
जीवनमा
अझै अघि बढ्नुपर्छ, बढ भन्नेहरू पनि थिए,
अझै माथि चढ्नुपर्छ, चढ भन्नेहरू पनि थिए
धेरैपटक धेरैका कुरा सुन्यो उसले
पटक–पटक धेरैका कुरा मान्यो उसले
यसबाट केही गति त पायो होला अवश्य
तर यसपटक
अलि बढी आफैंलाई सुन्यो/आफैंलाई मान्यो
र अठोटका साथ एउटा अजंगको उकालो उक्लियो।
यसपटक कसैले डोहोर्याएर भन्दा पनि
पहाडको उचाइले लोभ्याएर
ऊ एउटा अठोटमा पुग्यो
थकानहरूलाई थाती राखेर
पीडाहरूलाई पन्छाएर
चुनौतीहरू झेल्दै
पहरासँग पौंठेजोरी खेल्दै
कहिले दुई खुट्टा टेक्दै
कहिले चार खुट्टाले घिस्रिंदै/लतारिंदै
एउटा चुनौतीको पहाड चढ्यो उसले।
चुचुराको चमकले तानेपछि
अर्जुन दृष्टिले मन बाँधेपछि
असम्भवहरू सम्भव हुने रहेछन्
ज्यानभित्र ऊर्जाको खोला सुसाउने रहेछ
खडेरीमा पनि अजस्र मूल रसाउने रहेछ।
ठट्टा होइन
चुनौतीको चाङ छिचोल्दै
पहाड चढ्नु भनेको
लहरामा समात्दै पहरामा टेकेर
अघि बढ्नु भनेको
देख्दै आङ सिरिङ्ग हुने
झुण्डिएका पहरा पार गर्दै
आश्चर्यको विन्दुमा पुगेपछि
उसलाई महसुस भयो-
धेरै उचाइ चढियो जिन्दगीमा
तर अझ उत्ति चढ्न बाँकी रहेछ
निकै अगाडि बढियो यात्रामा
तर अझै अगाडि बढ्न बाँकी रहेछ।
आश्चर्यको बिन्दुमा पुगेपछि
ऊ सानै छँदा
हजुरआमालाई तीर्थाटन गरी
फर्केका बाले भनेको सम्झ्यो –
हेर छोरा तीर्थ जाँदा लेक लागेर ढल्न पनि सकिन्छ
तर सारा अप्ठ्यारा छल्दै
कठोर तपस्यापछि धर्मगौंडो पार गरेपछि
बल्ल पुगिन्छ दूधपोखरी
र प्राप्त गरिन्छ मोक्ष !
यसपटक
झुण्डिएका पहरा पार गर्दै
रहस्यको विन्दुमा पुगेपछि
थाहा पायो उसले –
चुनौतीको पहाड चढ्नुको रोमाञ्चकता
अनि चुचुराको चमकभित्र लुकेको
जिन्दगीको सार्थकता।
—
प्रतिक्रिया 4