१९ असोज, काठमाडौं । खुलामञ्चबारे प्रधानमन्त्री बालेन्द्र शाहको फेसबुक स्टाटसले नेपाली समाजमा खुला बहस सिर्जना गरेको छ । करिब एक दशकदेखि बन्द रहेको खुलामञ्चमा आइतबार कांग्रेस महाधिवेशन उद्घाटन भएसँगै सार्वजनिक सभा सम्मेलनको पुरानो ‘स्पेस’ ब्युँतिएको छ । तर, त्यो मञ्च बन्द र खुला कसले गरेको हो भन्नेमा जस–अपजसको क्रम पनि चलिरहेको छ ।
राणाकालमा सैन्य परेड र राजकीय शक्ति प्रदर्शनका लागि प्रयोग हुने विशाल टुँडिखेलको एउटा भागलाई प्रजातन्त्रवादी अभियन्ताले खुलामञ्चको रुपमा उपयोग गर्न थालेका हुन् । २००७ सालको क्रान्ति सफल भएपछि टुँडिखेलको उत्तर-पूर्वी भाग राजनीतिक सभा र नागरिक संवादको मुख्य केन्द्रका रूपमा रूपान्तरित भयो, जहाँ २००७ फागुन ७ मा राजा त्रिभुवनले प्रजातन्त्र घोषणा गरेका थिए ।
२०१५ सालको आमनिर्वाचनपछि बीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका नीति तथा कार्यक्रम यही मञ्चबाट सार्वजनिक गरिएको थियो । तर २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेर पञ्चायती व्यवस्था लादेपछि यो क्षेत्रलाई कडा निगरानीमा राखियो र टुँडिखेललाई क्रमशः विभिन्न भागमा विभाजन गरियो; त्यही क्रममा सैन्य क्षेत्रबाट अलग भएर उत्तरतर्फको भागमा मात्र ‘खुलामञ्च’ खुम्चियो ।
२०३६ को विद्यार्थी आन्दोलन, २०४६ को प्रजातन्त्र पुनर्बहालीको आन्दोलन हुँदै २०६२/६३ को गणतान्त्रिक आन्दोलनसम्मको साक्षी खुलामञ्च नै हो । लोकतान्त्रिक चेतना र नागरिक विद्रोहको केन्द्रीय मञ्च खुलामञ्च लोकतान्त्रिक व्यवस्थामै बन्द भएको थियो । खासगरी खुलामञ्चसँगै रहेको पुरानो बसपार्कमा बहुतले व्यापारिक भवन बन्न सुरु भएपछि २०७१ देखि खुलामञ्चमै बसपार्क सारिएको थियो ।

बसपार्कसहित खुलामञ्चभित्रै सटर खोलेर बजार पनि सुरु गरिएको थियो । पुरानो बसपार्कमा २९ तले टावर बनाउने ठेक्का पाएको जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले खुलामञ्च अतिक्रमण गरेर सटर भाडामा लगाएको थियो । यसरी खुलामञ्चमा सटर खोलेर भाडा उठाउने स्वच्छन्द बिल्डर्सका मालिक मनोज भेटवालको ‘स्वच्छन्दता’ मा कसैले पनि ‘ब्रेक’ लगाएका थिएन ।
तर २०७४ मा एमालेबाट निर्वाचित मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच यही विषयमा सार्वजनिकरुपमा वादविवाद भएको थियो । अहिले बागमती प्रदेश सभा सदस्य समेत रहेकी खड्गी उपमेयर भएका बेला खुलामञ्च जोगाउन आफू महानगरकै निर्णयको विरुद्धमा आन्दोलित हुनु परेको स्मरण गर्छिन् । उनी भन्छिन्, ‘त्यतिबेलाका मेयरले ५२ वटा सटर बन्दा पनि रोक्नु भएको थिएन, त्यसपछिका मेयर (बालेन)ले पनि पार्किङ स्थल बनाउन खोज्नु भयो ।’
नागरिकस्तरबाट ठूलो विरोध भएपछि अभियन्ताहरूलाई त्यतिबेलाकी उपमेयर खड्गीले साथ दिएकी थिइन् । २०७६ वैशाखमा संघीय सरकारले डोजर चलाएर सटर भत्काएको थियो ।

यद्यपी खुलामञ्च आफ्नै कार्यकालमा खुला भएको शाक्यको दाबी छ । उनी भन्छन्, ‘बहुतले भवन बन्ने भएपछि पुरानो बसपार्क नै खुलामञ्च सारिएको थियो, त्यही बेला वीर अस्पालतको नयाँ भवन बनिरहेको थियो, भुकम्पले भत्काएको दरबार हाइस्कुल पनि बनिरहेको थियो, ती भवनका लागि ल्याइएका निर्माण सामग्री सडकमा राख्न मिलेन । खुलामञ्चमा राखिएको हो । तर ती वीर र दरबार हाइस्कुल भवन बनेपछि खुलामञ्च खालि गरिएको हो ।’
तर अहिलेसम्म किन राजनीतिक कार्यक्रम भएका थिएनन् त भन्ने प्रश्नमा शाक्यको भनाइ छ, ‘त्यो त आयोजकलाई सोध्नुहोला । तर अवरोध थिएन ।’
२०७९ को निर्वाचनमा बालेन्द्र शाह मेयर र सुनिता डंगोल उपमेयर निर्वाचित भए । लगत्तै महानगरले खुलामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ बनाउने विस्तृत परियोजना प्रतिवेदन बनाउने प्रक्रिया अगाडि बढाउने निर्णय गर्यो । त्यस वर्षको कात्तिक २९ मा महानगरको दशौं कार्यपालिका बैठकको गरेको निर्णयको चौतर्फी आलोचना भयो ।
अभियन्ता सुशन वैद्यका अनुसार महानगरको त्यो योजना सफल भएको भए खुलामञ्च, खुलामञ्च रहने थिएन । त्यतिबेला महानगरले नयाँ दिल्लीको चाँदनी चोकमा जस्तो ढलान गरिएको संरचना बनाएर व्यापार गर्न लागेको उनी बताउँछन् ।
‘जुन मेयर आए पनि खुलामञ्चलाई दुहुनो गाई किन बनाउन खोज्छन् मैले बुझ्न सकेको छैन,’ वैद्य भन्छन्, ‘खुलामञ्चलाई जोगाउने काम जनताले गरेका हुन् । त्यसमा अभियन्ता र मिडियाले साथ दिएका थिए ।’
बालेन मेयर भएका बेला काठमाडौं महानगरपालिकाले ‘खेलकुद पूर्वाधारको मर्मत सम्भार, सुधार तथा स्तरोन्नति कार्यक्रम’ अन्तर्गत खुलामञ्चमा दुबो लगाउने, वरिपरि पैदल मार्ग बनाउने, रंगरोगन लगायतका काम गरेको थियो ।
‘दुबो रोप्नु, रंग लगाउनु वा बाटो बनाउनुलाई खुला मञ्च जोगाएको भनिदैन,’ खुलामञ्च जोगाऊ अभियानका एक जना अभियन्ता वैद्य भन्छन् ।
खुलामञ्चको संरक्षणसँगै त्यसको स्पिरिट जोगाउनु पर्नेमा वैद्यको जोड छ । नेपाली कांग्रेसको काठमाडौं महानगरका सभापति समेत रहेका उनी भन्छन्, ‘अहिले पनि रेलिङले बारेर ताला लगाएर राखिएको छ । खुलामञ्च सबैका लागि खुला भए मात्र यसको स्पिरिट जोगिन्छ ।’

‘खुला मञ्च पहिलेदेखि नै राम्रो थियो प्रधानमन्त्रीज्यू, तपाईँले केही रंगरोगन गर्नुभयो । तपाईको रंगीन प्रयासको लागि धन्यवाद,’ जेनजी अभियन्ता माजिद अन्सारीले कमेन्ट गरेका छन् ।
‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्!’ भन्दै प्रधानमन्त्री बालेन शाहले गरेको स्टाटस् कांग्रेस सभापति गगन थापा लक्षित हो भन्ने धेरैको बुझाइ छ । आइतबार पार्टीको १५ औं महाधिवेशनका उद्घाटन सत्रमा थापाले आफूमाथि गरेको टिप्पणीको जवाफ प्रधानमन्त्रीले फेसबुकमार्फत् दिएका हुन् ।
खुलामञ्चमा सभापति थापाको भनाइ थियो, ‘आज नेपालमा यस्ता धेरै खुलामञ्चहरू चाहिएको छ । पहिलो खुलामञ्च कहाँ चाहिएको छ ? पहिलो खुलामञ्च संसदभित्र चाहिएको छ । संसद् खुला छैन । संसद् बन्द छ । जुन संसद्ले जसलाई प्रधानमन्त्री बनायो । प्रधानमन्त्रीको उपस्थिति आफूलाई बनाउने सांसद र नबनाउने सांसदका निम्ति, संसद्को गरिमाका लागि व्यवस्थाका लागि आवश्यक छ । जुनदिनसम्म त्यो ठाउँमा सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति रहन्न त्यो दिनसम्म संसद् खुला भएको हुँदैन । संसद्भित्र खुलामञ्च चाहिएको छ ।’
खुल्लामञ्चसँग जोडिएको सार्वजनिक जग्गा ‘बिक्री’
थापाको भनाइ राष्ट्रिय स्वतन्त्र पार्टीकै १८२ सांसद रहेको संसद्लाई प्रधानमन्त्रीले गरेको वेवास्ताप्रति लक्षित रहेको प्रष्टै छ ।
प्रमुख प्रतिपक्षी दलका सभापतिले आफ्नो महाधिवेशनको मञ्चबाट यस्तो टिप्पणी गर्न मिल्थ्यो ? विश्लेषक नीलाम्बर आचार्य भन्छन्, ‘मिल्थ्यो मात्र होइन गर्नै पर्थ्यो । प्रधानमन्त्रीले संसद्प्रति जवाफदेही नभएको विषयमा विपक्षी दलले नबोले कसले बोल्ने त ? गगनजीले अचाक्ली केही गर्नु भएको छैन । बोल्नै पर्ने कुरा बोल्नु भएको हो ।’
उता सामाजिक सञ्जालमै सञ्चारविद् भानुभक्त आचार्यले कमेन्ट लेखेका छन्, ‘धन्न मार्क जुकरबर्गले फेसबुके चौतारो बनाइदिएका छन् र प्रधानमन्त्री, मन्त्री, सांसद आदि इत्यादीका मनमौजी स्टाटस पढ्न पाइएको छ ।’
प्रतिक्रिया 4