+

नाना पाटेकरका जीवनका ७ किस्सा

बलिउड अभिनेता नाना पाटेकरको करिब पाँच दशक लामो फिल्मी यात्रा रह्यो। थिएटरबाट अभिनय सुरु गरेका उनले ‘गमन’, ‘अंकुश’, ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘तिरंगा’, ‘अब तक छप्पन’, ‘अपहरण’ र ‘वेलकम’जस्ता फिल्ममा यादगार भूमिका निभाए ।

१३ वर्षमै १६ किलोमिटर पैदल

नाना १३ वर्षको हुँदा उनका बुबाको व्यवसाय ठगीका कारण बन्द भयो । परिवार आर्थिक संकटमा परेपछि उनले पढाइसँगै फिल्मका पोस्टर रंगाउने काम थाले। पोस्टर बनाउने ठाउँ घरबाट आठ किलोमिटर टाढा थियो । दैनिक १६ किलोमिटर पैदल हिँडेर काम गर्थे र मासिक ३५ रुपैयाँ कमाउँथे।

Advertisement

फिल्ममा आफ्नो भूमिका सुन्दा निर्देशकलाई गाली

फिल्म ‘आज की आवाज’मा रेपिस्टको भूमिका प्रस्ताव भएपछि नाना निकै रिसाए । उनले निर्देशक रवि चोपडालाई गालीसमेत गरे । पछि अभिनेत्री स्मिता पाटिलले सम्झाएपछि उनलाई मुख्य खलनायकको भूमिका दिइयो । नानाले आफ्नो चरित्र आफैं लेख्ने सर्त राखेर उक्त फिल्ममा अभिनय गरेका थिए ।

‘परिन्दा’को दृश्यमा साँच्चिकै जले

‘परिन्दा’को क्लाइमेक्समा नानालाई आगोमा जलिरहेको देखाइएको थियो। त्यसबेला कृत्रिम आगोको प्रविधि सहज थिएन । सुरक्षात्मक सामग्री लगाउँदा अभिनय स्वाभाविक नदेखिने भन्दै उनले आपत्ति जनाए ।

छायांकनका क्रममा उनी साँच्चिकै जले र हातखुट्टाको छाला गम्भीर रूपमा क्षतिग्रस्त भएपछि अस्पताल भर्ना भए ।

कारगिलमा दुई महिना सेनासँग

नाना बाल्यकालदेखि नै भारतीय सेनामा जान चाहन्थे। फिल्म ‘प्रहार’का लागि उनले तीन वर्षसम्म सैन्य तालिमसमेत लिए। सन् १९९९ को कारगिल युद्धका बेला तत्कालीन रक्षामन्त्री जर्ज फर्नान्डिसको स्वीकृतिमा उनी दुई महिना सेनासँग जोडिए । त्यहाँ उनी क्विक रिएक्सन टिममा सहभागी भएको बताइन्छ।

अभिनयमा यति डुबे, दर्शकले जुत्ता हाने

नानाले ‘पुरुष’ नाटकमा १६ वर्ष अभिनय गरे र करिब १ हजार ८ सय शो गरे। नाटकमा उनको खलनायकको भूमिका यति प्रभावशाली थियो कि प्रदर्शनका क्रममा महिलाहरूले उनलाई जुत्ता हान्थे । नाना भने ती जुत्तालाई अपमान होइन, आफ्नो अभिनयको सम्मान मानेर राख्थे ।

बम विस्फोटमा गुमाए भाइ

सन् १९९३ को मुम्बई बम विस्फोटमा नानाले आफ्ना भाइ गुमाए। विस्फोटपछि शव पहिचान गर्न कठिन थियो। भाइले हातमा लगाउने कडाबाट शव पहिचान भयो। संयोगले त्यसै दिन नानाकी पत्नी पनि भाइसँगै यात्रा गरिरहेकी थिइन्, तर बसमा सिट नपाएपछि भाइ अर्को बसमा चढेका थिए।

मनिषा कोइरालासँगको सम्बन्ध पनि चर्चामा

नाना पाटेकर र मनीषा कोइरालाको सम्बन्ध ९० को दशकमा निकै चर्चामा थियो । ‘अग्निसाक्षी’को सेटमा उनीहरू नजिक भएको चर्चा चलेको थियो । फिल्मका लेखक रणबीर पुष्पले दुवैबीच राम्रो समझदारी र मित्रता रहेको बताएका थिए । तर आफूले उनीहरूको सम्बन्धलाई रोमान्सका रूपमा नदेखेको स्पष्ट पारे।