
७ जेठ, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको सूची दर्ता गर्न समयावधि थपेको छ । असार मसान्तभित्र सदस्यता नवीकरणको सूची दर्ता गर्ने गरी समयावधि बढाइएको छ ।
सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले क्रियाशील सदस्यता नवीकरण असार मसान्तभित्र सक्न सबै जिल्लालाई निर्देशन गरेको छ ।
‘असार मसान्तसम्म नवीकरण भएका सदस्यको नाम दर्ता गर्ने अवधि तोकिएको छ,’ व्यवस्थापन समितिका सदस्य प्रकाश स्नेही रसाइलीले भने, ‘असार मसान्तपछि पासवर्ड स्वत निष्क्रिय हुनेछ ।’
सबै जिल्लाबाट नवीकरण भएका सदस्यहरू सूचीकृत गर्न कांग्रेसले पासवर्डको व्यवस्था गरेको छ ।
क्रियाशील सदस्यता नवीकरणका लागि १० जिल्लामा विवाद भएको र त्यसमा समितिका नेताहरू गई विवाद मिलाउन प्रयास हुने भएको छ । सिरहा, बारा, सर्लाही, खोटाङ, रुपन्देही, सुर्खेत, कपिलवस्तु लगायतका जिल्लामा विवाद रहेको समितिले जनाएको छ ।
केही जिल्लामा पार्टीभित्रका समूहको विवादले नवीकरणमा समस्या परेको समितिले जानकारी दिएको छ ।
अनुशासन समितिले कारबाही गर्ने/नगर्ने निर्क्योल हुन नसकेको विषयमा महामन्त्री गगन थापाले शीर्ष नेताहरूसँग छलफल गरेर टुंगो लगाउने निर्णय गरिएको छ ।
प्रतिक्रिया 4