१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसअघि लोकतान्त्रिक समाजवादबाट डिपार्चरको सङ्केत गरेका थिए। २०७८ मङ्सिरमा महामन्त्रीको उम्मेदवार बन्ने क्रममा उनले दस्तावेज नै ल्याएका थिए, जसले गत विशेष महाधिवेशनसम्म पनि निरन्तरता पाएको थियो।
तर १५औं महाधिवेशनमा उनले पेस गरेको ४६ पृष्ठ लामो राजनीतिक दस्तावेजमा एक ठाउँमा सन्दर्भबस ‘सामाजिक लोकतन्त्र’ प्रयोग गरिएको बाहेक उनी पुरानै विचारको विकास र निरन्तरताका पक्षमा उभिएका छन्।
युरोप र एसियाका विभिन्न समाजको वैचारिक विमर्शलाई जोड्ने सन्दर्भमा सभापति गगनले २५ पृष्ठमा एक ठाउँमा भनेका छन्, ‘युरोप र एसियासहित विभिन्न समाजमा लोकतान्त्रिक समाजवाद र सामाजिक लोकतन्त्रका धाराहरू आफ्ना ऐतिहासिक भिन्नतासहित स्वतन्त्रता, सामाजिक न्याय, समावेशिता, आर्थिक अवसर र लोकतान्त्रिक उत्तरदायित्वका साझा प्रश्नमा संवाद गरिरहेका छन्।’
यसरी पाँच वर्षअघि १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्दा सामाजिक लोकतन्त्रको एजेन्डालाई जबर्जस्ती रूपमा अघि सारेका गगन आज सभापतिको हैसियतमा ल्याएको राजनीतिक प्रस्तावमा भने लोकतान्त्रिक समाजवादमै फर्किएका छन्। शब्द जे चलाए पनि सारमा भने दुवै कार्यक्रम उस्तै प्रकारका देखिन्छन्।
विगतमा गगनले अगाडि सारेको शब्दावलीले जति चर्चा र वैचारिक तरङ्ग पैदा गरेको थियो, अहिले पार्टी प्रमुखका रूपमा प्रस्ताव गरेको राजनीतिक बाटोले वैचारिक उडान र साङ्गठनिक नेतृत्वबीचको सामञ्जस्य मिलाउने उनको दबाबलाई प्रस्ट पार्छ। तर महाधिवेशनको मुख्य प्रतिवेदन लेख्दा उनले पार्टी नेतृत्व हुनुको जिम्मेवारी भने स्पष्ट रूपमा बोध गरेको देखिन्छ।
बीपीको विचारमाथि प्रश्न
पाँच वर्षअघि सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्दा गगनले ‘प्रजातान्त्रिक समाजवाद’ बाट ‘सामाजिक लोकतन्त्र’ तर्फ पार्टीलाई लैजानुपर्ने भन्दै ६० पृष्ठ लामो दस्तावेज ल्याएका थिए। त्यसबेला उनले बीपी कोइरालाको दस्तावेजको प्रासङ्गिकतामाथि प्रश्न उठाउँदै नयाँ समयअनुसार नयाँ सोच आउनुपर्ने बताएका थिए।
त्यसबेला उनको तर्क थियो- बीपीको समयको नेपाली समाज र अहिलेको समाज एउटै छैन। अर्थतन्त्र बदलिएको छ, मध्यम वर्ग विस्तार भएको छ, राज्यको चरित्र बदलिएको छ, निजी क्षेत्रको भूमिका बढेको छ।
उक्त दस्तावेजमा गगनले वैयक्तिक स्वतन्त्रता र पुँजीवादी अर्थव्यवस्था सँगसँगै जाने लेखेका थिए। पुँजीवादी अर्थव्यवस्थाका नकारात्मक नतिजा भए पनि यसैमा प्रतिस्पर्धा र सुधारको बाटो खोज्नुपर्ने उनको तर्क थियो। बजार अर्थतन्त्रलाई पूर्ण रूपमा अस्वीकार नगरी, त्यसलाई लोकतान्त्रिक राज्य, सामाजिक सुरक्षा, समान अवसर र गुणस्तरीय सार्वजनिक सेवामार्फत नियमन गर्ने कल्याणकारी दृष्टिकोण त्यसमा समेटिएको थियो।
त्यतिबेला गगनको यो राजनीतिक लाइन पारित हुन त सकेन, तर उनी भारी मतका साथ महामन्त्रीमा निर्वाचित भए। त्यसबेला कांग्रेसभित्रै केही नेताले उनले बीपी कोइरालाको समाजवादी विचार छाडेको भन्दै उनीसँग विमति जनाएका थिए।
उतिबेला गगनले स्पष्ट रूपमा भनेका थिए, ‘प्रजातान्त्रिक समाजवादले पुँजीवादी अर्थव्यवस्थाकै विकल्प खोज्ने मान्यता राख्छ। सामाजिक लोकतन्त्रले भने पुँजीवादी अर्थव्यवस्था रहन्छ भन्ने स्वीकार गर्दै त्यसभित्र प्रतिस्पर्धा, सुधार र सामाजिक न्यायको बाटो खोज्छ।’
उनको त्यसबेलाको दस्तावेजमा वैयक्तिक स्वतन्त्रता र पुँजीवादी अर्थव्यवस्थालाई सँगसँगै अघि बढाउने र उपयुक्त नीतिगत हस्तक्षेपमार्फत राज्यका स्रोत तथा सेवामा समान पहुँच सुनिश्चित गर्ने प्रस्ताव थियो।
बीपीको विचारलाई अक्षरशः दोहोर्याएर कांग्रेसले नयाँ समाजका प्रश्नको उत्तर दिन सक्दैन भन्ने उनको आग्रह थियो।

गगनले उतिबेला चैतन्य मिश्रको सामाजिक लोकतन्त्रसम्बन्धी बहसबाट प्रेरणा लिएको बताएका थिए। उनको भनाइमा कांग्रेसभित्र बीपीको एजेन्डा छाडेको भन्दै गुनासो गर्ने प्रवृत्ति थियो, तर बदलिएको समयअनुसार त्यसको नयाँ व्याख्या गर्ने प्रयास कम थियो। यही कारण आफू सामाजिक लोकतन्त्रबारे स्पष्ट हुन खोजेको उनको तर्क थियो।
उनको त्यसबेलाको दस्तावेजमा बजार र लोकतन्त्रबीच विरोधाभास नदेखाई तिनलाई सामाजिक न्यायसँग जोड्ने प्रयास थियो। यसैबाट गगनको पाँच वर्षअघिको वैचारिक पोजिसन बुझिन्छ।
त्यो वैचारिक पोजिसनमा बजार थियो, निजी पहल थियो, व्यक्तिगत स्वतन्त्रता थियो, तर त्यसलाई नियन्त्रणविहीन छाड्ने कुरा थिएन। राज्यको भूमिका शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र समान अवसर सुनिश्चित गर्ने थियो।
अर्थात्, गगनले कांग्रेसलाई समाजवादको पुरानो परिभाषाबाट निकालेर बजार अर्थतन्त्रभित्र सामाजिक न्याय खोज्ने राजनीतिक परियोजनातर्फ लैजान खोजेका थिए।
उनले त्यतिबेला स्पष्ट वैचारिक सन्देश दिएका थिए- म कांग्रेसको वैचारिक पहिचानलाई बीपीको प्रजातान्त्रिक समाजवादबाट आधुनिक सामाजिक लोकतन्त्रतर्फ सार्न चाहन्छु।
उनी अनौपचारिक भेटघाटहरूमा निकटस्थहरूसँग टोनी ब्लेयरलाई आफ्नो राजनीतिक आदर्शका रूपमा चिनाउँथे र पार्टीमा एउटा वैचारिक सिफ्टको आवश्यकतामाथि जोड दिन्थे।
सभापति बनेपछि समाजवादी
तर, १५औं महाधिवेशनमा सभापतिको हैसियतमा गगनले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण तथा समुन्नति’ नामक राजनीतिक प्रस्तावमा ‘सामाजिक लोकतन्त्र’ शब्दलाई वैचारिक पहिचानका रूपमा अगाडि सारिएको छैन। माथि नै भनिसकियो- त्यो केवल सन्दर्भका रूपमा मात्रै आएको छ।
बरु दस्तावेजले आफ्नो वैचारिक आधारलाई राष्ट्रियता, लोकतन्त्र र समाजवादका रूपमा परिभाषित गर्दै त्यसलाई ‘लोकतान्त्रिक समाजवाद’ को भाषामा अघि बढाएको छ। विगतमा प्रजातान्त्रिक समाजवाद भनिएको कार्यक्रमलाई लोकतान्त्रिक भन्नु वस्तुतः उही हो।
कांग्रेसको वैचारिक धरातल गौरवशाली इतिहास, सङ्घर्ष, सामाजिक अनुभव र बहसबाट विकसित हुँदै नयाँ ज्ञानसँगै सदैव परिष्कृत हुँदै आएको गगनले राजनीतिक प्रस्तावमा उल्लेख गरेका छन्। ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद कांग्रेसको यही वैचारिक परम्पराका मूल आधार हुन्। तिनको पुनर्जागरण र प्रभावकारी कार्यान्वयनमा मूल मूल्यप्रति दृढता र व्यवहारमा आवश्यक परिवर्तन दुवै चाहिन्छ,’ गगनले भनेका छन्।
गगनले लोकतान्त्रिक समाजवादको लामै व्याख्या पनि गरेका छन्। ‘लोकतान्त्रिक समाजवादले स्वतन्त्रता उपभोग गर्ने सामाजिक, आर्थिक र मानवीय आधार निर्माण गर्छ। भोक, अशिक्षा, अस्वस्थता, बेरोजगारी र भेदभावले अधिकारको उपभोग सीमित गर्छन्,’ उनले भनेका छन्, ‘शिक्षा, स्वास्थ्य, पोषण, उद्यम, सामाजिक सुरक्षा र न्यायमा सहज र समान पहुँचले नागरिकलाई आफ्ना विकल्प छान्न र आफूभित्र अन्तर्निहित सिर्जनशीलतालाई परिष्कृत गर्न सक्षम बनाउँछन्। यसको उद्देश्य नागरिकलाई राज्यमाथि सधैं आश्रित बनाउनु होइन, स्वतन्त्र, सक्षम र सिर्जनशील बनाउनु हो।’

उनको निष्कर्ष छ- लोकतन्त्रबाट अलग राष्ट्रियता राज्यकेन्द्रित हुन्छ, स्वतन्त्रताबाट अलग समाजवाद नियन्त्रणकारी हुन्छ र सामाजिक-आर्थिक सामर्थ्यबिनाको लोकतन्त्र औपचारिक समानतामा सीमित हुन्छ। ‘तिनको सन्तुलनमा नै कांग्रेसको वैचारिक शक्ति निहित छ,’ उनले भनेका छन्।
गगनले यसरी समाजवादलाई स्थिर नारा नभई बदलिएको समयसँग संवाद गर्ने विचारका रूपमा व्याख्या गरेका छन्। २०४८ सालपछि गिरिजाप्रसाद कोइरालाले खनेको बाटो हुँदै बेलायती नेता ब्लेयरको सोचसँग नजिकिएका गगन अन्ततः बीपीतिरै आइपुगेका छन्।
तर बीपीकै विचारमा रोकिएका भने छैनन्। उनले भनेका छन्, ‘बीपीले प्रतिपादन गर्नुभएको लोकतान्त्रिक समाजवादले विकासको केन्द्रमा केवल तथ्याङ्कीय आर्थिक वृद्धि होइन, साधारण नागरिकको जीवन, मानवीय गरिमा, सहभागिता र अवसरलाई केन्द्रमा राखेको थियो। हामी बीपीको हलो जोतिरहेको किसानको ऐतिहासिक प्रतीकलाई आत्मसात् गर्दै आज हातमा पासपोर्ट बोकेर उभिएको वा देशभित्रै अवसर खोजिरहेको युवाको यथार्थलाई आर्थिक विकास नीतिको केन्द्रबिन्दुमा राखेका छौं।’
याद गर्नुपर्ने के छ भने यसबीचमा रास्वपाले सामाजिक लोकतन्त्रको व्याख्या गर्दै असारको पहिलो महाधिवेशनमा दस्तावेज पारित गरेको थियो। हाल कांग्रेसको प्रमुख प्रतिस्पर्धी रहेको रास्वपा र समाजवादको व्याख्या गरिरहेका कम्युनिस्ट पार्टीहरूबाट आफ्नो स्पष्ट पहिचान र दूरी कायम गर्नुपर्ने चुनौती चिर्नुपर्ने जिम्मेवारीमा पुगेका गगन दस्तावेजका हरफहरूमा सन्तुलन खोज्ने कोसिसमा देखिन्छन्।
एकातिर बदलिएको समाज र समयको आवाज सुन्नुपर्ने आवश्यकता, अर्कोतिर पार्टीको विरासतको जिम्मेवारी आफ्नै काँधमा उठाउनुपर्ने कहर- यी दुवैलाई सन्तुलनमा राख्न उनले आफ्नो वैचारिक व्याख्या गर्न एउटा उपशीर्षक रोजेका छन्- ‘स्थायी आदर्श, बदलिएको समय र गतिशील समाज।’
गगनले कांग्रेसको राजनीतिक तथा वैचारिक यात्रा राष्ट्रियता, लोकतन्त्र र समाजवादका आधारभूत आदर्शसँग अभिन्न रूपमा जोडिएको उल्लेख गर्दै भनेका छन्, ‘यी तीन आदर्श कुनै निश्चित समयका राजनीतिक नारा मात्र होइनन्, राष्ट्र, नागरिक र समाजबीचको सम्बन्धलाई परिभाषित गर्ने स्थायी मान्यता हुन्। नेपाली कांग्रेसको आफ्नै वैचारिक परम्परामा यी तीनै सिद्धान्तलाई अलग-अलग होइन, एउटै लोकतान्त्रिक परिकल्पनाका परस्पर सम्बन्धित आधारका रूपमा बुझ्दै आएको छ।’

समयसँगै समाज, नागरिकका आकाङ्क्षा, अर्थतन्त्र र उत्पादनका स्वरूप बदलिने र प्रविधिले शक्तिको सम्बन्ध बदल्दा राष्ट्रले सामना गर्ने चुनौती पनि बदलिने चर्चा गगनले गरेका छन्। ‘यस्तो अवस्थामा मूल मूल्यलाई बदलिएको परिस्थितिमा प्रभावकारी बनाइराख्न सक्ने क्षमता नै जीवन्त राजनीतिक विचारको विशेषता हो। कांग्रेसले परिकल्पना गरेको समाज न्यायपूर्ण, स्वतन्त्र र समतामूलक मात्र होइन, गतिशील पनि हो।’
यसरी गगनले २०७८ मा ‘सामाजिक लोकतन्त्र’ नामबाट खोजेको वैचारिक पुनर्स्थापनालाई २०८३ मा ‘लोकतान्त्रिक समाजवाद’ कै नेपाली कांग्रेसको ऐतिहासिक भाषाभित्र पुनःस्थापित गर्ने प्रयास गरेका छन्।
रणनीतिक बाध्यता ?
अब स्वाभाविक रूपमा प्रश्न उठ्छ- के गगन आफ्नो वैचारिक अडानबाट पछि हटेका हुन्? महामन्त्री बन्ने बेला सामाजिक लोकतन्त्रको प्रस्ताव गर्ने गगन सभापतिको कुर्सीबाट बीपीकै लोकतान्त्रिक समाजवादको चर्को वकालत गर्ने अवस्थामा किन फर्किए ? यो उनको वैचारिक बदलाव हो कि रणनीतिक बाध्यता ?
यसको उत्तर खोज्न दस्तावेजको अन्तर्वस्तु खोतल्नुपर्ने हुन्छ।
गगनले आफ्नो दस्तावेजमा सामाजिक लोकतन्त्रभन्दा नितान्त फरक राजनीतिक व्यवस्था अर्थात् लोकतान्त्रिक समाजवादको वकालत गरेका छैनन्। उनले वैचारिक पुनर्जागरणको खाका प्रस्तुत गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई नै कांग्रेसको मूल वैचारिक धरातलका रूपमा उल्लेख गरेका छन्।
दस्तावेजमा प्रस्ट भनिएको छ, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद कांग्रेसको यही वैचारिक परम्पराका मूल आधार हुन्। तिनको पुनर्जागरण र प्रभावकारी कार्यान्वयनमा मूल मूल्यप्रति दृढता र व्यवहारमा आवश्यक परिवर्तन दुवै चाहिन्छ।’
१५औं महाधिवेशनसम्म आइपुग्दा गगन पार्टी सभापति बनिसकेका छन्। पार्टीभित्र अद्भुत पुस्तान्तरण संस्थागत भइरहेको छ। यसलाई अस्वीकार गर्ने पूर्वसभापति शेरबहादुर देउवा समूह निकै कमजोर बनिसकेको छ र त्यो समूह मङ्सिरमा महाधिवेशन गर्ने कुरा गर्दै सर्वोच्च अदालतको ढोकातिर आशाको नजरले हेरिरहेको छ।
गगन यतिबेला प्रश्न गर्नेभन्दा जवाफ दिने ठाउँमा छन्। विद्रोह गर्नेभन्दा पार्टी मिलाएर लैजाने जिम्मेवारीमा छन्। यस्तोमा गगनसँग केही बाध्यताहरू रहेको बताउँछन् कांग्रेसकै एक पदाधिकारी।
‘गगनले यसपटक दुईवटा कुरामा ध्यान दिएको देखिन्छ- पार्टीभित्रको आफ्नो आधार र परिस्थितिजन्य बाध्यता,’ ती पदाधिकारीले भने।
पार्टी विभाजनउन्मुख अवस्थामा पुगेका बेला ‘बीपीको विरासत बोक्ने मै हुँ’ भन्ने सन्देश नयाँ वैचारिकी प्रस्ताव गरेर दिन नसक्ने ती नेता बताउँछन् र यसलाई उनी गगनको वैचारिक विरोधाभासभन्दा रणनीतिक बाध्यताको रूपमा अर्थ्याउँछन्।
‘यही सन्देश दिन पनि गगनले लोकतान्त्रिक समाजवादको नारा चर्को गरी लगाउनुपर्ने अवस्था बन्यो। अर्को, पार्टीको परम्पराप्रति प्रतिबद्ध पङ्क्ति र देउवा समूह छाडेर आएका नेताहरूलाई पनि आफू कांग्रेसको मूल वैचारिक धारबाट बाहिर गएको होइन भन्ने विश्वास दिलाउनुपर्ने थियो,’ उनले भने, ‘त्यसैले उनले लोकतान्त्रिक समाजवादलाई जोड दिएजस्तो लाग्छ।’
त्यसो त, विरासतमा आधारित राजनीतिक दलमा वैचारिक परिवर्तन सजिलो हुँदैन। किनकि त्यहाँ विचार केवल सिद्धान्त हुँदैन, त्यो इतिहास हुन्छ, नेता हुन्छ, आन्दोलन हुन्छ र त्यससँग पुस्ताको भावनात्मक सम्बन्ध पनि हुन्छ।
त्यसैले बीपीको समाजवादलाई नयाँ ढङ्गले व्याख्या गर्दा एउटा पुस्ताले त्यसलाई स्वाभाविक वैचारिक विकासका रूपमा लिन सक्छ भने अर्को पुस्ताले त्यसलाई विरासतबाट विचलनका रूपमा बुझ्न सक्छ। एकातिर बीपीको जुत्तामा खुट्टा राखेको गर्व गरिरहने, अर्कोतिर उनैको विचारलाई चुनौती दिँदा अर्को महाधिवेशनको तयारी गरिरहेको समूहले फाइदा उठाउने जोखिमलाई गगनले बुझिसकेका हुनसक्छन्।
के त्यसो भए गगनले पुरानै शब्दभित्र नयाँ वैचारिकी घुसाएका हुन् त ? यो प्रश्नको उत्तर खोज्न उनको १५औं महाधिवेशनको दस्तावेजमा वैचारिक दिशा शीर्षकमा गरिएको चर्चा र दस्ताबेजभित्र समेटिएको समग्र अर्थ-राजनीतिक कार्यक्रमलाई मिहीन रूपमा केलाउनुपर्ने हुन्छ।
शब्द जे भए पनि अन्तर्वस्तु उही
गगनले शीर्षक ‘लोकतान्त्रिक समाजवाद’ दिए पनि दस्तावेजको अन्तर्वस्तु हेर्दा त्यो विशुद्ध रूपमा सामाजिक लोकतन्त्रको अझ परिष्कृत व्याख्या जस्तै देखिन्छ।
दस्तावेजमा लोकतान्त्रिक समाजवादको उद्देश्य राज्यले सबै आर्थिक निर्णय आफैं गर्नु नभएको र बजारलाई स्वतन्त्रताको पर्याय मान्नु पनि नभएको उल्लेख छ।
‘शिक्षा, स्वास्थ्य, पोषण, सीप, काम, उद्यमको अवसर, सामाजिक सुरक्षा, कानुनी संरक्षण र सम्मानजनक जीवन आर्थिक नीतिका केवल अलग-अलग शीर्षक मात्र होइनन्, नागरिक स्वतन्त्रताका सामाजिक तथा आर्थिक आधार हुन्,’ प्रस्तावमा भनिएको छ।
आर्थिक मार्गचित्र प्रस्तुत गर्दा पनि गगनले बजार अर्थतन्त्रलाई स्वीकार गरेका छन्। उनले उदार अर्थतन्त्र (प्रो-प्राइभेट) लाई एउटा प्रमुख स्तम्भ मान्दै निजी क्षेत्रलाई समृद्धिको प्रमुख संवाहकका रूपमा स्थापित गर्ने उल्लेख गरेका छन्।
सरकार स्वयं व्यापारी वा नियन्त्रक नबनी पारदर्शी नियामकको भूमिकामा रहने नीति दस्तावेजले लिएको छ।
उनका आर्थिक प्रस्तावहरू सिद्धान्ततः पुँजीवादलाई विस्थापित गरेर उत्पादनका साधनमाथि राज्यको स्वामित्व स्थापना गर्ने परम्परागत लोकतान्त्रिक समाजवादको लक्ष्यभन्दा फरक छन्। यसलाई गगनको दस्तावेजले ‘सामाजिक बजार अर्थतन्त्र’ अर्थात् बजार र राज्य परस्पर विरोधी नभएको मान्यतामा उभ्याएको छ।
‘राज्य स्वयं व्यापारी वा मालिक बन्ने होइन; निष्पक्ष नियामक, सुशासनको संरक्षक, आधुनिक पूर्वाधार निर्माता र गुणस्तरीय सार्वजनिक सेवा प्रदायक बन्नुपर्छ,’ दस्ताबेजमा लेखिएको छ।
यसरी हेर्दा गगन गगनले १४औं महाधिवेशनमा सामाजिक लोकतन्त्रको बहस चलाएर जुन वैचारिक तरङ्ग ल्याएका थिए, १५औं महाधिवेशनमा आइपुग्दा उनले त्यसैलाई बीपीको लोकतान्त्रिक समाजवादको आवरणभित्र समयानुकूल व्याख्याको प्रयास गरेका छन्।
नाम जे भए पनि नागरिकमा निहित सार्वभौमसत्ता र यसको अभ्यास गर्ने विधिको अविभाज्य सङ्गति नै लोकतन्त्र हो। अहिले सामान्यतः विश्वभरि नै दलहरूले कुनै गैरलोकतन्त्रसँग होइन, लोकतन्त्रभित्रकै अपूर्णताका नतिजासँग लड्नुपरिरहेको छ। लोकतान्त्रिक संस्थाहरू सङ्कुचनसँगै भित्रभित्रै खोक्रो र पङ्गु भइरहेका छन्। राज्यशक्ति सीमित शक्ति सम्भ्रान्तहरूको वृत्तमा सीमित हुँदा संस्थाहरूले आफ्नो वास्तविक लोकतान्त्रिक वैधता गुमाइरहेका छन्।
हाम्रा निर्वाचनहरू शक्तिशालीहरूलाई वैधानिकता दिने प्रक्रिया मात्रै बनिरहेका छन्। यस्तोमा निर्वाचनले सुरुमा नागरिकले चाहेजस्तो सरकार बनाउने सामर्थ्य गुमाउँछ र विस्तारै वैधता पनि।
नवउदारवादले प्रवर्द्धन गर्ने उपभोक्तावादी सोच र जीवनशैलीले सिर्जित अराजनीतीकरणको परिणामतः परम्परागत राजनीतिक संयन्त्रहरू नागरिकको पहुँचबाहिर पुगिरहेका छन्। नागरिक आवाज हराएको एकथान भोट- अर्थात् भोट दिन सक्ने तर आवाज ठाउँमा पुर्याउन नसक्ने निरीह प्राणीमा बदलिइरहेका छन्।
एक्काइसौं शताब्दीमा लोकतन्त्रको बहसलाई पुनर्ताजगी गर्न लोकतन्त्रका केही व्याकरणगत बदलावमा पनि काम गर्नुपर्ने देखिन्छ।
आर्थिक सत्तालाई कसरी राजनीतिक सत्ताको मातहत ल्याउने- यो सार्वकालिक महत्त्वको प्रश्न पनि छँदैछ। यी प्रश्नहरूको जवाफ दिन दस्तावेजमा त्यति धेरै महत्त्व दिइएको जस्तो लाग्दैन।
महाधिवेशन उद्घाटन गर्दै गगनले भनेका थिए, ‘इतिहास गौरवशाली छ, तर इतिहासले शक्ति दिँदैन, शिक्षा दिन्छ।’
अर्थात् इतिहासबाट प्राप्त शिक्षालाई वर्तमानको कर्ममा रूपान्तरण गर्न सकियो भने मात्र त्यसले राजनीतिक शक्ति दिन्छ।
बीपीले आफ्नो समयको समाजलाई पढेर समाजवादको व्याख्या गरेझैं, आजको कांग्रेसले आजको समाजलाई पढेर नयाँ राजनीतिक उत्तर दिन सक्छ कि सक्दैन?
गगनले अघि सारेको प्रस्तावको परीक्षा अब व्यवहारमै हुनेछ।
प्रतिक्रिया 4