
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको १५औं महाधिवेशनको समीकरण बनाउन विभिन्न नेताहरूको समूह प्रयासरत छन्, जसमा पूर्वपदाधिकारीहरू समेत सहभागी भएका छन्।
- समीकरण र समर्थन जुटाउने क्रममा नेताहरूबीच एजेन्डा र उद्देश्य स्पष्ट नभए पनि गठजोड बनाउन प्रयासरत छन्।
- पूर्वपदाधिकारीहरूको गठजोड मात्रले पार्टीभित्रको मत ट्रान्सफर सहज देखिँदैन किनभने महाधिवेशनमा गठजोडसँगै विचार र नेतृत्व क्षमताको पनि खोजी हुनेछ।
३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनकेन्द्रित समीकरण बनाउन पूर्वपदाधिकारीको एउटा समूह प्रयत्नरत छ । कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, विजय गच्छदार, गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महतलगायत नेताहरू गठजोड गर्नेगरी सामूहिक छलफलमा जुट्न थालेका छन् ।
१४औं महाधिवेशनमा ३ नेताको समीकरण बनाउने गरी भएको प्रयत्न असफल भएको थियो । त्यसबेला कांग्रेसका संस्थापक नेतात्रय बीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधिका पुत्रहरूबाट एकजना सभापतिको उम्मेदवार बनाउन पटकपटक छलफल भए ।
नेतात्रय शशांक, प्रकाशमान र निधिले एकजना सभापतिको उम्मेदवार हुने र अरुले समर्थन गर्नेगरी सहमति गर्न सकेनन् । अहिले यी ३ नेताको पहलबाट बनेको समूहमा अरु नेताहरू पनि थपिन पुगेका छन् । सिटौला, गच्छदार, गोपालमान र प्रकाशशरण थपिएर ७ जनाको समूह बनेको छ ।
सभापतिमा जित्नका लागि पार्टीभित्रका नेताहरूलाई जोड्नु स्वभाविक हो । आफ्नो शक्ति बढाउन नेताहरूले केन्द्रदेखि तल्लो तहसम्मका कार्यकर्तालाई तान्ने प्रयास गर्छन् । त्यसैअनुरूप पूर्वपदाधिकारीहरूको एउटा प्यानल बनाउन नेताहरू तल्लिन छन् ।
उनीहरूले समीकरण बनाउँदै कसरत जारी राख्दा दुई विचारहरू पार्टीभित्र आएका छन् । पहिलो, मिल्नका लागि तय गरेको एजेन्डा । दोस्रो, नयाँ समीकरण बनाउँदा टाउको जोडिएर मात्रै हुन्छ कि कार्यकर्ता पनि तान्न सक्छन् ?
मिल्नका लागि एजेन्डा के ?
पूर्वपदाधिकारीहरू सम्मिलित समीकरण बन्नुअघि नै कांग्रेसमा संसय उत्पन्न भइसकेको छ । आफूलाई केन्द्रमा राखेर नितान्त ‘शक्ति हत्याउने’ प्रयासका लागि एउटा उमेर समूहका नेताहरूले बल गरिरहेको कार्यसम्पादन समितिका एक सदस्य दाबी गर्छन् ।

‘नेताहरूको समर्थन जुटाएर आफू सभापति हुने लोभ बाहेक जोडिनुपर्ने कुनै कारण छैन,’ उनी भन्छन्, ‘मिल्नका लागि कुनै एजेन्डा हुनुपर्दैन ? मिल्दै गर्दा पार्टी बलियो बनाउन सक्ने, गुट अन्त्य गर्नसक्ने उहाँहरूका एजेन्डा के हुन् ? सभापति हुने लोभले बाहेक मिल्न खोज्नुको कुनै उद्देश्य देख्दिनँ ।’
देशको राजनीति, पार्टी सुदृढीकरणका गर्ने केन्द्रीय विषय भएको पूर्वउपसभापति निधि बताउँछन् । निधिले अनलाइनखबरसँग भने, ‘घटनाक्रमका बारेमा टिप्पणी गर्न सबै स्वतन्त्र छन् । हामी एकजुट हुन किन लागेको हामी भनिहाल्छौं । अरुले हाम्रो बारेमा चर्चा गर्छन् भने भन्नु केही छैन । चर्चा गर्न पाउनु उहाँहरूको अधिकार पनि हो ।’
संविधानप्रतिको बुझाइमा समेत समान धारणा नभएको हुँदा यी पूर्वपदाधिकारीका बीचमा मतभिन्नता रहेकाले एकीकृत हुन नसक्ने शीर्ष तहका एक नेता ठोकुवा गर्छन् ।
सभापति पदको आकांक्षी रहेका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले धर्म निरपेक्षताको सन्दर्भमा फरकमत राख्दै आएका छन् । राष्ट्र धर्मसापेक्ष र निरपेक्ष नभई धार्मिक स्वतन्त्रता हुनुपर्ने कोइरालाको विचार छ ।
संघीयता राख्ने वा खारेजमा जनताले माग गरेमा जनमतका लागि समेत तयार हुनुपर्ने उनले बेलाबेला भन्दै आएका छन् । यी एजेन्डामा अन्य नेताहरूको कोइरालाको जस्तै विचार देखिँदैन । नेता निधि बैठक बस्ने, सहमति गर्दै जाने, एकता अझ मजबुत बनाउँदै जाने बताउँछन् । समूहमा रहने नेताहरूको संख्या बढ्ने र यो टीमबाट एक जना सभापतिको उम्मेदवार अघि सार्ने निधि दाबी गर्छन् ।
यी नेताहरूलाई मिल्न नदिने शक्ति पार्टीभित्र र बाहिर रहेको नेताहरू दाबी गर्छन् । शीर्ष तहका एक नेताले मिल्न नसक्ने र नदिने दृश्य १४औं महाधिवशेनमै देखिएको बताए ।
१४औं महाधिवेशनमा संस्थापनइतरबाट ४ जना सभापतिका आकांक्षी थिए । नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक र डा. शेखर कोइराला आफ्नो समूहको समर्थनमा सभापतिको उम्मेदवार हुन एकले अर्काको समर्थन जुटाउन लागिरहे । दर्जनौं बैठक अनिर्णित हुने र एकले अर्कालाई विश्वास गर्न नसक्ने अवस्था बन्यो ।
जसका कारण सभापतिको दौडमा रामचन्द्र पौडेल सहभागी हुनै चाहेनन् । शेरबहादुर देउवा, शेखर कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिए । पहिलो चरणमा कसैले पनि आवश्यक ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा पहिलो र दोस्रो स्थानमा रहेका देउवा र कोइरालाबीच प्रतिस्पर्धा भयो । देउवालाई निधि र श्रेष्ठले सघाए ।

त्यसअघि समूहको सबै नेताको समर्थनमा हालका राष्ट्रपति पौडेल सभापतिको उम्मेदवार हुन चाहन्थे । संस्थापनइतरका नेताहरूका अनुसार प्रकाशमानले आफ्नो समूहबाट पौडेललाई एकल उम्मेदवार बनाउन तयार भएनन् । उनका अनुसार शशांक र शेखर उनलाई सभापति उम्मेदवार बनाउन तयार थिए ।
प्रकाशमानकै कारण आफू उम्मेदवार हुन नपाएको रामचन्द्र पौडेललाई परेको छ । ‘शशांकले रामचन्द्रलाई छोडिदिएकै हुन्,’ ती नेताले भने, ‘सभापतिमा शशांकलाई देख्न चाहेका रामचन्द्रले उनी अघि सर्ने अवस्था बने मात्रै समूह रहोस् भन्ने चाहना हो ।’
अर्कोतर्फ, पौडेल अर्का नेता सिटौलासँग बेखुसी १३औं महाधिवेशनमै नै रहेको नेताहरू दाबी गर्छन् । १३औं महाधिवेशनमा सभापतिमा उम्मेदवार बनेका सिटौलाले तेस्रो स्थानको मत ल्याएका थिए । दोस्रो चरणको मतदानमा सिटौलाले सभापतिमा शेरबहादुर देउवालाई सघाउँदा पौडेल पराजित हुन पुगेका थिए ।
पूर्वपदाधिकारी सम्मिलित नेताहरू एकत्रित हुन खोज्नुलाई कतिपय नेताले सभापति देउवाको समर्थन खोज्ने उद्देश्यसँग पनि जोडेर हेरेका छन् । तर संस्थापन पक्षको समीकरण बनाउन लागेको हो भने त्यहाँ उपसभापति पूर्णबहादुर खड्का अट्न नसकेकोप्रति एक पदाधिकारी आश्चर्य प्रकट गर्छन् । उनी भन्छन्, ‘देउवा पक्षको समूह बनाउन लागेको हो भने त्यहाँ किन पूर्णबहादुर खड्का छैनन् ? उनी देउवा समूहबाट विगतदेखि पदाधिकारी हुँदै आएका छन् । देउवा समूहको समूह बनाउन लागेको भए उनलाई किन जोड्न सकेनन् ?’
छुट्टै समूह खडा गर्न लागेका नेताहरूमा सिटौला, निधि, प्रकाशमानले सभापति पदमा प्रतिस्पर्धा गरेर आफूलाई परीक्षण गरिसकेका छन् । १३औं महाधिवेशनबाट महामन्त्री बनेका शशांक सभापतिको प्रत्यासी भने भएका छैनन् ।
नेताहरूका अनुसार गोपालमानको सभापति हुने रहरमा दम छैन । गच्छदार र महत भने सभापतिका आकांक्षी होइनन् । सभापतिमा प्रत्यासी भएका नेताहरूले आफूसँग भएको शक्ति पनि बचाउन सकेका छैनन् । सिटौला पक्षका नेता/कार्यकर्ता अधिकांश तितरबितर भइसके । निधि र प्रकाशमान निकटका कार्यकर्ता १४औं महाधिवेशनको तुलनामा कम भइसकेको नेताहरू दाबी गर्छन् । १४औं महाधिवशेनमा सभापतिको प्रतिस्पर्धी हुन नपाएपछि शशांक पक्षका नेता/कार्यकर्ताहरू फरकफरक समूहतिर लागेका थिए ।
पूर्वपदाधिकारी सम्मिलित भएर बन्न प्रयासरत समूहमा विचार, सिद्धान्त, नीति रणनीतिभन्दा सभापतिको उम्मेदवार हुने इच्छा बाहेक अरु नरहेको राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले बताउँछन् । ‘त्यो समूहबाट एकजना सभापति हुनुपर्छ भन्ने बाहेक देश, जनता र पार्टीका लागि कुनै एजेन्डा भएजस्तो देखिँदैन । गुटबन्दी गर्न पार्टीको नेतृत्व पुग्ने बाहेक अरु उद्देश्य त्यो समूहमा देखिँदैन,’ वाग्ले विश्लेषण गर्छन् ।
यो टिममा रहेका नेताहरूको बैठक १५/१५ दिनमा बस्ने बताइएको छ । तर नेता शशांक निवासमा ११ वैशाखमा जुटेका नेताहरूको बैठक त्यसयता बसेको छैन । पूर्वउपसभापति निधिका अनुसार अर्को बैठक १/२ दिनमै बस्ने सम्भावना छ ।
‘टाउको मिल्दैमा कार्यकर्ता तान्न सकिँदैन’
अहिले जुटिरहेका नेताहरूबीच सबैले एकजनालाई समर्थन गर्ने अवस्था बन्यो भने एकले अर्कोलाई मत ट्रान्सफर शतिप्रतिशत गराउन सक्छन् ? १४औं महाधिवेशनको उदाहरणले भन्छ- शतप्रतिशत मत भने ट्रान्सफर हुँदैन । आफूले पाउने मतको शतप्रतिशत नै अर्को व्यक्ति सभापतिको उम्मेदवार हुँदा ट्रान्सफर गराउन नसकेको निकट-विगतको इतिहास छ ।
१४औं महाधिवेशनमा सभापतिका पाँच उम्मेदवार देउवा, शेखर, प्रकाशमान, निधि र कल्याण गुरुङ थिए । पहिलो चरणमा देउवाले २२५८, शेखरले १७२९, प्रकाशमानले ३७१, निधिले २४९ र गुरुङले २० मत पाएका थिए ।
खसेको कूल मतमा ५० प्रतिशत मत कुनै उम्मेदवारले कटाउन नसकेपछि मतदान दोस्रो चरणमा पुग्यो । देउवालाई सभापतिमा प्रकाशमान, निधि र गुरुङले समर्थन गरे । दोस्रो चरणको प्रतिस्पर्धा देउवा र शेखरबीच भयो । अरु तीनजना सभापतिका प्रत्यासीले दोस्रो चरणमा देउवालाई सघाउँदा उनको मत २८९८ पुग्नुपर्ने हो । तर दोस्रो चरणमा मतदान हुँदा पराजित हुने निश्चित जस्तै भएका शेखरको मत पनि बढ्यो ।
देउवाले २७३३ मत पाउँदा पराजित शेखरले मत बढाएर १८५५ पुर्याए । ‘टाउको जोडिँदैमा मत ट्रान्सफर हुन सक्दैन,’ कार्यकर्ताको मनोविज्ञान विश्लेषण गर्दै शीर्ष एक नेता भन्छन्, ‘सबै कार्यकर्ता दास त हुँदैनन् नि । स्वविवेक प्रयोग गर्छन् । पार्टी, आफ्नो राजनीतिक भविष्य, देश लगायतका कुरा हेरेर मत दिन्छन् ।’
कांग्रेसमा कतिपय नेताहरूले केन्द्रदेखि तल्लो तहसम्म आफू पक्षधर बनाएका हुन्छन् । मुख्यगरी नेविसंघ र तरुण दलमा नेतृत्व गरेका नेताहरूको नेटवर्क आधार संरचनासम्म नै हुन्छ । कांग्रेस नेताहरूका अनुसार उनीहरूले बनाएको शक्ति आफ्नो हकमा बाहेक अन्यत्र उनीहरूले परिचालन गर्ने अवस्था छैन ।
एक केन्द्रीय सदस्य उदाहरण दिँदै सुनाउँछन्, ‘बालकृष्ण खाँण नेविसंघ र तरुण दलको अध्यक्ष बनेका हुन् । सानै अंशमा होला, उनको तलसम्म शक्ति छ । उनका मान्छेहरू उनी उठ्दा मात्रै साथ दिने हुन् । अर्को व्यक्तिको हकमा उनले भने पनि स्वीकार्दैनन् ।’
समूहहरू विचारका आधारमा गठन हुने हुँदा स्वार्थले गठन भएको गुटमा कार्यकर्ताले मूल्यांकन गर्ने विश्लेषक वाग्ले बताउँछन् । पुरानो समीकरण भत्किएर नयाँ ध्रुवीकरणमार्फत नीति, विचार र सिद्धान्तको आधारमा नेतृत्वको प्रतिस्पर्धीलाई कार्यकर्ताले मत दिने उनी बताउँछन् ।
‘पहिलो कुरा उनीहरू मिल्ने सम्भावना नै कम देख्छु । उनीहरूको समीकरण बने पनि एकले अर्कोलाई मत ट्रान्सफर गराउन सक्दैनन्,’ मत प्राप्त हुनसक्ने स्थितिबारे उनी भन्छन्, ‘पुस्तान्तरण सहितको पार्टी रुपान्तरणको एजेन्डा नीति बोकेर जुन समूह प्रतिस्पर्धामा जान्छ, त्यही समूह महाधिवेशनबाट निर्वाचित हुने सम्भावना बढी देखिन्छ ।’
प्रतिक्रिया 4