१६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेता शाहीले सामाजिक सञ्जालमार्फत सहमहामन्त्री (पिछडिएको क्षेत्र) पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
शाहीले पिछडिएको क्षेत्रका आवाज, अवसरबाट वञ्चित समुदायका सवाल तथा पार्टी संगठनलाई थप समावेशी, सुदृढ र गतिशील बनाउने उद्देश्यले आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
उनले आफ्नो राजनीतिक यात्रा, संगठनप्रतिको निरन्तर योगदान, अनुभव र कार्यक्षमताको मूल्यांकन गर्दै आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।
‘तपाईंको एक मत मेरो व्यक्तिगत जित मात्र होइन, पिछडिएको क्षेत्रको आवाज र सम्मानको प्रतिनिधित्व गर्ने अवसर पनि हुनेछ,’ शाहीले भनेका छन् ।
यसअघिको महाधिवेशनमा शाही यही क्लस्टरबाट सहमहामन्त्रीमा नेता बद्री पाण्डेसँग पराजित भएका थिए ।
प्रतिक्रिया 4