरणको लागि पार्टीको शीर्ष नेतृत्वमा रहेर निरन्तर बहस कसैले गरेको छ भने त्यो बहस गगन थापाले गरिरहेका छन्।

२०५८ सालमा नयाँ नेपाल गणतान्त्रिक नेपाल हुन्छ भनेर उद्घोष गर्ने गगन थापा गणतान्त्रिक आन्दोलनका सबभन्दा ठूलो ‘पोस्टर ब्वाई’ हुन्। उनी त्यो ‘पोस्टर ब्वाई’ को इमेजबाट ‘आइकोनोक्लास्ट’ हुँदै जन–जनको नायक बनेका छन्।

कुनै पनि पार्टीमा वंश परम्पराबाट आएका नेतालाई नेतृत्वमा पुग्न सहज हुन्छ। कांग्रेसका हकमा संस्थापक नेताहरूका सन्तानहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि लगायतको आफ्नो विशिष्ट योगदानको आधारमा समेत छ, उनीहरू पार्टी नेतृत्वको प्रतिस्पर्धामा दोस्रो पटक लागेका छन्।

शशांक वा शेखरको राजनीतिक इतिहास अनुसार कार्यकर्ताले मनग्य दिएका छन्। गोपालमान श्रेष्ठ, कृष्ण सिटौला, पूर्णबहादुर खड्का, प्रकाशशरण महतले नेतृत्व प्रतिस्पर्धामा रङ भर्ने कार्य अवश्य गरेका छन्।

कांग्रेस नेतृत्वको लहरमा भुइँ तहबाट आएर २०६२/६३ को जनआन्दोलनको राप र तापमा स्थापित नेताको लर्कोको पनि कमी छैन। गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरुराज घिमिरे लगायतका एक से एक नामहरू त्यो लहरमा छन्। यीमध्ये गगन थापा १२औं महाधिवेशनमा केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएर पार्टी केन्द्रीय सदस्य भएका थिए।

अब उनी केन्द्रीय सदस्य जित्दाकै ‘डार्क हर्स’ मात्र रहेनन्। उनी कांग्रेस कार्यकर्ताको मात्र नभएर सिंगो देशको आशाको किरण बन्न पुगेका छन्। गगन महामन्त्री निर्वाचित भएका तीन वर्षयतामा पार्टी पंक्तिमा नयाँ संस्थापनमा अवतीर्ण भइसकेका छन्। उनले चतुरतापूर्वक काङ्ग्रेसका जिल्ला संरचनामा चलायमान दुई वा अनेक गुटलाई समदुरीमा राखेर विश्वासपूर्वक काम गरिरहेका छन्।

कुनै बेला गिरिजाप्रसाद जिल्ला–जिल्लामा अलगअलग गुट जन्माउन उक्साउँथे, प्रेरित गर्थे तर गगन थापाले भने बनिबनाउ गुटमा दरार कम गर्ने कोसिस गरिरहेका छन्। उनको यस्तो भूमिका साँच्चै लोभलाग्दो नभएर करिष्मेटिक अथवा चामत्कारिक पनि छ।

कहिलेकाहीं कुनै व्यक्तिको योग्यता नै अयोग्यतामा रूपान्तरित हुन्छ र अयोग्यता नै योग्यतामा बदलिन सक्छ। योग्यहरू घेराबन्दीमा पारिन्छन् र अयोग्यहरूको गठजोडले योग्यलाई परास्त गर्ने सम्भावना पनि हुन्छ। नेपाली कांग्रेसको १५औं महाधिवेशनमा त्यसको कोसिस हुनसक्छ, ‘स्वतस्फूर्त’ नेतृत्वलाई ‘बक्सिस’ को नेतृत्वले रोक्ने कोसिसका लागि प्रयासहरू देखा परेका छन्, जसलाई अन्यथा लिनुपर्ने देखिन्न।

जसरी बीपी कोइरालाले नेपाली कांग्रेस पार्टीमा आफ्नो सर्वोपरिता आफ्ना साथीहरू बीचको प्रतिस्पर्धाबाट नै स्थापित गर्नुभएको थियो, आज गगन थापाले उनको लगन, सङ्घर्ष, मिहिनेत, समर्पण, सपना, त्याग र कार्यकर्ताको आस्थाको बलमा एकपटक त्यो सर्वोपरिता पुष्टि गर्ने कुरामा कुनै पनि द्विविधा देखिन्न।

बीपी कोइरालाले समेत प्रतिस्पर्धा र प्रतिरोधको सामना गर्नुपरेको पार्टीमा नेतृत्वमा पुग्नको लागि आइपर्ने झमेला र व्यवधानको बारेमा गगन थापा पक्कै पनि जानकार छन्। यस बीचमा उनले नेपाली कांग्रेस पार्टीभित्रको सक्रियताका तीन दशकमा गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाबाट नजिक रहेर काम गरेर ती कुराको परख गरिसकेका छन्।

कांग्रेसको १५औं महाधिवेशनले असी दशकको नयाँ नेपाल, गणतान्त्रिक नेपालको असली राष्ट्रिय नेता दिनेछ। राष्ट्रिय राजनीतिमा नयाँ रक्तसञ्चार गर्नेछ। र, २०७२ सालयताको कालो बादललाई हटाएर आशाको चाँदीको घेरा उघार्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?