बच्चा जन्मिएपछि उसको हेरचाह कसरी गर्ने, के खुवाउने, कसरी सुरक्षित राख्ने र जीवनका कुरा कसरी सिकाउने ?
यी प्रश्न मानिसका लागि मात्र होइन, जनावरका लागि पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन् । कुनै जनावरले आफ्नो बच्चालाई जन्मिनेबित्तिकै चिसोबाट जोगाउन संघर्ष गर्छन् । कुनैले लामी समय आफैँसँग राखेर खाना खोज्न र खतराबाट बच्न सिकाउँछन् । त कुनैले आफ्ना बच्चाको सुरक्षाका लागि पूरै समूहलाई एकजुट बनाउँछन् ।
जनावरको संसारमा बच्चा हुर्काउने तरिका पनि आ–आफ्नै छन् । उनीहरूको व्यवहारमा माया, धैर्य, सुरक्षा र सिकाइका अनेक उदाहरण भेटिन्छन् । आफ्ना बच्चाको हेरचाह गर्न र उनीहरूलाई हुर्काउन कुन–कुन जनावर माहिर छन् ?
१. पेन्गुइन

पेन्गुइनहरूमा बच्चाको हेरचाहको जिम्मा भालेको हुन्छ । पोथीले एउटा अण्डा पारेपछि खाना खोज्न समुद्रतर्फ जान्छे । त्यसपछि भालेले अण्डालाई आफ्नो खुट्टामाथि राखेर पेटको छालामुनि छोप्दै अत्यधिक चिसोबाट जोगाउँछ ।
चल्ला कोरल्न भालेले लामो समयसम्म खाना नखाई कठोर मौसम सहन्छ । बच्चा निस्किएपछि आमा र बाबु दुवैले पालैपालो खाना खुवाउने र सुरक्षा गर्ने गर्छन् । यसले बच्चा हुर्काउन दुवै अभिभावकको भूमिका महत्त्वपूर्ण हुन सक्छ भन्ने देखाउँछ ।
२. हात्ती

हात्तीले बच्चालाई आमाको माया र समूहको सहयोगमा हुर्काउँछ । हात्तीको बच्चा जन्मिएपछि हिँड्न, खाना खान र वातावरण बुझ्न वयस्क हात्तीहरूको साथ चाहिन्छ ।
आमा मात्र होइन, समूहका अन्य पोथी हात्तीले पनि बच्चाको हेरचाहमा सहयोग गर्न सक्छन् । खतरा महसुस हुँदा उनीहरू बच्चालाई समूहको बीचमा राखेर सुरक्षा गर्छन् ।
बच्चाले आमाको व्यवहार हेरेर खाना खोज्ने, समूहसँग घुलमिल हुने र आफ्नो वरपरको वातावरण बुझ्ने सीप सिक्छ । हात्तीको यो व्यवहारले बच्चाको सुरक्षामा परिवार र समुदायको सहयोग कति महत्त्वपूर्ण हुन्छ भन्ने देखाउँछ ।
३. ब्वाँसो

ब्वाँसोको परिवारमा बच्चा हुर्काउने जिम्मेवारी आमा र बाबु दुवैले सम्हाल्छन् । बच्चा जन्मिएपछि उनीहरूलाई ओडारजस्तो सुरक्षित ठाउँमा राखिन्छ । सुरुमा बच्चाहरू आमाको दूधमा निर्भर हुन्छन् ।
अभिभावकले खाना जुटाउने, बच्चालाई खुवाउने र सम्भावित खतराबाट जोगाउने गर्छन् । बच्चा हुर्कँदै गएपछि खेल्ने, एकअर्कासँग सञ्चार गर्ने र समूहमा मिलेर बस्ने व्यवहार सिक्छन् ।
ब्वाँसोको परिवारमा बच्चाले आफ्ना अभिभावक र समूहका अन्य सदस्यबाट बाँच्न आवश्यक सीप सिक्ने अवसर पाउँछ । यसले बच्चाको विकासमा माया, सुरक्षा र व्यवहारिक सिकाइको महत्त्व देखाउँछ ।
४. ओराङउटान

ओराङउटानका बच्चा हुर्काउन आमाले वर्षौँसम्म समय दिन्छिन् । बच्चा जन्मिएपछि आमाले उसलाई काखमा राख्ने, दूध खुवाउने र सुरक्षित ठाउँमा लैजाने गर्छिन् ।
बच्चाले आफैँ खाना खोज्न र रूखमा चढ्न सक्ने भएपछि पनि आमासँगै बसेर नयाँ सीप सिक्छ । कुन फल खान मिल्छ, कहाँ खाना पाइन्छ र कसरी सुरक्षित रूपमा रूखमा हिँड्ने भन्ने कुरा उसले आमाको व्यवहार हेरेर सिक्छ ।
ओराङउटानका बच्चाले लामो समयसम्म आमाको साथ पाउने भएकाले उनीहरूको विकासमा प्रत्यक्ष सिकाइ र निरन्तर हेरचाहको ठूलो भूमिका हुन्छ । यसले बच्चालाई हुर्काउनु भनेको खाना र सुरक्षा दिनु मात्र नभई जीवनका सीप सिकाउनु पनि हो भन्ने देखाउँछ ।
५. लोखर्के

लोखर्के आकारमा सानो भए पनि बच्चाको हेरचाहमा निकै सतर्क हुन्छ । आमा लोखर्केले रूखको खोक्रो भाग वा सुरक्षित गुँडमा बच्चा जन्माउँछे । बच्चा सुरुमा अत्यन्त कमजोर र आमामै निर्भर हुने भएकाले उसलाई न्यानो राख्ने, दूध खुवाउने र सिकारी जनावरबाट जोगाउने काम आमाले गर्छे ।
गुँडमा खतरा महसुस भएमा केही प्रजातिका लोखर्केले बच्चालाई अर्को सुरक्षित ठाउँमा सार्न सक्छन् । बच्चा ठूलो हुँदै जाँदा उसले वरपरको वातावरण चिन्न र खाना खोज्न सिक्छ । लोखर्केको व्यवहारले बच्चा हुर्काउँदा स–साना जोखिमप्रति सतर्क रहनु, सुरक्षित वातावरण बनाउनु र आवश्यकताअनुसार हेरचाह गर्नु कति महत्त्वपूर्ण हुन्छ भन्ने देखाउँछ ।
प्रतिक्रिया 4