८ माघ, संखुवासभा । जिल्ला प्रशासन कार्यालय संखुवासभाले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले संखुवासभा प्रशासनले हातहतियार बुझाउन आग्रह गरेको हो ।
जिल्लाका विभिन्न व्यक्तिका नाममा इजाजत प्राप्त हातहतियार २० माघभित्र अनिवार्यरूपमा जिल्ला प्रहरी कार्यालय र नजिकको इलाका प्रहरी कार्यालयमा बुझाउन प्रशासनले भनेको छ ।
प्रशासनका अनुसार बुझाइएका हातहतियारहरू निर्वाचन कार्य सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने व्यवस्था गरिएको छ ।
एउटा निर्वाचन क्षेत्र रहेको संखुवासभामा सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर एक स्वतन्त्र सहित १५ वटा दलहरूबाट मनोनयन समेत दर्ता भइसकेको छ ।
जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता छन् । निर्वाचनका लागि एक सय नौ मतदान स्थल र एक सय ६४ मतदान केन्द्र निर्धारण गरिएको छ ।
प्रतिक्रिया 4