+
+

चीनको १० वर्ष पुरानो ‘हाई-टेक’ योजनाको प्रतिफल हो डीपसीक, अरु के हुँदैछ ?

चीनको कम्युनिस्ट पार्टीले प्रविधि क्षेत्रमा आफ्नो लक्ष्य हासिल गर्न एक रोडम्याप तयार गर्दै २५० लक्ष्य किटान गरेको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार,  तीमध्ये ८६ प्रतिशत लक्ष्य चीनले पूरा गरिसकेको छ। 

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २६ गते २०:३२

 

२६ माघ, काठमाडौं । चीनको च्याटबट डीपसीकले विश्वलाई चकित पारेको छ। तर चीनलाई नजिकबाट अध्ययन गर्नेहरूका लागि यसमा कुनै अचम्मको कुरा छैन।

चीनले बितेको १० वर्षदेखि कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका उच्च-प्रविधि उत्पादनहरूमा विशेषज्ञता हासिल गर्दै आएको छ। यो चीनको अत्यन्त महत्वाकांक्षी योजना ‘मेड इन चाइना २०२५’ को हिस्सा हो।

विश्लेषकहरूका अनुसार डीपसीक प्रोजेक्टको सफलता चीनको दीर्घकालीन प्रविधि रणनीतिको एक उदाहरण हो।

सन् २०१५ मा चीन सरकारले ‘मेड इन चाइना २०२५’ योजना घोषणा गरेको थियो।

यसको मुख्य उद्देश्य दैनिक उपभोग्य वस्तुहरूदेखि उच्च-गुणस्तरीय प्रविधिहरूमा चीनको प्रभुत्व स्थापित गर्नु थियो।

प्राथमिकताका १० क्षेत्र

चीनले सन् २०२५ सम्म प्रविधि क्षेत्रमा अग्रणी बन्ने लक्ष्यसहित १० क्षेत्रमा ध्यान केन्द्रित गर्‍यो । तीमध्ये पनि प्रमुख हुन् : कृत्रिम बुद्धिमत्ता (एआई), क्वान्टम कम्प्युटिङ, विद्युतीय सवारी, नवीकरणीय ऊर्जा र ब्याट्री प्रविधि ।

चीनले केही क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ, जसले उसलाई विश्वकै प्रमुख खेलाडी बनाएको छ।

किङ्ग्स कलेज लन्डनकी विकास अर्थशास्त्र विशेषज्ञ डा. युनदान गोङ्गका अनुसार ‘मेड इन चाइना २०२५’ योजना सफल भइरहेको छ। ‘धेरै क्षेत्रमा चीनले उल्लेखनीय प्रगति गरिरहेको छ र केही प्रविधिमा ऊ अग्रणी स्थानमा पुगिसकेको छ,’ उनी भन्छिन् ।

जर्मनी, जापान र अमेरिकालाई पछाडि छाड्दै सबैभन्दा धेरै इलेक्ट्रिक कार बेच्ने देश चीन भइसकेको छ । यसको श्रेय इलेक्ट्रिक कार बनाउने कम्पनी बीवाईडीलाई जान्छ ।

ईभी उद्योगमा चीनको अग्रता उसको ब्याट्री निर्माण क्षमतासँग गाँसिएको छ र आज चीन विश्वकै सबैभन्दा धेरै ब्याट्री उत्पादन गर्ने देश बनेको छ।

नवीकरणीय ऊर्जामा पनि अगाडि

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार, विश्वभर प्रयोग हुने सौर्य प्यानलको ८० देखि ९५ प्रतिशतसम्म चीनले निर्यात गर्छ।

अनुसन्धानकर्ताहरूका अनुसार सन् २०२८ सम्म चीन नवीकरणीय ऊर्जा उत्पादनमा विश्वकै केन्द्र बन्नेछ र विश्वको नवीकरणीय ऊर्जा योगदानमा चीनको हिस्सा झन्डै ६० प्रतिशत पुग्ने अनुमान गरिएको छ।

ड्रोन प्रविधिमा चीनको प्रभुत्व सबैभन्दा शक्तिशाली छ । बीबीसीले गरेको एक अध्ययनका अनुसार शेन्जेन-आधारित डीजेआई कम्पनीको विश्वभर ७० प्रतिशत बजार हिस्सा छ । विश्वका १० ठूला ड्रोन उत्पादक कम्पनीहरूमध्ये ३ कम्पनी चीनकै छन्।

चीनको कम्युनिस्ट पार्टीले प्रविधि क्षेत्रमा आफ्नो लक्ष्य हासिल गर्न एक रोडम्याप तयार गर्दै २५० लक्ष्य किटान गरेको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार,  तीमध्ये ८६ प्रतिशत लक्ष्य चीनले पूरा गरिसकेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका पूर्व सल्लाहकार लिन्डसे गोर्म्यानका अनुसार चीनको राज्य-समर्थित पूँजीवाद प्रभावकारी मोडेल बनेको छ जसमा सरकारले अनुसन्धान तथा प्रविधि क्षेत्रमा फन्डिङ र एजेन्डा सेट गर्छ।

गोरम्यानका अनुसार चीनले विदेशी प्रतिभा र कम्पनीहरूलाई आफ्ना संस्थाहरूसँग सहकार्य गर्न आकर्षित गर्दै आएको छ। यसका लागि ठूलो आर्थिक लगानीसमेत गरिएको छ।

अमेरिकी कंग्रेस रिसर्चका अनुसार, चीनले अनुसन्धान, प्रविधि विकास र विदेशी कम्पनीहरू खरिद गर्न १.५ लाख करोड डलरको अनुदान छुट्याएको छ।

यसैको उदारहण हो डीपसीक

चीनको ‘मेड इन चाइना २०२५’ रणनीति यति सफल रह्यो कि केही वर्षमै विरोधीहरू पछाडि छुटेपछि सरकारले यसबारे खुला रूपमा चर्चा गर्नै छाड्यो।

तर, हालैका वर्षहरूमा धेरै पश्चिमी मुलुकहरूले चीनमा प्रविधि निर्यातमा कडाइ गरेका छन्।

विशेष गरी माइक्रोचिप आपूर्तिमा अमेरिकाले लगाएको प्रतिबन्धले चीनलाई असर गरिरहेको छ।

केही विश्लेषकहरूको विश्वास छ कि यी प्रतिबन्धहरूले चीनलाई झन् प्रविधिमा आत्मनिर्भर बन्न प्रेरित गरेका छन्।

कार्डिफ विश्वविद्यालयका प्राध्यापक पेंग जाउ भन्छन्,  ‘चीनमा एक पुरानो भनाइ छ— जीवनले सधैं आफ्नो बाटो खोज्छ। प्रतिबन्धले बाटो मात्र परिवर्तन गर्न सक्छ, दिशा होइन ।’

प्राध्यापक जाउ डीपसीक च्याटबटलाई यसको उत्कृष्ट उदाहरणका रूपमा लिन्छन्। अमेरिकी प्रविधि प्रतिबन्धका कारण शक्तिशाली चिप्स पाउन नसकेपछि चीनले कम शक्ति भएको चिप्स प्रयोग गरी कम लागतमा आफ्नै प्रविधि विकास गर्‍यो।

यसरी चीनले अमेरिकी प्रतिबन्धको सामना गर्दै आफ्नै प्रविधिमा नवीनता ल्याउन सक्यो ।

यी क्षेत्रमा भने अझै अगाडि छ अमेरिका 

चीनले एआई प्रविधिमा उल्लेखनीय प्रगति गरिरहेको भए पनि अमेरिका अझै पनि विश्वको अग्रणी शक्ति रहेको छ। यद्यपि यो दाबी अब अत्यधिक चुनौतीको अगाडि छ ।

डीपसीकको सफलता देखेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत चकित भए। उनले यसलाई अमेरिकी एआई कम्पनीहरूका लागि ‘वेक-अप कल’ भनेका छन्।

अन्य कुनै पनि देशको तुलनामा चीनका एआई कम्पनीहरूसँग सबैभन्दा धेरै पेटेन्ट छन्।

चीनका अलीबाबा र बाइटडान्स जस्ता कम्पनीहरूका आम्दानी गुगल र ओपनएआईसँग प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा पुगेको छ।

चीनका वैज्ञानिकहरूले क्वान्टम कम्प्युटिङसम्बन्धी बढी अनुसन्धान पेपरहरू प्रकाशन गरिरहेका छन् तर, यसको बावजुद पनि क्वान्टम कम्प्युटिङमा अमेरिका कैयौं सवालमा धेरै अगाडि छ ।

चीनको चुनौती सामना गर्नका लागि अमेरिका माइक्रोचिप निर्माणमा अरबौं डलर लगानी जुटाउने प्रयास गरिरहेको छ ।

राष्ट्रिय सुरक्षा चिन्ताका कारण अमेरिकाले चीनलाई चुनौती दिइरहेको छ । टिकटकलाई अमेरिका निकै सफलता मिल्यो, तर अब राष्ट्रिय सुरक्षाका लागि खतरा भन्दै नियमन गर्न खोजिरहेको छ ।

चीनका इ-कमर्स कम्पनीहरू टेमु र शीन पनि अमेरिकी आशंकाको सामना गरिरहेका छन्।

चिनियाँ टेलिकम कम्पनी हुवावेले पनि पश्चिमी प्रतिबन्धहरूका कारण आफ्नो अलग बाटो खोज्न बाध्य भएको थियो। सन् २०१९  मा अमेरिकी प्रतिबन्धपछि हुवावेका स्मार्टफोन उत्पादन प्रभावित भए।

विश्वका अरु भागमा पनि आफ्नै माइक्रोचिप बनाउने काम भइरहेको छ र पश्चिमा प्रतिबन्धलाई छल्दै १०० मिलियन डलरको आम्दानीको रेकर्ड बनाएका छन् ।

(बीबीसी वर्ल्ड सर्भिसका साइबर संवाददाता जो टिडीको रिपोर्टको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?