+

नेशनल मेडिकल कलेजमा आवासीय डाक्टरलाई होस्टल छाड्न उर्दी, भएको के थियो ?

२०८३ असोज  ८ गते २१:५३ २०८३ असोज ८ गते २१:५३
नेशनल मेडिकल कलेजमा आवासीय डाक्टरलाई होस्टल छाड्न उर्दी, भएको के थियो ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वीरगन्जस्थित नेशनल मेडिकल कलेजले स्नातकोत्तर तह पहिलो वर्षका आवासीय चिकित्सकलाई छात्रावास, कोठा र क्वार्टर १२ घण्टाभित्र खाली गर्न निर्देशन दिएको छ।

८ असोज, काठमाडौं । वीरगन्जस्थित नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई अस्पताल तथा होस्टल खाली गर्न उर्दी जारी गरेको छ । आज कलेजले निकालेको सूचनामा स्नातकोत्तर तह पहिलो वर्षका आवासीय चिकित्सकलाई अस्पतालले उपलब्ध गराएका छात्रावास, कोठा तथा क्वार्टर १२ घण्टाभित्र खाली गर्न निर्देशन दिएको हो ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) लाई यस ब्याचका विद्यार्थीलाई फिर्ता गर्न औपचारिक आग्रह गरिएको पनि कलेजले सूचनामा उल्लेख गरेको छ ।

सूचना जारी नभएसम्म प्रथम वर्षका आवासीय चिकित्सकहरूको कक्षा, शैक्षिक गतिविधि, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड/इमर्जेन्सी ड्युटी लगायत सबै गतिविधि स्थगित गरिएको कलेजले जानकारी गराएको छ ।

कलेजसमक्ष विभिन्न माग राख्दै आवासीय चिकित्सकहरू आन्दोलित भएका थिए । यसै विषयलाई लिएर कलेज प्रशासन र अस्पतालले यस्तो सूचना जारी गरेको देखिन्छ ।

खास भएको के थियो ?

कलेजले यस्तो सूचना जारी गरेपछि आफूहरू अलपत्रमा परेको एक आवासीय चिकित्सकले बताए । आफूहरूमाथि कलेजले अत्याचार गरिरहेको ती आवासीय चिकित्सकको गुनासो छ ।

अन्त कहीँ नभएको निमय दैनिक ३६ घण्टासम्म ड्युडी लगाउने, आवासीय चिकित्सकहरूको अनावश्यक हाजिरी काटिदिने, विभिन्न निहुँमा कारबाही गर्ने गरेको उनले बताए ।

यस्ता समस्या समाधान गर्न भन्दै तीनै तहका आवासीय चिकित्सकहरूले विभिन्न माग राखी भदौ २९ गते प्रन्सिपलको कार्यालयमा पत्र बुझाएका थिए।

रेजिडेन्टहरूमाथि गरिएको स्वेच्छाचारी कारबाही फिर्ता गर्नुपर्ने, ड्युटी समय व्यवस्थित गर्नुपर्ने, अनावश्यक हाजिरी काट्न नपाइने, तोकिएको निर्वाह भत्ता समयमै दिनुपर्ने जस्ता माग उनीहरूको थियो ।

माग पूरा गर्न २ दिनको अल्टिमेटम दिइएकोमा सो पूरा नगरेपछि ३१ गतेबाट आवासीय चिकित्सकहरूले अस्पतालमा धर्ना सुरु गरेका थिए । असोज ३ गते उनीहरूलाई वार्तामा पनि बोलाइएको थियो । तर कुनै माग सम्बोधन नगरिएको बरू धम्क्याउने, थर्काउने गरेको उनीहरूको आरोप छ ।

यसबीचमा आवासीय चिकित्सकहरूले काठमाडौं आएर शिक्षा मन्त्री सस्मित पोखरेललाई समेत भेटेर समस्या सुनाएका थिए । मन्त्री पोखरेलले चिकित्सा शास्त्र अध्ययन संस्थान र चिकित्सा शिक्षा आयोगलाई समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

यसैबीच कलेजले यस्तो सूचना जारी गरेको हो । कलेजको यस्तो निर्देशन पछि आफूहरू अन्योलमा परेको आवासीय चिकित्सकहरूले बताएका छन् । ‘पानी परिरहेको छ, यस्तो बेला हामी आफ्नो समान बोकेर कहाँ बस्न जाने ? त्यो सम्भव नै छैन’ एक आवासीय चिकित्सकले भने ।

यहाँ भएन भने आफूहरूलाई अन्तै पढ्ने व्यवस्था मिलाइदिन उनीहरूले सरकार तथा चिकित्सा शास्त्र अध्ययन संस्थान समक्ष आग्रह गरेका छन् ।

सबै विभागमा गरी स्नातकोत्तर तह पहिलो वर्षमा करिब ५० जना आवासीय चिकित्सकहरू त्यहाँ अध्ययनरत छन् । गत वैशाखको दोस्रो साताबाट उनीहरूको ड्युटी सुरु भएको थियो । ३ वर्षका लागि बुझाउनुपर्ने करिब २५ लाख शुल्कमध्ये ८ लाख बराबर उनीहरूले कलेजलाई बुझाइसकेका छन् ।

आवासीय चिकित्सक नेशनल मेडिकल कलेज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय