News Summary
Generated by OK AI. Editorially reviewed.- यो कविता एक आमाले आफ्ना छोराको भविष्य र कर्मप्रति व्यक्त गरेको पीडा र आशंका व्यक्त गर्छ।
- कवितामा छोराले आफ्नो आमाको मुटुमा ढुङ्गा हानेर विध्वंस र आगो फैलाएको उल्लेख छ।
- लेखकले आगो जीवन र विध्वंस दुवै हुन सक्ने बताउँदै जीवन रोज्न आग्रह गरेका छन्।
तिमी यो धर्तीमा आउँदा
तिम्रा कलिला हात हेर्दै मैले पनि बुनेकी थिएँ एउटा सपना-
यी हातले कलम समाउने छन्
र लेख्ने छन्-
यो देशले आफ्नो शिरमा बोकिराखेको
सगरमाथाजत्तिकै अग्लो
सफलताको कहानी ।
सोचेकी थिइनँ-
यी हातहरूले
आफ्नो मुटुलाई ढुङ्गाजत्तिकै कठोर बनाउने छन्,
र तिनै ढुङ्गाले
आफ्नै आमाको मुटुमा ताकेर हान्ने छन् ।
यी अवोध मस्तिष्कमा
सुस्तरी छिराएकी थिएँ-
आगो खेल्ने चीज होइन,
यसमा जीवन र विध्वंस दुवै हुन्छ
तिमीले जीवन रोज्नू
विध्वंसको उन्मादमा मात्तिएकाहरूले
रातदिन बजाउने
भयानक पार्श्वधुन सुन्दै–सुन्दै
तिमी
आगोको मुस्लोबाट निस्किएको
चटचट आवाजमा मदहोस भयौ,
बेहोसीमै
जलायौ-
तिम्री आमाको पटुका,
उनको शरीरलाई अड्याउने
दरीलो सहारा।
हेर्दा–हेर्दै इतिहास जलायौ,
धरोहर जलायौ,
न्याय जलायौ,
वर्तमान जलायौ,
र जलायौ भविष्य पनि ।
जताततै थुप्रिएको खरानीमा उभिएर
तिमी के हेर्दैछौ ?
आफ्नै आमाको जलेको तस्वीर ?
अस्मिता विष्ट
दुई दशकदेखि महेन्द्र बहुमुखी क्याम्पस धरानमा अंग्रेजी विषय प्राध्यापन गराउँदै आएकी अस्मिता विष्टका लैङ्गिक दृष्टिकोणबाट नेपाली आख्यान र सिनेमा बारे ४ दर्जन बढी लेखहरू प्रकाशित छन् । उनले ‘कन्फाइन्मेन्ट ट्रान्सग्रेसन लिवरेसन : डाइनामिक्स अफ जेण्डर रोल इन कन्टेम्पोररी नेपाली नोबल्स एण्ड फिल्मस्’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रिया 4