+
+
Shares

मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै तेस्रो दिनसम्मको प्रदर्शनमा केके भए त ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १४:१२

भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र मतदाता नामावलीको ‘स्पेसियल इन्टेन्सिव रिभिजन’ (एसआईआर) मा देखिएका अनियमितताको विरोधमा भारतभर प्रदर्शन तीव्र बनेको छ। अक्टोबर २ (गान्धी जयन्ती) बाट सुरु भएको प्रदर्शन शनिवार र आइतबार गरी लगातार तेस्रो दिन पनि जारी रह्यो। दिल्लीमा प्रहरीको कडा बन्दोबस्त र निषेधाज्ञाका बाबजुद नागरिक, विद्यार्थी सङ्गठन र विपक्षी दलहरू सडकमा उत्रिएका छन्।

आइतबारको ‘सिटिजन्स मार्च’ र नेताहरूको गिरफ्तारी

आइतबार दिल्लीमा सर्वसाधारण, सामाजिक कार्यकर्ता र छात्र सङ्गठनहरूले इन्डिया गेटदेखि जन्तरमन्तरसम्म ‘सिटिजन्स मार्च’ को आयोजना गरे। प्रदर्शनमा उल्लेख्य सङ्ख्यामा मानिसहरू सहभागी भए पनि दिल्ली प्रहरीले कसैलाई पनि निर्धारित प्रदर्शन स्थल जन्तरमन्तर पुग्न दिएन।

मार्चका क्रममा अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा) की अध्यक्ष नेहा बोरासहित कैयौँ नेताहरूलाई प्रहरीले नियन्त्रणमा लियो। नेहा बोराले आफूलाई लैजाने क्रममा प्रहरी वाहनमा एक जना पनि महिला प्रहरी उपस्थित नरहेको आरोप लगाइन्।

प्रदर्शनमा आम आदमी पार्टी (आप) का कार्यकर्ताहरू पनि ठूलो सङ्ख्यामा सहभागी थिए। प्रदर्शनका क्रममा दिल्ली प्रदेश अध्यक्ष सौरभ भारद्वाजलाई प्रहरीले उल्टाएर पक्रेर लगेको थियो। भारद्वाजले सामाजिक सञ्जाल एक्समा एक भिडियो पोस्ट गर्दै भनेका छन्, “यी हावामा झुन्डीएका जुत्ता मेरा हुन्। आज इन्डिया गेटमा दिल्ली प्रहरीले मलाई उल्टो झुन्ड्याइदियो, ताकि क्यामेरामा मेरो अनुहार कैद हुन नपाओस्।”

यस्तै, सामाजिक कार्यकर्ता योगेन्द्र यादवलाई पनि प्रहरीले जन्तरमन्तर जाने क्रममा जबरजस्ती हिरासतमा लियो। योगेन्द्र यादवले भने, “सिटिजन्स मार्चका क्रममा आज पनि निर्धारित प्रदर्शन स्थल जन्तरमन्तरतर्फ जाँदै गर्दा प्रहरीले जबरजस्ती हिरासतमा लियो। यो केवल एक दिनको प्रतीकात्मक विरोध मात्र होइन, बल्कि यो यस्तो सिलसिला हो जुन ज्ञानेश कुमार नहटुञ्जेल जारी रहनेछ।”

आइतबार साँझ युथ काङ्ग्रेसका कार्यकर्ताहरूले पनि जन्तरमन्तर मार्गमा धर्ना दिँदै प्रदर्शन गरे। युथ काङ्ग्रेसले एक्समा पोस्ट गर्दै लेखेको छ, “जन्तरमन्तरलाई फेरि जनतालाई सुम्पन र ज्ञानेश कुमारको गिरफ्तारीको माग गर्दै जन्तरमन्तर मार्गमा धर्नामा बसेका छौँ।”

शनिबार महिला पत्रकार र प्रदर्शनकारीमाथि दुर्व्यवहारको आरोप

शनिबार पनि दिल्ली प्रहरीले जन्तरमन्तर जान खोज्ने प्रदर्शनकारीहरूलाई केराला हाउस नजिकै रोकेर हिरासतमा लिएको थियो। प्रदर्शनमा आइसा कार्यकर्ताका साथै वरिष्ठ अधिवक्ता कपिल सिब्बल, प्रशान्त भूषण र योगेन्द्र यादव जस्ता हस्तीहरू सहभागी थिए।

सो क्रममा आइसा अध्यक्ष नेहा बोराले महिला प्रहरीले कुहिनोले हानेर र नङले चिथोरेर चोट पुर्‍याएको आरोप लगाइन्। यसका साथै, दुई जना महिला पत्रकार र एक प्रदर्शनकारी युवतीले प्रहरी अधिकारीहरूमाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लगाएका छन्।

एक महिला पत्रकारका अनुसार आइसा अध्यक्षलाई नियन्त्रणमा लिने क्रममा एसिपी विवेक भगतले आफ्नो छातीमा हात हालेर धक्का दिएका थिए। घटनाको विरोधमा शनिबार र आइतबार पत्रकारहरूले पार्लियामेन्ट स्ट्रिट प्रहरी कार्यालय बाहिर प्रदर्शन गरेका छन्।

मुम्बईमा ‘गर्जना मोर्चा’ र बलिउडको समर्थन

ज्ञानेश कुमारको राजीनामाको माग दिल्लीमा मात्र सीमित नरहेर मुम्बईमा पनि चर्किएको छ। आइतबार उद्धव ठाकरेको शिवसेना र राज ठाकरेको महाराष्ट्र नवनिर्माण सेनाले संयुक्त रूपमा ‘विराट गर्जना मोर्चा’ को आयोजना गरे। यस ऐतिहासिक मार्चमा उद्धव ठाकरे र राज ठाकरे स्वयं सहभागी भएका थिए।

यसअघि अक्टोबर २मा ‘द इन्डियन एक्सप्रेस’ को खोजमूलक रिपोर्टपछि ककरोच जनता पार्टी (सीजेपी) ले मुम्बईको शिवाजी पार्कमा प्रदर्शन गरेको थियो। प्रहरीले अनुमति नदिए पनि हजारौँ मानिसहरू भेला भएका थिए।

सिजेपीका संस्थापक अभिजित दीपकेले सरकारको यति अक्षमताका कारण दुई महिनामा दोस्रो पटक प्रदर्शन गर्नुपरेको बताएका थिए । डा. बाबासाहेब अम्बेडकर र नेहरूले दिएको भोट हाल्ने दिएको अधिकारलाई सरकारको हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताएका थिए ।

मुम्बईको प्रदर्शनमा बलिउड अभिनेता नसिरुद्दीन शाह, अभिनेत्री शबाना आज्मी र सङ्गीतकार विशाल ददलानी जस्ता चर्चित व्यक्तित्वहरू पनि ऐक्यबद्धता जनाउन पुगेका थिए।

निर्वाचन आयोगको बचाउ र नयाँ अभियान

चारैतिरबाट विरोध चर्किएपछि निर्वाचन आयोगले शुक्रबार बिहान एक्समार्फत सूचना जारी गर्दै ‘स्पेसियल इन्टेन्सिव रिभिजन’ (एसआईआर) का क्रममा छुटेका नामहरू समावेश गर्न विशेष अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।

आयोगका अनुसार यो अभियानअन्तर्गत बुथ लेभल अफिसर (बीएलओ) हरू घर-घर पुग्नेछन्, युवा मतदातालाई प्राथमिकता दिइनेछ र बुथ स्तरमा विशेष शिविरहरू आयोजना गरी फारम-६ भर्न लगाइनेछ। तर, आन्दोलनकारीहरूले भने मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन्। (बीबीसी हिन्दीको रिपोर्टमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?