
२४ माघ, पोखरा । पोखरा–८ शिवालय चोकको एउटा कम्पाउन्ड सहित घर भाडामा लिएर कार्यालय बनाइएको छ । घर छिर्ने गेटमै सुरक्षा गार्ड तैनाथ छन् । मान्छेहरुको बाक्लो ओहोर–दोहोर छ । त्यहाँ भित्र जान चाहनेहरुलाई ‘माथि’ सोधेर बल्ल रजिस्टरमा नाम लेख्दै छिर्ने व्यवस्था मिलाइएको छ ।
कार्यालयमा पुग्नेहरुलाई खादा लगाएर भव्य स्वागत गरिन्छ र विभिन्न प्रकारका खानेकुराहरु दिइन्छ । जुन घरको भित्तामा एउटा बोर्ड टाँगिएको छ र जहाँ लेखिएको छ, ‘मानव सेवा फाउन्डेन ।’ यो फाउन्डेसन त्यही संस्था हो, जसले पोखरामा कोटीहोम महायज्ञ लगाउने भन्दै चौतारा र ऐतिहासिक रुख मुठारेको छ ।
मानव सेवा आश्रमको संस्थापक विवादित धर्मगुरु विजय कृष्णमूर्ती भनिने विजय भण्डारी हुन् । काठमाडौं पशुपतिनाथमा गत साउनमा भएको कोटीहोम महायज्ञ होस् वा त्योभन्दा अघि उनको चरित्रका कारण होस्, विजय कृष्णमूर्ती विवादमा परिरहने पात्र हुन् ।
तिनै कृष्णमूर्तीले आगामी वैशाखदेखि ४ महिना लामो कोटीहोम महायज्ञ लगाउने भन्दै पोखरामा तयारी गरिरहेका छन् । मानव सेवाका निम्ति कोटीहोम गर्ने भन्दै पोखराका चौतारा र ऐतिहासिक रुखहरु कटान भएपछि विजय कृष्णमूर्ती फेरि एक पटक विवादमा तानिएका छन् ।
उनी नेतृत्वको फाउन्डेसनले कोटीहोमका लागि भन्दै पोखराको वडा नम्बर १४ र १३ मा हाँगा छिमल्ने नाममा रुख मुठारेको छ । मानव सेवा आश्रम निर्माणका लागि भन्दै ४ महिनासम्म हुने भनिएको गण्डकी सत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको लागि समिदा (दाउरा) चाहिएको भन्दै फाउण्डेसनले रुखै मुठारेको हो ।
शितल दिने चौतारीका रुखसमेत कुरुप बनाएर काट्दा र वडा, महानगरदेखि प्रदेश सरकार र नेपाल ट्रस्टसम्म सहयोगी बने ।
फाउन्डेसनलाई समिदा काट्नदेखि काठ थुपार्नसम्म वडाहरुले अनुमति दिएका छन् भने नेपाल ट्रस्टले पर्यटकका लागि भन्दै खुला गरेको रत्न मन्दिरभित्रै काठ थुपार्न जग्गा भाडामा उपलब्ध गराएको छ । वडा नम्बर ६, १३ र १४ नम्बर वडाबाट समिदा काट्न भन्दै अनुमति लिएर रुख नै ठुटै पर्दा पनि अनदेखा गरेको वडादेखि महानगरपालिका पालिकासम्मले विरोध र आलोचना भएपछि बल्ल प्रचारबाजी देखाएको छ ।
‘कोटीहोमका नाममा रुख काटिएको हामीलाई थाहै दिइएन, वडाबाट अनुमति गएको छ भन्ने थाहा भएन । तर, यसरी रुख मुठार्न पाइँदैन, महानगरले अनुमति दिएको छैन,’ पोखरा महानगरका मेयर धनराज आचार्य भन्छन्, ‘यति लामो महायज्ञ भन्ने नै हुँदैन, मैले धेरै ठाउँमा बुझें यो कोटीहोम नै होइन । त्यसैले यो गर्नै पाइँदैन भन्ने हो ।’
मेयर आचार्यलगायत जनप्रतिनिधिले रुख काटेर ठुटै बनाउँदा थाहा नभएको दाबी गरे पनि वडाबाटै अनुमति दिएको मेयर आचार्यलाईसमेत जानकारी थियो । रुख काटेर ठुटै पारेको भनेर आलोचना भएपछि मात्र मेयर आचार्यको निर्देशनमा नगर प्रहरीले बुधबार रत्नमन्दिरबाट कोटीहोमका लागि भनेर जम्मा गरिएको ५० ट्रक काठ जफत गरेको थियो । यी काठ नियमअनुसार जफत हुने मेयर आचार्यको भनाइ छ ।
नगर प्रहरीले नेपाल ट्रस्टको गेटको ताला फोरेरै काठ जफत गरेर प्रचारबाजी गर्यो । तर त्यहाँ महानगर आफैंले काटेका काठ पनि थिए । फाउन्डेसनले कटिन्जेल महनगरले ‘मौन’ स्वीकृतिसमेत थियो ।
मेयर आचार्य आफैंले केही दिनमा सराङकोट र पुम्दीभुम्दीमा महायज्ञ भएकाले वैशाखमा गर्न आग्रह गरेको फाउण्डेनका प्रतिनिधिले बताएका छन् । ‘हामीले मेयर साबसँग छलफल गरेका हौं, वडाबाट अनुमति लिएर अरु प्रक्रिया पूरा गर्नु तर अहिले अरु महायज्ञ रहेकाले वैशाख गर्न उहाँले नै भन्नुभएको हो,’ फाउन्डेसनका प्रतिनिधिले भने ।
महानगरले जफत गरेको काठ फाउन्डेसनको नेतृत्वमा मात्र काटिएको होइन, महानगरकै निर्देशनमा पोखरा–६ मा असुरक्षित हुने ठानेर आफैंले काटेका रुखका काठसमेत छन् । पोखरा–१४ को शुभमार्ग, भोटेचौतारा, देउराली लगायतका ठाउँमा ऐतिहासिक चौतारा तथा बरपिपलका रुख काटिँदा समयमै आफूले मेयर आचार्यलाई जानकारी गराएको संरक्षणकर्मी हेमन्त ढकालले जानकारी दिए ।
‘ती चौताराहरु ऐतिहासिक छन् । मानिसहरुका ेमात्रै होइन, त्यो चराहरुको विश्राम तथा आश्रयस्थल हो । धेरै चराहरुले गुँड लगाउँथे । रातिमा चमेराहरु बर दाना खान आउँथे,’ संरक्षणकर्मी तथा पंक्षी समाज पोखराका सचिवसमेत रहेका हेमन्त ढकालले भने, ‘१५/१६ दिनअघि नै मैले मेयर साबलाई यहाँ फोटोसहित जानकारी गराएको हुँ । उपमेयरलाई पनि पछि महानगरमै पुगेर जानकारी गराएपछि नगर प्रहरी पुगेर रोकिएको हो ।’
रुख काटिएर चौतर्फी विरोध र डिभिजन वन कार्यालय कास्कीले पत्राचार गर्दै महानगरलाई जवाफसमेत मागेपछि महानगरले काठ जफत गर्न ‘एक्सन’ लिएको हो ।
नेपाल ट्रस्ट मातहतको जग्गामा हुने भनिएको कोटीहोम महायज्ञका लागि भनेर फाउन्डेसन जग्गा भाडामा लिएको छ । कोटीहोम ४ महिनासम्म गर्ने तयारी भए पनि ट्रस्टलाई वैशाख १ गतेदेखि १५ गतेसम्मका लागि भन्दै ११ लाख ५९ हजार रुपैयाँसमेत बुझाइसकेको छ ।
फाउन्डेसनको नियतमै शंका
फाउन्डेसनले राष्ट्र शान्ति, विश्व कल्याण एवं आम नेपालीको सुख, शान्ति तथा समृद्धिको कामना गर्दै पोखरालाई मुक्तिद्वारको रुपमा स्थापित गर्न कोटीहोम लगाउन खोजेको भनिएको छ । गण्डकी प्रदेशको तीर्थस्थलको प्रवद्र्धन गर्ने पनि भनेको छ ।
‘गण्डकी प्रदेशका सम्पूर्ण धार्मिक क्षेत्र, तीर्थस्थल, मठ मन्दिरहरुको महत्वलाई विश्वभरि प्रचार प्रसार गरी धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्दै राष्ट्रको सर्वांगीण तथा समुन्नत विकासमा सहयोग प¥ुयाउने उद्देश्य सँगसँगै गण्डकी प्रदेशका विपन्न अनाथ बालबालिका तथा असहाय ज्येष्ठ नागरिक संरक्षण सहयोगार्थ,’ कोटीहोमको उद्देश्यमा फाउन्डेसनले भनेको छ ।
कहाँ कहाँ कसरी त्यो रकम खर्च हुन्छ भन्ने खुलाएको छैन । जसका कारण फाउन्डेसनको आर्थिक संकलनको नियत नै शंकास्पद देखिएको छ । फाउन्डेसनले कोटीहोमका नाममा रकम उठाएर गर्ने खर्च अहिलेसम्म पारदर्शी नभएको आवाज उठ्दै आएको छ भने धर्मगुरु भनिएका कृष्णमूर्ती पनि हरेक ठाउँमा विवादित पर्दै आएका व्यक्ति हुन् ।
उनलाई कोटीहोमका नाममा ठगीको आरोपसमेत लाग्दै आएको छ । तर, नियमनकारी निकायले भने उनलाई अनुसन्धानको दायरामा ल्याएर धर्मको नाममा उठ्ने रकमलाई पारदर्शी बनाउन पहल नगरेको आरोप नागरिक समाजको छ । पोखरामा पनि कोटीहोम सुरु नहुँदै फाउन्डेसन विवादमा तानिएको छ भने धर्म गुरु विजय कृष्णमूर्तीको नियतमा प्रश्न उठेको छ ।
वर पिपल संरक्षण ऐन नै वेवारिसे, महानगरले नै मान्दैन ऐन
गण्डकी प्रदेश सरकारले २०७५ सालमै वरपिपल, समी तथा चौतारो संरक्षण ऐन जारी गरेको छ । तर, न अहिलेसम्म ऐन कार्यान्वयन गर्न प्रदेशले कुनै पहलकदमी र छलफल नै गरेको छ न संरक्षणको अधिकार पाएको पोखरा महानगरले नै ऐन कार्यान्वयन गरेको छ ।
वरपिपल, समी र चौतारो संरक्षण गर्ने, तथ्यांक अध्यावधिक गर्ने र ऐनअनुसार कारबाही गर्ने अधिकारसमेत ऐनले स्थानीय तहलाई दिएको छ । योजना निर्माण तथा सम्भाव्यता अध्ययन गर्दा नै वरपिपल, समी र चौतारो नपर्ने गरी गर्नुपर्ने, विकल्प नभएमात्र हटाउनुपर्ने ऐनमा उल्लेख छ । एउटा संरक्षण समिति तथा कोष रहनेसमेत व्यवस्था छ । तर, महानगरले न तथ्यांक अध्यावधिक गरेको छ, न संरक्षणको पहल नै गरेको छ ।
पोखरा महानगरमा रहेका ऐतिहासिक वर, पिपल, समी बर्सेनी हाँगा छिमर्ने नाममा ठूटो बनाउने काम भइरहेको छ । पोखरामा टोलैपिच्छे चौतारा र पोखरीहरु थिए । अहिले ती अधिकांश ठाउँमा मासिइसकेका छन् ।
सार्वजनिक स्थापनमा रहेका रुख तथा चौतारा संरक्षण गर्ने र हटाउनै प¥यो भने पनि के गर्ने भन्ने ऐनमा स्पष्ट लेखिएको छ । व्यवस्थापन र संरक्षणको अधिकार नै स्थानीय तहलाई दिएको छ तर वन कार्यालयलाई आकर्षित नै नगरिएको जिल्ला वन अधिकृत तथा सूचना अधिकारी हरिप्रसाद गौतमले बताए ।
‘प्रदेशको वन ऐनअनुसार सार्वजनिक रुख र चौताराको संरक्षण स्थानीय तहलाई दिएको छ । कारकाही गर्ने अधिकारसमेत उसलाई छ । तर, वन कार्यालय ऐनमा आकर्षित छैन,’ गौतमले भने ।
मुलुकी देवानी संहिता २०७४ ले सार्वजनिक ठाउँमा रहेका चौतारी तथा ऐतिहासिक रुखहरु काटिएमा कारबाही गर्ने अधिकार जिल्ला प्रशासन कार्यालय कास्कीलाई दिइएको छ । प्रशासनले पनि सार्वजनिक सम्पदाको रुपमा रहेका वर, पिपल समी र चौताराको संरक्षणका लागि पहल नगरेको सरोकारवालाको चिन्ता छ ।
प्रतिक्रिया 4