+
+
Shares

अस्टिनबाट ‘नेपथ्य’को अमेरिका टूर सुरु, युट्युबमा ल्यायो ‘कर्नालीका छाइला’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते ११:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपथ्यले अस्टिनमा पहिलो पटक कन्सर्ट आयोजना गरी नयाँ गीत ‘कर्नालीका छाइला’ पहिलो पटक गाएको थियो।
  • ब्यान्डले अमेरिकामा सात सहरमा शृंखलावद्ध कन्सर्ट आयोजना गर्दै छन् र दर्शकले अनलाइन टिकट किन्ने व्यवस्था मिलाएको छ।
  • अमेरिकाका विभिन्न सहरमा आयोजित कन्सर्टमा नेपाली दर्शक र कलाकारहरूले नेपाली पहिचान र सांस्कृतिक सम्बन्ध बलियो बनाएका थिए।

अस्टिन (अमरिका) । नेपाली ब्याण्ड ‘नेपथ्य’ले अस्टिन सहरका दर्शकलाई लोकरक धुन सुनाउँदै यस वर्षको अमेरिका यात्रा थालेको छ । टेक्सासको यो राजधानी सहरस्थित हल ‘इमोज’मा शनिबार बेलुकी ९ बजे नेपथ्य कन्सर्ट सुरु भएको थियो ।

गतसाता सार्वजनिक गरिएकोे गीत ‘कर्नालीका छाइला’लाई ब्यान्डले यसै कन्सर्टमा पहिलोपटक गाएर सुनाएको थियो । नयाँ गीत सुनिरहँदा दर्शक उत्साहित देखिन्थे । यो प्रस्तुतिसँगै यो गीत अब युट्युबमार्फत सबैले निःशुल्क सुन्न र हेर्न पाउने भएका छन् । यसअघि एक सातासम्म नेपथ्यप्रेमीले यो गीत पैसा तिरेर सुन्दै आएका थिए ।

‘ब्यान्डलाई भरथेग गर्न मन पराउने दर्शकका लागि हामीले पहिलोपटक गरेको सशुल्क हेर्न पाउने व्यवस्था धेरैले रुचाएको पाइयो,’ नेपथ्यका व्यवस्थापक संस्था नेपालयका किरणकृष्ण श्रेष्ठले प्रतिक्रिया दिए, ‘आम दर्शकबाट नेपथ्यप्रति प्रस्तुत यो संरक्षकत्वलाई हामी हार्दिकताका साथ स्वागत गर्छौं ।’

कन्सर्टका लागि स्थानीय समयअनुसार बेलुकी ८ बजे इमोज हलका ढोकाहरू खुलेका थिए भने त्यसको ठीक एक घण्टापछि पर्दामा ‘सा कर्णाली’ र ‘मै मरिजाऊँला’ गीत बज्न सुरु भएको थियो । त्यसलगत्तै मञ्चमा उपस्थित ब्यान्डले ‘कोशीको पानी’बाट प्रस्तुति सुरु गरेको थियो । आठौं क्रममा ‘शिरफूल’ सुनाए लगत्तै ब्यान्डले ‘कर्नालीका छाइला’ प्रस्तुत गरेको थियो ।

दुई घण्टा लामो कन्सर्टमा सपरिवार उपस्थित हुने दर्शक उल्लेख्य थिए । ‘यस कन्सर्टले मलाई नेपालै पुगेको अनुभव गरायो,’ सान एन्टोनियो सहरबाट डेढ घण्टा लामो मोटर यात्रा गर्दै आइपुगेकी शिशिरा श्रेष्ठ भन्दै थिइन्, ‘मञ्च पछाडिको पर्दामा नेपालका विभिन्न भेगका दृश्य देख्दा झनै रमाइलो महसुस गरेँ ।’

अमेरिकाका सातवटा सहरमा शृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्ने योजनासाथ ब्यान्ड यसै साता टेक्सास आइपुगेको हो । अस्टिनमा नेपथ्यको यो पहिलो कन्सर्ट हो । टेक्सासको अर्को सहर डालासमा भने ब्यान्ड यसअघि पनि दुईपटक प्रस्तुत भइसकेको छ ।

कन्सर्टमा शनिबार अनु रिमाल साथीहरूको समूहसहित आइपुगेकी थिइन् । ‘दर्शकलाई आपसमा जोड्ने यो एकदमै गजबको अवसर पनि बन्यो,’ सान एन्टोनियोकै नेपाली एसोसिएसनकी अध्यक्षसमेत रहेकी अनुले भनिन्, ‘यति रमाइलो पहिले कहिल्यै लागेको थिएन ।’

दर्शकदीर्घामा नेपाली चलचित्र निर्देशक नारायण पुरी पनि थिए । ‘नेपथ्यको कार्यक्रम राम्रो हुन्छ भन्ने मलाई पहिलेदेखि नै थाहा थियो,’ उनले भने, ‘यस कार्यक्रमले हामी सबैलाई आफ्नो जरासँग लगेर जोडेको अनुभव भने सबैभन्दा विशेष लाग्यो ।’

नेपथ्यले एक महिना लामो यात्राको कार्यसूचीसहित सातौँपटक अमेरिकाको यात्रा गरिरहेको छ । यात्राको प्रारम्भदेखि नै मुख्य गायक एवं अगुवा अमृत गुरुङले सामाजिक सञ्जाल एक्स र फेसबुकमार्फत ब्यान्डको यस यात्राबारे प्रशंसकलाई अवगत गराउँदै आएका छन् ।

कार्यक्रमभरि पटकपटक नेपाली पहिचानको पक्षमा विचार राखेका अमृतले स्वदेश घुम्न पनि आह्वान गरे । आफूले पैदलै गाउँबस्ती घुम्दा कतिपय गीत संकलन गर्ने अवसर पाएको जानकारी पनि उनले दिए । त्यसरी संकलित गीत कन्सर्टमा सुन्न पाउँदा नेपाली दर्शक रमाएका थिए ।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

‘नेपथ्यको यसवर्षको अमेरिका यात्राको पहिलो शो शनिबार उत्साहजनक बन्यो,’ आयोजक मोमो इन्टरटेनमेन्टका विपिन थकालीले भने, ‘यसपछिका शोहरू झनै भव्य हुने विश्वास छ ।’

अमेरिका यात्राको दोस्रो प्रस्तुतिका लागि ब्यान्ड दक्षिणवर्ती राज्य टेक्सासबाट क्यानाडासँग सिमाना जोडिएको उत्तरी वासिङटन राज्य पुग्दै छ । उक्त राज्यको सबै भन्दा ठुलो सहर सियाटलमा मे २३ मा नेपथ्य प्रस्तुत हुने तयारी छ । त्यो दिन त्यहाँको ‘मुर थिएटर’ मा बेलुकी ठीक ७ बजे हलका ढोकाहरू खुला गरिनेछन् ।

त्यसपछि ब्यान्ड मे २६ मा क्यालिफोर्नियाको लस एन्जलस, ३१ मा पेन्सिलभेनियाको पिट्सबर्ग, जुन ७ मा इलिनोइसको सिकागो, ११ मा म्यासाचुसेट्सको बोस्टन हुँदै अन्तिममा जुन १४ मा नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहरमा प्रस्तुत हुनेछ । अमेरिकाका सबै कन्सर्टमा दर्शकले अनलाइनबाट सोझै टिकट काट्न सक्ने प्रबन्ध मिलाइएको छ । त्यसका लागि ब्यान्डको आधिकारिक वेबसाइटमार्फत सिट सुरक्षित गर्न सकिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?