+
+
Shares

यहाँ दुईवटा देश छन्, एउटा देशका गरिबहरू रुँदै-रुँदै देश छाड्दैछन्

शिव मुखिया शिव मुखिया
२०८३ असोज २६ गते ९:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विमानस्थलको प्रस्थान द्वार हुँदै दैनिक करिब ३ हजार ५ सय युवा देश छाडिरहेका छन् ।
  • देश छाड्नेहरू भिजिट भिसा र कामदार भिसामा युरोप-अमेरिका र खाडी मुलुकतर्फ गइरहेका छन् ।
  • लेखमा रोजगारी, शिक्षा, ऋण र सेवा–सुविधाको अभावले युवालाई परिवार र घर छाड्न बाध्य बनाएको वर्णन गरिएको छ ।

दिनमा लगभग ३५ सय जना युवाले त्रिभुवन विमानस्थलको ‘प्रस्थान द्वार’ हुँदै देश छाड्छन् ।

त्यो प्रस्थान द्वारको डिटेक्टरले सुरक्षित र असुरक्षित मात्र छुट्याउँदैन, धनी र गरिब छुट्याउँछ । रहर र विवशता छुट्याउँछ। खल्तीभरि पैसा बोक्ने र टाउकोभरि ऋण बोक्ने छुट्याउँछ ।

अनि छुट्याउँछ, आँसु पनि ।

यसरी देश छाड्नेहरूको लस्करमा दुईथरी आँसु बग्छन् । एकथरी खुसीका आँसु चुहाउँछन्, अर्काथरी दुःखका। यिनीहरूको हातमा दुईथरी भिसा हुन्छन्। एकथरीको हातमा ‘भिजिट भिसा’ हुन्छ, अर्काथरीको हातमा ‘कामदार भिसा’ । यिनीहरूको गन्तव्य दुईतिर हुन्छ । एकथरीको युरोप-अमेरिका, अर्काथरीको खाडी मुलुक ।

यिनीहरू दुईथरीका हुन्छन् । एकथरी सुकिलोमुकिलो, अर्काथरी झुत्रोझाम्रो ।

किनभने यहाँ दुईवटा देश छन् । एउटा हुनेखानेको । अर्को दुःखजिलो गर्नेको । र, दुःखजिलो गर्नेहरूको देशमा कुनै सेवा–सुविधा छैन ।

उनीहरूको अस्पताल छैन, जहाँ रोगी बुबाआमाको औषधोपचार गर्न सकियोस् ।

उनीहरूको स्कुल छैन, जहाँ साना छोराछोरीलाई सहज शिक्षा दिन सकियोस् ।

उनीहरूको बैंक छैन, जहाँ ऋणपान गरेर सोचेजस्तो उद्यम गर्न सकियोस् ।

उनीहरूको नेता छैन, जसलाई भनसुन गरेर जागिर खान सकियोस् ।

उनीहरूको देशमा चिल्लो बाटो छैन, नियमित बिजुली छैन । महँगी छ, बेरोजगारी छ । रोग र भोक छ । दिनदिनै बढ्ने महँगीले उनीहरूको ढाड भाँचिदिन्छ । पाइला–पाइलाको असुविधाले उनीहरूको रगत चुस्छ ।

जागिर खानका लागि योग्यताको प्रमाणपत्र छैन । उद्यम-व्यवसाय गर्नका लागि ऋण दिने बैंक छैन । खेतीकिसानी गर्नका लागि मलखाद, सिँचाइ र बजार छैन । ज्याला–मजदुरी गर्नका लागि पसिनाको मूल्य छैन ।

परिवारको गुजारा गर्नका लागि कुनै उपाय छैन ।

यसरी उपायविहीन भएपछि चर्को ब्याजमा ऋणपान गर्नुपरेको छ । जिल्ला प्रशासन कार्यालयस्थित पासपोर्ट शाखाको ढोकामा पङ्क्तिबद्ध हुनुपरेको छ। च्यातिएको झोला एकसरो सिलाएर घरबाट बिदा हुनुपरेको छ। आफू जन्मिएको घर, आफू हुर्किएको आँगन छाडेर कहाँ हो, कहाँ जानुपरेको छ ।

झ्यालबाट टाउको छिराएर हेरिरहेकी बूढी आमा, ढोकासम्म पुर्‍याउन आएकी जीवनसङ्गिनीसँग बिदाइको हात हल्लाउनुपरेको छ । ‘बाबा, मलाई नछाड्नु’ भनी जोडजोडले रुँदै छातीमा टाँसिन आउने अबोध बच्चालाई छाड्नुपरेको छ ।

पसिना गन्हाउने पुरानो कमिज लगाएर, फ्याटफ्याटे चप्पल लगाएर, खाई–नखाई जोगाएको बुद्धभत्ताले नाइट बसको टिकट काटेर एयरपोर्टसम्म पुर्‍याउन आएका बुबालाई छाड्नुपरेको छ ।

आफू जन्मिएको घर र हुर्किएको आँगन छाड्नुपरेको छ । सुखदुःख साट्ने दौतरी छाड्नुपरेको छ । दसैँ र तिहार छाड्नुपरेको छ । भएभरका खुसीहरू छाड्नुपरेको छ ।

उनीहरूले रुँदै-रुँदै देश छाड्नुपरेको छ ।

फोटोहरु : सामाजिक सञ्जाल 

लेखक
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?