+
+
Shares

झलनाथको टिप्पणी– गणतन्त्र आम जनताको भएन, बजेटमा क्रान्तिकारी भूमिसुधारको ‘क’ पनि आएन’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १३:२०

१५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिलेको गणतन्त्रको वर्ग स्वरुप पुँजीवादी भएको बताएका छन् । यसले मुठ्ठीभरका दलाल पुँजीपति वर्गको हितमामात्र भएको उनले बताए ।

आज गणतन्त्र  दिवसको दिन आयोजित कार्यत्रमलाई सम्बोधन गर्दै खनालले भने, ‘यो गणतन्त्र मुठ्ठीभरका दलाल पुँजीपति वर्गका निम्ति मात्र स्थापित छ । यो गणतन्त्र विभिन्न किसिमका भ्रष्ट तत्वहरुको हितका निम्ति स्थापना गरिएको थिएन, तर अहिले हाम्रो देशको गणतन्त्र आम जनताको गणतन्त्र भइरहेको छैन । अहिले मुठ्ठिभरका हिजोका सामन्त परिवर्तित दलाल पुँजीपति वर्गहरुको गणतन्त्र बनिरहेको छ ।’

पूर्वप्रधानमन्त्री खनालले थपे, ‘यो गणतन्त्रको वर्ग स्वरुप भनेको पुँजीवादी गणतन्त्र भयो । हाम्रो समाजको वर्गस्वरुप अहिले पुँजीवादी समाजको रुपमा रुपान्तरित भएको छ । त्यसकारण अहिलेको जुन राजनीतिक व्यवस्था छ यो पुँजीवादी राजनीतिक व्यवस्था हो । यो संसदीय व्यवस्था पुँजीवादी संसदीय व्यवस्था हो र यसप्रकारको व्यवस्थाको नायक भनेको अनिवार्यतः दलाल पुँजीपति वर्ग हुन्छ । श्रमिक वर्ग बन्नै सक्दैन ।’

पुँजीवादी तन्त्रमा श्रमिक वर्ग आन्दोलनमा होमिने तर अवसर नपाउने उनले बताए । यद्यपि पुँजीपति वर्गले श्रमिकहरुलाई साथमा नलिइकन परिवर्तन गर्न नसक्ने भन्दै उनले अहिले नेपालमा त्यस्तै भइरहेको टिप्पणी गरे ।

‘पुँजीवादी क्रान्तिमा आम श्रमिक जनतालाई यसरी होमिन्छ, विस्तारै विस्तारै पुँजीपति वर्गले आफ्नो अधिनायकत्व स्थापना गरेर छाड्छ । आज देशमा त्यही भइरहेको छ,’ उनले भने ।

राजनीतिक परिर्वतनका लागि शहीद भएकाहरुलाई सरकारले शहीद घोषणा समेत गर्न नसकेको भन्दै ऊनले आक्रोश व्यत्त गरे । विगतमा सशस्क्र त्रान्ति गरेको माओवादीप्रति लक्षित गर्दै उनले भने, ‘हिजो जनताले जुन ढंगको अधिकार प्राप्तिका लागि संघर्ष गरे, बलिदान गरे, शहीदहरुको यत्रो श्रृंखला तयार भयो ती शहीदहरुलाई शहीद भन्न पनि सक्दैन यो सरकार । शहीद घोषणा गर्न भन्दा पनि मान्दैन । जसले आफ्नो जिन्दगी दिइसक्यो । कयौं यस्ता शहीदहरु हुनुहुन्छ देशभरी जसलाई शहीद घोषणा पनि गरिएको छैन । त्यतिबेला काम गरिरहेका, आफूलाई क्रान्तिकारी भन्ने नेताहरुलाई त्योबारेमा चिन्ता पनि छैन ।’

उनले नेपालका कम्युनिष्ट नेताहरु सत्तामा पुग्दा पनि श्रमिक वर्गको हितमा काम गर्न नसकेको उनले बताए । क्रान्तिकारी भूमिसुधार लागू गर्ने बाचा गरेर सत्तामा पुगे पनि लागू गर्न नसकेको बताउँदै उनले भने, ‘हिजो हामी देशभरी कराउँदै हिँडेका के थियो भने सत्तामा पुग्नेविक्तिकै त्रान्तिकारी भूमिसुधार लागू गर्ने छौं । तर खै ? १८ वटा बजेट आए तर क्रान्तिकारी भूमिसुधारको क पनि आएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?