+
+
Shares
संगीत :

दुई दशकपछि ‘नेपथ्य’ले ल्यायो कर्णालीको गीत

युट्युबमा भने केही सातामा आउने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १५:४१

काठमाडौं । लोकरक ब्यान्ड ‘नेपथ्य’ले कर्णालीको सुसेली र सुस्केरालाई लामो अन्तरालपछि फेरि श्रोतासमक्ष प्रस्तुत गरेको छ । गीतको सूत्र फेला परेपछि दुई दशकसम्म लगातार त्यस भेगलाई पछ्याउँदै गायक अमृत गुरुङले तयार पारेको सिर्जना अर्थात् ‘कर्नालीका छाइला’ शनिबार राजधानीमा सार्वजनिक गरिएको हो ।

प्रकृतिसँग मिलेर सुदूरजनजीवनले विकास गरेका भाकाहरूलाई आफ्नो आवाज बनाउने ब्यान्डको अभ्यासबाटै जन्मेको यो पछिल्लो गीतमा श्रव्यदृश्य सर्जक भूषण दाहालले तयार पारेको म्युजिक भिडियो छ ।

गीत भर्खर सार्वजनिक भए पनि ‘नेपथ्य’लाई पछ्याउँदै आएका धेरैले यसबारे दुई दशक अगावै जानकारी पाइसकेका थिए । ब्यान्डको गीत खोजी प्रयासमा उभिएको वृत्तचित्र ‘भेँडाको ऊनजस्तो’ मा गायक अमृत र त्यस गीतका सङ्कलक नारायण वाग्लेले यसलाई उतिबेलै गुनगुनाएका थिए । शनिबारको कार्यक्रममा वृत्तचित्रको त्यो दृश्य पनि देखाइएको थियो ।

विशेष गरी सल्यान र आसपासका जिल्लामा प्रचलित लोकधुन ‘टप्पा’ मा उभिएको यस गीतलाई अमृतले त्यसै भेगमा पुगेर तयार पारेका हुन् । पुरानो नेपाली चलचित्र ‘माइतीघर’मा अटाएको लोकप्रिय गीत ‘काला कुर्तैले छ मैने जागिरै खायाँ’ यसै ‘टप्पा’ धुनमा आधारित छ ।

‘कर्नालीका छाइला’ तयार पार्दा भने अमृतले लोकभाकाको मूललाई समातेर आफ्नै मौलिक शैलीमा विकास गरेका छन् । अमृतका अनुसार ‘भेँडाको ऊनजस्तो’ एल्बममा अटाएको ‘सा कर्णाली’ गीत भेटिएकै बेला यस गीतको मुखडा पनि फेला परेको थियो ।

‘सन् २००१ मा डोल्पातिरबाट आएका अङ्गद हमाल र यसका सङ्कलक लक्ष्मीकान्त उपाध्यायको मुखबाट यो गीत पहिलोपटक सुन्ने मौका पाएको थिएँ,’ अमृतले शनिबारको समारोहमा खुलाए, ‘यसबीच सन् २००८ मा एकपटक यस गीतलाई रेकर्ड गरिसके पनि चित्त बुझेन र बाकसमा थन्क्याइदिएँ ।’

त्यसपछि पनि यसलाई दिमागमा बोकेरै धेरैपटक कर्णाली भेगको यात्रा गरेको र पोहोर सल्यानका केही ग्रामीण साङ्गीतिक बैठकमा सरिक भएपछि यो रूप दिन मानसिक हिसाबले आफू तयार भएको उनले प्रस्ट पारे ।

अमृतका अनुसार यो गीत सङ्कलन गर्दा स्थानीय जनजिब्रोका लाइनहरू पर्याप्त भेटिएका थिए । ‘टप्पा’ का सीमितताले गर्दा तिनै लाइनलाई बलियो आधारसहित धुनमा समेट्न सबैभन्दा बढी मेहनत गर्नुपरेको थियो ।

गीत तयार भएपछि सुहाउँदो म्युजिक भिडियोसहित सार्वजनिक गर्ने निधोमा आफू पुगेको व्यवस्थापन संस्था नेपालयका किरणकृष्ण श्रेष्ठले बताए । ‘कर्णालीमै आधारित नेपथ्यको सिर्जना ‘सा कर्णाली’ दुई दशकअघि भूषण दाहालकै शिल्पले सजाएको थियो,’ उनले भने, ‘यसलाई पनि उनले नै न्याय गर्न सक्ने हाम्रो विश्वास थियो । हालै त्यस भेगको यात्रा गरेर म्युजिक भिडियो तयार पारिएको छ ।’

नेपथ्यसँग काम गर्दा आफूले सदैव मित्रवत् चुनौती महसुस गर्ने गरेको दाहाल बताउँछन् । यसपटक भने नयाँ प्रविधि र तन्नेरी पुस्ताका सहकर्मीको साथ पाएर त्यस चुनौतीलाई सहजै सामना गरेको उनले उल्लेख गरे । प्रस्तुत गरिएको यो म्युजिक भिडियो केही दिनलाई शुल्क तिरेर मात्र दर्शकले हेर्न पाउने व्यवस्था मिलाइएको छ ।

‘नेपथ्यका कुनै पनि सिर्जनामा यो ब्यान्ड मन पराउने र यसलाई भरथेग गरौँ भन्ने भावना राख्नेको पक्कै पनि पहिलो हक लाग्छ,’ नेपालयका श्रेष्ठ भन्छन्, ‘त्यसै अनुरूप यो भिडियो तत्काल हेर्न नेपालभित्र कम्तीमा १० रुपैयाँ र विदेशमा कम्तीमा एक डलर तिर्नुपर्ने बन्दोबस्त मिलाएका छौँ ।’ स्वेच्छापूर्वक बढी तिर्न खोज्नेलाई पनि आफूहरूले स्वागत गर्ने हिसाबले प्रबन्ध गरिएको उनले जानकारी दिए ।

गीत हेर्न चाहने दर्शकले नेपथ्यको वेबसाइट नेपथ्य डटकम डट एनपीमा जानुपर्ने हुन्छ । त्यहाँ यस गीतका लागि लिङ्क दिइएको छ, जसलाई थिचेपछि सोझै ‘गेटवे’ मा पुगिन्छ । त्यसमा बैंकको विवरण वा कुनै पनि ‘पे वालेट’ प्रयोग गरेर अर्डर गर्न सकिन्छ ।

त्यसपछि उक्त व्यक्तिको इमेलमा प्राप्त हुने लिङ्क थिचेपछि खुल्ने म्युजिक भिडियोलाई जतिपटक पनि हेर्न सकिनेछ । पैसा नतिरेरै हेर्न चाहनेका हकमा भने यो म्युजिक भिडियो साता दिनपछि मात्र सार्वजनिक थलोमा उपलब्ध गराइनेछ ।

‘हामी दुई दिनमै नेपथ्य साङ्गीतिक यात्राका लागि अमेरिका प्रस्थान गर्दैछौँ,’ श्रेष्ठले भने, ‘अमेरिका यात्राकै दौरान उपयुक्त समय हेरेर यो म्युजिक भिडियो युट्युबमा रिलिज गर्नेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?