+
+
कविता :

तिम्रो नाउँमा मौनधारण

प्रकाशचन्द्र खतिवडा प्रकाशचन्द्र खतिवडा
२०८१ पुष ११ गते १३:४५

अक्षरहरु सापटी लिएर
किन लेख्ने कविता ?
म अक्षरहरु खेलाएर
तिलस्मी कविता लेख्छु
कविता आफैंमा आगो जस्तो छ
आगो जस्तो मेरो कविता
दनदनी दन्किरहेको छ
भतभति मनहरू पोलेर
उखरमाउलो रापहरु फ्याँक्दै ।

कविता आफ्नो यात्रामा छ
सँगसँगै मान्छेहरु पनि
मान्छेहरु टोलारहेछन्
गन्तव्य नभेटेर
कोही रोइरहेछन्
कोही चिच्याइ रहेछन्
यात्राबाटै आफन्तहरु हराएको
नमिठो पीडा बोकेर ।

कुन बाटो काट्ने होला ?
कुन पहाड उक्लने होला ?
देउरालीमा पाति चढाएर
कुन दोबाटो रुङ्ने होला ?
दोभान पनि आउनै लाग्यो
जङ्घार कसरी तर्ने होला ?

मान्छेहरु हराए जस्तै
यात्राबाटै हराएको छ मेरो कविता
म भाव विह्वल भएको छु
कस्ले लग्यो ?
कहाँ खोज्ने कविता ?
अक्षरहरु कुँदेर
यत्नका साथ लेखिएको कविता
किन हराउँछ यात्राबाटै ?
कविका मनहरु रुवाएर ।

कवि आफैंमा भावुक छ
उ भावनामा बगिरहन्छ
बग्न देउ
तब मात्रै उसले कालजयी कविता लेख्छ ।

मान्छेहरु कविता बुझ्दैनन
या बुझेरै बुझ पचाएका हुन
कविताको परिभाषा
तिनीहरुलाई थाहै नहुँदो रहेछ
किन दिने तिनीहरुलाई कविता ?
दृष्टिविहीन जस्तो अक्षर छामी बस्छन
तिनीहरुलाई कविताप्रति कुनै मोहै नहुँदो रहेछ

नौटङ्कीमा व्यस्त छ समय
नौटङ्कीबाटै थुतेर
समयलाई कैदी बनाइएको छ
समयले पौठेजोरी खेल्नै सकेन
जीवनको गीत गाउँने कसरी ?
म टोलाएको मौका छोपेर
मेरो मन पनि
समयले सुटुक्कै चोरी लगेको छ ।

समयलाई काबुमा राख्ने कसरी ?
चसक्क दुःखेको मन छ मेरो
मलहम पट्टि लगाउने कसरी ?
तिमी त निर्दयी रहेछौ
अरुको पीडामा रमाउने
तिम्रो प्रताडना खप्ने कसरी ?
म त कविता लेख्ने मान्छे
मैले कविता लेख्न पाउनुु पर्छ
म उन्मुक्त हुन चाहान्छु
मैले विद्रोहको छलाङ मार्नु पर्छ ।

कसरी हरायो मेरै कविता ?
षडयन्त्रको गन्ध आएकै छ
मलाई निर्मम यातना दिएर
षडयन्त्रको शिकार बनाइएको छ
म त आगो जस्तो कविता लेखिरहेछु
म हत्पति कहाँ पलायन हुन्छु र ?
मैले युद्ध जित्नु छ
म युद्धकै कविता लेख्छु
तिम्रो टाउको दुःखेर के भो ?
तिमी त कठपुतली हौ
जोरी नखोज मसँग
तिमीले एक दिन अवश्य हार्नै पर्छ ।

तिमी नरपशु बनेर
निर्लज्ज नबन
छाडा साँढे जस्तै
म त तिम्रै नाउँमा
शोक सभा आह्वान गर्दै
एक मिनेट मौन धारण गर्छु ।
सुन्दरहरैंचा-६ दुलारी, मोरङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?