नेपाली कांग्रेसको वर्तमान संकट नेतृत्व संघर्षमा मात्र सीमित छैन। संगठनात्मक जडता, पुस्तान्तरण, नीति र विचारको बहस तथा जनतासँगको दूरीबीच १५औँ महाधिवेशन कांग्रेसलाई पुनः परिभाषित गर्ने अवसर बन्न सक्छ।
नेपाली कांग्रेस यतिबेला आफ्नो इतिहासकै महत्त्वपूर्ण संक्रमणबिन्दुमा उभिएको छ। पार्टीभित्रको लामो समयदेखिको नेतृत्व संघर्ष, विशेष महाधिवेशन, आधिकारिकतासम्बन्धी कानुनी विवाद, समानान्तर संगठनात्मक गतिविधि र १५औँ महाधिवेशनको सम्मुखमा कांग्रेसको आन्तरिक राजनीतिमा मात्र होइन, यसको भावी राजनीतिक दिशामाथि पनि गम्भीर प्रश्न उठेको छ। तर संकटसँगै सम्भावनाको अर्को ढोका पनि खुलै छ।
कांग्रेसको वर्तमान संकटलाई केवल शेरबहादुर देउवा र गगन थापाबीचको नेतृत्व संघर्षका रूपमा बुझ्नु अधुरो हुन्छ। यो संघर्षको पृष्ठभूमिमा पार्टीको संगठनात्मक जडता, निर्णय प्रक्रियाको केन्द्रीकरण, पुस्तान्तरणको दबाब, नीति र विचारको कमजोर हुँदै गएको बहस तथा जनतासँग पार्टीको सम्बन्धमा आएको दूरी पनि जोडिएको छ। अहिले कांग्रेस आफूलाई बदलिँदो राजनीतिक, सामाजिक र नवपुस्ताको चेतनाअनुकूल पुनर्गठन गर्ने अवसरको प्रस्थानबिन्दुमा उभिएको छ।
विशेष अवस्था, विशेष महाधिवेशन
कांग्रेस विशेष महाधिवेशनसम्म पुग्नु आकस्मिक घटना थिएन। भदौ २३ र २४ को घटना नेपालको राजनीतिमै अकल्पनीय घटना थियो। कांग्रेसभित्र पनि लामो समयदेखि नेतृत्व, कार्यशैली, संगठनको प्रभावकारिता र पुस्तान्तरणबारे उठ्दै आएका असन्तुष्टि क्रमशः संस्थागत संघर्षमा परिणत भएका हुन्। गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूको अगुवाइमा विशेष महाधिवेशनको प्रक्रिया अघि बढेपछि कांग्रेसभित्रको विवाद सार्वजनिक र निर्णायक चरणमा पुग्यो। विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चयन भए भने विश्वप्रकाश शर्मा उपसभापतिको महत्त्वपूर्ण भूमिकामा रहे।
विशेष महाधिवेशनमार्फत गगनको नेतृत्व स्थापित हुनु र विश्वप्रकाशलगायत नेताहरूको साथ रहनुले कांग्रेसभित्र पुस्तान्तरण र नयाँ राजनीतिक कार्यशैलीको बहसलाई संस्थागत रूप दिएको छ। यसलाई केवल एउटा समूहको विजय वा अर्को समूहको पराजयका रूपमा बुझ्दा यसको राजनीतिक अर्थ साँघुरिन्छ। यसको वास्तविक अर्थ कांग्रेसको एउटा ठूलो हिस्सा अब पुरानो राजनीतिक शैलीबाट नयाँ राजनीतिक संस्कारतर्फ जान चाहन्छ भन्ने सन्देश हो।
विशेष महाधिवेशनबाट बनेको नेतृत्वको आधिकारिकतासम्बन्धी विवाद अहिले पनि अदालतमा विचाराधीन छ। त्यसैले यस विषयमा अन्तिम राजनीतिक निष्कर्ष निकाल्नु हतार हुनेछ। अदालतले कानुनी प्रश्नको निरूपण गर्नेछ। तर अदालतको निर्णयले कांग्रेसको राजनीतिक भविष्यको सम्पूर्ण प्रश्नको उत्तर दिने छैन। किनकि कांग्रेसको समस्या कानुनी मात्र होइन, राजनीतिक पनि हो।
अदालतमा विवाद, राजनीतिमा प्रतीक्षा
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट बनेको नेतृत्वलाई आधिकारिकता दियो। सर्वोच्च अदालतको संयुक्त इजलासले पनि त्यसलाई सदर गरेको थियो। तर त्यस फैसलामाथि पुनरावलोकनको अनुमति प्राप्त भएपछि आधिकारिकताको प्रश्न फेरि न्यायिक प्रक्रियामा प्रवेश गरेको छ। पूर्ण इजलासमा विचाराधीन मुद्दाको सुनुवाइको पालो अझै तोकिएको छैन।
अदालतमा मुद्दा विचाराधीन रहँदा समानान्तर महाधिवेशनको तयारी, संगठन निर्माण र नेतृत्वसम्बन्धी दाबीले पार्टीभित्रको संकट अझै जीवित रहेको देखाउँछ। देउवा पक्ष सहमतिमा नआएको अवस्था र गगन थापा नेतृत्वको पक्ष १५औँ महाधिवेशनमार्फत अघि बढिरहेको अवस्थाले कांग्रेसको संक्रमण अझै पूरा नभएको सङ्केत गर्छ। यहीँनेर प्रश्न उठ्छ, कांग्रेसले असहमतिलाई विभाजनमा रूपान्तरण गर्ने कि प्रतिस्पर्धात्मक लोकतन्त्रमा?
यसलाई कांग्रेसको राजनीतिक भविष्यको अन्तिम निष्कर्षका रूपमा होइन, लोकतान्त्रिक दलभित्रको संस्थागत संकटको एउटा चरणका रूपमा बुझ्न आवश्यक छ। अदालतले गर्ने निर्णय आफ्नो ठाउँमा हुनेछ। तर अदालतको निर्णयले मात्र कांग्रेसको राजनीतिक संकट समाधान गर्ने छैन। त्यसको समाधान अन्ततः राजनीतिक संवाद, संगठनात्मक एकता, वैधानिक प्रक्रिया र सदस्यहरूको लोकतान्त्रिक सहभागिताबाटै खोजिनुपर्नेछ।
गगन-विश्वको अनुपम सहकार्य
सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबीचको सहकार्यलाई व्यक्तिविशेषको समीकरणभन्दा ठूलो राजनीतिक सन्देशका रूपमा हेर्नुपर्ने हुन्छ। यी दुई नेताको सार्वजनिक राजनीतिक यात्रामा शैली र प्राथमिकताका केही भिन्नता भए पनि पुस्तान्तरण, पार्टी रूपान्तरण, संगठन सुधार, नयाँ राजनीतिक भाष्य र जनतासँग प्रत्यक्ष संवादको आवश्यकताका विषयमा विश्वसनीय, परिपक्व र साझा प्राथमिकता देखिन्छ।
नेतृत्व परिवर्तन मात्र रूपान्तरण होइन। त्यसैले गगन-विश्वको सबैभन्दा ठूलो परीक्षा अब यही हुनेछ कि नीति र नेतृत्व परिवर्तनलाई संस्थागत परिवर्तनमा कसरी बदल्न सकिन्छ। आगामी दिनमा कांग्रेस नेतृत्वले यो प्रश्नको जवाफ खोज्नुपर्नेछ । सबैभन्दा सकारात्मक सम्भावना नेपाली राजनीतिमा नीति, नियत र नेतृत्वमा गगन-विश्वको सम्बन्ध समधुर, सहकार्यपूर्ण र स्पष्ट कार्यदिशामा केन्द्रित हुनु हो।
गगन-विश्वको सहकार्य पनि त्यसै कारण महत्त्वपूर्ण छ। नेतृत्वलाई लोकप्रियता मात्र होइन, वैचारिक गहिराइ, संगठनात्मक क्षमता, आलोचनात्मक आवाज र सामूहिक निर्णयको संस्कार आवश्यक हुन्छ। नेतृत्व वरिपरि प्रश्न गर्ने, बहस गर्ने र फरक मत राख्ने ठाउँ कायम रहन सके मात्र बदलिँदो कांग्रेस निर्माणको दाबी विश्वसनीय बन्न सक्छ।
गगन थापाको नेतृत्व र विश्वप्रकाश शर्माको सहकार्यले कांग्रेसभित्र बदलिँदो राजनीतिक मनोविज्ञानको स्पष्ट सङ्केत गरेको छ। तर त्यसलाई सार्थक बनाउन नेतृत्वले संस्थागत विकास, व्यक्तिभन्दा नीति, पदभन्दा संगठन र निर्वाचनभन्दा जनताको जीवनलाई केन्द्रमा राख्नुपर्छ।
कस्तो रूपान्तरित कांग्रेस?
कांग्रेसको १५औँ महाधिवेशनले नेतृत्व चयन गर्नेछ। महासमिति सम्मेलनले नीति पास गर्नेछ। नेतृत्व चयनको अवस्थालाई केवल ‘कसले जित्ने’ भन्ने प्रश्नमा भन्दा पनि मूल प्रश्न कांग्रेस अब कस्तो बन्ने भन्ने हो। सभापति थापाको नेतृत्व र उपसभापति शर्माको साथलाई यही सन्दर्भमा हेर्नुपर्छ। गगन-विश्वको करिष्मेटिक केमेस्ट्रीले कांग्रेसलाई नवजीवन दिएको सत्य हो।
दुई नेताबीचको सहकार्यले कांग्रेसभित्र पुस्तान्तरणको बहसलाई नेतृत्व परिवर्तनभन्दा अगाडि लैजाने अपेक्षा जन्माएको छ। तर पुस्तान्तरण आफैँमा रूपान्तरण होइन। नयाँ पुस्ताको नेतृत्वले पुरानै संगठनात्मक संस्कृति, निर्णय प्रक्रिया र राजनीतिक शैलीलाई निरन्तरता दियो भने नेतृत्वको अनुहार मात्र बदलिन्छ, पार्टी बदलिँदैन।
पहिलो, अब कांग्रेसको वास्तविक परीक्षा संगठनमा हुनेछ। कांग्रेसलाई निर्वाचनको समयमा मात्र सक्रिय हुने पार्टी होइन, वर्षभरि जनतासँग जोडिने राजनीतिक संगठन बनाउनुपर्ने चुनौती छ। वडा तहसम्म सक्रिय संगठन, जनताको समस्या सुन्ने संयन्त्र, नीति निर्माणमा स्थानीय अनुभवको प्रयोग र निर्वाचित जनप्रतिनिधि तथा पार्टी संगठनबीच प्रभावकारी समन्वय आवश्यक छ। यसका लागि ‘जरा अभियान’देखि ‘एनसी फर एनसी’जस्ता जनतासँग जोडिने कार्यक्रम सञ्चालनमा छन्।
दोस्रो, महत्त्वपूर्ण पक्ष नीति र विचार हो। कांग्रेसले लोकतन्त्र, राष्ट्रियता र समाजवादका आफ्ना परम्परागत आधारलाई आजको डिजिटल समाज, आर्थिक असमानता, रोजगारी, शिक्षा, स्वास्थ्य, जलवायु संकट, वैदेशिक रोजगारी, प्रविधि र कृत्रिम बुद्धिमत्तासम्म विस्तार गर्नुपर्ने आवश्यकता छ। पुराना नाराको पुनरावृत्तिले मात्र नयाँ पुस्तासँग संवाद स्थापित हुँदैन। त्यसका लागि अध्ययन, अनुसन्धान र प्रमाणमा आधारित नीति निर्माण आवश्यक छ।
यस सन्दर्भमा कांग्रेस पार्टी कार्यालय सानेपा निकै व्यस्त बहसमा रहेको छ। प्रत्येक हप्ताको एक दिन समसामयिक विषयमा ‘ग्रीन टेबल’ कार्यक्रम र महिनामा दुईवटा ‘सुवर्णशमशेर इकोनोमिक्स संवाद’जस्ता वैचारिक कार्यक्रम पनि चलिरहेका छन्। उपसभापतिको नेतृत्वमा नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विषयगत विधामा विचारविमर्श र नीतिपत्रसमेत सार्वजनिक गर्दै आएको छ।
तेस्रो, राजनीतिक संस्कारको हो। कांग्रेसको आन्तरिक लोकतन्त्र केवल अधिवेशनमा मतदान गर्ने प्रक्रियामा सीमित हुनु हुँदैन। फरक मतलाई स्थान दिने, नेतृत्वलाई प्रश्न गर्न सक्ने, आलोचनालाई संस्थागत गर्ने र निर्णय प्रक्रियालाई पारदर्शी बनाउने संस्कार विकास गर्नुपर्छ। गुट व्यवस्थापनभन्दा संस्था निर्माण प्राथमिकतामा पर्नुपर्छ। यसका लागि बदलिँदो सांगठनिक स्वरूपको ढाँचा आवश्यक हुन सक्छ। यद्यपि, अहिले डिजिटल सदस्यता प्रणालीको व्यवस्थापनले भने कांग्रेसको संगठन व्यवस्थापनमा नयाँ प्रविधिको प्रयोग भई सुधारको चरणमा रहेको देखिन्छ।
१५औँ महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन, राजनीतिक प्रतिवेदन, समसामयिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन त्यस अर्थमा सामान्य दस्तावेज मात्र होइनन्। ती दस्तावेजले कांग्रेस आफूलाई कुन दिशामा लैजान चाहन्छ भन्ने राजनीतिक दृष्टिकोण स्पष्ट गर्नुपर्नेछ। विधानले संगठनको लोकतान्त्रिक संरचना र अधिकारको पुनर्सन्तुलन गर्न सक्छ कि सक्दैन?
विधानले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई कति बलियो बनाउँछ? केन्द्रीय नेतृत्व र तल्लो तहबीचको सम्बन्धलाई कसरी पुनर्सन्तुलित गर्छ? पार्टीभित्र युवाको अर्थ सहभागिता मात्र हो कि निर्णय प्रक्रियामा नयाँ पुस्ताको वास्तविक सहभागिता सुनिश्चित गर्नु? महिलाको सहभागिता संख्यामा मात्र सीमित हुन्छ कि नेतृत्वमा पनि अर्थपूर्ण उपस्थिति हुन्छ? समावेशिता निर्वाचनको गणितमा मात्र देखिन्छ कि पार्टीको नीति निर्माणमै प्रतिबिम्बित हुन्छ? यी प्रश्नहरूले वास्तविक लोकतन्त्र र नेपाली कांग्रेसको मौलिक चरित्रलाई चित्रण गर्छन्।
राजनीतिक प्रतिवेदनले बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशलाई कति गहिराइमा समेट्छ? सांगठनिक प्रतिवेदनले संगठनको वास्तविक कमजोरी स्वीकार गरी सुधारको बाटो देखाउँछ कि देखाउँदैन? महाधिवेशनको महत्त्व यिनै प्रश्नमा निर्भर हुनेछ।
कांग्रेसका लागि अहिलेको अर्को महत्त्वपूर्ण अवसर जनतासामु पुनः सक्रिय रूपमा फर्किनु हो। पछिल्ला राजनीतिक घटनाक्रमले परम्परागत दलहरूप्रति नागरिकको अपेक्षा, असन्तुष्टि र प्रश्नलाई तीव्र बनाएको छ। त्यसको उत्तर केवल भाषण र नेतृत्व परिवर्तनबाट सम्भव छैन। जनताको दैनिक जीवनसँग जोडिएका विषयमा कांग्रेसले स्पष्ट नीति, व्यावहारिक कार्यक्रम र निरन्तर जनसम्पर्क देखाउनुपर्छ।
संकटले कांग्रेसलाई कमजोर बनाएको छ भन्ने निष्कर्ष एउटा पक्ष हो। तर संकटले कांग्रेसलाई आफूलाई पुनः परिभाषित गर्ने अवसर दिएको छ भन्ने अर्को पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छ। इतिहासमा कांग्रेसले पटकपटक आन्तरिक संघर्ष पार गर्दै आफूलाई पुनर्गठन गरेको छ। अहिलेको चुनौती पनि त्यही परम्पराको नयाँ परीक्षा हो।
संकटबाट सम्भावनातर्फको गन्तव्य
गगन थापा नेतृत्वमा अघि बढिरहेको १५औँ महाधिवेशनले बदलिँदो कांग्रेसको सङ्केत दिन खोजेको छ। विश्वप्रकाश शर्माजस्ता नेताहरूको सहकार्य, संगठन सुधारको बहस, नीति अध्ययन र विचारविमर्शको विस्तार तथा जनतासामु पुनः सक्रिय हुने प्रयासले कांग्रेसभित्र नयाँ राजनीतिक सम्भावनाको बहस जन्माएको छ। तर यो सम्भावना स्वतः राष्ट्रिय शक्तिमा रूपान्तरण हुने प्रक्रियामै छ।
कांग्रेसले समानान्तर गतिविधि, नेतृत्व संघर्ष र कानुनी विवादको चक्रबाट बाहिर निस्केर संगठन, नीति, विचार र राजनीतिक संस्कारको पुनर्निर्माण गर्न सक्नुपर्छ। देउवा पक्ष र वर्तमान नेतृत्वबीचको असहमति संवाद र सहमतिमा रूपान्तरण गर्न सक्ने क्षमता पनि त्यत्तिकै महत्त्वपूर्ण छ। अदालतले कानुनी प्रश्नको निरूपण गर्ला, तर राजनीतिक दलको भविष्य भने राजनीतिक प्रक्रियाले निर्धारण गर्नेछ।
कांग्रेसका सामु यी महत्त्वपूर्ण प्रश्न तेर्सिएका छन्। हामी विगतको कांग्रेसलाई बचाउन खोजिरहेका छौँ कि भविष्यको कांग्रेस बनाउन? यदि उत्तर भविष्यको कांग्रेस हो भने परिवर्तन नेतृत्वबाट सुरु भएर संगठनमा पुग्नुपर्छ, संगठनबाट नीतिमा पुग्नुपर्छ, नीतिबाट जनताको जीवनमा देखिनुपर्छ। त्यसैले कांग्रेसको आजको मुख्य विषय सक्षम नेतृत्व र सामयिक नीतिको हो।
त्यसपछि मात्र संकट सम्भावनामा बदलिन्छ। र त्यही सम्भावनाबाट कांग्रेस फेरि राष्ट्रिय राजनीतिको प्रभावशाली शक्ति बन्ने बाटो निर्माण हुन सक्छ। कांग्रेसको अगाडि अहिले संकट छ। तर सम्भावनाको ढोका पनि त्यति नै खुला छ। इतिहासले सिकाएको एउटा कुरा के हो भने संकटबाट भागेर पार्टी जोगिँदैन।
संकटलाई आत्मसमीक्षा, सुधार र पुनर्निर्माणको अवसरमा बदलेर मात्र पार्टीले नयाँ जीवन पाउँछ। कांग्रेसका प्रत्येक तहका कार्यकर्ता र महाधिवेशन प्रतिनिधिको लोकतान्त्रिक निर्णयमा यो निर्भर छ। असहमतिका बीच पनि संवाद, सहमति र लोकतान्त्रिक प्रतिस्पर्धाको बाटो सधैँ खुला राखिनुपर्छ।
यदि १५औँ महाधिवेशनले भविष्यको कांग्रेस बनाउने प्रश्नको उत्तर संगठनात्मक सुधार, स्पष्ट विचार, समसामयिक नीति, आन्तरिक लोकतन्त्र र जनतासँगको पुनः सम्बन्धमार्फत दिन सक्यो भने अहिलेको संकट कांग्रेसका लागि विभाजनको सङ्केत होइन, पुनर्निर्माणको प्रारम्भ बन्न सक्छ। १५औँ महाधिवेशन कांग्रेसका लागि त्यही परीक्षाको घडी हो।
प्रतिक्रिया 4