+
+
Shares

मोरङ-६ कांग्रेसमा कुटपिट घटनापछि क्षेत्रीय संयोजक फेरिए, अधिवेशनस्थल पनि सारियो

मोरङ-६  डा. शेखर कोइरालाको क्षेत्र हो । उनी कांग्रेस संस्थापन र इतर समूहले गर्ने १५ औं महाधिवेशन प्रक्रियाबाट अलग छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते २०:००

१५ असोज, विराटनगर । नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशन अधिवेशनमा कुटपिट भएपछि संयोजक नै फेरिएका छन् ।

बुधबार मोरङको सुन्दरहरैँचामा अधिवेशन सुरु हुनुअघि नै नेता चुमनारायण तबदारसहित तीन जनामाथि सांघातिक आक्रमण भएको थियो ।

क्षेत्रीय संयोजकको जिम्मेवारी पाएका नेतामाथि नै आक्रमण भएपछि  कांग्रेसले बिहीबार क्षेत्रीय संयोजक फेरेको हो । संयोजक फेरिएपछि शुक्रबारबाट निर्वाचन प्रक्रिया पनि सुरु गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले जिल्ला सहसचिव सञ्जयकुमार मण्डललाई अधिवेशन गर्नेगरी क्षेत्रिय संयोजकको जिम्मेवारी दिएको हो । महामन्त्री प्रदीप पौडेलले बिहीबार मण्डललाई संयोजक तोकिएको पत्र पठाएका थिए ।

संयोजक फेरिएपछि बुधबारबाट रोकिएको निर्वाचन प्रक्रिया शुक्रबारबाट सुरु हुने नेपाली कांग्रेस सहमहामन्त्री डा. डीला संग्रौलाले जानकारी दिइन् । सुन्दरहरैँचामा अधिवेशन सुरु नहुँदै आक्रमण भएपछि अधिवेशन स्थल पनि सारिएको छ ।

क्षेत्रीय अधिवेशन बुढीगंगा गाउँपालिका–३ बाँसबारीमा रहेको राजवंशी खवास सामुदायीक भवनमा शुक्रबार बिहान ७ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने तय गरिएको छ ।

बुधबार आक्रमण हुँदा नेता चुमनारायण तबदार र चेतराज रेग्मीलगायत घाइते भएका छन् । सहमहामन्त्री संग्रौलामाथि पनि  दुर्व्यवहार भएको थियो ।

यसअघि क्रियाशील सदस्य विवादका कारण क्षेत्र नम्बर ६ को वडा अधिवेशन समयमा नै भएको थिएन ।

मोरङ–६  डा. शेखर कोइरालाको क्षेत्र हो । उनी कांग्रेस संस्थापन र इतर समूहले गर्ने १५ औं महाधिवेशन प्रक्रियाबाट अलग छन् ।

क्षेत्र नम्बर ६ को क्षेत्रीय सभापति कोइरालानिकट नेता देवराज तामाङ थिए । केन्द्रीय नेतृत्वले असहयोग गरेको भन्दै अधिवेशन गर्नेगरी पूर्वसांसद तबदारलाई जिम्मेवारी दिएको थियो ।

तामाङ पनि पछिल्लो समय संस्थापन पक्षमै आएका छन् । उनी फेरि क्षेत्रीय सभापतिको दाबेदार थिए ।

बुधबारको अधिवेशन बिथोल्ने समूहमा कोइरालानिकट कार्यकर्ता रहेको कांग्रेस संस्थापन पक्षको दाबी छ । यो आरोप निराधार रहेको देवराज तामाङ बताउँछन् ।

कोइरालाको सचिवालयले पनि आरोप निराधार भएको दाबी गरेको छ। उनका स्वकीय सचिव दिनेश थपलियाले सामाजिक सञ्जालमार्फत अधिवेशनस्थलको घटनासँग नेता कोइरालाको नाम जोडेर भ्रामक दुष्प्रचार गरिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?