२१ असोज, काठमाडौं । फिनल्याण्ड सरकारले वातावरणीय चिन्ता व्यक्त गर्दै गुगलका दुई प्रस्तावित डेटा सेन्टरको निर्माण कार्य रोक्न निर्देशन दिएको छ ।
डेटा सेन्टर निर्माणको क्रममा ३०० हेक्टरभन्दा बढी जंगल फँडानी गरिएको भन्दै फिनल्यान्डका अधिकारीहरूले काम रोक्न निर्देशन दिएका हुन् ।
गुगलले डेटा सेन्टरका लागि फिनल्यान्डमा १३ अर्ब युरो लगानी गर्ने घोषणा गरेको थियो । गुगलका अनुसार यो युरोपमा कम्पनीले गरेको अहिलेसम्मकै ठूलो एकल लगानी थियो । तर एक महिनाभन्दा कम समयमै त्यहाँका अधिकारीहरूले निर्माण कार्य रोक्न निर्देशन दिएको बीबीसीले जनाएको छ ।
फिनल्यान्डको सुपरभाइजरी एजेन्सी (एलभीभी) का अनुसार काजानी र मुहोसमा प्रस्तावित डेटा सेन्टरका लागि वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य भए पनि कम्तीमा एउटा साइटमा त्यसबिनै निर्माणपूर्वका काम अघि बढाइएको थियो ।
एजेन्सीले वातावरणमा ‘महत्वपूर्ण परिवर्तन’ ल्याउने गतिविधि आगामी २३ अक्टोबरसम्म रोक्न आदेश दिएको समाचारमा उल्लेख छ ।
फिनल्यान्डको सुपरभाइजरी एजेन्सीका वातावरण प्रमुख टोम्मी मुइलुका अनुसार ती क्षेत्रमा रूख कटान, माथिल्लो माटो हटाउने, साइटसम्म पुग्ने सडक तथा भण्डारण क्षेत्र निर्माण र पानी निकासका लागि बनाइएका नालीमा परिवर्तन लगायतका काम भएका थिए ।
गुगलको डेटा सेन्टर परियोजनाको जिम्मेवारी लिएको कम्पनी टुइके फिनल्यान्डलाई आगामी १४ अक्टोबरसम्म घटनाबारे स्पष्टीकरण दिन र अब कसरी अघि बढ्ने भन्ने योजना पेस गर्न भनिएको छ । आदेश पालना नगरे कार्यान्वयनसम्बन्धी कारबाही अघि बढाउन सकिने चेतावनी पनि एजेन्सीले दिएको छ ।
फिनल्यान्ड एसोसिएसन फर नेचर कन्जर्भेसनकी अध्यक्ष हान्ना हाल्मेनपाले यसअघि नै संरक्षण गर्नुपर्ने प्राकृतिक क्षेत्रमा समेत रूख कटान भएको बताएकी थिइन् । वातावरण संरक्षण समूहले वातावरणीय आवश्यकताबारे परीक्षण पूरा नभएसम्म निर्माण कार्य रोक्न माग गर्दै आएको थियो ।
गुगलले भन्यो– हामीले आफ्नै उच्च मापदण्ड पूरा गर्न सकेनौं
गुगलले भने आफूबाट गल्ती भएको स्वीकार गरेको छ । बीबीसीलाई दिएको प्रतिक्रियामा गुगलले भनेको छ, ‘हामीले आफ्नै उच्च मापदण्ड पूरा गर्न सकेनौं ।’
यद्यपि कम्पनीले आफूले फरेस्ट्री एक्ट (वन ऐन) अन्तर्गत सद्भावपूर्वक काम गरेको, प्राकृतिक अवस्थाको सर्वेक्षण गरेको र उच्च वातावरणीय मूल्य भएका क्षेत्रको संरक्षणका लागि आवश्यक उपाय अपनाएको दाबी गरेको छ ।

दीर्घकालीन रूपमा उक्त क्षेत्रमा काम अघि बढाउने क्रममा वातावरण संरक्षण तथा जैविक विविधतासम्बन्धी योजना पनि अगाडि बढाइरहेको गुगलले जनाएको छ । त्यसअन्तर्गत मुहोसमा १३० हेक्टर क्षेत्रमा नयाँ रूख रोप्ने योजना रहेको कम्पनीले बताएको छ ।
गुगलले गत महिना सन् २०२७ र २०२८ मा फिनल्यान्डमा कम्तीमा १३ अर्ब युरो लगानी गर्ने घोषणा गरेको थियो ।
योजनाअनुसार काजानी, मुहोस र भालामा नयाँ डेटा सेन्टर निर्माण गरिनेछ भने हमिनामा रहेको विद्यमान डेटा सेन्टरमा पनि लगानी विस्तार गरिनेछ ।
सर्च, म्याप्स र एआई सहायक ‘जेमिनी’ लगायतका सेवाको बढ्दो माग पूरा गर्न नयाँ पूर्वाधार आवश्यक परेको गुगलको भनाइ छ ।
निर्माणको चरणमा सन् २०२७ र २०२८ मा मात्रै ३७ हजारभन्दा बढी रोजगारी सिर्जना हुने र फिनल्यान्डको अर्थतन्त्रमा वार्षिक औसत ३.६ अर्ब युरो योगदान पुग्ने कम्पनीको अनुमान छ ।
२२ वर्षे विद्युत् खरिद सम्झौता
विस्तार योजनाकै क्रममा गुगलले फिनल्यान्डको ऊर्जा कम्पनी फोर्टमसँग २२ वर्षे विद्युत् खरिद सम्झौता पनि गरेको छ । सम्झौताअनुसार लुभिसा आणविक विद्युत् केन्द्रको क्षमताको आधासम्म विद्युत् खरिद गर्न सकिनेछ ।
फोर्टमका अनुसार यसले उक्त आणविक विद्युत् केन्द्रलाई सन् २०५० सम्म सञ्चालनमा राख्न सहयोग पुग्नेछ ।
चिसो मौसम र न्यून कार्बन उत्सर्जन हुने विद्युतको उपलब्धताका कारण फिनल्यान्ड डेटा सेन्टर निर्माणका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
चिसो तापक्रमका कारण ठूलो संख्यामा कम्प्युटर सर्भर रहेको डेटा सेन्टरलाई चिसो राख्न आवश्यक पर्ने ऊर्जा पनि कम हुने गर्छ ।
प्रतिक्रिया 4