+
+
Shares

नेविसंघको नर्सरी : कांग्रेस पदाधिकारीमा पूर्व अध्यक्षहरूको प्रतिस्पर्धा

नेविसंघमा निर्वाचित र तदर्थ गरेर हालसम्म बनेका २१ अध्यक्ष मध्ये ९ जना १५ औं महाधिवेशनमा पदाधिकारीका प्रतिस्पर्धी छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ असोज २१ गते १३:४६

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५६ वर्षको इतिहासमा निर्वाचित र तदर्थ गरी हालसम्म २१ जना अध्यक्ष बनेका छन् । २०२७ सालमा संस्थापक अध्यक्ष विपिन कोइरालालाई निर्वाचित गरेर सुरु भएको नेविसंघको इतिहास हाल अध्यक्षमा रहेकी करुणा कटुवालसम्म आइपुगेको छ ।

नेविसंघ कांग्रेसको नेता उत्पादन गर्ने संगठनका रुपमा समेत परिचित छ । नेता उत्पादन गर्ने संगठन भएको पुष्टि १५ औं महाधिवेशनमा देखिएका उम्मेदवारको अनुहारबाट पनि देखिन्छ । नेविसंघमा पूर्व अध्यक्ष बनेका अधिकांश नेताहरू यसपटक पदाधिकारीको प्रतिस्पर्धामा छन् ।

सभापतिमा उम्मेदवार बनेका किशोरसिंह राठोरलाई पार्टी विभाजनको बेला तत्कालीन नेपाल कांग्रेस (प्रजातान्त्रिक) पक्षको नेविसंघको अध्यक्ष बनाइएको थियो । नेविसंघको राजनीतिबाट नै पार्टी राजनीतिमा आएका राठोर त्रिचन्द्र क्याम्पसमा नेविसंघबाट स्ववियू सभापति बनेका थिए ।

सभापति गगन थापा विद्यार्थी संगठनको राजनीति गरेर पार्टीको सभापति बनेपनि नेविसंघको मूल नेतृत्वमा पुग्न भने सकेनन् । तर उनी महामन्त्री बनेका थिए । सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गी विद्यार्थी संगठनको राजनीतिमा संलग्न थिएनन् ।

वरिष्ठ सभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्मा नेविसंघका पूर्व अध्यक्ष हुन् । उनी २०५७ सालमा भएको नेविसंघको आठौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुन् । उपसभापतिमा उम्मेदवार बनेका धनराज गुरुङ र गोविन्द भट्टराई नेविसंघका पूर्व अध्यक्ष हुन् ।

गत महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका गुरुङले सोही पदमा उम्मेवारी दिएका हुन् । पूर्व उपसभापति गुरुङले २०५३ सालमा नेविसंघको नेतृत्व सम्हालेका थिए । गुरुङले सात महिना संगठनको नेतृत्व गरेका थिए । त्यही वर्ष भएको नेविसंघको सातौं महाधिवेशनले संगठनको अध्यक्षमा गोविन्द भट्टराई चयन भएका थिए । भट्टराई उपसभापति पदका प्रत्यासी छन् । उपसभापतिमा उम्मेदवारी दिएका रञ्जित कर्ण पनि नेविसंघका पूर्व अध्यक्ष हुन् । रञ्जित कर्णले २०६९ सालमा तदर्थ समितिको अध्यक्ष बनेर नेविसंघको नेतृत्व सम्हालेका थिए ।

महामन्त्री पदमा तीन जना नेविसंघका पूर्व अध्यक्षले उम्मेदवारी दिएका छन् । नेविसंघका पूर्व अध्यक्षहरू प्रदीप पौडेल, गुरुराज घिमिरे र नैनसिंह महर महामन्त्रीका उम्मेदवार छन् । हाल पार्टीको महामन्त्री रहेका पौडेल सोही पदका लागि उम्मेदवार बनेका छन् । २०६४ सालका भएको नेविसंघको १० औं महाधिवेशनबाट पौडेल निर्वाचित अध्यक्ष बनेका थिए । सोही पदका आकांक्षी गुरुराज घिमिरे २०५९ सालमा भएको नेविसंघको नवौ महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुन् । महामन्त्रीका अर्का प्रतिस्पर्धी नैनसिंह महर २०७३ सालमा भएको नेविसंघको ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुन् ।

सहमहामन्त्री पदमा पनि नेविसंघका पूर्व अध्यक्ष प्रतिस्पर्धामा उत्रिएका छन् । २०७५ सालमा तदर्थ समितिको नेविसंघमा तदर्थ समितिको अध्यक्ष बनेका राजीव ढुंगाना सहमहामन्त्रीको उम्मेदवार छन् ।

नेविसंघका पूर्वअध्यक्षद्धय बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की महाधिवेशनमा सहभागी भएपनि उम्मेदवारी भने दिएनन् । बालकृष्ण खाँण नेविसंघको २०४४ सालमा भएको पाँचौं महाधिवेशनबाट अध्यक्ष बनेका थिए । कार्की २०३९ सालमा नेविसंघको अध्यक्ष बनेका थिए ।

नेविसंघका दोस्रो अध्यक्ष बनेका पार्टी पूर्व सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशन गर्न लागेको छ । देउवा पक्षको महाधिवेशनको पक्षमा नेविसंघका पूर्व अध्यक्षहरू विमलेन्द्र निधि, एनपी साउद लगायतका नेताहरू खुलेका छन् । नेविसंघका पूर्व सभापति दुजाङ शेर्पा दुबै पक्षको महाधिवेशन संलग्न नहुने बताएका छन् । नेविसंघका अर्का पूर्व सभापति कल्याण गुरुङ हाल मौन छन् ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?