+
+
Shares
कविता चर्चा :

‘धागो’ले समाज र सत्तालाई सोधेको प्रश्न

जीवित खड्का मगरको तेस्रो कविता कृति ‘धागो’ले सामाजिक विसंगति, राजनीतिक अवसरवाद, मानवीय सम्बन्ध र प्रवासी जीवनका अनुभूतिलाई विभिन्न बिम्ब र प्रतीकमार्फत प्रस्तुत गरेको छ।  

शिव पलाँस शिव पलाँस
२०८३ असोज २४ गते ९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जीवित खड्का मगरको तेस्रो कविता कृति ‘धागो’ हालसालै बजारमा आएको छ, जसमा ४० कविता समेटिएका छन्।
  • समीक्षकले ‘धागो’मा सामाजिक, राजनीतिक, धार्मिक, भौगोलिक र जातिगत विखण्डनलाई सहअस्तित्व र सद्भावको धागोले बाँध्ने भाव भेटिएको बताएका छन्।
  • कविता संग्रहमा ‘हिउँको आगो’ र ‘जेल बाहिरको जेल’ जस्ता कविताले राजनीतिक अस्थिरता, पर्यावरणीय चिन्ता र परदेशी जीवनको मनोभावना चित्रण गरेका छन्।

कवितालाई परिभाषाको धागोमा बाँध्न सजिलो छैन। कवितालाई कविताकै रूपमा लेखिनु र कविताकै रूपमा ग्रहण गरिनुपर्दछ भन्ने लाग्दछ। कविताले के भाव सम्प्रेषण गर्न खोजेको हो भन्ने कुराले धेरै अर्थ राख्छ। विचारलाई कवितामा कसरी अभिव्यक्त गर्ने भन्ने विषयमा पनि कविका आफ्नै-आफ्नै तरिका हुन्छन्। शिल्प, शैली र बिम्बहरूमाथि खेल्ने आफ्नै-आफ्नै ज्ञान र कौशल हुन्छन्। त्यसैले भन्ने गरिन्छ, विचार र कलाको मात्रा मिलाएर कविता पस्किने कुरा कठिन छ।

कविता गणित होइन, विज्ञान होइन। आधुनिक कविता लेख्ने कुनै खास नियम र संरचना छैन। कवितामाथि कसी लगाउन पनि सजिलो छैन। कसैलाई अब्बल लागेको कविता कसैलाई औसत मात्रै पनि लाग्न सक्छ। कविताले कुनै प्रश्नको ठ्याक्कै उत्तर भन्दैन। अप्रत्यक्ष संकेत मात्र गर्छ।

फेरि कविता सधैं एउटै समय, परिवेश र विषयमा मात्रै अल्झिएर पनि बस्दैन। हिजोका कविता र आजका कविताका सर्जक र पाठक पनि एकै होइनन्। समाज, समस्या, संस्कृति, मूल्य-मान्यता र राजनीति पनि उही होइनन्।

भारत, सिलिगुडीका कवि राजा पुनियानीको सक्रियतामा बुक आन्ट पब्लिकेसनले हालसालै बजारमा ल्याएको जीवित खड्का मगरको कविता संग्रह ‘धागो’ पढेर सकें। त्यसो त कवि जीवित कवि मात्रै होइनन्, उनी चित्रकला र संगीतमा समेत रुचि र ज्ञान भएका व्यक्ति हुन्।

कुनै बेला संगीतलाई उनले जनजागरणको माध्यमका रूपमा पनि प्रयोग गरे। रोजगारीका क्रममा अहिले मरुभूमिको देशमा पुगेका उनी बगरमै बसेर पनि लहलह कविता फलाइरहेकै छन्। सामाजिक विसंगति र राजनीतिक अवसरवादतिर फर्किएर निर्भीक रूपमा खबरदारी गरिरहेकै छन्। परदेशीको लोक चौतारीमा बसेर लोकको लयमा लयसमेत मिलाइरहेकै छन्।

जीवित खड्का माझिएका कवि हुन्। त्यसो त उनी चाहे जसरी कविता र चित्रकलाको अध्ययन एवं साधना गर्न सकेको छैन भन्छन्। यसलाई उनले अध्ययन र साधना नपुगेको भन्नुभन्दा पनि कला र लेखनलाई गम्भीरतापूर्वक लिएका छन् भनेर बुझ्न जाती हुन्छ। ‘धागो’ उनको तेस्रो कविता कृति हो। यसभन्दा अगावै उनका ‘अनुभूतिका चर्चाहरू’ र ‘ईश्वरको खेती’ गरी दुई कविता संग्रह सार्वजनिक छन्।

कवि जीवितको लेखनको विशेषता के हो भने उनी विसंगत समाज, समय र सत्तालाई निरन्तर प्रश्न गरिरहने स्रष्टा हुन्। उनका कविताका पात्र साधारण मानिस हुन्छन्। कविताको विषय पनि आम मानिसकै सामाजिक न्याय, राजनीतिक चेतना र मानवीय सम्बन्धबोध नै हुन्छन्। यी र यस्तै खाले विषयलाई प्राकृतिक बिम्ब तथा प्रतीकका माध्यमबाट व्यक्त गर्ने प्रयास नै ‘धागो’ हो भन्दा अतिशयोक्ति हुँदैन।

चालीस थान कविताको अन्तिम नम्बरमा राखिएको कविता, जसको शीर्षकबाट नै कृतिको नामकरण ‘धागो’ राखिएको छ, सुरुमा हेरौं सोही कविता :

फुकाउन खोज्दा खोज्दै हातबाट
धेरै पटक चुँडिएको छ
धागो

प्रत्येकपल्ट
मेरो यही कोसिस रहन्छ
कि अल्झिएको धागोलाई
नचुँडाई फुकाउन सकुँ

म चाहन्नँ
धागोलाई गाँठो पारेर धागोमै जोडुँ

त्यही धागोले स्वेटर बुन्नुछ
जसले सधैं न्यानो दिनेछ।

किताबमाथि धारणा राख्दै दार्जिलिङका वरिष्ठ कवि मनप्रसाद सुब्बाले यथार्थवादी दृष्टिको प्रतिबिम्ब संगालिएका कविता भनेर टिप्पणी गरेका छन् भने समीक्षक राजकुमार बानियाँले चित्र र संगीतको समेत वैविध्य मिसिएका कविताहरू भनेर लेखेका छन्

सतही ढंगले हेर्दा धागोले स्वेटर बुन्ने अर्थ निस्किए पनि प्रस्तुत कवितामा उनले सामाजिक, राजनीतिक, धार्मिक, भौगोलिक तथा जातिगत रूपमा विखण्डित भएको समाजलाई सहअस्तित्व, सहकार्य, करुणा र सद्भावको धागोले बाँधेर मानवीय सम्बन्धमा न्यानोपन ल्याउन जरुरी रहेको भाव सम्प्रेषण गर्न खोजेका छन्। धागोलाई गाँठो पारेर होइन, सहज र निरन्तर रूपमा मानवीय सम्बन्धको व्यवस्थापन हुनुपर्छ भन्ने सूक्ष्म चेतना यो कविताभित्र भेट्न सकिन्छ।

‘हिउँको आगो’ र बहुअर्थ

देशमा
ठूल्ठूला हिउँका बारुदखाना छन्

अहिलेसम्म आगोले नछोएको
कसैगरी हिउँमा आगो
लाग्यो भने

सक्छौ निभाउन
हिउँको आगो ?

माथि उल्लेखित ‘हिउँको आगो’ शीर्षकको कवितामा कविले हिउँको बिम्ब समातेर सगरमाथाको देश र आगोको बिम्ब समातेर देशमा भइरहेको राजनीतिक अस्थिरतालाई इंगित गर्न खोजेका हुन सक्छन्। यसलाई पर्यावरणीय कविताका रूपमा हेर्दा पनि गल्ती हुँदैन भन्ने लाग्छ।

विश्व तापमान वृद्धिले हिमालहरू पग्लिने र हिमताल फुट्ने शृंखलाको साक्षी हामी स्वयं बनेका छौं। हिमाल भत्किने र हिमताल फुट्ने अवस्थामा हिमालको फेदीमा अवस्थित हाम्रो जस्तो देशको अवस्था के हुन्छ भनेर सचेत गराइएको वा चिन्ता व्यक्त गरिएको कविताका रूपमा पनि यसलाई लिन सकिन्छ।

यसरी कवितालाई बहुअर्थमा ग्रहण गर्न सकिने ठाउँ छोड्न सकिन्छ भने त्यो कविता अझै शक्तिशाली मान्ने गरिन्छ।

‘जेल बाहिरको जेल’

जब हरिया
सपनाहरूको हवाईजहाज
एयरपोर्ट ओर्लिन्छ
सबैभन्दा पहिले
मानिसहरूको खुट्टामा जन्जीर लगाउँछ
अनि ओठहरूको मुस्कान झिकेर ओठमा राख्दै
आँखाहरूको दृष्टि आफ्नै आँखामा राख्छ

‘जेल बाहिरको जेल’ नामको प्रस्तुत कविताले ती लाखौं युवायुवतीको मनोभावना प्रतिबिम्बित गर्छ, जो अध्ययन, रोजगारी वा बसाइँका सिलसिलामा संसारका विभिन्न देशमा छरिन पुगेका छन्। जहाँ जसरी रहेको भए पनि देशबाहिर रहनु भनेको एउटा खुला जेलमा रहनु नै हो, किनभने त्यहाँ हामी देशगुनाको भेषअनुसार चल्नुपर्ने हुन्छ।

यी त भए संग्रहका केही प्रतिनिधि कविता। यीबाहेक पनि ‘धागो’ कविता संग्रहमा ‘एउटा घर’, ‘अवसान’, ‘नदी र बूढा रूखहरू’, ‘देउताहरूको सत्ता’, ‘मोहन कोइराला’ अनि ‘बारुद’ जस्ता सशक्त कविताहरू समावेश छन्।

कतिपय कवितामा उनले प्रचलित बिम्बहरू नै प्रयोगमा ल्याएका छन् भने कतिपय कवितामा आफ्नै मौलिक बिम्ब निर्माण गर्ने प्रयास गरेका छन्। दृष्टान्तका रूपमा ‘बारुद’ कवितालाई स्मरण गर्न सकिन्छ।

किताबमाथि धारणा राख्दै दार्जिलिङका वरिष्ठ कवि मनप्रसाद सुब्बाले यथार्थवादी दृष्टिको प्रतिबिम्ब संगालिएका कविता भनेर टिप्पणी गरेका छन् भने समीक्षक राजकुमार बानियाँले चित्र र संगीतको समेत वैविध्य मिसिएका कविताहरू भनेर लेखेका छन्।

कुनै एक कविलाई कुनै अर्को कविसँग तौलिने कुरा मलाई निको लाग्दैन। तथापि, उनकै कतिपय गहिरा कविताको दाँजोमा राजनीतिक विषयवस्तुमा लेखिएका कविताहरू अलि औसत जस्ता लाग्दछन्। कविले त्यही आक्रोश, असन्तुष्टि र पीडालाई पनि सायद अलि नरम र घुमाउरो शैलीमा व्यक्त गर्दा जाती हुन्थ्यो। बिम्ब र प्रतीकले बोलिरहेका बेला कविता प्रभावकारी हुन्छ। तर कविताले आफ्नै निष्कर्ष दोहोर्‍याएर बुझाउन खोज्यो भने अर्थहरू साँघुरिने सम्भावना हुन्छ।

सुन्दर शब्दजालका कविता बुन्ने तर कविता जस्तै जिन्दगी बाँच्ने इमानचाहिँ बोक्न नसक्ने कविहरूको भीडमा जीवित खड्का मगर अपवाद हुन्।

कुर्सी पाए थ्याच्च बसिहाल्थेँ वा पद पाए क्वाप्प खाइहाल्थें भन्ने सस्तो स्वार्थ उनमा लागू हुँदैन र उनी ब्रह्मले देखेको लेख्न र बोल्न पनि डराउँदैनन् भन्ने प्रतीत हुन्छ।

‘धागो’ नपढ्नु भनेको कुनै कविताप्रेमी पाठकले पढ्नलायक कृति छुटाउनु हो भन्न कसैले कन्जुस्याइँ गरिरहनु पर्दैन।

सप्ताहान्त
लेखक
शिव पलाँस

शिव पलाँस कवि तथा गीतकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?