
News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र र कल्पनामा मात्र सीमित कृत्रिम बुद्धिमत्ता अहिले हाम्रो जीवनको महत्वपूर्ण भाग बनेको छ।
- घिमिरेले बताए, एलएलएम मानव जीवनलाई सहयोग पुर्याउने बलियो टुल्स हुन सक्छ।
- नेपालले आफ्नै एलएलएम बनाउन स्रोत, नीति र जनशक्तिको अभाव छ, सरकारले पहल गर्न आवश्यक छ।
केही समय पहिलेसम्म चलचित्र र कल्पनामा मात्र सीमित कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स ) अहिले हाम्रो जीवनको महत्वपूर्ण पाटो बनेको छ । साधारण चेस खेल्ने इन्जिनदेखि भिडियो किताबसम्म सिर्जना गर्ने क्षमता भएको एलएलएम (लार्ज ल्याङग्वेज मोडल)का कारण एआईले छोटो समयमै ठूलो छलाङ मारेको छ।
हामी सबैले एक न एक पटक त च्याटजीपीटी प्रयोग गरेकै हुन सक्छौं । तर हामीमध्ये थोरै मात्रैलाई थाहा छ, यो के हो ? यसले कसरी काम गर्छ ? के अरु पनि यस्ता एआईका फिचरहरू छन् ? छन् भने यो भन्दा शक्तिशाली छन् कि छैनन् ? के नेपालले पनि भविष्यमा आफ्नै एआई मोडल बनाउन सक्छ ? बुझौं :
च्याटजीपीटी भनेको के हो ?
च्याटजीपीटी एलएलएमअन्तर्गत पर्छ। एलएलएम ठूलो डेटाद्वारा प्रशिक्षित तटस्थ नेटवर्क हो, जसले भाषा बुझ्न, अनुवाद गर्न, कोड लेख्न, त्यसलाई सच्याउन, समस्या समाधान गर्न र मानव मनोविज्ञान पनि बुझ्न सक्छ।
यसलाई अझ सरल भाषामा बुझ्नको लागि हामी एलएलएमलाई भर्खरै किनेको सुगासँग तुलना गर्न सक्छौं। जसरी सुरुमा सुगालाई केही थाहा हुँदैन, तर हामी यसलाई बोल्न सिकाउँछौं अर्थात् हामी सुगालाई तालिम दिन्छौं। अनि सुगाले समयसँगै सिक्छ, गल्ती गर्छ, हामी यसलाई सजाय दिन्छौं। यो राम्रो हुन्छ र अन्ततः बोल्न सिक्छ ।
एलएलएमको हकमा पनि त्यस्तै हुन्छ । अर्थात्, हामी यसलाई जति तालिम दिन्छौं र सिकाउँछौं, त्यो त्यति नै परिपक्व र व्यावहारिक हुँदै जान्छ अनि मानव जीवनलाई थप सहयोग पुर्याउँदै जान्छ । एआई भविष्यमा मानव जीवनलाई सजिलो बनाउने एउटा बलियो टुल्सको रूपमा स्थापित हुन सक्छ ।
एलएलएमले कसरी काम गर्छ ?
अहिले विश्वका धनी देशहरूले आफ्नो भेष र परिवेश अनुसारको एलएलमका मोडेलहरू विकास गरिरहेका छन् । उनीहरूले विकास गरेका एलएलएमलाई एआईका विभिन्न स्वरूपहरू दिएर सार्वजनिक गर्दै आएका छन् ।
प्राय: सबै एलएलएम ट्रान्सफर्मर आर्किटेक्चरमा आधारित छन्, जुन सन् २०१७ मा गुगलको अनुसन्धान टोलीद्वारा प्रकाशित ‘एटेन्सन इज बल यू निड‘ भन्ने रिसर्च पेपरमा आधारित छ। यसमा प्रयोग भएको एटेन्सन मेकानिज्मको माध्यमबाट मेसेजलाई राम्रोसँग बुझ्न, विश्लेषण गर्न, सम्बोधन गर्न, उचित जवाफ दिन सजिलो बनाइदिएको छ।
के च्याटजीपीटी मात्र छ ?
अहिले विश्वबजारमा थुप्रै एलएलएम आएका छन् जसलाई खुला रूपमा प्रयोग गर्न सकिन्छ । यतिमात्रै होइन, आर्टिफिसियल इन्टेलिजेन्सको विकास भएसँगै सुरुमा च्याटजीपीटीको चर्चा बढी आयो । त्यसपछि सामाजिक सञ्जाल फेसबुकले ल्याएको एआई लामा (Llama), गुगलको जेमिनी (Gemini), एन्थ्रोपिकको क्लाउडी (Claude), एक्सको ग्रोक (Grok), मेटाको लामा (LlaMA), अलिबाबाको जीक्वेन (Gwen), डीपसीकको डीपसीक भी वान (deepseek v1) आदि रहेका छन्। यसका साथै विभिन्न कम्पनी र देशका आफ्ना-आफ्ना मोडेल पनि छन्। ती एलएलएमहरू पहिलेभन्दा धेरै शक्तिशाली र प्रभावशाली रहेका छन् ।
कुन मोडेल बढी शक्तिशाली ?
एलएलएममा आधारित एआई मोडेलको आफ्नै विशिष्ट विशेषता हुन्छ । केही मोडेल कोडिङमा राम्रा हुन्छन् भने केही तर्कमा राम्रो हुन्छन्। यी मोडेलको क्षमता मापन गर्न बेन्चमार्क राखिएका हुन्छन्। जस्तै: मानवताको अन्तिम परीक्षा, एमएमएलयू, सुपरग्लू आदि। हामी यसलाई एलएलएमको लागि परीक्षाको रूपमा लिन सक्छौं।
यी परीक्षाहरूले कोडिङ, गणित, तर्क, भाषा, सुरक्षा आदि जस्ता विभिन्न क्षमताको मूल्याङ्कन गर्छन् । त्यसपछि उक्त प्रदर्शनको आधारमा उनीहरूलाई केही अंक दिइन्छ । यदि हामीले आजसम्म हेर्यौं भने ग्रोक थ्री (Grok 3) तर्कको लागि उत्तम छ ।
यस्तै ओपन एआई ओफोर मिनी (Open ai o4 mini) गणितको लागि राम्रो छ भने क्लाउडी ३.७ ( claude 3.7) कोडिङको लागि राम्रो छ । यसैगरी लामा ( LlAMA 3.1) उपकरण प्रयोगको लागि उत्कृष्ट छ भने जेमिनी (Gemini 2.5) उपयुक्त तर्कको लागि विशेष छ।
माथिका यी एआईको बारेमा बुझ्दा नै थाहा हुन्छ, कुनै पनि एकल मोडेल आफैंमा पूर्ण हुँदैनन् । तर एआईको प्रत्येक मोडेलको विशेषता अद्वितीय हुन्छ ।
के नेपालले आफ्नै एलएलएम बनाउन सक्छ ?
विकसित देशहरूले आ-आफ्नै एलएलएम बनाइरहेका छन् । कतिपयले आफ्नै स्रोत-साधनमा निर्माण गरिरहेका छन् भने कतिपयले आयात गर्ने गरेका छन् । तर नेपालजस्तो विकासशील मुलुकले एलएलएम बनाउनका लागि भने सोच्नुपर्ने बेला आएको छ ।
नेपालले आफ्नै एलएलएम बनाउन सक्छ ? भन्ने प्रश्नको उत्तरभन्दा पहिले के नेपालमा प्रविधिका लागि स्रोत-साधनको पर्याप्तता छ ? भन्नेबारेमा बुझ्न जरुरी छ । नेपालमा एलएलएम निर्माण गर्न के-केको कमी छ ?
एआईसम्बन्धी नीतिको अभाव
नेपाल सरकारले प्रविधिका विकशित नयाँ आयामहरू अर्थात् विश्वमा विकशित कुनै पनि नयाँ इन्नोभेसनलाई कसरी आफ्नोमा विकास गर्ने भन्नेबारेमा नीति, नियम नै छैन। सरकारले यसबारेमा योजना बनाउन नै सकिरहेको छैन। सरकारले प्रविधिमा चासोपूर्वक एआईबारे एकीकृत नीति र नियम तर्जुमा गरेको देखिँदैन। तर यसबारेमा केही विधेयक भने संसदमा पेस गर्ने भन्ने सुन्नमा आएको छ ।
स्रोत-साधनको अभाव
एलएलएम निर्माणको लागत धेरै महँगो छ। हामी साधारण सीपीयूमा एलएलएमलाई तालिम दिन सक्दैनौं । यसको लागि हामीलाई जीपीयू (ग्राफिक्स प्रोसेसिङ युनिट) चाहिन्छ। जीपीयूले तालिमलाई आवश्यक पर्ने उच्च क्षमताका शक्तिहरू सम्हाल्न सक्षम हुन्छ। यसै पनि जीपीयू महँगो छ। अहिले नेपालले तिनीहरूलाई उत्पादन गर्दैन ।
जनशक्तिको अभाव
एलएलएम निर्माणको लागि हामीलाई मेसिन लर्निङ, डिप लर्निङ, एनएलपी आदि राम्रो ज्ञान भएका अनुसन्धानकर्ता/शोधकर्ताहरू चाहिन्छ । नेपालमा यी व्यक्तिहरूको अभाव छ वा उनीहरू विदेश पलायन भइसकेका छन् । जो छन् उनीहरूलाई सरकारले बेवास्ता गर्दै आएको छ ।
डेटाको अभाव
हामीसँग एलएलएमलाई तालिम दिनसक्ने पर्याप्त डेटाको अभाव छ। यस उद्देश्यका लागि हामीलाई सफा डेटा चाहिन्छ, त्यो हामीसँग छैन । यसका लागि सरकार र सरोकारवाला निकायले अहिले कुनै चासो नै दिएको छैन।
निष्कर्ष वा सुझाव :
विश्वभर प्रविधिको प्रयोग र उपयोग भइरहेका बेला नेपालले पनि एआईबारे चासो र चिन्तन गर्नु उपयुक्त हुन्छ । एआईबारे सरकारले विश्वविद्यालयलाई आफ्नो पाठ्यक्रममा मेसिन लर्निङ, डिप लर्निङ र एनएलपीजस्ता पाठ्यक्रमहरू समावेश गर्न प्रोत्साहित गर्नुपर्छ ।
सरकारले एआईको लागि अनुसन्धान प्रयोगशालाहरू निर्माण गर्न मद्दत गर्नुपर्छ । सरकारले एआईसँग सम्बन्धित स्टार्टअपका लागि रकम उपलब्ध गराउनुपर्छ । यसका साथै
उपयुक्त कम्प्युटिङ पूर्वाधार विकास गर्न सरकार र निजी क्षेत्र दुवैले पहल गर्नु जरुरी छ । जीपीयू, टीपीयू वा क्लाउडमा आधारित उच्च गतिको कम्युटर प्रणालीको विकासमा स्रोत जुटाउनु जरुरी छ ।
यस्तै सरकारले एआईको भौतिक पूर्वाधारका लागि लगानी बढाउनु जरूरी हुन्छ । यसका लागि सरकारी तथा निजी क्षेत्रबाट एलएलएम निर्माणका लागि नीतिगत समर्थन र लगानी सुनिश्चित गर्नुपर्छ। सरकारले आफ्नो बजेटमै एलएलएमबारे उल्लेख गरेर काम र लगानीको थालनी गर्नुपर्छ ।
नेपाली एलएलएमको सामाजिक प्रभावबारे जनचेतना
सरकारले आफ्नो देशको प्रविधि र पहिचानलाई कायम राख्न एआईको नेपाली मोडलबारे शिक्षा, न्याय प्रणाली, प्रशासन र आम जनमानसमा सकारात्मक प्रभावबारे जनचेतना फैलाउनु जरुरी छ ।
यसका लागि अन्तर्राष्ट्रिय साझेदारी र सहयोग पनि लिन सक्छ सरकारले । त्यसमा विदेशी विश्वविद्यालय, संस्था र प्रविधि कम्पनीसँग सम्झौता गरेर प्रविधिको ज्ञान र सिप हस्तान्तरण गर्नसक्छ । यदि यसो भएमा नेपालले आफ्नै एलएलएम निर्माण गर्न सक्नेछ ।
(लेट्स लर्न इन्स्टिच्यूटमा अध्यनरत घिमिरे एआईका विद्यार्थी हुन् ।)
प्रतिक्रिया 4