७ माघ, सुनसरी । कोशी प्रदेशमा झापा निर्वाचन क्षेत्र नम्बर-५ सबैभन्दा संवेदनशील निर्वाचन क्षेत्रको रूपमा वर्गीकरण गरिएको छ । सुरक्षा निकायले उक्त क्षेत्रलाई अति संवेदनशील क्षेत्रको रूपमा वर्गिकरण गर्दै सुरक्षा रणनीतिमा केही परिवर्तन गरेको छ ।
नेकपा एमालेले पनि केपी शर्मा ओललीलाई बहुमतको प्रधानमन्त्री फेरि बनाउने र राष्ट्रिय स्वतन्त्र पार्टी र (रास्वपा) ले पनि बालेन्द्र साह (बालेन) लाई प्रधानमन्त्री बनाउने गरी झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाको उम्मेदवारी मनोनयन दर्ता गरेपछि सुरक्षा निकायले ‘अति संवेदनशील’ चुनावी क्षेत्रको रूपमा वर्गीकरण गरेको हो ।
कोशीका एक उच्च सरक्षा अधिकारीले अनलाइनखबरसँग भने, ‘सबै निर्वाचन क्षेत्र संवेदनशील नै भए पनि झापा क्षेत्र नम्बर ५ अति संवेदनशील क्षेत्रको रूपमा हामीले वर्गीकरण गरेका छौं । सोहीअनुसार सुरक्षा निकायले आफ्नो रणनीति बनाएको छ ।’
दुवै उम्मेदवारले एउटै क्षेत्रमा उम्मेदवारी दिएकाले चुनौती थपेको उनले बताए । झापा ५ मा सुरक्षा निकायले सुरक्षा संयन्त्र थप मजबुत बनाउँदै सादा पोशाकमा बढी भन्दा बढी प्रहरीहरू परिचालन गरेको छ ।
झापा ५ मा ‘हेभिवेट’ उम्मेदवारबीचको प्रतिस्पर्धामा समर्थकहरूबीच झडप हुन सक्ने र चुनानी वातावरण बिथोलिएर नियन्त्रणबाहिर जान सक्ने आकलन गर्दै सुरक्षा अधिकारीहरूले सुरक्षा व्यवस्था कडा बनाउन थालेको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले बताए ।
सुरक्षा निकायले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ लाई झापा ५ पछिको दोश्रो अति संवेदनशील क्षेत्रको रुपमा वर्गीकरण गरेको छ । श्रम संस्कति पार्टीका अध्यक्ष समेत रहेका धरानका मेयर हर्कराज राई साम्पाङले चुनावमा बहुमतले दाबी गर्दै आफूलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा घोषणा गरेका छन् ।
जेनजी विद्रोह चलिरहेको बेला आफूमात्र नेपालको प्रधानमन्त्री हुन योग्य भएको भन्दै धरानबाट रातारात काठमाडौं पुगेर नेपाली सेनाको हेडक्वाटर छिरेका थिए ।
सुनसरी क्षेत्र नम्बर १ मा लिम्बू र राई समुदायको बाहुल्यता छ । त्यसपछि क्रमशः बाहन–क्षेत्री, नेवार, दलित, तामाङ रहेका छन् । प्रायः दलहरुले स्थानीय, प्रदेश र संघीय चुनावमा जातीय ‘क्लस्टर’ अनुसार उम्मेदवारहरु उठाउने गरेको छ ।
सुनसरी क्षेत्र नम्बर १ मा कि राई समुदायबाट कि लिम्बू समुदायबाट प्रमुख दलहरुले आफ्ना उम्मेदवारलाई उठाउने गरेका छन् । यसपटकको प्रतिनिधिसभाको चुनावमा मुख्य प्रतिस्पर्धी दलहरुमध्ये एमालेले युवा नेता टीका माङ्लेन लिम्बू, कांग्रेसले सुजेन्द्र तामाङ, रास्वपाले गोमा तामाङ (सरिन) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सूर्यबहादुर भट्टराई (मनोज) लाई उम्मेदवार बनाएको छ ।
साम्पाङको फेसबुक पेजमा श्रम संस्कृति पार्टीका समर्थकहरुले अन्य दलका नेता, उम्मेदवार र कार्यकर्ताहरू प्रति गरेको निर्मम ‘कमेन्ट’ र अन्य दलका समर्थकले दिएको प्रत्युत्तर पनि त्यस्तै निर्मम भएकोले चुनावी वातावरण विथोलिन सक्ने भन्दै कडा सुरक्षा संयन्त्र अपनाइएको छ ।
४ सय ३९ मतदान स्थल ‘अति संवेदनशील’
कोशी प्रदेशमा कुल ११ हजार ९ सय ७ मतदान स्थल कायम गरिएको छ । ती मध्ये ४ सय ३९ मतदान स्थललाई सुरक्षा निकायले झापा ५ र सुनसरी १ पछिका ‘अति संवेदनशील’ सूचीमा राखेको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दता भएसँगै प्रदेशका १४ जिल्लाका मतदान स्थलहरूलाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरिएको हो । निर्वाचन आयोग, सुरक्षा निकायले ती अति संवेदनशीलस्थललाई विषेश सुरक्षा योजनामा पारेका छन् ।
सुरक्षा निकायकाअनुसार ८ सय २१ स्थल संवेदनशील र ६ सय ४७ स्थल सामान्य चुनावीस्थलको रूपमा वर्गिकरण गरिएको छ । मतदान केन्द्रतर्फ ४ हजार २ सय ७० मध्ये १ हजार १६ अति संवेदनशील, १ हजार ८ सय ६९ संवेदनशील र एक हजार ३ सय ८५ सामान्य केन्द्रको रूपमा वर्गीकरण गरिएको छ ।
कोशी प्रदेशमा कति मतदाता ?
कोशी प्रदेशमा यसपटकको प्रतिनिधिसभाको चुनावमा मतदान गर्नेको संख्या कुल ३५ लाख ७४ हजार ३ सय १० जना रहेका छन् ।
ती मध्ये पुरुष १८ लाख २८ हजार २ सय १३ जना र महिला १७ लाख ४६ हजार ७३ जना रहेका छन् । २४ जना अन्य मतदाता छन् ।
प्रतिक्रिया 4