+
+
Shares

मुख्य निर्वाचन अधिकृतको राजीनामा माग्दै गान्धी जयन्तीको दिन जन्तरमन्तरमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १७:२६

गान्धी जयन्ती अर्थात् अक्टोबर २ का दिन दिल्लीको जन्तरमन्तरमा छात्र सङ्गठन तथा सामाजिक कार्यकर्ताहरूले विशाल प्रदर्शनको आह्वान गरेका छन्। निर्वाचन आयोगको कार्यशैली र मतदाता नामावली अध्यावधिक तथा ‘स्पेसियल इन्टेन्सिव रिभिजन’ (एसआईआर) प्रक्रियालाई लिएर असन्तुष्टि जनाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरिएको हो।

यो प्रदर्शनको आह्वान अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा), स्टुडेन्ट्स फेडरेसन अफ इन्डिया (एसफआई) र डेमोक्रेटिक युथ फेडरेसन अफ इन्डिया (डीवाईएफआई) ले गरेका हुन्।

प्रदर्शनको आह्वान गरिए तापनि दिल्ली पुलिसले जन्तरमन्तरमा आयोजना गर्न लागिएको यो मार्चलाई अनुमति दिएको छैन। अनुमति नभए पनि सङ्गठनहरूले जम्मा हुने योजना बनाएपछि पुलिसले जन्तरमन्तर जाने सडकहरूमा ब्यारिकेड लगाएर कडा सुरक्षा व्यवस्था मिलाएको छ।

नयाँ दिल्लीका डीसीपीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भनेका छन्, ‘नयाँ दिल्ली जिल्लामा सार्वजनिक सुरक्षा, कानुन-व्यवस्था र यातायातको सुचारु आवतजावत सुनिश्चित गर्न भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस), २०२३ को धारा १६३ लागू गरिएको छ। यसअन्तर्गत अनुमति बिना मानिसहरू भेला हुन, सार्वजनिक भाषण दिन, नारा लगाउन, जुलुस निकाल्न, प्रदर्शन वा धरना दिन र आदेशमा उल्लेखित अन्य गतिविधिहरू गर्न प्रतिबन्ध लगाइएको छ।’

प्रदर्शनलाई नियन्त्रणमा लिन चालिएका कदमहरूको सर्वत्र आलोचना भइरहेको छ। सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता तथा अभियन्ता प्रशान्त भुषणले दिल्ली पुलिसको कदमको तीव्र आलोचना गर्दै एक्समा लेखेका छन्, ‘मोदी/शाहको आदेशमा दिल्ली पुलिसले जन्तरमन्तरको प्रदर्शन रोक्न मध्य दिल्लीलाई पूर्ण रूपमा बन्द गरिदिएको छ। ११ वटा मेट्रो स्टेशन बन्द गरिएका छन्, निषेधाज्ञा लागू गरिएको छ र इन्टरनेटसमेत बन्द गरिएको छ! पुलिसले जन्तरमन्तरलाई घेरेको छ र त्यहाँ मानिसहरूलाई नियन्त्रणमा लिइँदै छ। सांसद मनोज झालाई पनि हिरासतमा लिइएको छ।’

भुषणले थप आक्रोश व्यक्त गर्दै लेखेका छन्, ‘त्यो पनि गान्धी जयन्तीको दिन! मानिसहरूको आक्रोश अझै बढ्नेछ र धेरै मानिसहरू सडकमा उत्रिनेछन् भन्ने कुरा मोदी/शाहले बुझेका छैनन्। उनीहरूले कति मानिसलाई प्रदर्शन गर्नबाट रोक्न सक्छन् र कतिलाई हिरासतमा लिन सक्छन्? अन्ततः उनीहरू यो स्थिति सम्हाल्न असमर्थ हुनेछन्!’

यसैबिच, दिल्ली मेट्रोले जनपथ, पटेल चौक, केन्द्रीय सचिवालय, राजीव चौक, सेवा तीर्थ, मन्डी हाउस, लोक कल्याण मार्ग, आईएनए, चावडी बजार, रामकृष्ण आश्रम मार्ग र नयाँ दिल्ली स्टेशनहरूमा यात्रुको प्रवेश र निकास बन्द गरिएको जनाएको छ। तर, राजीव चौक, मन्डी हाउस, नयाँ दिल्ली र केन्द्रीय सचिवालय स्टेशनहरूमा ट्रेन परिर्वतन (इन्टरचेन्ज) गर्ने सुविधा भने खुला राखिएको छ।

यता मुम्बईमा पनि ‘ककरोच जनता पार्टी’ (सीजेपी) का संस्थापक अभिजित दीपकेले अक्टोबर २ का दिन दिउँसो ४ बजे शिवाजी पार्कमा ‘जेल भरो आन्दोलन’ गर्ने घोषणा गरेका छन्। मुम्बई पुलिसले ज्ञानेश कुमार विरुद्धको प्रदर्शनलाई अनुमति नदिएपछि दीपकेले जेल भरो आन्दोलनको घोषणा गरेका हुन्।

यद्यपि, मुम्बई पुलिसले सन् २०१३ को बम्बे हाइकोर्टको आदेश अनुसार शिवाजी पार्क ‘साइलेन्स जोन’ भएकाले त्यहाँ कुनै पनि सभा-समारोहको अनुमति दिन नसकिने स्पष्ट पारेको छ।

प्रदर्शनलाई आम आदमी पार्टी (आप) ले पनि पूर्ण समर्थन गरेको छ। आम आदमी पार्टीकी विधायक तथा दिल्लीकी पूर्व मुख्यमन्त्री आतिशीले जनतालाई प्रदर्शनमा सहभागी हुन अपिल गरेकी छन्।

आतिशीले एक भिडियो सन्देश जारी गर्दै भनेकी छन्, ‘सन् १९४७ मा भारत स्वतन्त्र हुँदा हामीले पाएको सबैभन्दा महत्त्वपूर्ण अधिकार भोट हाल्ने अधिकार थियो। हामी कसको सरकार बन्नेछ भन्ने तय गर्न सक्थ्यौँ र आफ्ना प्रतिनिधि चुन्न सक्थ्यौँ। तर आज बीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारमार्फत हामीबाट यो अधिकार खोस्ने प्रयास गरिरहेको छ। यदि भोट हाल्ने अधिकार खतरामा छ भने हाम्रो लोकतन्त्र खतरामा छ। त्यसैले म तपाईँहरू सबैलाई आफ्नो भोटको अधिकार रक्षाका लागि भोलि, अक्टोबर २ बिहान १० बजे जन्तरमन्तर पुग्न अपिल गर्दछु।’

यस्तै, आप सांसद सञ्जय सिङले पनि एसआईआरको नाममा मतदाता नामावलीबाट १ करोड ३७ लाख नाम हटाइएको आरोप लगाउँदै सर्वसाधारणलाई जन्तरमन्तर पुगेर विरोधमा उत्रन आह्वान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?