+
+
Shares

‘नेपथ्य’ क्यानडाका ३ सहरमा गुञ्जिँदै, टोरन्टोको टिकट ‘सोल्ड आउट’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १६:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपथ्यले क्यानाडाको सदबरी, टोरन्टो र लन्डन सहरमा अप्रिल १०, १३ र १८ मा कन्सर्ट दिने भएको छ।
  • टोरन्टोको कन्सर्टको टिकट सकिएको छ भने अन्य सहरका लागि टिकट बिक्री तीव्र गतिमा भइरहेको छ।
  • नेपथ्यको १४ सदस्यीय टोली अप्रिल ४ मा क्यानाडा प्रस्थान गरी अप्रिल २० सम्म त्यहाँ रहनेछ।

काठमाडौँ । नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ले क्यानाडामा श्रृंखलाबद्ध साङ्गीतिक प्रस्तुति दिने भएको छ । त्यहाँका सदबरी, टोरन्टो र लन्डन (ओन्टारियो) सहरमा कन्सर्ट हुन लागेको हो ।

पहिलो प्रस्तुति १० अप्रिलको शुक्रबार सदबरी सहरस्थित ‘सदबरी कम्युनिटी एरेना’ मा हुनेछ । १३ अप्रिल, सोमबार ब्यान्डले टोरन्टोको ‘क्विन एलिजाबेथ थिएटर’ मा आफ्ना गीत सुनाउनेछ ।

मुख्य सहरको पश्चिम भागस्थित प्रदर्शनी केन्द्रमा पर्ने यो हल आधुनिक कन्सर्ट थलोका रूपमा प्रसिद्ध छ । यात्राको अन्तिम शो भने अप्रिल १८ शनिबार लन्डन सहरमा हुनेछ । त्यो दिन ‘लन्डन म्युजिक हल’ मा नेपथ्य गुन्जिनेछ ।

टोरन्टोमा आयोजना हुने कन्सर्टको टिकट सकिएको छ भने अन्य सहरका लागि पनि तीव्र गतिमा टिकट बिक्री भइरहेको छ ।

ब्यान्डले तीन वर्षअघि त्यहाँका क्यालगरी, भ्यानकुभर र टोरन्टोमा श्रृंखलाबद्ध प्रस्तुति दिएको थियो । यसपटकको ‘नेपथ्य यात्रा’मा तीनवटै क्यानाडेली सहरहरू संयुक्त राज्य अमेरिकाको उत्तरपूर्वी भेगसँग जोडिने ओन्टारियो राज्यमा पर्छन् । मुख्य आर्थिक केन्द्र टोरन्टोसमेत अटाएको यस भेगमै नेपालीको उल्लेख्य उपस्थिति छ ।

केही समययता नेपालीका निम्ति क्यानाडा आप्रवासनको आकर्षक गन्तव्य बन्दै आएको छ । त्यसमा पनि विशेष गरी अध्ययनका लागि त्यसतर्फ जाने नेपाली विद्यार्थीमा दिनप्रतिदिन गुणात्मक वृद्धि हुन थालेको छ ।

बढ्दो नेपाली जनसंख्यासँगै उनीहरूको सम्मानजनक उपस्थितितर्फ पनि उक्त राज्यको ध्यान आकर्षित हुन थालेको छ । केही साताअघि मात्र त्यहाँका काउन्सिलर निथन सानले हरेक अप्रिल १०–१७ लाई ‘नेपाली सम्पदा सप्ताह’ का रूपमा मनाउन टोरन्टोका मेयरसमक्ष प्रस्ताव गरेका छन् ।

‘नेप्लिज क्यानाडियन कम्युनिटी सर्भिसेज’ को पहलमा अघि बढेको यो प्रस्ताव हाल विचाराधीन छ । प्रस्ताव स्वीकृत भएपछि महानगरले नै यसलाई उसको कार्यक्रमका रूपमा अघि बढाउनेछ । नेपाली नयाँ वर्षको समयलाई आधार मानेर प्रस्ताव गरिएको यस अवधिमै नेपथ्य उक्त भेगमा प्रस्तुत हुने समय पनि यसपाला जुरेको छ ।

‘हाम्रो सहरमा नेपथ्य पहिलोपटक आउन लागेको छ,’ सदबरीकी क्यानुका बस्नेतले आफ्नो फेसबुक पोस्टमा भनेकी छन्, ‘यो सङ्गीत, ऊर्जा र सम्झनाले भरिएको स्मरणीय साँझ बन्नेमा ढुक्क छु ।’

क्यानाडाका तीनवटै सहरमा नेपथ्य कन्सर्टका निम्ति स्थानीय समयअनुसार बेलुकीको ७ बजे ढोका खुला गरिनेछन् ।

‘अमेरिका गएको बेला क्यानाडा पनि पस्ने नेपाली प्रस्तोताको परम्परालाई तोड्दै नेपथ्यले तीन वर्षअघि पहिलोपटक त्यही मुलुकमा केन्द्रित श्रृंखलाबद्ध यात्रा गरेको थियो,’ नेपथ्यको व्यवस्थापन सम्हाल्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘त्यसैको प्रतिफलमा अब क्यानाडा नियमित रूपले भ्रमण गरिने गन्तव्य बन्न पुगेको छ ।’

कन्सर्टका लागि ६ कलाकार र ८ प्राविधिक एवं व्यवस्थापक गरेर १४ जनाको टोली अप्रिल ४ मा क्यानडा प्रस्थान गर्दै छ । यो टोली अप्रिल २० सम्म त्यहाँ रहनेछ ।

‘क्यानाडामा बसोबास गर्ने नेपालीले देखाएको उत्साहबाट असाध्यै हौसला मिलिरहेको छ,’ ब्यान्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘नयाँ वर्षको बेला स्वदेशको सम्झना र थुप्रै माया बोकेर मञ्चमा उभिनेछौँ ।’

क्यानाडाका तीनवटै कन्सर्टमा अमृतलाई सधैंझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

‘नयाँ वर्षको क्षणलाई क्यानाडामा रहेका नेपालीका निम्ति उत्सवमय बनाउन हामीले नेपथ्यलाई निम्त्याएका हौँ,’ टोरन्टोका आयोजक दाजुभाइ इन्टरटेनमेन्टका छिरिङ शेर्पा भन्छन्, ‘कन्सर्टको लगभग दुइ हफ्ता अघि नै टोरन्टोको टिकट सकिएकोले यसपालाको जमघट भव्य हुने सङ्केत गरिसकेको छ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?