तिमी बगरमा लडिरहेको
एउटा ढुङ्गा थियौ,
तिम्रो न कुनै आकार थियो,
तिम्रो न त कुनै परिचय थियो।
एक दिन कोही अञ्जान मान्छे आयो,
र तिमीलाई टिपेर लग्यो,
तिमीलाई कुट्यो, पिट्यो,
छिनाल्यो, घोट्यो,
र तिम्रो स्वरूप बदलिदियो।
अन्तत:
तिमी एउटा सुन्दर मूर्ति बन्यौ
र त्यही मूर्ति
एक दिन सबैले पुज्ने भगवान बन्यो,
सबैले मान्ने देवता बन्यो।
त्यसपछि,
सबैले तिमीलाई पुज्न थाले,
तिम्रो चरणमा शिर झुकाउन थाले,
जताततै तिम्रै चर्चा हुन थाल्यो,
दुःखमा तिमीलाई पुकार्न थाले,
सुखमा तिमीलाई सम्झिन थाले।
तर तिमी त
त्यही ढुङ्गा थियौ,
बगरमा लडिरहेको ढुङ्गा।
फेरिएको थियो त केवल
मान्छेको आस्था,
मान्छेको सोच,
मान्छेको दृष्टि,
र तिमीलाई हेर्ने
मान्छेको आँखा।
एकपटक आफैंलाई फर्केर हेर त,
तिमीसँगै
त्यही बगरमा लडिरहेका
ती ढुङ्गाहरूलाई।
तिमीसँगै बगरमा
कहिल्यै नचिनिएका,
कहिल्यै नपुजिएका
ती ढुङ्गाहरूलाई।
हिजो जसलाई कुल्चिंदै
मान्छेहरू हिंड्थे,
आज तिनै मान्छेहरू
तिम्रो अगाडि आएर
शिर निहुराउँछन्।
तिम्रो जयजयकार गर्छन्,
फूल चढाउँछन्,
धूप बाल्छन्,
आफ्ना इच्छा सुनाउँछन्।
मलाई सोध्न मन छ,
यो विचित्र लाग्दो आस्था
कसले बनायो?
ढुङ्गामा भगवान् देख्ने मान्छेले
मान्छेमा भगवान्
देख्न किन सकेन?
ढुङ्गाको अगाडि
शिर झुकाउने मान्छे
जातको नाममा
मान्छेलाई विभेद किन गर्छ?
धर्मको नाममा
मन्दिरमा दीप बाल्ने मान्छे
धर्मकै नाममा
मान्छेलाई किन लुट्छ?
शायद
ढुङ्गा कहिल्यै देवता बनेकै थिएन,
देवता त
मान्छेको विश्वासमा बनेको थियो।
तर विडम्बना यही छ,
मान्छेले ढुङ्गालाई
देवता बनाउन त सक्यो,
तर
मान्छेलाई मान्छे बनाउन कसैले सकेन।
आज पनि
बगरमा थुप्रै ढुङ्गाहरू लडिरहेका छन्,
कसैको हातले नछोएका,
कसैको आँखाले नदेखेका।
शायद
तीमध्ये कुनै ढुङ्गा
भोलि फेरि देवता बन्लान् ।
प्रतिक्रिया 4