
News Summary
Generated by OK AI. Editorially reviewed.- चीनले ताइवानबारे अमेरिकालाई ‘आगोसँग नखेल्न’ चेतावनी दिएको छ।
- अमेरिकी रक्षामन्त्री हेगसेथले एसियाली शक्तिलाई ‘क्षेत्रका लागि खतरा’ भनेका थिए।
- चीनले ताइवानलाई आफ्नो भूभागका रुपमा दाबी गर्दै आएको छ।
१८ जेठ, काठमाडौं । चीनले ताइवानबारे अमेरिकालाई ‘आगोसँग नखेल्न’ चेतावनी दिएको छ । सिंगापुरमा भएको एक उच्चस्तरीय शिखर सम्मेलनमा अमेरिकी रक्षामन्त्री पीट हेगसेथले एसियाली शक्तिलाई ‘क्षेत्रका लागि खतरा’ भनेपछि चीनको यस्तो प्रतिक्रिया आएको हो ।
शनिबार शांग्रिला संवादमा बोल्दै हेगसेथले चीनले एसियाको शक्ति सन्तुलन परिवर्तन गर्न ताइवानमाथि सैन्य आक्रमणको तयारी गरिरहेको आरोप लगाएका थिए । तर, ताइवानको सरकारले भने बेइजिङको दाबीलाई अस्वीकार गर्दै ताइवानीहरु आफ्नो भविष्यको निर्णय गर्न सक्षम रहेको बताउँदै खण्डन गर्ने गरेको छ ।
अमेरिकी विदेशमन्त्री हेगसेथको टिप्पणीलाई प्रतिवाद गर्दै चिनियाँ विदेश मन्त्रालयले ताइवानको विषय आन्तरिक मामिला भनेको अलजजिराले जनाएको छ । ताइवानको मुद्दालाई लाभको रूपमा प्रयोग नगर्न अमेरिकालाई चीनले चेतावनी दिएको हो ।
अमेरिकालाई ताइवानको मुद्दामा खेलेर चीनलाई नियन्त्रण गर्ने ‘बार्गेनिङ चीप’को रुपमा प्रयोग गर्ने भ्रम नपाल्न नत्र ‘आगोसँग खेल्नुपर्ने’ उसले चेतावनी दिएको छ । चीनले ताइवानलाई आफ्नो भूभागका रुपमा दाबी गर्दै आएको छ । आवश्यक परे बल प्रयोग गरेर ताइवानलाई चीनमा मिलाउने उसले बताउने गरेको छ ।
हेगसेथले ताइवानमाथि आक्रमणको खतरा रहेको बताउँदै प्रमुख सुरक्षा सहयोगी अष्ट्रेलिया सहित एसिया प्रशान्त क्षेत्रका सहयोगीहरूलाई रक्षामा बढी खर्च गर्न आह्वान गरेका थिए ।
तर, चीनले भने वाशिंगटनले दक्षिण चीन सागरमा आपत्तिजनक हतियारहरू तैनाथ गरेको र क्षेत्रीय तनाव बढाएको आरोप लगाएको छ । अमेरिकी विदेशमन्त्रीले शीत युद्धको मानसिकतालाई बढावा दिएको भन्दै चीनले ताइवानमाथि हस्तक्षेप नगर्न भनेको छ ।
चीन र फिलिपिन्सले दक्षिण चीन सागरका केही टापुहरू र एटोलहरूमा आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् । त्यसक्षेत्रमा गस्ती गर्न खोज्दा दुई देशका तट रक्षकहरू बीच झडपसमेत हुने गरेको छ ।
‘दक्षिण चीन सागरमा शान्ति र स्थिरतालाई कमजोर पार्ने सबैभन्दा ठूलो कारक अमेरिका हो’, विज्ञप्तिमा भनिएको छ । एसियाको प्रमुख सुरक्षा मञ्च शांग्रिला संवादमा यसपटक चीनका रक्षामन्त्री डोङ जुनले सहभागीता जनाएनन् । बेइजिङले तल्लो तहका प्रतिनिधिमण्डललाई कार्यक्रमा पठाएको थियो ।
सन् २०१९ यता चीनले यस उच्चस्तरीय क्षेत्रीय रक्षा वार्तामा आफ्नो रक्षामन्त्री नपठाएको यो पहिलो पटक हो । सन् २०२० र २०२१ मा कोभिड–१९ महामारीका कारण कार्यक्रम रद्द भएको थियो । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएयता विश्वका दुई ठूला आर्थिक शक्ति चीन र अमेरिकाबीच तनाव बढ्दो छ ।
प्रतिक्रिया 4