+
+
Shares
सहयात्रा :

गगनको विद्रोह, विश्वको विश्वास

गगन-विश्वले कांग्रेसको गौरवपूर्ण र बदनामी दुवै इतिहास पढेका छन् । अब उनीहरूकै काँधमा अर्को इतिहास बनाउने समय आएको छ । कस्तो इतिहास बनाउँलान् ? बीपी, गणेशमान, कृष्णप्रसाद कि गिरिजा, सुशील वा शेरबहादुरको ?

दुर्गा खनाल दुर्गा खनाल
२०८३ असोज २४ गते ७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगन थापालाई सभापति र विश्वप्रकाश शर्मालाई वरिष्ठ उपसभापति बनाउँदै विशेष महाधिवेशनबाट सुरु भएको नेतृत्व परिवर्तनलाई अनुमोदन गरेको छ।
  • गगन र विश्वप्रकाशले जेनजी आन्दोलनपछि नेतृत्व रुपान्तरणको बहस अघि बढाउँदै देउवा समूहको विरोधबीच विशेष महाधिवेशनमार्फत कांग्रेसको नेतृत्व बदलेका थिए।
  • विशेष महाधिवेशन र १५औँ महाधिवेशनपछि गगनले पार्टी व्यवस्थापनको २० प्रतिशत र बाहिर कांग्रेस विस्तारको ८० प्रतिशत समय दिने बताएका छन्।

२०८२ साल पुस २७ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनमा गगन थापाले भनेका थिए- कांग्रेस दास र लासहरूको पार्टी होइन ।

गगन थापाले दिएको यो अभिव्यक्तिले इंगित गर्थ्यो- ८० दशक लामो राजनीतिक संघर्घ गरेको पार्टी कुन हालतमा पुगेको छ ।

त्यही विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा र उपसभापति बनेका विश्वप्रकाश शर्मा कांग्रेस बदल्ने संकल्प गरेका थिए । जुन संकल्पलाई कांग्रेसको १५ औं महाधिवेशनले अनुमोदन गरेको छ । अर्थात् बदलिएको कांग्रेसको नेतृत्व अब नियमिति महाधिवेशनका माध्यमबाट अनुमोदित भएको छ ।

गगन थापा सभापति बनेका छन् र विश्वप्रकाश शर्मा कांग्रेसको वरिष्ठ उपसभापति भएका छन् । करिब तीन दशकअघि विद्यार्थी राजनीति थालेका दुई युवा नेता नेपाली कांग्रेसको हाँक्ने जिम्मेवारीमा आइपुगेका छन् ।

जेनजी आन्दोलनपछि यी दुवै नेताले कांग्रेसको नेतृत्व रुपान्तरण नभए पार्टी अघि बढ्न नसक्ने भन्दै बहस सुरू गरेका थिए । उक्त बहसपछि विशेष महाधिवेशन बोलाउने तहसम्म पुग्यो ।

तर, तत्कालीन सभापति शेरबहादुर देउवा र उनको समूहले महाधिवेशन प्रतिनिधिहरूले सार्वभौम अधिकार प्रयोग गर्दै गरेको विशेष महाधिवेशनको मागलाई निस्तेज पार्न खोज्यो । जसलाई गगन-विश्वले स्वीकार गरेनन् ।

देउवा समूह भन्थ्यो-फागुन २१ मा निर्धारित चुनाव अघि नियमित महाधिवेशन सम्भव छैन । गगन-विश्व समूहको अडान थियो- देउवाकै नेतृत्वमा चुनावमा जान सकिन्न ।

गगन-विश्व समूहको यो अडानमा देउवा समूह तयार भएन । तर गगन-विश्वले विशेष महाधिवेशन गर्ने अडान बाटपछि हटेनन् ।

२०८२ पुसमा विशेष महाधिवेशन भयो । करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनबाट देउवाको नेतृत्व बदले । पार्टीको नीति र संरचनामा पनि सुधार गरे । जसलाई अस्वीकार गर्दै बसेको देउवा समूह निर्वाचन आयोग र सर्वोच्च अदालतमा गयो । दुवै निकायबाट विशेष महाधिवेशनबाट चयनको नेतृत्वलाई आधारिकता दियो । जुन आधिकारिकता सर्वोच्चका आदेश छ त्यसलाई अहिले सम्म पनि देउवा मान्न तयार छैनन् । उनी आफ्नो समूहको छुट्टै महाधिवेशन गर्ने तयारीमा छन् ।

यो बीचमा दुवै समूहलाई मिलाउने प्रयास पनि भएको थियो । तर सहमति भएन । पार्टीभित्रको कचपच समाधान नभएपनि कांग्रेसको नियमित प्रक्रिया रोकिएन । गगन-विश्वले १५ औं महाधिवेशनको प्रकिया अघि बढाए । कांग्रेसको नियमित महाधिवेशनबाट आफ्नो नेतृत्वलाई अनुमोदन गराए ।

गगन–विश्वको राजनीतिक सम्बन्ध बुझ्न तीन दशक पछाडि फर्किनुपर्छ।

२०५७ सालमा विश्वप्रकाश शर्मा नेविसंघका सभापति थिए । गगनकुमार थापा उनकै नेतृत्वमा उपसभापति। अहिले गगन कांग्रेसको सभापति बनेका छन् । विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति

कांग्रेसको १४औँ महाधिवेशनमा दुवै महामन्त्री बनेका थिए । विद्यार्थी संगठनमा कहिले एकअर्काका अगाडि–पछाडि रहेका यी दुई नेता अहिले कांग्रेसको भविष्यसँग जोडिएको एउटै नेतृत्व संरचनामा उभिएका छन्।

गगन–विश्व कांग्रेसभित्र एउटा पुस्ताले नेतृत्वको केन्द्रमा पुग्न गरेको लामो संघर्ष, पुस्तान्तरणको अभ्यास र नयाँ नेतृत्वमाथि पार्टी प्रतिनिधिहरूले राखेको भरोसाका दुई पात्र हुन् ।

विश्वप्रकाश शर्माको राजनीतिक यात्रा गगनभन्दा केही वर्षअघि सुरु भएको थियो । २०४१ मा नेविसंघको विद्यालय इकाइबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका शर्मा मेची क्याम्पस पुगेपछि संगठनको नेतृत्वमा आए। २०४३ देखि २०४५ सम्म मेची क्याम्पसको नेविसंघ सभापति भए।

त्यसपछि नेविसंघको केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति हुँदै २०५७ सालमा उनी केन्द्रीय सभापति बने। त्यतिबेला उनको नेतृत्वको नेविसंघमा गगन थापा उपसभापति थिए।

तर राजनीतिमा स्थायी पद सोपान हुँदैन । विश्वपछि बनेको गुरुराज घिमिरे नेतृत्वको नेविसंघमा गगन महामन्त्री बने । विद्यार्थी राजनीतिपछि दुवैको बाटो पार्टी राजनीतितर्फ मोडियो।

विश्वप्रकाशको राजनीतिक यात्रा गगनको भन्दा केही फरक शैलीमा अघि बढ्यो।

झापाको विद्यार्थी राजनीतिबाट उठेका उनी संगठन निर्माण, भाषण र सार्वजनिक राजनीतिक संवादमा आफ्नो पहिचान बनाउँदै गए।

१२ औँ महाधिवेशनमा झापा जिल्ला सभापतिको चुनावमा पराजित भए। १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बने। त्यसपछि कांग्रेसको प्रवक्ताको जिम्मेवारी पाए।

प्रवक्ताका रूपमा उनको सार्वजनिक राजनीतिक उपस्थिति झन् बलियो भयो । समसामयिक राजनीतिक विषयमा धारणा राख्ने, पार्टीको पक्ष सार्वजनिक रूपमा प्रस्तुत गर्ने र नयाँ पुस्ताका मुद्दालाई कांग्रेसको बहसमा ल्याउने नेताका रूपमा उनी चिनिए।

१४औँ महाधिवेशनमा भने उनको राजनीतिक यात्राले अर्को ठूलो फड्को मार्‍यो। गगनसँगै उनी पनि महामन्त्री निर्वाचित भए। तर उनीहरू दुवैको चुनावी प्यानल भने फरक थियो । गगन शेखर कोइराला समूहबाट उठेका थिए । विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको प्यानलबाट उठेका थिए ।

दुई फरक समूहबाट महामन्त्रीमा निर्वाचित भए पनि उनीहरूबीच सहकार्यको घनिष्ट भयो । पार्टीभित्र पुस्तान्तरण, संगठन सुधार र नेतृत्व परिवर्तनको बहसमा दुवैको आवाज एउटै रह्यो ।

विश्वको राजनीतिक शैली अलिक बढी संवादमुखी छ । भाषणको शैली साहित्यिक छ ।

गगनको शैली अलिक तिखो प्रश्न र प्रतिरोध गर्ने खालको छ ।

२०४६ सालको जनआन्दोलनका बेला किशोर अवस्थामै राजनीतिप्रति आकर्षित भएका थापा त्रिचन्द्र क्याम्पस पुगेपछि नेविसंघमा सक्रिय भएका थिए ।

२०५१ मा स्ववियु सदस्य, त्यसपछि सचिव हुँदै २०५५ मा स्ववियु सभापति बने। २०५७ मा नेविसंघको उपसभापति र २०५९ मा महामन्त्री बने । यही समय उनको राजनीतिक जीवनले निर्णायक मोड लियो।

राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि कांग्रेससहितका दलहरू लोकतान्त्रिक आन्दोलनको तयारीमा थिए। शुरूमा कांग्रेस राजतन्त्र फालिहाल्ने पक्षमा थिएन ।

तर गगन थापा लगायतका विद्यार्थी नेताहरू राजतन्त्रविरुद्ध स्पष्ट थिए । नेविसंघ महामन्त्री रहेका गगनले सडकबाट गणतन्त्रको नारा उठाए। त्यसवापत् उनी पक्राउ परे। राजद्रोहको मुद्दा खेपे। पटक–पटक हिरासतमा परे। त्यो समय कांग्रेसको औपचारिक राजनीतिक लाइन संवैधानिक राजतन्त्रसँग जोडिए पनि उनी त्यसलाई चुनौती दिँदै सडकमा उत्रेका थिए । पछि कांग्रेसभित्रको युवा पुस्ताले उठाएको गणतन्त्रको बहस विस्तार हुँदै गयो । अन्ततः कांग्रेस पनि गणतन्त्रको बाटोमा गयो। त्यसपछि गगन पार्टीभित्र जबर्जस्त नेताको रुपमा कांग्रेस पार्टीभित्र उदाए ।

उनलाई २०६४ को चुनावमा प्रत्यक्षतर्फ टिकट दिइएन । तर उनलाई सांसद बन्ने बाटोबाट रोक्दा जाने सन्देश गलत हुने भएकाले उनलाई समानुपातिक तर्फबाट संविधान सभामा ल्याइयो । त्यसपछि उनको यात्रा पार्टीको केन्द्रीय राजनीति, संसद् र सरकारसम्म पुग्यो।

उनी १२ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बने। १३ औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको समूहबाट महामन्त्रीमा प्रतिस्पर्धा गरे तर पराजित भए। १४ औँ महाधिवेशनमा भने महामन्त्री निर्वाचित भए। संसदीय राजनीतिमा पनि उनको यात्रा समानान्तर रूपमा अघि बढ्यो।

गगन काठमाडौं–४ बाट २०७०, २०७४ र २०७९ मा लगातार प्रतिनिधिसभा सदस्य निर्वाचित भए । २०७३/७४ मा स्वास्थ्य मन्त्री बने। स्वास्थ्य बीमा, सरकारी अस्पतालमा आफ्नै फार्मेसी र गम्भीर रोगको उपचारमा सहुलियतजस्ता विषयमा उनको कार्यकाल चर्चामा रह्यो।

विश्वप्रकाश शर्मा भने संसदीय राजनीतिमा केही पछि परे । गगन चार पटक सांसद भए । विश्वले भने २०७९ को चुनाव मात्र जिते । २०८२ को चुनावमा त उनी उठ्दै उठेनन् । काठमाडौं-४ छोडेर सर्लाही ४ मा पुगेका गगनले पनि हारे ।

गगनले सत्तामा होस् वा पार्टी संरचनामा प्रश्न गर्न छाडेनन् । यही कारण उनी कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहसका अगुवा भए ।

१४औँ महाधिवेशनपछि गगन र विश्व दुवै महामन्त्री थिए । एउटै पदमा हुँदा पनि उनीहरूबीच कामको सवालमा विवाद देखिएन । उनीहरू दुवै मिलेर शेरबहादुर देउवालाई चेक एण्ड ब्यालेन्स गरे ।

पार्टी भित्रका विचार र बहसमा उनीहरूले एउटै धार पक्रे । यही कारण १५ औं महाधिवेशन सम्म आइपुग्दा उनीहरू कांग्रेसको भरोसा बनेका छन् ।

गगनको सभापति हुने बाटो सोझो थिएन । तत्कालीन नेतृत्वमाथि प्रश्न उठाएर पार्टीलाई विशेष महाधिवेशनको यात्रामा लगेका थिए । त्यो उनको उनको जबर्जस्त हस्तक्षेप थियो ।

विश्वप्रकाश उनको उपसभापति बस्न तयार भए । विशेष महाधिवेशनबाट सुरू भएको उनीहरूको नेतृत्वलाई १५ औं महाधिवेशनले पनि संस्थागत गरेको छ ।

यो महाधिवेशनमा गगनले विश्वका लागि एउटा विशेष पद वरिष्ठ उपसभापति सिर्जना गर्न भूमिका खेले । वरिष्ठ उपसभापतिको पदमा विश्वप्रकाश शर्माको मात्र उम्मेदवारी पर्‍यो। विश्व निर्विरोध भए।

विश्वप्रकाशका लागि वरिष्ठ उपसभापतिको पद सम्मानको लागि मात्र सिर्जना गरिएको होइन । किनकी वरिष्ठ उपसभापतिलाई पार्टीका महत्वपूर्ण कामहरूको जिम्मेवारी हुनेछ । गगनले १५औँ महाधिवेशनको बन्द्सत्र समापन गर्ने बेला थापाले भनेका छन्, ‘मेरो २० प्रतिशत समय मात्रै पार्टीको व्यवस्थापनमा हुनुपर्छ। ८० प्रतिशत चाहिँ बाहिर कांग्रेसलाई बाहिर जानुपर्नेछ।’

गगनको दृष्टिमा कांग्रेसको समस्या पार्टी कार्यालयभित्र मात्र छैन। समस्या गाउँमा छ। युवाको रोजगारीमा छ। शिक्षा र स्वास्थ्यमा छ। नयाँ पुस्ताले राजनीतिक दलप्रति देखाएको वितृष्णामा छ। राजनीतिक दलप्रति घट्दै गएको भरोसामा छ। त्यसैले गगनले पार्टीको ठूलो हिस्सा समाजतिर फर्काउनुपर्ने बताइरहेका छन्।

त्यसैले गगनले बाहिर कांग्रेसको राजनीतिक विस्तार खोज्दा विश्वले भित्र संगठनको व्यवस्थापन सम्हाल्ने मोडल बनाउने घोषणा गरेका छन् ।

‘दुवै जना सँगै हुँदा नेतृत्व बढी सन्तुलित हुन्छ। भविष्यमा उनीहरूबीच प्रतिस्पर्धा हुन सक्छ र गगनलाई चुनौती दिने नेता विश्वप्रकाश नै हुनेछन्’ राजनीतिक विश्लेषक झलक सुवेदी भन्छन्,’ यी दुईको विचार, सांगठनिक पकड र जनआकर्षण एकअर्काका लागि परिपूरक खालका छन्।’

उनको बुझाईमा दुवै जना मिलेर अघि बढे भने कांग्रेसभित्र उनीहरूले नयाँ खालको राजनीतिक संस्कार स्थापति गर्ने सक्ने सम्भावना छ ।

‘लामो समयसम्म सिद्धान्तहीन गठबन्धनहरूको गोलचक्कर, अत्यधिक राजनीतिकरण, र पार्टीभन्दा पनि मेरो मान्छे र मेरो गुट भन्ने प्रवृत्ति हाबी भयो’ सुवेदी भन्छन्,’गगन र विश्वप्रकाशले गरेको हस्तक्षेपले राजनीतिलाई पुनः सांस्कृतिक र लोकतान्त्रिक बाटोमा फर्काउने आशा जगाएको छ।’

गगन-विश्वलाई नेतृत्व परिवर्तनको घोषणा गर्नुभन्दा कठिन काम नेतृत्व परिवर्तनपछि पार्टीलाई एकै ठाउँमा राख्नु हो । गगन–विश्व नेतृत्वले अब यो प्राथिमकता पुरा गर्नुपर्नेछ ।

दुवै नेताको चरित्र चित्रण गर्दै राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्,’ कुनै पनि पार्टीमा एउटै पुस्ताका नेताहरुले एकले अर्कालाई स्वीकार गरेर सहकार्य गरेको पाइदैन । उनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा छ, आरोप-प्रत्यारोप छ । तर गगन-विश्वले सहकार्य गरेर कांग्रेसमा मात्र होइन, अन्य दलका एउटै पुस्ताका नेताहरुका लागि पनि उदाहरणीय अभ्यास र अनुकरणीय नजिर स्थापित गरेका छन् ।’

उनका अनुसार गगनको संघर्ष, विद्रोह र जुझारू प्रधान व्यक्तित्व छ भने विश्वमा शालीनता, भद्रता र भावुकता प्रधान छ ।

‘राष्ट्रिय राजनीतिदेखि पार्टीका आन्तरिक मामलामा गगनले साहसिक र जोखिमपूर्ण निर्णय लिन्छन् । तर विश्वले परिस्थिति र परिणामको सुक्ष्म विश्लेषण गरी रणनीतिक निर्णयलाई प्राथमिकता दिन्छन्’ वाग्ले भन्छन्,’त्यसैले गगन रणनीतिक र कार्यनीतिक दुवै दृष्टिले दृढतापूर्वक अडान लिन्छन् । तर समय र परिस्थिति अनुसार रणनीतिक रूपमा अडान लिए पनि कार्यनीतिक दृष्टिले लचक हुने विश्वको छवि बनेको छ ।’

कांग्रेस अहिले नेपालको संसद्मा दोस्रो ठूलो दल हो। पार्टीको इतिहास लामो छ।

बीपी कोइरालादेखि गिरिजाप्रसाद कोइराला हुँदै शेरबहादुर देउवासम्मका विभिन्न पुस्ताले पार्टी निर्माण गरेका छन् ।

हजारौँ नेता–कार्यकर्ताले आन्दोलन, जेल, संघर्ष र निर्वाचनमार्फत कांग्रेसलाई यहाँसम्म ल्याएका छन्। तर पछिल्लो समयमा नयाँ पुस्ता कांग्रेससँग टाढिएको थियो । नयाँ पुस्ताले कांग्रेसको इतिहासभन्दा वर्तमान हेरिरहेको छ । पुरानो योगदानभन्दा परिणाम अहिलेको परिणाम खोजिरहेको छ । चर्का ठूला भाषण भन्दा झिना मसिना नै भएपनि काम खोज्छ।

त्यही पुस्तासँग कांग्रेसलाई जोड्ने जिम्मेवारी अब गगन–विश्वसहितको नेतृत्वसामु छ। गगनको राजनीतिक गति र विश्वको संवाद क्षमता यी दुईलाई एउटै राजनीतिक संरचनामा अब उनीहरूले कसरी प्रयोग गर्छन् ? गगन-विश्वले कांग्रेसको गौरवपूर्ण र बदनामी दुवै खालका इतिहास पढेका छन् । अब उनीहरूकै काँधमा अर्को इतिहास बनाउने समय आएको छ । कस्तो इतिहास बनाउँलान् ? बीपी, गणेशमान, कृष्णप्रसाद कि गिरिजा, सुशील वा शेरबहादुरको ?

कांग्रेस १५औँ महाधिवेशन विशेष
लेखक
दुर्गा खनाल

खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?