५ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि शान्ति सुरक्षा अझै कायम हुन नसकेको बताएका छन् । सोमबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारले निर्वाचनका लागि शान्ति सुरक्षाको प्रबन्ध गर्न अझै नसकेको बताए ।
विभिन्न प्रकारका अपराधिक घटनाहरू अझै समाजमा भइरहेकाले सुरक्षा प्रवन्ध कमजोर रहेको स्पष्ट हुने उनको दाबी छ । अध्यक्ष ओलीकाअनुसार निर्वाचन आयोगमाथि अहिले प्रश्न उठ्ने अवस्था आइरहेकाले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, भयरहित हुनेमा आशंका छ ।
नेकपा एमाले जस्तोसुकै अवस्थामा पनि निर्वाचनमा भाग लिने उनले बताए ।
‘सुरक्षा प्रबन्ध राम्रो हुन अझै सकेको छैन । विभिन्न अपराधका घटना अझै भइरहेका छन् । निर्वाचन आयोगमाथि समेत प्रश्न चिह्न उठ्ने अवस्था भइरहेको छ । यस्तो अवस्था छ,’ ओलीले भने, ‘जस्तोसुकै अवस्थामा पनि हामी चुनावमा भाग लिन्छौँ । त्यसमा कुनै समस्या छैन । तर शान्ति सुरक्षाको स्थिति राम्रो हुनुपर्छ । अझै त्यो स्थिति बनिसकेको छैन ।’
अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नम्बर पाँच कुनैपनि हिसाबले निर्वाचनको इपिसेन्टर नरहेको पनि बताए । उनलाई सञ्चारकर्मीले झापा–५ चाहिँ इपिसेन्टर बन्यो नि ? भनेर प्रश्न गरेका थिए ।
जवाफमा ओलीले भनेका छन्, ‘के को इपिसेन्टर हुन्छ ? वाइयात कुरा ।’
प्रतिक्रिया 4