+
+
Shares

कांग्रेसको सैद्धान्तिक धार र पुनर्जीवनको आधार

नयाँ कांग्रेस भनेको सिद्धान्त, नीति र एजेन्डाका दृष्टिले नयाँ हो, सांगठनिक दृष्टिले नयाँ हो र पुस्ताका दृष्टिले नयाँ हो । यसैगरी पार्टी सञ्चालन प्रणाली, संस्कार र कार्यशैलीको दृष्टिले नयाँ हो । आजको आवश्यकता पनि यही हो र एजेन्डा पनि यिनै हुन् ।

गेजा शर्मा वाग्ले गेजा शर्मा वाग्ले
२०८३ असोज १६ गते १७:०७

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प: समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने प्रमुख नारासहित १५ औं महाधिवेशन प्रारम्भ भएपछि भावी सिद्धान्त, नीति र नेतृत्वबारे बहस सुरु भएको छ । पपुलिजम, अनुदारवाद र उग्रराष्ट्रवादको कारणले लोकतान्त्रिक र मध्यमार्गी पार्टीलाई विश्वव्यापी रूपमा नै गम्भीर चुनौती सिर्जना भइरहेको परिदृश्यमा कांग्रेसको बहुप्रतीक्षित महाधिवेशनको पूर्वसन्ध्यामा यस्तो चर्चा स्वाभाविक हो ।

नीति र नेतृत्व दुवै दृष्टिले विगत लामो समयदेखि संक्रमण कालबाट गुज्रिरहेको कांग्रेसलाई आसन्न महाधिवेशनले मार्गनिर्देश गर्ने अपेक्षासहित कांग्रेसजनहरू उत्सुक र उत्साहित देखिएका छन् । तर विशेष महाधिवेशनबाट सभापति भएका गगन थापाले ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने संकल्पका साथ जिम्मेवारी बहन गरेपछि पनि अपेक्षाकृत सफलता हासिल नभएको पृष्ठभूमिमा कांग्रेसको भविष्यबारे केही गम्भीर प्रश्न उठेका छन् ।

कांग्रेसजस्तो लोकतान्त्रिक, उदारवादी र मध्यमार्गी पार्टी किन कमजोर र अलोकप्रिय भयो ? कांग्रेसको नीति असान्दर्भिक भएको हो कि विगतको नेतृत्वको असफलता ? बदलिएको कांग्रेस (प्रचलित भाषामा कांग्रेस २.०) को सैद्धान्तिक-वैचारिक धार के हो ? उदारवाद हो कि अनुदारवाद ? समाजवाद हो कि पुँजीवाद ? राष्ट्रवाद हो कि बहुलवाद ? मध्यमार्ग हो कि बामपन्थ वा दक्षिणपन्थ ? के आसन्न महाधिवेसनमा गहन छलफल गरी उपयुक्त सिद्धान्त, नीति र एजेन्डा अनुसरण गर्ला ? के आसन्न महाधिवेसनबाट पुनर्जीवन पाउला ? भन्ने जस्ता अनन्त जटिल र निरुत्तरित प्रश्न उठेका छन् ।

अहिले कांग्रेससँग उत्तर भन्दा प्रश्न धेरै छन् । कांग्रेसको सान्दर्भिकता र भविष्यका लागि यस्ता प्रश्नको उपयुक्त उत्तर खोज्नु महाधिवेशनको सर्वोच्च प्राथमिकता हो । त्यसैले आसन्न महाधिवेशन कांग्रेसको इतिहासमा अर्को ‘माइलस्टोन’ हुनेछ ।

कांग्रेसको विधान र क्यालेन्डरको शब्दावलीमा नियमित भए पनि एजेन्डा र भूमिकाका दृष्टिले यो अर्को विशेष महाधिवेशन हो । त्यसैले कांग्रेसले अख्तियार गर्ने सिद्धान्त, नीति र एजेन्डाका बारेमा केवल महाधिवेशनको बन्द सत्रमा मात्रै होइन, अहिलेदेखि नै घनिभूत छलफल र बहस गर्नु आवश्यक छ ।

उदारवादी धार, प्रगतिशील विचार

बदलिएको कांग्रेसको सैद्धान्तिक-वैचारिक धार आसन्न महाधिवेसनको प्रमुख एजेन्डा भएकाले आलेखको प्रारम्भ पनि यसैबाट गर्नु आवश्यक छ । यद्यपि २१ औं शताब्दीको उत्तरआधुनिक (पोस्ट–मोडर्न), उत्तरवैचारिक (पोस्ट–आइडियोलोजी) तथा सत्योत्तर (पोस्ट–ट्रुथ) युगमा राजनीतिक वाद, विचारधारा र सिद्धान्तको सान्दर्भिकता र औचित्य कति छ ? भन्ने प्रश्न स्वयं राजनीतिशास्त्रीका बीचमा बहस र विवादको विषय हो । सन् १९६० मा प्रकाशित ‘दी एण्ड अफ आइडियोलोजी’ पुस्तकका लेखक एवं अमेरिकी राजनीतिशास्त्री ड्यानियल बेलले वाद र विचारधाराको अन्त्य भई नीति र एजेन्डाको युग शुरु भएको विचार व्यक्त गरेपछि यसबारे घनिभूत बहस तथा विमर्श हुँदै आएको छ ।

विगत केही दशकदेखिका राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रम र परिदृश्यको सुक्ष्म अध्ययन तथा वस्तुनिष्ठ विश्लेषण गर्दा केही हदसम्म सोही दिशातर्फ उन्मुख भएको देखिन्छ । तर पंक्तिकारको विचारमा यो निरपेक्ष रूपमा विचारधारा र सिद्धान्तको युगको अन्त्य भएको होइन, शास्त्रीय, असान्दर्भिक र असफल विचारधारा र सिद्धान्तको युगको अन्त्य भएको भएको हो । त्यसैले यो निरपेक्ष होइन, सापेक्ष हो ।

यसबारे बुझ्नुपर्ने राजनीतिक वास्तविकता के हो भने लोकतान्त्रिक, मध्यमार्गी र उदारवादी पार्टीको सिद्धान्त, नीति र एजेन्डा हुन्छ । तर पपुलिस्ट, अनुदारवादी र उग्रराष्ट्रवादी पार्टीको केवल एजेन्डा, न्यारेटिभ र प्रोपोगाण्डा हुन्छ । त्यसैले लोकतान्त्रिक, मध्यमार्गी र उदारवादी पार्टी जति भिजन, सिद्धान्त र नीतिबाट विमुख तथा विचलित हुन्छन्, त्यति नै पपुलिस्ट, अनुदारवादी र उग्रराष्ट्रवादी पार्टीको प्रभाव विस्तारित हुँदै जान्छ ।

१९ औं र २० औं भन्दा २१ औं शताब्दीको पाँचौं औद्योगिक क्रान्तिको युग मौलिक रूपमा पृथक छ । अहिलेका एजेन्डा र चुनौती पनि फरक छन् र जनताका समस्या र आकांक्षा पनि । शास्त्रीय सिद्धान्त र जडसूत्रवादी विचारधाराले यस्ता नयाँ र जटिल समस्या समाधान गर्ने सम्भावना छैन । त्यसैले त्यस्ता सिद्धान्त र विचारधाराको सान्दर्भिकता छैन ।

वास्तवमा जुन पार्टीले सिद्धान्तको आधारमा समयसापेक्ष नीति र एजेन्डा अनुसरण गर्छन्, ती जीवन्त हुन्छन्, लोकप्रिय हुन्छन् र सान्दर्भिक हुन्छन् । तर जुन पार्टीले सक्दैनन्, ती अलोकप्रिय हुन्छन्, जनताले विस्थापित गरिदिन्छन् र इतिहासको गर्तमा बिलाउँछन् । त्यसैले नयाँ युगका लागि कांग्रेसले नयाँ भिजन, नयाँ नीति र नयाँ एजेन्डा अनुसरण गर्नुपर्छ ।

विगत केही दशकदेखिका राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रम र परिदृश्यको सुक्ष्म अध्ययन तथा वस्तुनिष्ठ विश्लेषण गर्दा केही हदसम्म सोही दिशातर्फ उन्मुख भएको देखिन्छ।

उक्त वास्तविकतालाई आत्मसात गरी हालसम्म अनुसरण गर्दै आएका सिद्धान्त, विचार र नीतिबारे कांग्रेसले वस्तुनिष्ठ समीक्षा गरी आसन्न महाधिवेशनले सैद्धान्तिक-वैचारिक दृष्टिले मार्गनिर्देश गर्नु अपरिहार्य देखिएको छ । कांग्रेसले परिकल्पना गरेको समुन्नत र समन्यायिक समाज निर्माण गर्न ती सिद्धान्त, विचार र नीति समयानुकूल परिमार्जन, परिभाषा र पुनः परिभाषा गर्नु आवश्यक छ ।

गौरवशाली इतिहासबाट शिक्षा र प्रेरणा लिएर कांग्रेस र बीपीको सिद्धान्त र विचारलाई निरन्तरता दिँदै समयसापेक्ष उपयुक्त सिद्धान्त, नीति र एजेन्डा अनुसरण गर्नु श्रेयस्कर हुनेछ । त्यसैले कांग्रेसको वैचारिक विरासतको निरन्तरतासहितको नवीनता र समयको माग तथा जनताको भावनाको आधारमा समुन्नत भविष्यको मार्गचित्रको ‘फ्युजन’ नै अहिलेको घडीमा उपयुक्त दस्तावेजको मूलमन्त्र हो ।

स्मरणीय छ, स्थापना कालदेखिनै कांग्रेसमा उदारवादी र कन्जरभेटिभ धारबीच विवाद, आरोप-प्रत्यारोप र द्वन्द्व मात्रै होइन, विभाजन र पुन: एकीकरणसमेत हुँदै आएको छ । अहिलेको विवादको प्रमुख कारण पनि यही नै हो । पुरानो पुस्ता कन्जरभेटिभ र सत्तामुखी छ । त्यसैले कन्जरभेटिभ एजेन्डाको वकालत गरिरहेको छ । तर गगन थापा, विश्वप्रकाश शर्माहरूको पुस्ता उदार, प्रगतिशील र संघर्षशील छ । त्यसैले उदारवादी र प्रगतिशील एजेन्डाको पैरवी गरिरहेको छ ।

उदारवाद र प्रगतिशील विचारलाई नेपाली राजनीतिमा अपव्याख्या गरिएको छ । यस्तो अपव्याख्याले समाजमा यसबारे कि अल्प बुझाई भएको पाइन्छ कि भ्रामक धारणा । उदारवादलाई केवल अर्थनीतिसँग मात्र जोडेर पुँजीवाद वा नवउदारवादको पर्यायवाची शब्दावलीका रूपमा प्रयोग गरेको पाइन्छ । तर यो सत्य होइन । यो नेपालका कम्युनिष्टहरुले बनाएको भ्रामक भाष्य हो ।

उदारवाद भनेको नागरिक स्वतन्त्रतालाई सर्वोच्च प्राथमिकता दिने राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिक सबै दृष्टिले उदार र वृहत्तर राजनीतिक दर्शन, मूल्य-मान्यता र प्रणाली हो । तर नवउदारवाद भनेको राज्यको भूमिकालाई न्यूनीकरण गरी निजी क्षेत्रको भूमिका बढाएर बजारको सर्वोच्चता स्थापित गर्ने आर्थिक दृष्टिकोण हो, जसले आर्थिक उदारीकरण, निजीकरण र भूमण्डलीकरणलाई प्रोत्साहित गर्छ ।

नवउदारवादको जन्मभूमि अमेरिका-यूरोपमा नै असफल भएको स्वयं पश्चिमा उदारवाद पक्षधर राजनीतिशास्त्री तथा अर्थशास्त्रीहरू नै निष्कर्षमा पुगेका छन् । त्यसैले नवउदारवादको असफलताको मूल्य उदारवाद र लोकतन्त्रले समेत चुकाउनु परेको छ ।

अर्कोतिर प्रगतिशील भनेको कम्युनिष्ट विचार भन्ने अर्को भ्रामक भाष्य पनि प्रचलित छ । तर यो पनि सत्य होइन । किनभने लोकतान्त्रिक सिद्धान्त, विचार र पार्टी नै वास्तविक रूपमा प्रगतिशील हुन्छ । नागरिकको चेतना र प्रविधिको विकासले नागरिक, समाज र राज्यबीचको सम्बन्ध बदलिँदै गएको छ । पपुलिजम र अनुदारवादको उदय तथा सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको प्रभावको कारणले अहिले विश्वव्यापी रूपमा नै उदारवाद, बहुलवाद, मध्यमार्ग प्रतिरक्षात्मक र अलोकप्रिय भएको देखिन्छ । यो अहिलेको कटु यथार्थता हो ।

तर कांग्रेसको ‘न्याचुरल कन्सिट्युएन्सी’ (प्राकृतिक सैद्धान्तिक आधार) भनेको उदारवाद, बहुलवाद र मध्यमार्ग नै हो । यदि दायाँ (राइट) वा बायाँ (लेफ्ट) ढल्कियो भने आफ्नो ‘न्याचुरल कन्सिट्युएन्सी’ समेत गुमाउने छ । त्यसैले मध्यमार्ग (सेन्ट्रीजम) नै कांग्रेसको स्वाभाविक र प्राकृतिक सैद्धान्तिक मार्ग हो ।

पपुलिस्ट, अनुदारवादी र दक्षिणपन्थी विचार, पार्टी र प्रवृत्ति हावी हुँदै गइरहेको घडीमा कांग्रेसजस्तो उदार, बहुलवादी र मध्यमार्गी पार्टीको सान्दर्भिकता थप बढ्दै गइरहेको छ । त्यसैले कांग्रेसले यसबारे ‘मेटा न्यारेटिभ’ (बृहद राजनीतिक भाष्य) बनाउन आवश्यक छ ।

बीपीको उदारवादी वैचारिक विरासत

बीपी कोइरालाले स्थापित गरेको संवैधानिक राजतन्त्र र बहुदलीय लोकतन्त्रको सिद्धान्त त्यागेर गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता स्वीकार गरेको कारणले परम्परागत सैद्धान्तिक र वर्गाधार कमजोर भएको विवादास्पद विचार कतिपय सन्दर्भमा पुरानो पुस्ताका नेताहरूले व्यक्त गर्दै आएका छन् । तर गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता आधुनिक राष्ट्र-राज्यका उदारवादी नीति अनुसरण गरेको कारणले होइन, जनताको भावनाअनुरुप भएको परिवर्तनलाई पूर्ण रूपमा आत्मसात गर्न नसकेको कारणले कांग्रेस कमजोर र अलोकप्रिय भएको हो ।

बीपीको नेतृत्वमा कांग्रेस राष्ट्रवादी, लोकतान्त्रिक, उदारवादी मात्रै थिएन, अग्रगामी र प्रगतिशीलसमेत थियो । त्यही कारणले स्थापना भएको ५ वर्षमै राणा शासनको अन्त्य गरी २००७ मा प्रजातन्त्र स्थापना गर्न सफल भएको थियो भने २०१५ को आमनिर्वाचनमा दुईतिहाइ हासिल गरेको थियो ।

वास्तवमा कांग्रेस लोकतान्त्रिक, उदार र प्रगतिशील भएको कारणले नै उक्त सफलता पाएको थियो । त्यसैले कांग्रेसलाई कन्जरभेटिभ र अनुदारवादी होइन, उन्नत लोकतान्त्रिक, उदार र प्रगतिशील पार्टीको रूपमा रूपान्तरण गरिनु पर्छ । यदि अनुदार र कन्जरभेटिभ दिशातर्फ उन्मुख भयो भने कांग्रेसको मौलिक पहिचान र अस्तित्वसमेत समाप्त हुनेछ ।

अन्य विषयमा जतिसुकै टीका-टिप्पणी र आलोचना भए पनि इतिहासको हरेक कालखण्डमा लोकतन्त्र र जनअधिकारका लागि सतिसालझैँ उभिएको कांग्रेसको लोकतान्त्रिक पहिचान र विश्वसनीयता उच्च छ । यो ‘कन्सिट्युएन्सी’ को नेतृत्व गर्ने पार्टी स्वाभाविक रूपमा कांग्रेस नै हुनेछ । तर कांग्रेसलाई केवल चुनाव जित्ने बलियो पार्टी मात्रै होइन, समाज बदल्ने रूपान्तरणकारी पार्टीका रूपमा स्थापित गर्नु आवश्यक छ ।

सैद्धान्तिक दृष्टिले पुनर्परिभाषित गर्ने तथा सांगठनिक दृष्टिले पुनर्गठन गर्ने प्रतिज्ञाका साथ सभापति भएका तथा आसन्न महाधिवेशनबाट सभापति हुने निश्चित भएका थापा यस्ता राजनीतिक वास्तविकता र जनताको आकांक्षाप्रति अनभिज्ञ हुने प्रश्नै भएन । त्यसैले सैद्धान्तिक दृष्टिले उदारवादी तथा राजनीतिक दृष्टिले रूपान्तरणकारी थापाले कस्तो दस्तावेज पेश गर्छन् भनी व्यग्रतापूर्वक प्रतीक्षा गरिएको छ ।

सैद्धान्तिक-वैचारिक विकासक्रम र डिपार्चर

स्थापनाकालदेखि नै कांग्रेसको सैद्धान्तिक-वैचारिक उद्‌विकास, परिमार्जन र परिवर्तन हुँदै आएको छ । युग, समाजको आवश्यकता र जनताको भावनाअनुसार नीतिगत डिपार्चर पनि गर्दै आएको छ । प्रमुख रूपमा दुईटा डिपार्चर उल्लेखनीय छन्, जुन ऐतिहासिक ‘माइलस्टोन’ हुन् ।

पहिलो, समाजवाद कांग्रेसको स्थापनाकालीन मार्गनिर्देशक सिद्धान्त होइन । २०१२ को छैटौं अर्थात् वीरगञ्ज महाधिवेशनले समाजवादलाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अंगीकार गरेको थियो । उक्त महाधिवेशनलाई सम्बोधन गर्दै बीपीले समाजवादको परिभाषा गरेका थिए – ‘केवल आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिँदैन । व्यक्ति नै समाजवादको जीवित तत्व हो । आर्थिक उत्थानको लक्ष्य पनि त्यही जीवित तत्व व्यक्तिलाई सुखी बनाउनु हो । त्यसो हुनाले प्रजातन्त्र समाजवादको अभिन्न अंग हो ।’

समाजवादी नीति पारित गर्नासाथ नवनिर्वाचित सभापति सुवर्ण शमशेरले महाधिवेशनको मञ्चबाटै आफ्नो नाममा बारा र पर्सामा रहेको करिब एक हजार बिघा जमीन सुकुम्बासीलाई वितरण गर्ने क्रान्तिकारी घोषणा गरेका थिए । तत्कालीन परिवेशको चरम सामन्ती अर्थतन्त्र, कन्जरभेटिभ सामाज र न्यून राजनीतिक चेतना भएको कालखण्डमा समाजवादी नीति अंगीकार गर्नु स्वयंमा ऐतिहासिक डिपार्चर थियो ।

दोस्रो, जनताको बलिदानीपूर्ण संघर्षबाट स्थापित लोकतन्त्र राजतन्त्रको निरंकुश र अधिनायकवादी प्रवृत्तिको कारणले पटकपटक दुर्घटनाग्रस्त भएपछि कांग्रेसले राजतन्त्रप्रतिको दृष्टिकोण परिवर्तन गर्न बाध्य भएको थियो । २०१६ पुस १ गते लोकतान्त्रिक प्रणाली अपदस्थ गरी राजा महेन्द्रले निरंकुश पञ्चायती शासन लादेका थिए ।

कांग्रेसका विचारलाई जनतासँग जोड्ने आर्थिक नीति तथा जनताका आकांक्षालाई सम्बोधन गर्ने अर्थ-राजनीतिक मार्गचित्र नै आजको आवश्यकता हो ।

ऐतिहासिक जनआन्दोलन २०४६ बाट स्थापित लोकतान्त्रिक प्रणाली पुनः राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते कू गरी निरंकुश शासन सूत्रपात गरेपछि लोकतन्त्र र राजतन्त्रसँगै जान नसक्ने निष्कर्षमा कांग्रेस पुगेको थियो । त्यसैले २०६२ मा भएको ११ औँ महाधिवेशनले संवैधानिक राजतन्त्रप्रतिको प्रतिबद्धता विधानबाट हटाएर गणतन्त्रतर्फ जाने संस्थागत रूपमा सैद्धान्तिक संघार खोलेको थियो ।

यसैगरी कांग्रेस र प्रजातान्त्रिक कांग्रेसबीच एकीकरण भएपछि २०६४ असोजमा सम्पन्न महासमिति बैठकले औपचारिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई पार्टीको नयाँ नीतिको रूपमा अंगीकार गरेको थियो । त्यसैले स्थापना कालदेखि संवैधानिक राजतन्त्रवादी कांग्रेसको राजनीतिक दृष्टिले यो अर्को ऐतिहासिक डिपार्चर थियो ।

सैद्धान्तिक-वैचारिक गतिशीलता र नीतिगत डिपार्चरको वास्तविकतालाई स्वयं कांग्रेस र बीपीको इतिहासले नै पुष्टि गरिसकेको छ । त्यसैले अब तेस्रो डिपार्चरको घडी आएको छ, अर्थतन्त्र र अर्थनीति सम्बन्धमा । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प’ महाधिवेशनको प्रमुख नाराको आधारमा विश्लेषण गर्दा बीपीको वैचारिक विरासतको जगमा उदार अर्थनीतिका सिद्धान्त समेटेर ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ अवधारणालाई थप सैद्धान्तिकरण गरी नयाँ दृष्टिकोण पेश गर्ने सम्भावना देखिन्छ । कांग्रेसका विचारलाई जनतासँग जोड्ने आर्थिक नीति तथा जनताका आकांक्षालाई सम्बोधन गर्ने अर्थ-राजनीतिक मार्गचित्र नै आजको आवश्यकता हो ।

भारतीय कांग्रेस र बेलायतको लेबरको शिक्षा

कांग्रेसको भविष्य, नीति र नेतृत्वको प्रसंगमा भारतीय कांग्रेस र बेलायतको लेबर पार्टीको उत्थान र पतनको दुईटा उदाहरण अत्यन्त सान्दर्भिक छन् । नेपाली कांग्रेसको भन्दा पनि सुनौलो र गौरवशाली इतिहास भारतीय कांग्रेसको छ । नेपाली कांग्रेसले निरंकुशतन्त्रको विरुद्धमा तथा लोकतन्त्र र जनताका अधिकारको पक्षमा मात्रै संघर्ष गर्‍यो ।

तर भारतीय कांग्रेसले एकातिर बेलायती उपनिवेशवाद र भारतको स्वतन्त्रताको लागि सम्झौताहीन लामो र कठोर संघर्ष गर्‍यो भने अर्कोतिर लोकतन्त्र स्थापनाका लागि । त्यसैले बेलायती उपनिवेशवादबाट स्वतन्त्रता हासिल गरी लोकतान्त्रिक पद्धतिलाई संस्थागत विकास गर्न मात्रै होइन, विकसित र आधुनिक भारतको आधारशिला खडा गर्न भारतीय कांग्रेसले ऐतिहासिक भूमिका निर्वाह गरेको वास्तविकता घाम जत्तिकै छर्लङ्ग छ ।

यस्तो गौरवपूर्ण र सुनौलो इतिहास भएको तथा उदार लोकतन्त्र पक्षधर भारतीय कांग्रेस आज किन इतिहासमा नै सबैभन्दा कमजोर र र अलोकप्रिय भएको छ ? उत्तर सीधा र स्पष्ट छ – समयानुकूल नीति अंगीकार गर्न पनि सकेन र जनभावनाअनुसार नेतृत्व चयन गर्न पनि । भारतीय कांग्रेसमा भिजन, योग्यता र क्षमताको आधारमा लोकतान्त्रिक, सहभागितामूलक र पारदर्शी रूपमा होइन, वंशजको आधारमा नेतृत्व हस्तान्तरण गरिंदै आएको छ ।

एकातिर, वंशजको आधारमा नेतृत्वमा आएका राहुल गान्धीलाई जनताले हालसम्म पनि स्वीकार गर्न सकेको देखिएन । अर्कोतिर, पार्टीको सिद्धान्त र नीतिलाई पनि समयानुकूल परिमार्जन, परिभाषित तथा अद्यावधिक गर्न सकेन ।

बेलायतको कन्जरभेटिभ पार्टी भन्दा लेबर पार्टी अहिले उदार र प्रगतिशील छ । तर इतिहासको कुनै कालखण्डमा कन्जरभेटिभ भन्दा पनि लेबरको नीति र नेतृत्व दुवै दृष्टिले कन्जरभेटिभ भयो । त्यसैले सन् १९८० को दशकमा लेबर सबैभन्दा कन्जरभेटिभ र कमजोर थियो । विशेषगरी राज्य नियन्त्रित अर्थतन्त्र पक्षधर भएको कारणले लेबर अलोकप्रिय हुँदै गएको थियो ।

तर परिवर्तित राष्ट्रिय-अन्तर्राष्ट्रिय परिवेश बुझेका टोनी ब्लेयरले राज्य नियन्त्रित अर्थतन्त्रजस्तो शास्त्रीय सिद्धान्तलाई पुन: परिभाषित गरी पार्टीलाई पुनर्जीवन दिन सफल भए । शास्त्रीय लेबरलाई ब्लेयरले ‘न्यू लेबर’ का रूपमा रूपान्तरण मात्रै गरेनन्, पार्टीको संगठन प्रणालीसमेत आमूल परिवर्तन गरे । अर्थतन्त्र, अर्थनीति र ट्रेड युनियनको अधिकारसम्बन्धी पार्टीको विधानको धारा ४ संशोधन गर्न ब्लेयरले करिब एक दशक अन्तरपार्टी संघर्ष गर्नु परेको थियो ।

लेबरले उदार र प्रगतिशील नीति अख्तियार गरेपछि तथा ब्लेयर जस्तो भिजनरी नेताले नेतृत्व गरेपछि सन् १९९७ को निर्वाचनमा लोकप्रिय जनमतका साथ विजय हासिल गर्‍यो । लेबरले अनुसरण गरेको नयाँ अर्थनीति र संगठन प्रणालीका कारण लगातार तीन पटक विजय भई प्रधानमन्त्री बनेका ब्लेयरले बेलायतको अर्थतन्त्र र अन्तराष्ट्रिय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएका थिए । त्यसैले भारतीय कांग्रेस र बेलायतको लेबर पार्टीको आरोह-अवरोहबाट नेपाली कांग्रेसले शिक्षा लिनु श्रेयष्कर हुनेछ ।

निष्कर्ष

उपरोक्त वृहत्तर क्यानभासमा विश्लेषण गर्दा आसन्न महाधिवेशनले पुरानो कांग्रेसलाई सैद्धान्तिक, वैचारिक तथा सांगठनिक दृष्टिले मौलिक रूपमा रूपान्तरण गरी नयाँ कांग्रेसको रूपमा स्थापित गर्नु आवश्यक छ । नयाँ कांग्रेस भनेको सिद्धान्त, नीति र एजेन्डाका दृष्टिले नयाँ हो, सांगठनिक दृष्टिले नयाँ हो र पुस्ताका दृष्टिले नयाँ हो । यसैगरी पार्टी सञ्चालन प्रणाली, संस्कार र कार्यशैलीको दृष्टिले नयाँ हो । आजको आवश्यकता पनि यही हो र एजेन्डा पनि यिनै हुन् । कांग्रेसको सैद्धान्तिक धार पनि यही हो र पुनर्जीवनको आधार पनि यही हो । त्यसैले आसन्न महाधिवेशनबाट पारित दस्तावेजमा नै कांग्रेसको भविष्य अन्तर्निहित छ ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
लेखक
गेजा शर्मा वाग्ले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?