News Summary
Generated by OK AI. Editorially reviewed.- विश्व फार्मासिस्ट दिवस २०२६ को मूल नारा \'स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ\' रहेको छ।
- नेपालमा फार्मेसी शिक्षा सन् १९७२ देखि सुरु भई हाल डिप्लोमा, स्नातक र स्नातकोत्तर तहमा विस्तार भएको छ।
विश्व फार्मासिस्ट दिवस हरेक वर्ष सेप्टेम्बर २५ मा मनाइन्छ । सन् १९१२ मा स्थापना भएको इन्टरनेसनल फार्मास्युटिकल फेडरेसन (एफआईपी) को काउन्सिलले सन् २००९ मा सेप्टेम्बर २५ लाई विश्व फार्मासिस्ट दिवसका रूपमा मनाउने निर्णय गरेपछि २००९ पहिलो पटक यो दिवस मनाइएको थियो ।
यस दिवसको उद्देश्य औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग, बिरामीको उपचारमा फार्मासिस्टको योगदान र स्वास्थ्य प्रणालीमा उनीहरूको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्नु हो ।
विश्व फार्मासिस्ट दिवस २०२६ को अन्तर्राष्ट्रिय मूल नारा ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ’ भन्ने रहेको छ ।
यस वर्षको अभियानले फार्मासिस्टलाई औषधि आपूर्ति र वितरणमा मात्र सीमित नराखी रोग रोकथाम, औषधिको उचित प्रयोग, स्वास्थ्य साक्षरता, बिरामी परामर्श, स्वास्थ्य सेवामा पहुँच तथा स्वास्थ्य प्रणालीको लचकताका महत्वपूर्ण साझेदारका रूपमा स्थापित गर्न जोड दिएको छ ।
बदलिँदो स्वास्थ्य आवश्यकता, नसर्ने रोगको बढ्दो भार, डिजिटल स्वास्थ्य, जनसांख्यिक परिवर्तन र स्वास्थ्य प्रणालीमाथिको दबाबबीच फार्मासिस्टलाई आवश्यक सीप, मान्यता र स्वास्थ्य प्रणालीभित्र उचित स्थान दिनुपर्ने सन्देश यस वर्षको नाराले दिएको छ ।
फार्मेसी के हो, फार्मासिस्टको भूमिका के हो ?
फार्मेसी औषधिको खोज, उत्पादन, गुणस्तर, व्यवस्थापनदेखि यसको सुरक्षित र प्रभावकारी प्रयोगसँग सम्बन्धित विज्ञान हो । यसको अन्तिम उद्देश्य बिरामीले सही औषधि, सही मात्रा र सही तरिकाले प्रयोग गर्न सक्ने वातावरण सुनिश्चित गर्नु हो ।
फार्मासिस्ट औषधि सम्बन्धी विशेषज्ञ स्वास्थ्यकर्मी हुन् । उनीहरूले औषधिको सही प्रयोग, सम्भावित प्रतिकूल असर र औषधिबीचको अन्तर्क्रियाबारे बिरामीलाई परामर्श दिन्छन् । यसका साथै चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीसँग सहकार्य गर्छन् । त्यसैले फार्मासिस्ट औषधि वितरण गर्ने जनशक्ति मात्र नभई औषधि सुरक्षा र गुणस्तरीय बिरामी सेवाका महत्वपूर्ण सदस्य हुन्।
आयुर्वेददेखि आधुनिक औषधि उद्योगसम्म
प्राचीनकालदेखि नै नेपालमा आयुर्वेदिक उपचार तथा विभिन्न जडीबुटीबाट औषधि तयार गर्ने परम्परा रहँदै आएको पाइन्छ। लिच्छवीकालमा नै आयुर्वेदिक उपचारको अभ्यास भएको र अंशु बर्माको शासनकाल सन ६०५–६२० तिर आयुर्वेदिक अस्पताल स्थापना भएको इतिहासमा उल्लेख छ ।
त्यस्तै राजा प्रताप मल्लको शासनकालमा दरबारमा आयुर्वेदिक औषधि उत्पादन गर्ने इकाइ स्थापना गरिएको इतिहासमा उल्लेख पाइन्छ।
आधुनिक एलोप्याथिक औषधिको प्रयोग भने सन् १८१६ को सुगौली सन्धिपछि नेपालमा क्रमशः बढ्दै गएको मानिन्छ । आधुनिक औषधि उद्योगको विकासतर्फ हेर्दा सन् १९६९ मा निजी क्षेत्रबाट केमिड्रग इन्डस्ट्रिज प्रा.लि. ले औषधि उत्पादन सुरु गरेको पाइन्छ । त्यसपछि सन् १९७२ मा सरकारी क्षेत्रको रोयल ड्रग लिमिटेड स्थापना भई आधुनिक एलोप्याथिक औषधि उत्पादनको संस्थागत सुरुवात भयो, जुन पछि नेपाल औषधि लिमिटेडका रूपमा परिचित भयो ।
यही सन् १९७२ मा त्रिभुवन विश्वविद्यालय अन्तर्गत (=पिसिएल फार्मेसी कार्यक्रम सुरु भएसँगै नेपालमा औपचारिक फार्मेसी शिक्षाको समेत सुरुवात भयो । त्यसपछि नेपालमा औषधि उद्योग, फार्मेसी शिक्षा र फार्मासिस्ट जनशक्तिको विकास क्रमशः विस्तार हुँदै गयो।
औषधिको नियमन तथा गुणस्तर नियन्त्रणलाई संस्थागत बनाउन वि.सं. २०३६ मा औषधि व्यवस्था विभाग स्थापना गरियो। यससँगै औषधिको उत्पादन, आयात, बिक्री वितरण तथा गुणस्तरसम्बन्धी नियमनलाई संस्थागत आधार प्राप्त भयो।
यसरी हेर्दा नेपालको औषधि क्षेत्र आयुर्वेदिक तथा परम्परागत औषधि प्रणालीबाट सुरु भएर आधुनिक औषधि अनुसन्धान, उत्पादन, गुणस्तर नियन्त्रण, औषधि नियमन, औषधि सूचना, वैज्ञानिक फार्मेसी शिक्षा, क्लिनिकल सेवा, जनस्वास्थ्य तथा बिरामी केन्द्रित उपचारसम्म विस्तार हुँदै आएको लामो ऐतिहासिक यात्राको परिणाम हो।
नेपालमा आधुनिक फार्मेसी शिक्षाको संस्थागत विकासलाई हेर्दा सन् १९७२ महत्वपूर्ण वर्ष हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्स्टिच्युट अफ मेडिसिनले फार्मेसीमा डिप्लोमा तहको कार्यक्रम सुरु गरेसँगै नेपालमा औपचारिक फार्मेसी शिक्षाको सुरुवात भएको थियो । त्यसपछि फार्मेसी शिक्षा डिप्लोमा तहबाट स्नातक हुँदै स्नातकोत्तर र विद्यावारिधि तहसम्म विस्तार भएको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) ले वि.सं. २०६१ देखि डिप्लोमा इन फार्मेसी कार्यक्रम सञ्चालनमा ल्याएको हो । हाल नेपाल फार्मेसी परिषदमा दर्ता तथा मान्यता प्राप्त ऋत्भ्ख्त् अन्तर्गत डिप्लोमा इन फार्मेसी अध्यापन गराउने ५१ वटा कलेज सञ्चालनमा रहेका छन्।
फार्मेसी कार्यक्रम काठमाडौं विश्वविद्यालयबाट वि. सं. २०५१ मा सुरु गरेको थियो । त्रिभुवन विश्वविद्यालयबाट वि.सं. २०५७, पोखरा विश्वविद्यालयबाट वि.सं. २०५८ र पूर्वाञ्चल विश्वविद्यालयबाट वि.सं. २०६२ देखि स्नातक तहमा फार्मेसी कार्यक्रम सञ्चालनमा आएको हो।
त्यस्तै, काठमाडौं विश्वविद्यालयबाट डी फर्मा कार्यक्रम वि.सं. २०६७ देखि सुरु भएको हो । हाल नेपाल फार्मेसी परिषदमा दर्ता तथा मान्यता प्राप्त बी.फार्मेसी अध्यापन गराउने २४ वटा कलेज रहेका छन्।
स्नातकोत्तर तहमा मास्टर अफ फार्मेसी कार्यक्रम काठमाडौं विश्वविद्यालयबाट सन् २००० मा पोखरा विश्वविद्यालयबाट सन् २००५ र पूर्वाञ्चल विश्वविद्यालयबाट सन् २०१६ देखि सञ्चालनमा आएको हो। काठमाडौं विश्वविद्यालयबाट सन् २००४ देखि फार्मेसीमा पीएचडी कार्यक्रमसमेत सुरु भएको छ । हाल नेपालमा विभिन्न विश्वविद्यालय अन्तर्गत एम.फार्मेसी अध्यापन गराउने करिब १० वटा शैक्षिक संस्था रहेका छन्।
उपलब्ध सिट क्षमताका आधारमा एक शैक्षिक सत्रमा डिप्लोमा इन फार्मेसी तहमा अधिकतम करिब २,०४०, स्नातक तहमा करिब ७५५ र स्नातकोत्तर तहमा करिब १४० विद्यार्थी अध्ययन गर्न सक्ने क्षमता रहेको देखिन्छ।
यसले फार्मेसी शिक्षाको दायरा विस्तार भएको देखाए पनि संख्या बढ्नु मात्र पर्याप्त छैन । शिक्षाको गुणस्तर, प्रयोगात्मक अभ्यास, दक्ष शिक्षक, प्रयोगशाला, अस्पतालमा व्यावहारिक प्रशिक्षण तथा उत्पादित जनशक्तिका लागि पर्याप्त रोजगारीका अवसर सुनिश्चित गर्नु उत्तिकै महत्वपूर्ण विषय हो।
पेशागत संस्थादेखि नियमनसम्म
नेपालमा फार्मेसी पेशाको संस्थागत विकासमा नेपाल फार्मास्युटिकल एसोसिएसनको पनि महत्वपूर्ण भूमिका रहँदै आएको छ। यसको स्थापना सन् १९७२ मा २७ सदस्यबाट भएको थियो । त्यसपछि सन् २००१ मा नेपाल फार्मेसी परिषद्को स्थापना भएपछि फार्मेसी पेशाले थप संस्थागत तथा नियामकीय आधार प्राप्त गर्यो ।
नेपाल फार्मेसी परिषद् ऐन, २०५७ ले फार्मासिस्ट तथा फार्मेसी सहायकको नाम दर्ता, व्यावसायिक योग्यता, पेशागत मापदण्ड र आचारसंहितालगायत विषयलाई कानुनी आधार दिएको छ । नेपाल फार्मेसी परिषद्को हाल उपलब्ध तथ्यांक अनुसार ८ अजार ३५५ जना फार्मासिस्ट र १६ हजार ९७७ जना फार्मेसी सहायक परिषदमा दर्ता छन् ।
फार्मासिस्ट कहाँ छन् ?
आज फार्मासिस्टको कार्यक्षेत्र औषधि पसलमा मात्र सीमित छैन । सरकारी तथा निजी अस्पताल, अस्पताल फार्मेसी, सामुदायिक फार्मेसी, औषधि उद्योग, गुणस्तर नियन्त्रण तथा सुनिश्चितता, औषधि नियमन, आयात तथा आपूर्ति, अनुसन्धान, विश्वविद्यालय तथा शैक्षिक संस्था, क्लिनिकल फार्मेसी, औषधि सूचना सेवा र जनस्वास्थ्य लगायत क्षेत्रमा फार्मासिस्टको भूमिका विस्तार भएको छ।
औषधि व्यवस्था विभागले औषधिको उत्पादन, आयात, निर्यात, बिक्री, वितरण, भण्डारण तथा प्रयोगसँग सम्बन्धित नियमन गर्छ । फार्मेसी दर्ता तथा नवीकरण, औषधि उद्योगको निरीक्षण, औषधिको गुणस्तर तथा बजार अनुगमनलगायत कार्यमा पनि यसको महत्वपूर्ण भूमिका छ।
अबको चुनौती
नेपालमा फार्मेसी क्षेत्रको विकासका लागि अब जनशक्ति उत्पादन बढाउनु मात्र पर्याप्त छैन । उत्पादित फार्मासिस्टको ज्ञान, सीप र विशेषज्ञतालाई स्वास्थ्य सेवामा प्रभावकारी रूपमा उपयोग गर्ने नीति आवश्यक छ।
सरकारी अस्पतालमा अस्पताल तथा क्लिनिकल फार्मेसी सेवा विस्तार गर्दै उपचार टोलीमा फार्मासिस्टको भूमिका स्पष्ट गर्न आवश्यक छ । औषधि इतिहास, औषधिबीचको अन्तरक्रिया, सही मात्रा, प्रतिकूल असर तथा औषधि प्रयोग सम्बन्धी त्रुटि पहिचानमा फार्मासिस्टको प्रत्यक्ष सहभागिता बढाउन सकिन्छ । त्यसैगरी, औषधि सुरक्षा, फार्माकोभिजिलेन्स, एन्टिमाइक्रोबियल स्टेवार्डसिप र डिजिटल औषधि व्यवस्थापन प्रणालीलाई स्वास्थ्य संस्थाको नियमित सेवासँग जोड्न आवश्यक छ ।
फार्मेसी शिक्षाको विस्तारसँगै गुणस्तरीय प्रयोगात्मक अभ्यास, अनुसन्धान, दक्ष शिक्षक र अस्पतालमा व्यावहारिक प्रशिक्षणमा पनि पर्याप्त ध्यान दिनुपर्छ । उत्पादित जनशक्तिका लागि रोजगारी र सीपअनुसारको कार्यक्षेत्र सुनिश्चित गर्नु अर्को महत्वपूर्ण विषय हो।
प्रतिक्रिया 4