+
+
Shares

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीका ११ पदमा कतिको दाबी ?

कांग्रेस सहमहामन्त्री पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । सहमहामन्त्री दाबी गर्नेमा बाहलवाला सहमहामन्त्रीहरू, केन्द्रीय सदस्यदेखि वर्तमान केन्द्रीय कार्यसमितिमा नरहेका नेताहरूसमेत छन् ।

केशव सावद केशव सावद
२०८३ असोज १६ गते १९:४५

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन १८ असोजबाट सुरु हुँदैछ । काठमाडौंको खुलामञ्चमा आयोजना हुने महाधिवेशनले २४० सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

गत पुसमा आयोजित विशेष महाधिवेशनमा संशोधन गरिएको विधानमा २४० सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । विधानअनुसार महाधिवेशनबाट सभापतिसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरू गरी १७१ जना निर्वाचित हुने छन् ।

६१ जनालाई सभापतिले केन्द्रीय सदस्यमा मनोनयन गर्ने व्यवस्था विधानमा गरिएको छ । विधानअनुसार सात प्रदेश सभापति र प्रतिनिधिसभा दलको नेता पदेन सदस्य हुने छन् ।

‘प्रतिनिधिसभा संसदीय दलको नेता र प्रदेश कार्यसमितिको सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुनेछ,’ संशोधित विधानमा उल्लेख छ । यसअघि १४औं महाधिवेशनमा संशोधन गरिएको विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने व्यवस्था थियो ।

महाधिवेशनबाट १३४ जना निर्वाचित भएका थिए । ३३ जना सभापतिले मनोनीत गर्न पाउने व्यवस्था विधानमा थियो । त्यसअघि १३औं महाधिवेशनबाट कांग्रेसले ८५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुने विधानमा व्यवस्था गरेको थियो ।

विधानअनुसार सभापति, महामन्त्री, कोषाध्यक्ष र समानुपातिक, समावेशी प्रतिनिधित्वसहितका ६४ जना केन्द्रीय सदस्य निर्वाचित गरिएको थियो । १३औं महाधिवेशनबाट संशोधन भएको विधानमा बाँकी २१ जना सभापतिले मनोनीत गर्ने व्यवस्था थियो ।

निवर्तमान सभापति सभापति शेरबहादुर देउवा पक्षको असहमतिका बाबजुद गत पुसमा सम्पन्न विशेष महाधिवेशनले १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

विशेष महाधिवेशनबाट संशोधन गरिएको विधानमा तीन जना थप गरेर ११ जना सहमहामन्त्रीको व्यवस्था गरिएको छ । जसमध्ये तीन जना सहमहामन्त्री सभापतिले मनोनीत गर्न पाउने छन् ।

कांग्रेसले ८ जना सहमहामन्त्रीहरू ‘कलस्टर’अनुसार महाधिवेशनबाट निर्वाचित हुने पुरानो व्यवस्थालाई निरन्तरता दिँदै थप तीन जनालाई सभापतिले मनोनीत गर्ने नयाँ वैधानिक व्यवस्था गरेको छ ।

‘केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यहरूमध्येबाट नाम प्रस्ताव गरी केन्द्रीय कार्यसमितिबाट अनुमोदित मनोनयन गरेका एक महिलासहित तीन जना सहमहामन्त्री,’ विधानमा उल्लेख छ ।

अहिले कांग्रेसले देशभर १५औं महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधिहरू चयन गरिरहेको छ । कतिपय जिल्लाहरूमा महाधिवेशन प्रतिनिधिहरू चयन भइसकेका छन् ।

सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मतदेखि निर्वाचन प्रक्रियाबाट चयन हुँदै गर्दा सहमहामन्त्री पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।

उम्मेदवारी घोषणा गर्नेमा बाहलवाला सहमहामन्त्रीहरू, केन्द्रीय सदस्यदेखि वर्तमान केन्द्रीय कार्यसमितिमा नरहेका नेताहरूसमेत छन् ।

केन्द्रीय सदस्य प्रतिमा गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी छन् । उनी विशेष महाधिवेशनमा सहमहामन्त्रीका लागि आकांक्षी थिइन् ।

तर, निवर्तमान सभापति शेरबहादुर देउवा समूहबाट विशेषको पक्षमा आएका नेताहरूको व्यवस्थापन गर्नुपर्ने भएपछि नेतृ गौतमले केन्द्रीय सदस्यमा चित्त बुझाउनु परेको थियो ।

‘नेपाली कांग्रेसको आसन्न निर्वाचनमा सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै आगामी यात्रामा पनि यहाँहरूको साथ, सहयोग, सद्भाव र विश्वासको अपेक्षा गर्दछु,’ नेतृ गौतमले फेसबुकमा लेखेकी छन् ।

१५औं महाधिवेशनमा आफूलाई अझ सशक्त भूमिकामा उभ्याउँदै पार्टी र राष्ट्रप्रतिको आफ्नो जिम्मेवारीलाई थप प्रभावकारी बनाउँदै बलियो कांग्रेस समुन्नत देश बनाउने संकल्पका साथ अघि बढेको उनको भनाइ छ ।

कांग्रेस नेतृ मुक्ताकुमारी यादव पनि सहमहामन्त्रीकी आकांक्षी हुन् । उनी विशेष महाधिवेशनबाट मधेशी क्लस्टरतर्फ सहमहामन्त्री बनेकी थिइन् । यादवले फेरि सहमहामन्त्रीमा दोहोरिने चाहना राखेकी छन् ।

‘मधेशलाई महामन्त्री दियो भने म महामन्त्रीको उम्मेदवार हुँ,’ यादवले अनलाइनखबरसँग भनिन्, ‘अटाइएन भने वा सभापतिज्यूलाई सकस भयो भने सहमहामन्त्रीमै दोहोरिन्छु ।’

अर्का सहमहामन्त्री योगेन्द्र चौधरीले भने हालकै पदमा दोहोरिने चाहना राखेका छन् । ‘पूरा कार्यकाल काम गर्ने चाहना छ,’ उनले भने, ‘पुरानै पदमा दोहोरिने आकांक्षा राखेको छु ।’

कांग्रेस संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले समाजिक सञ्जालमार्फत मधेशी कोटाबाट सहमहामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

यस्तै, कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वमहामन्त्री मनोजमणि आचार्यले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले खस–आर्य समूहतर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

‘सभापति र उपसभापतिहरूलाई सहमहामन्त्रीको उम्मेदवार हुने जानकारी गराइसकेको छु,’ नेता आचार्यले अनलाइनखबरसँग भने । उनी विशेष महाधिवेशनको माग गर्ने अगुवा नेतामध्ये एक हुन् । आचार्य रोल्पाबाट महाधिवेशन प्रतिनिधि छानिएका छन् ।

सहमहामन्त्री कर्णबहादुर बुढाले दोहोरिने चाहना राखेका छन् । उनी विशेष महाधिवेशनबाट पिछडिएको क्षेत्रबाट सहमहामन्त्री चयन भएका थिए ।

उनले अनलाइनखबरसँगको कुराकानीमा आफूले सहमहामन्त्रीमै फेरि दोहोरिने चाहना राखेको प्रतिक्रिया दिए । ‘जहाँ म अहिले छु, त्यसैमा इन्ट्रेस्ट छ,’ सहमहामन्त्री बुढाले भने ।

केन्द्रीय सदस्य लक्ष्मी परियारले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेकी छन् । उदयपुरबाट महाधिवेशन प्रतिनिधिमा चयन भएपछि उनले दलित क्लस्टरतर्फ सहमहामन्त्रीमा दाबी पेस गर्ने बताइन् ।

सभापति गगन थापाले गत वैशाखमा नेतृ परियारलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । उनी १३औं र १४औं महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिमा सदस्य थिइन् ।

विशेष महाधिवेशनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमध्येका एक कांग्रेस चितवनका पूर्वसभापति जीतनारायण श्रेष्ठ पनि सहमहामन्त्रीका आकांक्षी हुन् । उनले जनजाति क्लस्टरतर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिने अनलाइनखबरलाई बताए ।

कांग्रेस केन्द्रीय सदस्य नारायण भट्टराईले पनि सहमहामन्त्रीमा आकांक्षा राखेका छन् । कालीकोटबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका भट्टराईले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी तयारी गरेका छन् ।

पिछडिएको क्षेत्रबाटै नेता जीवनबहादुर शाहीले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सहमहामन्त्री (पिछडिएको क्षेत्र) पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

शाहीले पिछडिएको क्षेत्रका आवाज, अवसरबाट वञ्चित समुदायका सवाल तथा पार्टी संगठनलाई थप समावेशी, सुदृढ र गतिशील बनाउने उद्देश्यले आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

‘तपाईंको एक मत मेरो व्यक्तिगत जित मात्र होइन, पिछडिएको क्षेत्रको आवाज र सम्मानको प्रतिनिधित्व गर्ने अवसर पनि हुनेछ,’ शाहीले भनेका छन् ।

नेता शाही १४औं महाधिवेशनमा शाही यही क्लस्टरबाट सहमहामन्त्रीमा नेता बद्री पाण्डेसँग पराजित भएका थिए । उनी महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वसभापति देउवाको समूह छाडेर संस्थापनतिर गएका नेतामा पर्छन् ।

कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्रीमा चयन भएका नेताहरू फरमुल्लाह मन्सुर, बहादुरसिंह लामालाई पनि सहमहामन्त्रीका उम्मेदवारका रूपमा हेरिएको छ । तर उनीहरूले १५औं महाधिवेशनमा प्रतिस्पर्धा गर्ने पदबारे मुख खोलेका छैनन् ।

महाधिवेशनमा विभिन्न पदका लागि आकांक्षा राख्ने सबै नेताहरूले सभापतिमा गगन थापाको विकल्प नरहेकोसमेत बताएका छन् । एक पदाधिकारीले पार्टीको उपल्लो तहको अहिलेकै संरचनालाई कायम राखेर अघि बढ्ने आन्तरिक तयारी रहेको बताएका छन् ।

‘हामी सभापतिलाई सघाउने गरी अघि बढ्छौं । उहाँको विकल्प देखिँदैन,’ ती पदाधिकारीले भने, ‘अहिलेको जुन टिम छ, यसलाई कायम गर्ने गरी अघि बढ्छौं ।’

महामन्त्री गुरु घिमिरेले पनि सभापतिका लागि पार्टीमा विकल्प नदेखिएको प्रतिक्रिया दिए । ‘सभापतिका बारेमा कुनै विवाद छैन । सर्वसम्मत हुनुहोला अथवा कोही लड्नुहोला पनि,’ उनले भने, ‘तर हामी सर्वसम्मत ढंगले अघि बढ्छौं ।’

तथापि, कांग्रेसमा पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले सभापतिमा उम्मेदवारी दिने बताइसकेका छन् । तर थापा र राठौरबीच प्रतिस्पर्धाको सम्भावना नरहेको कतिपय नेताहरूको दाबी छ ।

कांग्रेस नेताहरूका अनुसार उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसालले साविककै पदमा उम्मेदवारी दिने तयारी छ । भुसालले अनलाइनखबरसँगको कुराकानीमा आफूलाई अहिलेकै पदमा रहेर पार्टीमा काम गर्ने इच्छा रहेको सुनाइन् ।

भुसाल अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् । उनी खस–आर्य महिला क्लस्टरतर्फ भएको निर्वाचनमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् ।

अर्का उपसभापति शर्मा झापा–१ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । शर्मा सर्वाधिक ६३८ मत पाएर महाधिवेशन प्रतिनिधि चुनिएका हुन् । निर्वाचन समितिका अनुसार झापा–१ मा ७१० मत खसेको थियो ।

कांग्रेसवृत्तमा पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ लाई उपसभापति र महामन्त्रीमध्ये कुनै एक पदको उम्मेदवारका रूपमा हेरिएको छ । तर उनले आफ्नो उम्मेदवारीबारे सार्वजनिक रूपमा केही बताएकी छैनन् ।

नेतृ उपाध्याय निकट स्रोतले भने उपसभापति र महामन्त्रीमध्ये कुनै एक पदमा उम्मेदवारी दिने आकांक्षा रहेको बताएको छ । ‘महामन्त्री वा उपसभापतिमध्ये कुनै एकमा उम्मेदवारी दिनुहुन्छ,’ स्रोतले भन्यो, ‘देशभरका साथीहरूसँग सल्लाह गरिरहनुभएको छ । सोहीअनुसार अघि बढ्नुहुन्छ ।’

कांग्रेस नेता डा. मीनेन्द्र रिजाललाई पनि पदाधिकारीको आकांक्षीका रूपमा हेरिएको छ । मोरङ–२ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित रिजाल निकट नेताहरू उनी उपसभापतिमा उठ्ने गृहकार्य भइरहेको बताउँछन् ।

तर, रिजाल भने व्यक्तिगत रूपमा आफूले कुनै पद वा महत्वाकांक्षा नराखेको बताउँछन् । अनलाइनखबरसँगको कुराकानीमा उनले आफू पदीय होडबाजीमा नलागेको बताए ।

‘म महत्वकांक्षा राखेर राजनीतिमा लागेको होइन, नत्र तामझाम र नाराबाजी गर्दै हिँड्थेँ होला,’ उनले भने,’ सदस्यता अद्यावधिक गर्दा नै मेरो सहभागिता भयो भनेको थिएँ । अब महाधिवेशन प्रतिनिधि हुँदा त्यही मेरो सहभागिता हो, अब हेर्दै जाउँ न ।’

महाधिवेशन प्रक्रिया सुरु हुँनै लाग्दा देउवा समूह छाडेर संस्थापनतिर लागेका नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने उपसभापतिमा प्रतिस्पर्धा गर्ने बताएका छन् । उनले अनलाइनखबरसँग आफूले उपसभापति पदका लागि उम्मेदवारी दिने तयारी गरिरहेको बताए ।

कार्की सुनसरी–४ को क्षेत्रीय अधिवेशनबाट खस–आर्यतर्फ निर्विरोध महाधिवेशन प्रतिनिधि चुनिएका छन् । १४औं महाधिवेशनमा देउवा समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित कार्कीलाई सभापति थापाले महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?