होहल्ला छ, चर्को
चर्कै छ घाम, चर्कै छ भीड पनि
लामबद्ध मान्छेहरू, यता उता चारैतिर आँखा डुलाइरहेछन्
कर्णाली तरेर आएकाहरू,
चुरे नाघेर आएकाहरू
केही न केही त पक्कै खोजिरहेका छन्।
सानै छँदा बा’ले घुमाउन लगेको हाट जस्तो
वा दशैं तिहारको महोत्सव जस्तो
छैन नाचगान, छैन पिङ, न छन् भित्तामा मोटरसाइकल कुँदाउनेहरू,
छैनन् कोही हटारू, छैनन् ढाकर बोक्ने र बिक्रीका गाइबस्तुहरू।
र पनि यहाँ,
सलबलाइ रहेका छन् मान्छेहरू
मानौं, कुनै मरेको जीव मेरै अगाडि छ
र म हेरिरहेछु सिनोमा गज्याङ्गमज्याङ्ग नाचिरहेका औंस्याहाहरू।
खासमा यो कुनै मेला हैन,
कुनै उत्सव वा पर्वमा रमाइलो गर्नकै लागि एकत्रित भएको भीड पनि हैन,
न यो भीड सरकारविरुद्ध वा कुशासनको विरुद्धमा नै सडकमा ओर्लिएको हो
न हो कुनै अन्याय विरुद्धको मार्चपास
साँच्चै भन्नुपर्दा यो भीड देश किन्न खोज्नेहरूको हो
किनकि केही दिन यता
एउटा सूचना दिनहुँ छापिँदै आइरहेको छ कि-
‘यो देश बिक्रीमा छ।’
प्रतिक्रिया 4