+
+
Shares

एडमन्ड हिलारीको देशमा लोकरक गुञ्जाउँदै ‘नेपथ्य’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपथ्य ब्यान्डले मे १० मा न्युजिल्यान्डको अकल्यान्डमा ‘ड्यु ड्रप इभेन्ट सेन्टर’ मा सांगीतिक प्रस्तुति दिने भएको छ।
  • यो नेपथ्यको नौ वर्षपछि दोस्रो न्युजिल्यान्ड भ्रमण हो र स्थानीय नेपाली समुदायले उत्साहका साथ स्वागत गर्ने तयारी गरेको छ।
  • कार्यक्रमको टिकट बुकिङ तीव्र गतिमा भइरहेको छ र कलाकार तथा व्यवस्थापक टोलीले एकरूप प्रस्तुति दिने योजना बनाएको छ।

काठमाडौं । लोकरक ब्यान्ड ‘नेपथ्य’ ले न्युजिल्यान्डमा साङ्गीतिक प्रस्तुति दिने भएको छ । पृथ्वीको उत्तरी गोलार्ध (आर्कटिक महासागर) जोडिएको क्यानडामा प्रस्तुति दिएर फर्किएको दुई साता नबित्दै नेपथ्य दक्षिणी गोलार्ध (एन्टार्टिक महासागर) छेउमा जान लागेको हो । टोली यसै सोमबार त्यसतर्फ प्रस्थान गर्दै छ ।

सार्वजनिक महत्वको कार्यक्रम लिएर जाने जो कसैले पनि अमेरिका पुगेको बेला क्यानडा र अस्ट्रेलिया पुगेको बेला न्युजिल्यान्डको भ्रमण गर्ने परम्परा छ । यसको कारण हो, त्यहाँ बसोबास गर्ने अल्पसंख्यक नेपालीको उपस्थिति । ‘नेपथ्य’ले भने जे जस्तो संख्यामा भए पनि यी दुवै मुलुकका दर्शकको उच्च सम्मान गर्दै ती मुलुकमा मात्र केन्द्रित भएर साङ्गीतिक यात्राको थालनी गरेको हो ।

ब्यान्डले यसपटक प्रस्तुतिका लागि न्युजिल्यान्डको उत्तरवर्ती टापुमा रहेको व्यस्त सहर अकल्यान्ड छनोट गरेको छ । त्यहाँस्थित ‘ड्यु ड्रप इभेन्ट सेन्टर’ मा मे १०, आइतबार साँझ नेपाली लोकरक घन्किनेछ ।

नेपथ्यले यसअघि पनि सन् २०१७ मा अकल्यान्डमै प्रस्तुति दिएको थियो । त्यति बेला नेपथ्य ‘स्काई सिटी थिएटर’ मा प्रस्तुत भएको थियो । त्यो वर्ष नेपथ्यको प्रस्तुतिसँगै उक्त मुलुकमा नेपाली कलाकर्मीको आवतजावतको ढोका खुलेको जानकारी तत्कालीन आयोजक टोलीका राज महर्जनले दिएका थिए । नौ वर्षको अन्तरालमा ब्यान्डको यो दोस्रो न्युजिल्यान्ड भ्रमण हो ।

स्थानीय आयोजक टोलीका रोजन भट्टराईका अनुसार अकल्यान्डको शोका निम्ति उल्लेख्य मात्रामा दर्शक सहभागिता जुट्न सुरु भइसकेको छ । ‘टिकट बुकिङ तीव्र गतिमा भइरहेको छ,’ उनले भने, ‘कार्यक्रमको मिति नजिकिँदै गर्दा शोप्रति चासो राख्नेहरू जताततै देखिन थालिसकेका छन् ।’

आदिवासी माउरी समुदायको परम्परागत ‘हाका शैली’ मै भव्य रूपले नेपथ्यलाई न्युजिल्यान्डमा स्वागत गर्न आफूहरू तत्पर रहेको भट्टराईले बताए ।

पछिल्लो समय विशेषतः अध्ययनका निम्ति यो मुलुक नेपालीको आकर्षक गन्तव्य बन्दै आएको छ । स्थायी बसोबास गर्नेको संख्या पनि यहाँ दिनप्रतिदिन बढ्दो छ । तीन वर्ष पहिलेको जनगणनाले यहाँ झन्डै सात हजार नेपालीको स्थायी बसोबास देखाएको थियो ।

‘न्युजिल्यान्ड भन्नेबित्तिकै हाम्रो मुलुकलाई अत्यन्त माया गर्ने प्रथम सगरमाथा आरोही सर एडमन्ड हिलारीको श्रद्धापूर्वक सम्झना हुन्छ,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘मेरो आफ्नै बाल्यकालको गण्डकी बोर्डिङ स्कुलका हेड सर ब्रायन उडलाई पनि सम्झन पुग्छु ।’

अमृत उक्त स्कुलमा अध्ययनरत रहेकै बेला अन्नपूर्ण भेगको पदयात्रामा गएका बेला उडको हिमालकै काखमा निधन भएको थियो ।

बाँचुन्जेल खुम्बु क्षेत्रको विकासमा समर्पित हिलारी, नेपालको शिक्षामा योगदान गर्ने आफ्ना गुरु ब्रायन उड र झन्डै सात दशकअघि न्युजिल्यान्डको अध्ययन भ्रमण गरेर जनस्तरमा दुई मुलुकलाई जोड्ने संस्कृतिविद् सत्यमोहन जोशीजस्ता व्यक्तिहरूको प्रेरणा नै न्युजिल्यान्डप्रति आफ्नो श्रद्धाको मूल आधार रहेको अमृत उल्लेख गर्छन् ।

‘थोरै नेपालीको बसोबासस्थल भनेर वास्ता नगरिएकै बेला नौ वर्षअघि हामीले तत्कालिन आयोजकसंग मिलेर नेपथ्यलाई न्युजिल्यान्डमा प्रस्तुत गरेका थियौँ,’ ब्यान्डको व्यवस्थापन सम्हाल्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘त्यसैलाई निरन्तरता दिँदै यो दोस्रो यात्रा अस्ट्रेलियासँग पनि नजोडेर केवल न्युजिल्यान्डमै केन्द्रित बनाएका छौँ ।’

न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली समुदायको गौरवसँगै नेपाली कलाकारप्रति उनीहरूले दर्साउने माया पनि बढ्दै गएको श्रेष्ठ बताउँछन् ।

नेपथ्यले संसारको जुनसुकै कुनामा पनि आफ्नो प्रस्तुतिमा एकरूपता ल्याउने कोसिस गर्दै आएको छ । त्यसैले अघिल्ला विदेश यात्राहरूमा जस्तै यस यात्रामा पनि कलाकार र प्राविधिक एवं व्यवस्थापकको टोली न्युजिल्यान्ड पुग्दै छ ।

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् । कन्सर्टका लागि व्यवस्थापक नेपालयले अनलाइनबाटै टिकट खरिद गर्न सकिने बन्दोबस्त मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?