+
+
Shares

झापा-५ : मतदाता माझ पुग्दैछ ओली र बालेनको चुनावी राप

केपी ओली ‘बालेनलाई धितो न जमानीको व्यक्ति’ भन्दै पुन: आफ्नो आवश्यकता पुष्टि गर्न खोज्दैछन् । बालेन पुराना पार्टीहरूका असन्तुष्ट र युवाहरूलाई जोड्दै आफू आउनुको कारण पेश गर्दैछन् ।

हरि अधिकारी हरि अधिकारी
२०८२ माघ ७ गते २१:०६

७ माघ, विराटनगर । प्रतिनिधिसभाको चुनावमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी दुवैले खडा गरेका झापा-५ का उम्मेदवार भावी प्रधानमन्त्रीका आकांक्षी हुन् । चारपटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह चुनावी मैदानमा छन् । भावी प्रधानमन्त्री बन्ने योजनाअनुसार आएका दुवैको नेताहरूका कारण झापाको चुनावी सरगर्मी बढेको छ । त्यसको ताप चाहिँ राष्ट्रियव्यापी छ ।

मंगलबार उम्मेदवारी दर्ता गराएका उनीहरूले कसरी चुनावी अभियान अघि बढाउछन् भन्ने चासो थियो । बुधबार ओली र बालेन दुवैले चुनाव प्रचारका कार्यक्रमहरूमा सहभागी भए । बालेनले घरदैलो गरे । कार्यालयमा आएका शुभेच्छुकहरुसँग भेटघाट गरे ।

यता ओलीले चाहिँ केही कार्यक्रमहरूमा सहभागी भएर आफ्ना भाषण पनि गरे । मंगलबार उम्मेदवारी दर्ता गरेका ओलीले बुधबार दमकमा युवा भेला गरे । कार्यकर्ता भेटघाट पनि गरे ।

चुनाव प्रचारका लागि रास्वपाले दमकमा भाडामा लिएको घरमा बसेर बालेनले भेटघाट गरिरहेका छन् । झापाका लागि नयाँ अनुहार बालेनलाई भेट्न बालबालिकादेखि वृद्धहरूसम्म भिड छ । कांग्रेस र एमालेका युवा नेताहरूलाई बालेनको समूहले फकाइरहेको छ । बुधबार दिनभर भेटघाट गरेका बालेन बिहीबार पाथिभरा मन्दिर दर्शन गर्न जाने तयारीमा छन् ।

बालेन झापा पुगेपछि कांग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईं पार्टी छाडेर बालेनको अभियानमा जोडिए । कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी रास्वपा प्रवेश गरेका छन् । ओलीको गृहनगर दमकमा एमालेका राष्ट्रिय युवा सङ्घ दमक नगर कमिटीका अध्यक्ष,उपाध्यक्ष र सचिवले पार्टी छाडे ।

नगर कमिटीका अध्यक्ष छवि खतिवडा र सचिव कमलप्रसाद गैरे र उपाध्यक्ष विजय तामाङ बालेनको अभियानमा जोडिएका छन् । यसअघि एमाले नगर अधिवेशनमा अध्यक्षका आकांक्षीसहितका नेता रास्वपा प्रवेश गरेका थिए ।

ओली सातौं पटक चुनावी मैदानमा उत्रिएका हुन् । २०४८ सालयता सहजै चुनाव जित्दै (२०६४बाहेक) आएका ओलीलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेका शाहले टक्कर दिन आएका छन् । ओलीले बुधबार उनलाई लक्षित गर्दै भने,’बैंकले नोट छाप्दा खेरि धितो जमानी बिना छाप्दैन। के यहाँ भोट हाल्दा खेरि धितो न जमानीको मान्छेलाई भोट हाल्ने भन्छन् कोहि कोहि ? भोलि खोज्न कहाँ जानु ?’ ओलीले बालेन स्थानीय उम्मेदवार नभएको भन्दै उनीप्रति आलोचनात्मक टिप्पणी गरे । उनले चुनाव ७० प्रतिशत मत ल्याएर जित्ने दाबी समेत गरे ।

झापा क्षेत्र नम्बर ५ मा ९ जना स्वतन्त्रसहित २४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवार संख्या २४ भएपति मुख्य प्रतिस्पर्धा ओली र बालेनबीच नै हुने आंकलन छ ।

प्रधानमन्त्रीको उम्मेदवार भएकै कारणले ओली र शाह दुवैका लागि यो निर्वाचन प्रतिष्ठाको विषय समेत बनेको छ । झापा दमका पूर्वप्राध्यापक मोहन भण्डारी अघिल्ला निर्वाचन सहजै जित्दै आएका ओलीलाई यो पटक चुनावी चुनौती छ ।

झापा क्षेत्र नम्बर ५ बालेनका लागि पनि चुनौती रहित क्षेत्र होइन । यो भूगोलदेखि चुनावी प्रतिस्पर्धा नै बालेनका लागि नयाँ हो । उनी २०४८ सालदेखि निरन्तर निर्वाचन लड्दै आएका ओलीलाई उनकै घर (झापा)मा पराजित गर्ने भन्दै झापा झरेका हुन् ।

कमल गाउँपालिकामा रहेका राप्रपाका सक्रिय कार्यकर्ता माधव मिश्र बालेन शाह झापा आउँदा प्रतिस्पर्धा राम्रो हुने बताउँछन् ।

झापा क्षेत्र नम्बर ५ मा यसअघि दुई निर्वाचनमा राप्रपाले ओलीलाई समर्थन गरेको थियो । तर, यो पटक राप्रपाले आफ्नै उम्मेदवार उठाएको छ । राप्रपा कार्यकर्ता मिश्रका अनुसार विगतमा ओलीको फराकिलो जितमा निर्णयक मत राप्रपा पनि थियो ।

नेकपा एमाले दमक नगरकमिटी अध्यक्ष श्याम पौडेल एमालेको जनमत पोखरीजस्तो भएका कारण जो कोही आउँदा फरक नपर्ने बताउँछन् । एमालेको संगठन जमेको पोखरी जस्तो भएर बसेको बताउँदै उनले दरिलो संगठन भएका कारण बाहिरका उम्मेदवारले चुनाव जित्न नसक्ने बताए ।

तीन वर्षअघि भएको संसदीय निर्वाचनमा झापा–५ बाट एमाले अध्यक्ष ओली ५२ हजार ३ सय १९ मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीको २३ हजार ७ सय ४३ मत पाएका थिए । ओलीको मतान्तर सर्वाधिक धेरै थियो । तेस्रो भएका रास्वपा उम्मेदवार सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ४८ मत ल्याएका थिए ।

समानुपातिकतर्फ पहिलो भएको एमालेले ३५ हजार ८७२ मत ल्याउँदा दोस्रो भएको रास्वपाले १८ हजार २ सय ५ मत ल्याएको थियो ।

तेस्रो भएको कांग्रेसले १६ हजार ८५९ मत पाएको थियो । फागुन २१ को निर्वाचनमा १ लाख ६३ हजार ३ सय ७९ मतदाता छन् । यो संख्या गत निर्वाचनको भन्दा करिब १० हजार बढी हो ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?