१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित १३ जना पदाधिकारीमध्ये १५औं महाधिवेशनमा ९ सहभागी भएका छन् । चार जना भने छुट्न पुगे ।
१४औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो चरणको निर्वाचनबाट निर्वाचित भएका थिए । पहिलो चरणकै निर्वाचनबाट उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका थिए ।
त्यसबेला महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भए । सहमहामन्त्री फरमुल्लाह मन्सुर, जीवन परियार, डिला संग्रौला, महेन्द्र यादव, बद्री प्रसाद पाण्डे, किशोरसिंह राठौर, उमाकान्त चौधरी र भीष्मराज आङ्देम्बे निर्वाचित भएका थिए ।
कांग्रेसको १४ औं महाधिवशनबाट निर्वाचित पदाधिकारीले पूरै कार्यकाल पूरा गरेनन् । २३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनपछि मुलुकको राजनीति नयाँ दिशामा अगाडि बढ्यो । राजनीतिक दलहरूभित्र रुपान्तरण र पुस्तान्तरणको बहस चल्यो ।
कांग्रेसका तत्कालीन महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनको पहल लिए । २०८२ साल २७ पुस गतेदेखि १ माघसम्म काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन भयो र उक्त विशेष महाधिवेशनबाट गगन थापा सभापति भए ।
कांग्रेसको विधानमा सभापति एक, उपसभापति र महामन्त्री दुई/दुई, आठ क्लस्टरबाट आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ । केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुनेगरी सभापतिले कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान छ ।
विशेष महाधिवेशनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका थिए । सहमहामन्त्रीमा डिला संग्रौला पन्त, प्रकाश रसाइली स्नेही, बहादुर सिंह लामा, उदय शम्शेर राणा, मुक्ता कुमारी यादव, फर्मुल्ला मन्सुर, योगेन्द्र चौधरी र कर्ण बहादुर बुढा निर्वाचित भएका थिए ।
पदाधिकारी संख्या भने विशेष महाधिवेशनले बढायो । १४ पदाधिकारीमा तीन जना थपेर १७ पुर्याइएको थियो । थपिएका पदाधिकारीमा सभापतिले मनोनयन गर्ने तीन सहमहामन्त्री हुन् ।
१५ औं महाधिवशनमा विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहितको सिंगो टिम छँदैछ । १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको ठूलो हिस्सा पनि छ । तर केही पदाधिकारी भने छुटे ।
१४ औं महाधिवशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नै १५ औं महाधिवेशनमा छुटेका छन् । देउवा समानान्तर रूपमा अर्को महाधिवेशनको तयारीमा छन् । आफैं अर्को महाधिवेशनको तयारीमा रहेका इतर पक्षीय नेता आइतबारको उद्घाटन सभामा उपस्थित हुने कुरै भएन ।
कांग्रेस सभापति थापाका अनुसार, पूर्वसभापति देउवालाई महाधिवेशनको मञ्चमा कुर्सी राखिएको थियो ।
‘केही साथीहरू रिसाउनुभएको छ । असन्तुष्ट हुनुभएको छ । कार्यक्रम (महाधिवेशन)मा आउनुभएको छैन’ कांग्रेस महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै सभापति थापाले भनेका छन्, ‘यहाँबाट फर्किएर गएपछि कसैले सोध्यो भने भनिदिनुहोला– हामीले आज (महाधिवेशन उद्घाटनको दिन मञ्चमा) कुर्सी खाली राखेका थियौं ।’

सभापति थापाका अनुसार, पूर्वसभापति थापा महाधिवेशनको उद्घाटनमा उपस्थित हुने अपेक्षा थियो ।
सभापति थापाले भनेका छन्, ‘आदरणीय शेरबहादुर दाई आउनुहुन्छ भन्ने अपेक्षा थियो । तर केही छैन । यसका बारेमा पनि गुनासो केही छैन । कसैले शेरबहादुर दाईको मान राख्यो कि राखेन भने कसैले सोध्यो भने भनिदिनुहोला– शेरबहादुर दाइको मान राख्ने भनेर उहाँको ढोकामा एक दिनमा कति पटक गएर कतिपटक सलामी दियो भन्ने कुराले मान रहने होइन ।’
शेरबहादुर देउवाले काम गरेको पार्टीलाई अग्लो बनाउने काम नयाँ नेतृत्वबाट भयो वा भएन भन्ने विषयले मानको स्तर निर्धारण गर्ने सभापति थापाको बुझाइ छ । पार्टीलाई अग्लो र मान राख्नेगरी काम गर्ने प्रतिबद्धता पनि उनले राखे ।
शेरबहादुर देउवा कांग्रेसमा पछिल्ला दुई महाधिवेशनबाट निर्वाचित सभापति हुन् । पाँच पटकसम्म प्रधानमन्त्री भएर मुलुकको नेतृत्व गरे । कांग्रेसभित्र पनि लामो समयदेखि शीर्ष तहमा रहेर नेतृत्व लिएका नेता हुन् ।
विशेष महाधिवेशनबाट अर्को पुस्ताले नेतृत्व लिएपछि उनले नयाँधारलाई स्वीकार गरेका छैनन् । देउवासँगै १४ औं महाधिवेशनबाट निर्वाचित अरू केही पदाधिकारी पनि १५ औं महाधिवेशनमा छुटे ।
१४ औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का १५ औं महाधिवेशनमा गएनन् । सुरुमा देउवा समूहकै नेतृत्व गरिरहेका उनी पछिल्लो समय भने देउवा र थापाका दुवै पक्षमा प्रष्ट खुलेका छैनन् ।
सुर्खेतबाट ६ पटक सांसद निर्वाचित भएका खड्काले उपप्रधानमन्त्रीसम्म भएर काम गरे । पछिलो समय सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्थाका कारण खड्काले नै पार्टीमा कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

तर, पछिल्लो समय नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र महाधिवेशनको समयमा भने उनी मौन रहे । लामो समय देउवालाई साथ दिएको भए पनि हाल देउवा समूहको समानान्तर गतिविधिमा पनि सक्रिय छैनन् ।
१४ औं महाधिवेशनबाट निर्वाचित सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र उमाकान्त चौधरी पनि १५ औं महाधिवेशनमा देखिएनन् ।
पाण्डे नेता शेखर कोइराला पक्षधर हुन् । उनी १५ औं महाधिवेशनमा खुलेका छैनन् । पाण्डे आफैंमा पनि लामो राजनीतिक अनुभव भएका नेता हुन् । २०४९ मा बाल्मिकी क्याम्पसमा नेविसंघ इकाई सचिव हुँदै राजनीतिमा जोडिएका उनी २०७० मा समानुुपातिक प्रणालीतर्फबाट संविधान सभा सदस्य भए । २०७४ मा राष्ट्रिय सभा सदस्य थिए । २०७९ मा प्रतिनिधिसभा सदस्यको चुनाव जितेका थिए । पछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएर काम गरे ।
पार्टी राजनीतिमा २०६७ र २०७२ सालमा दुई पटक कांग्रेस केन्द्रीय सदस्य भए । २०७८ मा भएको १४औं महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री निर्वाचित भएका थिए । तर १५ औं महाधिवेशनमा देखिएनन् ।
१४ औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित उमाकान्त चौधरी पनि १५ औं महाधिवेशनमा देखिएनन् । चौधरी नेता कृष्णप्रसाद सिटौला निकट मानिन्छन् । सिटौला शेरबहादुर देउवा पक्षको महाधिवेशनमा रहेकोले चौधरी पनि गगन थापाले नेतृत्व गरिरहेको कांग्रेसको पक्षमा खुलेनन् ।
चौधरी लामो राजनीतिक यात्रा पार गर्दै आएका नेता हुन् । २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा जोडिएका उनले संसदीय जिम्मेवारी र कार्यकारी जिम्मेवारी दुवै निर्वाह गरेका छन् ।
२०५६ सालमै बारा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०५९ सालमा सहायकमन्त्रीका रुपमा कृषि तथा सहकारी मन्त्रालयमा रहे । २०६४ मा बारा ५ बाट संविधानसभा सदस्यको चुनाव जिते । त्यसपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भए । २०७४ मा बारा १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भए । २०७८ सालमा खानेपानी तथा सरसफाईमन्त्री भए ।
२०७९ को चुनाव जित्न सकेनन् । पार्टीमा कृष्ण सिटौलाको भूमिका खुम्चिएसँगै उनी पनि छायामा पर्दै गए । १४ औं महाधिवेशनबाट सहमहामन्त्री भए । तर विशेष र १५ औं महाधिवेशन दुवैमा सरिक भएनन् ।
प्रतिक्रिया 4