नेपालको सन्दर्भमा ‘नेपालीपन‘, ‘नेपाली राष्ट्रियता‘ वा ‘राष्ट्रवाद‘ एउटा ठोस, बनिबनाउ, अन्तिम सत्य वा इतिहासमा नै पहिल्यैदेखि उपलब्ध भएको र पछि राजनीतिक प्रक्रियामा गुमेको राष्ट्रवाद भन्ने त्यस्तो केही पनि छैन।
राष्ट्रवाद भनेको नागरिकको समूहले महसुस गर्ने अपनत्व, साझा स्मृति र पहिचानको साथै सामाजिक न्याय, आधारभूत मानवअधिकार, मानवीय सम्मान र गरिमा उपलब्ध छ कि छैन? राज्य र सरकारले प्रत्येक नागरिकलाई मालिक ठानेर व्यवहार गर्छ कि दास वा रैती ठानेर उनीहरूप्रति जवाफदेही हुन्छ कि आफूखुसी व्यवहार गर्छ? नागरिकलाई राज्यबाट अपमान, तिरस्कार र बहिष्कार अथवा राज्य व्यवस्था अन्यायपूर्ण, भ्रष्ट र गैरजिम्मेदार छ भने राष्ट्रियता भन्ने कुरा अमूर्त हुन्छ र कमजोर भएर हराउँछ। एक जना नेता, एउटा दस्तावेज, एउटा विचारधारा जस्ता सीमित औजारबाट राष्ट्रियता वा नेपालीपन कहिल्यै पनि परिभाषित हुँदैन र व्यवहारमा पनि महसुस हुन सक्दैन।
‘दिव्योपदेश‘ एउटा राजनीतिक ‘गाइडलाइन‘ हो। यसको विचार यथार्थवादमा आधारित छ तर यसले सूत्रमा बोलेको छ। तत्कालीन नेपालमा एउटा केन्द्रीय शासन व्यवस्था थिएन। त्यसको लागि आफ्ना भारदारलाई सचेत गराउन खोजेका छन्। तर ‘दिव्योपदेश‘ मा नेपाली विविधतायुक्त बहुल समुदायको साझा पहिचान, अपनत्व र न्यायको प्रत्याभूति समेट्ने राष्ट्रवादको स्पष्ट परिभाषा र खाका चाहिं कोरिएको छैन।
राजा त्रिभुवनले पनि सुरुदेखि नै राणाको शक्ति विरुद्ध लड्न जो–जसले मद्दत गर्ने आश्वासन दिए (कांग्रेस, भारत) तिनको नै विश्वास गरी भारतीय सत्ताले पहिल्यै तयार पारेको ‘दिल्ली सम्झौता‘ चुपचाप मानेको ऐतिहासिक प्रमाण छ। त्यसैले नवयुवक युवराज महेन्द्रले पञ्चायती राष्ट्रवाद परिकल्पना गरे। तर उनले पनि नेपालको बहुलतालाई शंका गरे। मधेशलाई अविश्वास गरे। फलस्वरुप मधेशले नेपालीपन महसुस गर्नै सकेन।
महेन्द्रकै ‘नेपाली भाषा, पहाड, हिन्दु‘ सूत्रमा जबर्जस्ती बाँधिएर साँघुरो परिभाषा गरिएको र पाठ्यपुस्तक, शाही नेपाल एकेडेमी र सरकारी सञ्चारमाध्यमले तयार पारेको कृत्रिम ‘वीर नेपाली‘ राष्ट्रियताको प्रोपोगान्डा नै फैलाइयो। यसलाई कांग्रेस र वामपन्थीहरूले पनि मजाले आत्मसात् गरे किनभने त्यतिबेला पनि मधेश, जनजाति र दलितलाई राज्य र राजनीतिले चिनेको थिएन। वामपन्थीहरूले दलित र जनजातिलाई प्रयोग गर्न मात्र खोजे। माओवादीले युद्धमा प्रयोग नै गर्यो र पछि छाडिदियो।
नेपालमा राष्ट्रवाद खासमा अझै पनि स्पष्ट छैन। भूगोल र विदेशी हस्तक्षेपबाट सुरक्षा (जुन राज्यको सैनिक र परराष्ट्र विषय हो) लाई नै राष्ट्रवाद भनेर बुझाउन खोजिएको पाइन्छ भने अर्कातिर ‘नेपाली भाषा, पहाड र हिन्दु धर्म‘ प्रति बफादार रहनुलाई राष्ट्रवाद र त्यसमाथि प्रश्न उठाउनेलाई राष्ट्रियता विरोधी भनी नकार्न हठवादी राजनीति हावी छ। यस्तो अवस्थामा नागरिकको गरिमा, सामाजिक न्याय र सुनिश्चित जीवन र भविष्य यो राजनीतिक व्यवस्था, भूगोलमा उपलब्ध नभएसम्म साँच्चै नेपाली राष्ट्रियता वा नेपालीपन शुरु नै हुन सक्दैन। यसका लागि न इतिहासमा फर्किनुपर्छ न कुनै नेता या मसिहा नै आउनुपर्छ। यस्ता सबै तिलस्मी दाबीहरू सुन्दा रमाइलो लाग्ने तर नेपालको जमिनी यथार्थबाट भने टाढाको रोमान्टिक बकवास हुन्।
अब एकान्त शर्माको किताबमा हेरूँ। एकान्त शर्माको किताब राजनीतिक भाषामा ‘मसिहावाद‘, ‘पपुलिज्म‘ र इतिहासको अतिरञ्जित ‘रोमान्सवाद‘ हो। (Romanticization of history = negation of complexity of politics)। यस्तो ऐतिहासिक रोमान्सवाद यथार्थ राजनीतिक जटिलताको अत्यन्त सरलीकरण गर्दै नकार्ने तिकडम मात्र हो। दशकौं सङ्घर्ष गरेर पनि सही अर्थमा नागरिक हुन नसकिरहेका आम नेपालीलाई उनले फेरि पनि स्वामीभक्त ‘रैती‘ नै बनाउन खोजेको देखिन्छ। नेपालको इतिहासमा राजा पृथ्वीनारायण शाह बाहेक सबै गलत हुन् भन्ने ‘अन्तिम सत्य‘ को रूपमा स्थापित गराउन खोजेका छन्।
उनी नेपाली दलित, जनजाति र मधेशले कठिन सङ्घर्ष गरेर आफूलाई नेपाली नागरिक बनाउन खोजेका इतिहासको गहन मर्म बोध गर्न नखोज्ने विचारमा अडिग व्यक्ति र संयोगवश समाजशास्त्री डोरबहादुर बिष्टले ‘भाग्यवाद र विकास‘ किताबमा चित्रण गरेका बाहुनवादी जस्तै पनि प्रतीत हुन्छन्।
शर्माले दिल्लीमा बिजनेस पढे, बेलायतमा इन्टरनेशनल बिजनेस पढे र त्यहाँ रियल स्टेट, हाउजिंग कन्स्ट्रक्शनको बिजनेस गर्दै २०७२ को भूकम्पपछि नेपाल आएर कृषि र व्यापार शुरु गरेका र यहाँ भिज्दै बीस वर्ष बिताएपछि उनले ‘पृथ्वीपथ‘, ‘नेपालवाद‘ को विचारमा केन्द्रित भएर नेपाली लोकतान्त्रिक राजनीतिको करिब चालीस वर्षको विकास प्रक्रियासँग असहमति जनाउँदै पुरानै शासकीय शाही विचारलाई नै परिस्थिति हेरी नयाँ रूपमा प्रयोग गरी राजनीतिक हस्तक्षेप गर्न खोजेको देखिन्छ।
वैचारिक गहनता र नेपाली सामाजिक राजनीतिक यथार्थसँगको तालमेल आफ्नो ठाउँमा छ तर समकालीन नेपाली इतिहासमा जानकारी राख्नेका लागि रमाइलो विमर्शका लागि भने यो स्वागतयोग्य छ।
एकान्त शर्माको पुस्तकले ‘स्वतन्त्र नेपाली‘ भनेर परिभाषा गर्दा ‘राजनीतिक दल‘ बाट अलग नेपाली भन्न खोजेका छन्। जुन उनले अनुमान गरे अनुसार करिब एक करोड होलान्। तर उनले भनेको ‘स्वतन्त्र नेपाली‘= “राजावादी” हो। राप्रपा र पूर्व पञ्चहरूले दल खोलेर केही लाख नेपालीलाई सदस्य र कार्यकर्ता बनाएका छन्। राजावादी दलका सीमित नेताहरू प्रायः सबैजसो गठबन्धन सरकारको हिस्सा बनी अवसर लुट्नमा अन्य दल जत्तिकै नेपाली जनताप्रति जवाफदेही हुनुपर्ने नै हो। तर पनि त्यतापट्टि एकान्त शर्माको रहस्यमय मौनताले प्रश्न त मागेकै छ। ती दलीय राजावादीलाई स्वतन्त्र नेपाली भन्ने कि ‘झुन्ड सरदारको दलदलले बाँधेको भेडा‘ भन्ने? तिनले त राजालाई बोकिरहेको दाबी गर्दै दलीय तन्त्रमा आफ्नो राजनीतिक पसल चलाइरहेकै छन्!
यो किताबले भित्री पृष्ठमा दाबी गरेको छ- “नेपालमा बनेको पहिलो घोषणापत्र”! घोषणापत्र लक्षित वर्गलाई आफ्नो विचारमा ढाल्ने औजार हो। जिम्मेवार र इमानदार घोषणापत्रमा लिइने दाबी न्यूनतम ऐतिहासिक, राजनीतिक तथ्य र प्रमाणमा आधारित हुनुपर्ने हो। ठूला दाबीले बलिया प्रमाण र आधार माग्छन्। तर यो पुस्तकमा खासै त्यस्ता बलिया आधार र प्रमाण विनाका अग्ला दाबीहरू जताततै ठिङ्ग उभिएका छन्।
पूर्वाग्रहहरूको कोलाहल यो किताबको मुख्य पूर्वाग्रह हो- जो राजावादी होइन, ऊ स्वतन्त्र नेपाली होइन। दोस्रो पूर्वाग्रह, जो पृथ्वीनारायण शाहको ‘दिव्योपदेश‘ र नेपाल एकीकरणलाई नै अन्तिम सत्य मान्दैन त्यो नेपाल विरोधी हो। अर्थात्, एकान्त शर्माको राष्ट्रवाद ‘भूगोल‘ र त्यस भूगोललाई सैन्य एकीकरण गर्ने राष्ट्र निर्माता पृथ्वीनारायण शाह र उनले मृत्युपूर्व राज्य सञ्चालनको लागि व्यक्त गरेका उपदेश ‘दिव्योपदेश‘ नै नेपाली राष्ट्रवादको एकमात्र मेरुदण्ड हो।
अर्थात्, पृथ्वीनारायण शाहपश्चात् नेपाली समाज, राजनीति, अर्थतन्त्र जसरी अगाडि बढ्यो या बढ्न खोज्यो त्यो सबै सम्पूर्ण रूपमा उनले भनेको राष्ट्रवाद विपरीत छ र अब त्यो सबै खारेज हुनुपर्नेछ अनि त्यसको ठाउँमा फेरि हामी पृथ्वीनारायण शाहतिरै फर्किनुपर्नेछ। तेस्रो पूर्वाग्रह, उनी नेपालमा राजनीतिक र सामाजिक प्रक्रियामा विभिन्न समुदायले दशकौं सङ्घर्ष गरेर उजागर गरेका सामाजिक न्याय, पहिचान, संस्कृति आदि सम्बन्धी आन्दोलन र त्यसको इतिहासलाई पूर्ण रूपमा असान्दर्भिक ठानी नेपालको इतिहासबाटै पर पन्छाइदिन्छन्। चौथो पूर्वाग्रह, पूँजीवादी भूमण्डलीकरणको सामाजिक र सांस्कृतिक असरहरूलाई समेत उनी गणतन्त्रको कारणले भएको भन्ने दाबी गर्छन्।
पाँचौं पूर्वाग्रह, राजसंस्था पुनःस्थापना नै पृथ्वीनारायण शाहको निधन पश्चातको नेपाली समाजका सम्पूर्ण राजनीतिक, सांस्कृतिक, आर्थिक अन्तरविरोध र जटिल समस्याहरूको चामत्कारिक समाधान हो भन्ने दाबी राख्छन्। उल्लेख गर्दै जाने हो भने यस पुस्तकमा उभिएका पूर्वाग्रहहरूको सूची मात्रैले दिगमिग लाग्ने हुँदा अघि बढौं।
उनी गणतन्त्रसँगै समानुपातिक निर्वाचन प्रणाली खारेज गरी आदिवासी, जनजाति, महिला, दलित, मधेशी आदि ऐतिहासिक रूपमा उत्पीडित समुदायको सामाजिक न्यायलाई सरासर नकार्छन्। त्यसको लागि उनले स्पष्ट मार्ग कोरेका छन् :
१. आयातित सिद्धान्त र विचारका राजनीतिक दल र गणतन्त्रात्मक व्यवस्था खारेजी गरी स्थिरता, मेलमिलाप र राष्ट्रिय सुरक्षा सुनिश्चित गर्ने राजसंस्थाको पुनःस्थापना,
२. विदेशी नागरिकता लिएका नेपालीका सन्तान पनि नेपाली नागरिक नहुने ‘मेरो अंश र मेरो वंश‘ को सिद्धान्त अनुसारको नागरिकता कानून र नेपाली भाषा, हिन्दु धर्म र संस्कृतिको सर्वोपरि राष्ट्रवाद स्थापना,
३. विदेशी ऋण र रेमिटेन्सबाट मुक्त, माइक्रो हाइड्रोबाट क्रिप्टोकरेन्सी माइनिङ्ग र कठोर वित्तीय व्यवस्थापनको अर्थतन्त्र (WTO, World Bank, IMF बाट मुक्ति),
४. राष्ट्रभक्त र राष्ट्रप्रेमी बनाउने शिक्षा प्रणाली,
५. गाँस, बास र कपासको ग्यारेन्टी,
६. नेपाली जनसङ्ख्या बढाउने, १६ वर्षमै विवाह गर्न प्रोत्साहन गर्ने आदि।
‘आयातित सिद्धान्त र विचार’ सँग भयङ्कर त्रसित लेखक आफैं विदेशी उच्च शिक्षाका उत्पादन हुन् भन्ने सोचेर अलि अप्ठेरो लागे पनि पाठकलाई नेपाली शिक्षा प्रणालीको विकास इतिहासले तत्कालीन समयको विकल्पहीनता बारे पनि सोच्नुपर्ने बनाउँछ। सबै कुरा ‘शुद्ध’ खोज्ने ‘प्योरिस्ट’ सिद्धान्तकारलाई ‘ग्लोबल इन्टेलेक्च्युअल हिस्ट्री’ को सामान्य ऐतिहासिक तथ्य- सबै विचार ऐतिहासिक प्रक्रियामा अन्तरक्रियामा सहभागी हुँदै परस्परमा फेरबदल हुन्छन् – भन्ने सामान्य ज्ञानप्रति आँखा चिम्लिरहेको पक्कै हेक्का होला। हुनत ‘शुद्धतावादी’ हरू बालहठबाट चल्छन्! अनि सैन्य आक्रमणबाट राष्ट्रिय सुरक्षा मात्र राष्ट्रवाद हो भन्ने राष्ट्रवादीलाई नेपाली मूलका विदेशी नागरिकको सन्तान ‘स्वतन्त्र=राजावादी’ नभई ‘आयातित सिद्धान्त र विचार’ मा प्रशिक्षित ‘साम्राज्यवादी’ पनि हुन्छन् भन्ने कसले बुझाउला!
‘झुन्ड सरदारहरूको दलदल’ लाई सम्पूर्ण दोष बोकाएर ‘राजसंस्था पुनःस्थापना’ गर्ने घोषणाकारको अनौठो कुरा चाहिं यो छ कि, यसका लागि उनले चुनावलाई हतियार बनाउन खोजेका छन्। कुनै राजनीतिक दल होइन स्वतन्त्र उम्मेदवारहरूको वकालत गर्छन्। २०८२ को चुनावमा दलहरूलाई परास्त गरेर ‘पृथ्वीपथ‘ वादी उम्मेदवारहरूलाई विजय गराएर गणतन्त्र खारेजी गर्ने उद्देश्य राखेका छन्। एकातिर दलीय राजनीतिको नकार, अर्कातिर निर्वाचनमा स्वतन्त्र उम्मेदवार उठाएर जिताउने आत्मविश्वास। त्यसैले पनि यो पुस्तक रमाइलो बहस हुन सक्छ।
उनी नेपालका सबै समस्याको जरो ‘ग्रान्ड डिजाइन‘ मा छ भन्छन् र ‘पृथ्वीपथ‘ ले त्यसलाई चिन्ने र चिनाउने प्रयास गर्ने दाबी गर्छन्। यसलाई उनी नेपालमाथिको व्यापक आक्रमण हो भन्छन् र यो चक्रको सिद्धान्त सूत्र दिन्छन् : “आदर्शगत भ्रष्टीकरण, वैचारिक विकृतीकरण वा वैचारिक विध्वंस (Ideological Subversion)” जसको चारवटा चरण बताउँछन्, जुन नेपालको पछिल्लो ३०-४० वर्षको इतिहासको चित्र हो पनि भन्छन्:
१. नैतिक पतन (धर्म र संस्कृतिमाथि नियोजित प्रहार, हिन्दु राष्ट्रको अन्त्य र धर्मनिरपेक्षताको दुरुपयोग, धर्मको व्यवसायीकरण र आस्थामा ह्रास, चाडपर्वहरूको विकृत र मनोरञ्जनमा रूपान्तरण, धार्मिक संस्थाहरूमाथि आक्रमण र सम्पत्तिको दुरुपयोग)
२. अस्थिरता (आर्थिक प्रणालीलाई अस्थिर बनाउने, राजनीतिमा ध्रुवीकरण, सामाजिक विश्वासमाथि प्रहार, माओवादी युद्ध)
३. सङ्कट (कृत्रिम घटना सृजना र डरको वातावरण, दोषारोपण र हिंसा, दिशाविहीनता र कट्टर समाधानको स्वीकारोक्ति, प्राकृतिक सङ्कटमा राजनीतीकरण) समसामयिक राजनीतिक सङ्कट)
४. सामान्यीकरण (इतिहासलाई फेरबदल गर्ने, नयाँ सामाजिक नियम र विचारधारा, नियन्त्रण र निगरानी, विकासको गलत परिभाषा, सर्वसत्तावादी दृष्टिकोण)
यी चार चरणमा नेपालको पछिल्लो ३०-४० वर्षको इतिहासलाई चित्रण गर्दा पाठकलाई खट्किने सबैभन्दा ठूलो सङ्कट चाहिं ऐतिहासिक तथ्य र घटनापरक उदाहरणहरूको चरम अभाव हो। त्यति ठूलो फलकमा नेपाली इतिहासको आलोचनात्मक विवेचना गर्दा कम्तीमा पाठकलाई पर्याप्त तथ्य र उदाहरण दिएको भए ‘स्वतन्त्र’ पाठकले पनि लेखकले देखाउन खोजेको ऐतिहासिक चित्र स्पष्ट देख्ने थिए। इतिहासकारहरूले दशकौं मिहिनेत गर्दा कुनै पनि देशको ३०-४० वर्षको इतिहासलाई चारवटा सूत्रमा बताउन शायद हिम्मत नगर्लान्। तर घोषणापत्रमा त सकिन्छ! उनको ‘वैचारिक विध्वंस’ को प्रत्येक बुँदामा नेपाली समाजले आफू स्पष्टसँग देखिन र सुनिनका लागि गरेका संयक् सामूहिक प्रयत्नहरूको सम्पूर्ण रूपमा कठोर नकार पाइन्छ। सामाजिक न्याय र राज्यमा अपनत्व खोज्ने नेपाली बृहत् आकाङ्क्षालाई घोषणाकारको ‘वैचारिक विध्वंस’ ले निर्ममता साथ बढारिदिएको छ।
त्यस्तै ‘निराशाजनकताका चरणहरू‘ भनी दिइएको अमूर्त टेबलमा बौद्धिक लेखकले केवल सूचकहरू दिएका छन्, जसलाई जसरी पनि बुझ्न या नबुझ्न सकिन्छ। कनिकुथी बुझ्दा, उक्त टेबलमा लेखक धर्मलाई सर्वोपरि महत्व दिन्छन्, त्यो हिन्दु धर्म हो भन्ने स्पष्ट हुन्छ किनभने लेखकका विस्फारित ‘बाहुनवादी’ आँखाले किराँत, बोन, बौद्ध आदि धर्म देख्दैनन्! कानूनलाई विधायिकीबाट हटाई नैतिक बनाउने विधिशास्त्र विपरीत अडान लिन्छन्, जसले कानूनीशास्त्र र विधिशास्त्रको सामान्य ज्ञान राख्ने पाठकलाई त्रसित बनाउँछन् कारण नैतिकता निजी लहडमा आधारित हुन्छ र कानून बृहत् सामाजिक आवश्यकताको सम्बोधन गर्ने तार्किक नियम। कानून नै कुनै शासकीय निजी नैतिकतामा बनाउनुपर्ने आग्रह त सरासर ‘कानूनभन्दा व्यक्ति माथि’ भन्ने दाबी हो जुनसुकै पनि न्यायपूर्ण व्यवस्थाको बिल्कुलै विपरीत लक्षण हो। त्यस्तै, विद्वान् लेखकको गहन समाजशास्त्रीय दाबी यो छ कि अधिकार माग्ने आन्दोलनहरूमा दायित्व हुँदैन त्यसैले नेपाली समाज व्यक्तिगत रूपमा जिम्मेवारविहीन बनेको छ।
त्यस्तै बौद्धिक लेखकको मानवशास्त्रीय दाबी पनि उत्तिकै रोचक छ: जातीय दृष्टिले ‘तल्लोलाई माथि‘ राखेकोले नेपाली समाजमा ‘घृणित विभाजन‘ भएको छ। उनी यकिन गर्छन् कि अधिकारविहीनले अधिकार पाउँदा समाजमा ‘घृणित विभाजन’ निम्तिन्छ! सबैभन्दा अनौठो राजनीतिक रहस्यको पर्दा खोल्दै ‘नेपालवाद’ का घोषणाकार सामाजिक संरचना र कानूनमा ग्रासरुट सहभागिताले गर्दा अस्थिरताको चरणमा भीडतन्त्र हावी भएको दाबीहरू गर्छन्। कहिले त पढ्दापढ्दै ‘आयातित सिद्धान्त र विचार’ भएका नेपाली नागरिक पाठकलाई यो किताब सन् ३० को जर्मन नाजी प्रोपोगान्डा वा इटालीको फासिस्ट पर्चा पढिरहेको छु कि भन्ने समेत लाग्न सक्छ!
खैर, पाठकको मथिङ्गलमा कोलाहल मच्चाउन त्यति धेरै प्रयास गर्दै लेखकले उक्त सूचक टेबलमा ‘सङ्कट’ र ‘सामान्यीकरण’ को छेउमा भने केवल प्रश्नवाचक चिह्न राखी ‘जनताको भूमिका र राष्ट्रिय जागरण: कार्ययोजना र नीतिगत परिवर्तन‘ तिर दौडिन्छन्, जहाँ उनी ‘पृथ्वीपथ‘ लाई ‘आयातित सिद्धान्त वा निश्चित राजनीतिक वर्गको स्वार्थपरक खेल‘ को विपरीत ‘राष्ट्रिय अभियान‘ हो भन्छन्। जति मथिङ्गलमा चिन्तनको बल प्रयोग गरे पनि यस पुस्तकमा दिइएका अमूर्त टेबलहरूको अर्थ यही हो भन्ने कुरामा औसत पाठक स्पष्ट हुन सक्दैन। पहिलो टेबलमा राजा महेन्द्रलाई साम्यवादको कोटिमा राखिएको छ भने राजा वीरेन्द्रलाई मध्यमार्गी बुद्धको कोटिमा राखिएको छ। किन? कुनै टिप्पणी र व्याख्या किताबमा जहाँ खोजे पनि मरिगए भेटिंदैन! दोस्रो टेबलको रहस्यमयता अघि चर्चा गरिसकियो। तेस्रो टेबल: ‘समन्वयात्मक र सन्तुलित नेपालवाद’ त मलाई लाग्छ, महाविद्वानका लागि मात्रै लेखिएको हो! अर्थात्, यो पुस्तक पाठकमैत्री छैन। ‘हतारमा पढ, बुझे बुझ, नत्र तिमी नेपाली होइनौ’- भनेको जस्तै भान हुने खालको छ!
यो किताबले शासनको विषयमा सुझाएका केही सोचनीय पक्ष नभएका होइनन् तर यसको वैचारिक आधारको पश्चगामी गर्जनले तिनलाई मधुरो बनाइदिन्छ। भारतसँगको मुद्रा पेगिङ्ग अन्त्य गर्ने, डिजिटल सुरक्षाको कमजोरी बावजुद सम्पूर्ण नेपाली सरकारी कार्य डिजिटल प्रविधिमा आधारित बनाउने, २१ जना प्रत्यक्ष निर्वाचित मन्त्रिपरिषदले १० महिना आफ्ना क्षेत्रमा बिताई २ महिना काठमाडौं बसेर काम गर्ने, नेपाली एआई (आइमाइ) मार्फत सबै नेपालीले प्रविधिसँग सिक्ने जस्ता रोचक दाबीहरू माझ नेपाली हुन खोजिरहेका नेपाली नागरिकलाई फेरि स्वामीभक्त रैती, कर्तव्यपालक प्रजा बनाउने भयङ्कर गर्जनले बेला बेलामा पाठक नराम्रोसँग झस्किन्छ पनि।
माथि उल्लिखित पूर्वाग्रहहरूको समष्टि: जो राजावादी होइन ऊ देशको विरोधमा छ; जो पृथ्वीनारायण शाहको एकीकरण र ‘दिव्योपदेश’ लाई नेपाली इतिहासमा पहिलो र अन्तिम सत्य मान्दैन ऊ नेपाली नै होइन; जो ‘ग्रासरुट इन्गेज्मेन्ट’ मार्फत सामुदायिक अधिकारको वकालत गर्छ, ऊ भीडतन्त्रको कारक हो; जो जातीय विभेद र सामाजिक न्यायको लागि आवाज उठाउने इतिहास र संस्कृतिबारे चिन्ता गर्छ, ऊ सामाजिक अस्थिरता र राष्ट्रिय सुरक्षाको विरुद्धमा छ; जो विधिशास्त्र मान्छ ऊ अनैतिक हुन्छ- जस्ता चरम दक्षिणपन्थी विचारहरूको जगमा जबर्जस्ती ठिङ्ग उभ्याइएको यो पुस्तक मलाई लाग्छ नेपाली नाजीवाद वा फासिस्ट उद्घोष हो।
एकान्त शर्माको यो पुस्तकले समकालीन नेपाली राजनीतिमा देखिएको विकारलाई बहाना बनाएर नेपाली लोकतान्त्रिक यात्राको र त्यसको आधारमा आफूलाई नेपाली नागरिकको स्तरमा उभिन खोजिरहेका आम जनताको सङ्घर्षको इतिहासलाई अपमान गर्ने धृष्टता गरेको छ। जनताको इतिहासलाई हाँसोमा उडाएर मेट्नुपर्ने जिकिर गर्ने यो किताबले शायद वर्तमान राजनीतिक रुग्णताले गर्दा झकाउन लागेका म जस्ता आम नेपाली नागरिकलाई झस्काएर ब्युँझाउन खोजेको छ – सावधान! प्रतिगमन दैलोमा छ!
प्रतिक्रिया 4