+
+
Shares

खुलामञ्चमा कांग्रेसको उत्साह, सौम्य उद्घाटन

कोही खुलामञ्चमा विमर्श गरिरहेका थिए, अब कांग्रेसको नीति र नेतृत्व कस्तो होला ? सँगै निवर्तमान सभापति शेरबहादुर देउवाको खोजी पनि कार्यकर्ताले गरिरहेकै थिए ।

दिनेश गौतम दिनेश गौतम
२०८३ असोज १८ गते २१:१२

१८ असोज, काठमाडौं । खुलामञ्चमा आइतबार नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उत्साह थियो तर तडकभडक देखिएन । सौम्य उद्घाटन सत्र चल्यो । मञ्च डिजिटलाइज थियो । तर, चारतारे झण्डा भने फर्फराइरहेका थिए । पञ्चेबाजा बजाएर नेता, कार्यकर्ता र पाहुनालाई कांग्रेसले स्वागत गर्‍यो ।

अघिल्ला महाधिवेशनहरूमा चोक–चोकका गेट हुन्थे । पर्चा–पम्प्लेटले रंगिएको हुन्थ्यो । यसपटक महाधिवेशनस्थलमै असरल्ल ब्यानर देखिएन । ‘बाढीले देश संकटमा छ । त्यसैले  शान्त महाधिवेशन गरेका हौँ,’ नेताहरू भनिरहेका थिए ।

एक दशकअघि कांग्रेसले यही खुलामञ्मा सभा गरेको थियो । त्यसपछि बन्द भएको मञ्चको ढोका कांग्रेस महाधिवेशनले खोल्यो । खुलामञ्च भरिभराउ थियो । देश तथा प्रवासबाट प्रतनिधि भेला भएका थिए । कांग्रेसका अनुसार प्रतिनिधि नै ७ हजार बढी छन् । कोही भने नेताको भाषण सुन्न आएका थिए ।

कोही खुलामञ्चमा विमर्श गरिरहेका थिए, अब कांग्रेसको नीति र नेतृत्व कस्तो होला ? साथै, निवर्तमान सभापति शेरबहादुर देउवाको खोजी पनि कार्यकर्ताले गरिरहेकै थिए । पहिले र अहिलेको कांग्रेसको समीक्षा गरिरहेका थिए, प्रतिनिधिहरू ।

त्यही भीडमा थिइन् चितवनबाट आएकी शारदा देवी गुरुङ (७८) । उनी २०१७ सालदेखि नै कांग्रेसमा आबद्ध भएकी थिइन् । ‘जिन्दगीभर कांग्रेसको झोला बोकेँ । कपाल फुल्यो । १७ सालदेखि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा पार्टीमा मेरो घर, माइती, मावलीले कांग्रेसमा रगत बगाएको छ । यसपटकदेखि विश्राम लिएँ । बहिनीहरूलाई प्रतिनिधि बनाएर ल्याएको छु,’ उनी पुस्तान्तरणको मुद्दा बोकेर महाधिवेशनमा आएकी छिन् ।

उनीजस्तै पुस्तान्तरण र युवा प्रतिनिधित्वको आवाज बोकेर महाधिवेशनस्थलमा आइपुगेका यसपटक धेरै भेटिए ।

तर, पार्टीमा गुटको राजनीतिले घाटा भएको निष्कर्ष सुनाउँदै उनले भनिन्, ‘गुटले कांग्रेसलाई घाटा भयो । हामीलाई कहिले हँसिया हथौडामा भोट हाल्नु भन्ने, कहिले हलोमा भोट हाल्नु भन्ने गर्नुभयो नेताहरूले । तर हामी चार तारे र रुख चिन्ह जहाँ छ त्यहीँ छौं । अब कांग्रेस दुई ग्रुप होइन । एउटै ठाउँमा आएको देखेर पाएर मर्न पाए सन्तोष हुन्थ्यो ।’

बदलिएको कांग्रेस बनेको हेर्ने चाहना उनको छ । ‘अब हिजोको कांग्रेस होइन, अहिले बदलिएको कांग्रेसले गर्नुपर्छ भन्ने आशा र भरोसामा छु,’ उनले भनिन् ।

महाधिवेशनमा १८ वर्षका युवादेखि ज्येष्ठ नागरिसम्मको उपस्थिति थियो । तर, यसपटकको महाधिवेशनमा युवाको उपस्थितिले कांग्रेस ‘बदलिएको’ चर्चा पनि केही सुनिन्थ्यो ।

तीमध्येको एक थिइन्, १८ वर्षकी अभिप्सा पौडेल । उनी कांग्रेस महाधिवेशनकै कान्छी प्रतनिधि हुन् ।

उनी अघिल्लो पुस्ताबाट निराश भएर आफैं राजनीतिमा होमिएको बताउँछिन् । ‘१८ वर्षको पनि राजनीतिमा आउँदै छ, कांग्रेस सुध्रिएको सन्देश यो महाधिवेशनले दिएको छ,’ उनले भनिन्, ‘१५औँ महाधिवेशनपछि कांग्रेस शक्ति केन्द्रित भन्दा पनि जनता केन्द्रित हुन्छ ।’

कर्णाली प्रदेशको दैलेखबाट आएका हुन्, नरसिंह मल्ल (७०) । कांग्रेस शहीदका छोरा रहेका उनी २०३५ सालदेखि कांग्रेसमा लागेका हुन् । तर यसपटक युवालाई नेतृत्व हस्तान्तरण गर्न आएको उनी बताउँछन् । ‘वृद्धलाई सम्मान, युवालाई मतदान गर्न आएको हुँ,’ उनले भने, ‘बहुदलपछि विकास त भयो तर व्यक्तिवादी भयो । अब १५ औँ महाधिवेशनले सहि नेता र नेतृत्व चयन गर्छ ।’

महाधिवेशनमा पूर्व सभापति देउवा नआएकोमा पनि केही कार्यकर्ताहरू असन्तुष्टि पोखिरहेका थिए ।

पार्टीभित्रको विवाद पनि स्थानीय तहको चुनावसम्म सुल्झने विश्वास उनीहरूको थियो ।

‘कांग्रेसमा दाजुभाइको झगडा चलेको छ । स्थानीय तहको चुनावसम्म झगडा रहँदैन,’ कांग्रेस नेतासमेत रहेका ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले भने ।

तर प्रतिनधिहरू एकताको सन्देश लिएर फर्किन चाहन्छन् । ‘धेरै उत्साहित छु । पहिल जे भया भयो ।  अब नयाँ उर्जा आएको छ । पार्टी नयाँ तरिकाले काम हुन्छ,’ रौतहटबाट आएका महोमद हारुण रसिदले भने, ‘एकताको सन्देश लिएर घर फर्किन्छु ।’

काठमाडौं–५ बाट प्रतिनिधि भएर आएकी रजनी थापा पहिलो पटक कांग्रेस महाधिवेशन प्रतिनिधि भएर आएकी थिइन् । ‘पहिलो पटक प्रतनिधि भएर आएकोमा उत्साहित छु । केन्द्रीय सदस्यमा उम्मेदवारी दिन्छु,’ उनले भनिन्, ‘युवाको सहभागिताले महाधिवेशनमा उत्साह थपिएको छ ।’

सिन्धुलीबाट प्रतनिधि भएर आएका मुकेश घिमिरे रुपान्तरण र पुस्तान्तरणको मुद्दा लिएर आएका छन् ।

‘जेनजी आन्दोलनपछि कांग्रेसमा पनि विद्रोह भयो । विशेष महाधिवेशनबाट सुधारिएको छ । १५ औँ महाधिवेशनले रुपान्तरणलाई निरन्तरता दिन्छ,’ उनले भने ।

कांग्रेसले पहिलो नयाँ पुस्ताको सहभागितको लागि ३५ वर्ष मुनिको केन्द्रीय सदस्यमा २१ जनाको कोटा नै राखेका कारण युवा उत्साहित देखिए ।

‘कांग्रेसले ३५ वर्षमनिको कोटा छुट्टाएको छ । यसले आकर्षण बढाएको छ,’ सिन्धुलीकी चेतना प्याकुरेलले भनिन्, ‘महाधिवेशनमा उत्साहसँगै जिम्मेवारीको पनि बोध भएको छ ।’ खुलामञ्मा भेटिएका अधिकांक प्रतिनिधिले कांग्रेसको अबको नेतृत्वबारे खुलेरै आफ्नो धारणा राखे । अधिकांशले कांग्रेस सभापतिमा गगन थापाले नै निरन्तरता पाउने धरणा राखे । ‘न्यायको युग भनेको गगनको युग हो । उहाँको विकल्प छैन,’ अभिप्सा पौडेलले भनिन् ।

भिडियो कमल प्रसाईं/अनलाइनखबर

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?