+
+
Shares

६ महिनामा साढे २० अर्बको धानचामल आयात

भन्सार विभागका अनुसार गएको ६ महिनामा नेपालले २० अर्ब ३८ करोड ६५ लाख रुपैयाँ बराबरको धानचामल आयात गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १४:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले धान तथा चामल आयातमा करिब साढे २० अर्ब रुपैयाँ खर्च गरेको छ।
  • गत आवको सोही अवधिको तुलनामा धानचामल आयात मूल्य ६.७३ प्रतिशतले वृद्धि भएको छ।
  • धानचामल आयातबाट संकलित राजस्व घटेर १ अर्ब ४४ करोड २६ लाख रुपैयाँमा आएको छ।

८ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले धान तथा चामल आयात गर्न करिब साढे २० अर्ब रुपैयाँ बराबर खर्च गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गएको ६ महिनामा नेपालले २० अर्ब ३८ करोड ६५ लाख रुपैयाँ बराबरको धानचामल आयात गरेको हो ।

विभागका अनुसार गत आव २०८१/८२ को सोही अवधिको तुलनामा यस वर्ष धान र चामल आयातमा १ अर्ब २८ करोड रुपैयाँभन्दा धेरै वृद्धि देखिएको हो ।

गत वर्ष साउनदेखि पुससम्म नेपालले १९ अर्ब ९ करोड ९६ लाख  बराबरको धान र चामल आयात गरेको थियो । सोही अवधिको तुलनामा धानचामल आयात मूल्य करिब ६.७३ प्रतिशतले वृद्धि भएको छ ।

चालु आव पुससम्म ४ अर्ब २७ करोड १२ लाखको बासमती चामल आयात भएको छ, जुन गत वर्ष सोही अवधिमा ३ अर्ब ७६ करोड ७३ लाखमात्र थियो ।

त्यसैगरी अन्य अर्ध–पालिस वा पूर्ण पालिस गरिएका चामल आयात पनि उल्लेख्य बढेको छ । गत वर्ष ४ अर्ब ९० करोड ५६ लाख रुपैयाँको यस्तो चामल भित्रिएकोमा यस वर्ष बढेर ६ अर्ब २ करोड ६ लाख पुगेको छ ।

प्रशोधित चामल आयात बढे पनि धान आयातमा भने सामान्य गिरावट आएको छ । गत वर्ष ६ महिनामा १० अर्ब ४२ करोड ४४ लाख बराबरको २७ करोड ५५ लाख किलो धान आयात भएकोमा यस वर्ष ९ अर्ब ८७ करोड ९ लाख र परिमाण २७ करोड ७ लाख किलोमा झरेको छ ।

यसैगरी बिउका लागि प्रयोग हुने धान आयात भने यस वर्ष बढेर २२ लाख ८३ हजार रुपैयाँ पुगेको छ, जबकि गत वर्ष ६० किलो बिउका लागि जम्मा ४ हजार रुपैयाँमात्र बाहिरिएको थियो ।

गत वर्ष पहिलो ६ महिनामा जम्मा १७ लाख ५४ हजार रुपैयाँको कनिका आयात भएकोमा यस वर्ष ५३ लाख ३० हजार किलोभन्दा बढी परिमाणको २२ करोड ७ लाख ६८ हजार बराबरको कनिका नेपाल भित्रिएको छ ।

तथ्यांक अनुसार आयात मूल्य बढे पनि सरकारले संकलन गर्ने राजस्वमा भने गिरावट आएको छ । गत वर्ष धानचामल आयातबाट १ अर्ब ७६ करोड ८७ लाख बराबर राजस्व संकलन भएकोमा यस वर्ष घटेर १ अर्ब ४४ करोड २६ लाखमा खुम्चिएको छ ।

मुलुकभित्र उत्पादन बढाउने सरकारी नीति भए पनि मुख्य खाद्यान्नमा परनिर्भरताको दर झन् बढ्दै जानुले अर्थतन्त्रमा थप चुनौती थपेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?