+
+
Shares

बदलिएको सुर्खेतको घण्टाघर क्षेत्र (तस्वीरहरू)

हेमन्त केसी हेमन्त केसी
२०८३ असोज ३ गते ७:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वीरेन्द्रनगरको घण्टाघर घडी हेर्ने संरचनाबाट घुमफिर, फोटो खिच्ने र भेटघाट गर्ने सार्वजनिक थलोमा रूपान्तरण भएको छ।
  • नगरपालिकाले घण्टाघर क्षेत्रको संरक्षण र विकासमा पर्खाल, पार्क र पूर्वाधारमा लाखौँ रुपैयाँ लगानी गर्दै ‘ग्रेटर घण्टाघर’ योजना अघि सारेको छ।
  • २०७९ मा नयाँ घडी जडान भएपछि करिब १२ वर्षपछि घण्टाघरले फेरि समय देखाउन थालेको छ।

३ असोज, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मध्यभागमा उभिएको घण्टाघर अहिले समय हेर्ने संरचनामा मात्र सीमित छैन ।

सहरको पहिचानसँग जोडिएको यो पुरानो संरचना पछिल्लो समय घुमफिर, फोटो खिच्ने, भेटघाट गर्ने र केही समय विश्राम गर्ने सार्वजनिक थलोका रूपमा विकसित हुँदै गएको छ ।

घण्टाघर आसपास पुगेपछि अहिले घडीभन्दा पहिले मानिसको चहलपहल देखिन्छ । युवा पुस्ता फोटो तथा भिडियो खिच्न पुग्छन् । बालबालिका र ज्येष्ठ नागरिक खुला क्षेत्रमा समय बिताउँछन् ।

विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिका लागि समेत यो क्षेत्र प्रयोग हुन थालेको छ । पछिल्लो समय व्यवस्थित बनाइएको घण्टाघर पार्कमा दैनिक चाप बढिरहेको छ । धेरैले फोटो खिच्न र भिडियो बनाउन घण्टाघर क्षेत्र पुग्ने गर्छन् ।

यसले घण्टाघर बदलिएको संकेत गर्छ । कुनै समय सहरको बीचमा समय बताउने ‘घडी’का रूपमा स्थापित संरचना अहिले वीरेन्द्रनगरको सार्वजनिक जीवनको एउटा हिस्सा बन्न थालेको छ ।

चीन सरकारको सहयोगमा बनेको संरचना

वीरेन्द्रनगरको घण्टाघरको इतिहास करिब चार दशक पुरानो छ । उपलब्ध विवरणअनुसार २०४४/०४५ सालतिर चीन सरकारको सहयोगमा यसको निर्माण भएको थियो । निर्माणमा त्यतिबेला ७० लाख ७९ हजार पाँच सय ४० रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ ।

त्यसबेला अहिले जस्तो मोबाइल फोन, डिजिटल घडी र सूचना प्रविधिको पहुँच थिएन । घण्टाघरको घडी चल्नु र हरेक घण्टामा धुन बज्नु वीरेन्द्रनगरवासीका लागि दैनिक जीवनकै एउटा हिस्सा थियो । तर, प्रविधिको विकाससँगै घडीको प्रत्यक्ष उपयोगिता घट्दै गयो ।

घण्टाघरको घडीसमेत लामो समय बन्द रह्यो । करिब १२ वर्षसम्म घडीको सुई नचलेपछि यसको अस्तित्व र संरक्षणमाथि प्रश्न उठेको थियो । २०७९ सालमा पुन: नयाँ घडी जडान भएपछि घण्टाघरले फेरि समय देखाउन थालेको हो ।

पर्खालदेखि पार्कसम्म लगानी

घण्टाघरको संरक्षण र आसपासको क्षेत्र व्यवस्थापनमा वीरेन्द्रनगर नगरपालिकाले पछिल्ला वर्षमा लगानी बढाएको छ । पुरानो पर्खाल जीर्ण भएपछि नयाँ पर्खाल निर्माण गरिएको थियो । पहिलो चरणको पर्खाल निर्माणमा करिब ४६ लाख रुपैयाँ खर्च भएको र दोस्रो चरणमा मुख्य गेटसहितको पर्खाल निर्माणका लागि करिब ५५ लाख रुपैयाँको ठेक्का व्यवस्थापन गरिएको नगर प्रमुख मोहनमाया ढकालले बताइन् ।

त्यसपछि नगरपालिकाले घण्टाघर क्षेत्रलाई फराकिलो अवधारणामा विकास गर्न थालेको छ । खुला पार्क निर्माणमा करिब ९६ लाख रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । चालु योजनाअन्तर्गत पार्क निर्माणका लागि एक करोड २६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको विवरणसमेत सार्वजनिक भएको छ । पार्क निर्माणका लागि ८९ लाख १३ हजार रुपैयाँको ठेक्का सम्झौता भएको र कामलाई २०८३ असारसम्म सम्पन्न गर्ने गरी अघि बढाइएको थियो ।

नगरपालिकाले घण्टाघर पार्क र घण्टाघर दक्षिण पार्क निर्माणलाई बजेट तथा कार्यक्रमअन्तर्गत राखिएको छ । आर्थिक वर्ष २०८२/८३ को मध्यावधिसम्म घण्टाघर दक्षिण पार्कका लागि १ करोड २९ लाख रुपैयाँ बजेटमध्ये ४० लाख ९३ हजार रुपैयाँ खर्च भएको र घण्टाघर पार्कका लागि १ करोड २६ लाख रुपैयाँ बजेटमध्ये ६ लाख ९१ हजार रुपैयाँ लगानी गरिएको छ ।

‘ग्रेटर घण्टाघर’को अवधारणा

वीरेन्द्रनगर नगरपालिकाले घण्टाघरलाई अझ फराकिलो क्षेत्र समेटेर ‘ग्रेटर घण्टाघर’का रूपमा विकास गर्ने योजना अघि सारेको नगर प्रमुख ढकालले बतताइन  । यसअन्तर्गत व्यवस्थित पार्क, सार्वजनिक क्षेत्र, सभा हल, फोरलेन सडक, बाल उद्यान, योग क्षेत्र, सार्वजनिक प्लाजा, व्यापार क्षेत्र तथा बहुउद्देश्यीय संरचना निर्माण गर्ने योजना छ ।

घण्टाघरको पश्चिमतर्फको खाली क्षेत्रमा खुला पार्क निर्माण गरिएको छ । त्यहाँ नागरिकलाई बस्न बेन्च, सार्वजनिक कार्यक्रम गर्न मिल्ने स्थान तथा सांस्कृतिक गतिविधिका लागि खुला क्षेत्र बनाइएको छ । देउडा, सम्मेलन, बहस तथा अन्य कार्यक्रमका लागि समेत यो स्थान प्रयोग हुन थालेको नगरपालिकाले जनाएको छ ।

यस अर्थमा घण्टाघर अब ‘घडीसहितको पार्क’ मात्र होइन, सार्वजनिक जीवनसँग जोडिएको खुला नागरिक क्षेत्र बन्न खोजिरहेको छ ।

सामाजिक सञ्जालले बढाएको आकर्षण

मोबाइल फोन र सामाजिक सञ्जालको विस्तारले पुराना पर्यटकीय संरचनाको अर्थसमेत परिवर्तन गरेको छ । घण्टाघर यसको एउटा उदाहरण हो । पहिले मानिस घडी हेर्न घण्टाघर पुग्थे । अहिले घण्टाघरलाई पृष्ठभूमिमा राखेर फोटो तथा भिडियो बनाउन मानिस पुग्छन् । पछिल्लो समय घण्टाघर पार्कमा दैनिक चार–पाँच सय नागरिक पुग्ने गरेको तथ्यले यसको नयाँ आकर्षणलाई देखाउँछ ।

वीरेन्द्रनगरमा सार्वजनिक खुला स्थानको मागसमेत देखाउँछ । बढ्दो सहरीकरणबीच मानिसलाई नि:शुल्क वा सहज रूपमा बस्न, भेटघाट गर्न र केही समय बिताउन मिल्ने ठाउँ आवश्यक हुन्छ । घण्टाघरले त्यही आवश्यकता पूरा गर्ने एउटा सार्वजनिक स्थानको रूप लिन थालेको देखिन्छ ।

अब चुनौती संरक्षण र व्यवस्थापनको

घण्टाघरमा मानिसको आकर्षण बढेसँगै व्यवस्थापनको चुनौती पनि थपिएको छ । ठूलो संख्यामा मानिस आउने स्थानमा सरसफाइ, शौचालय, सुरक्षा, पार्किङ, हरियाली, बत्ती र संरचनाको नियमित मर्मत आवश्यक हुन्छ ।

नगरपालिकाले शौचालय, बगैँचा, गार्ड हाउस तथा टिकट काउन्टरलगायत संरचना निर्माण गरिरहेको जनाएको छ । पार्कलाई व्यवस्थित गरेपछि शुल्क निर्धारण गरेर सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ । तर घण्टाघरको मूल्य केवल टिकट बिक्री वा भौतिक संरचना थप्नुमा सीमित हुनु हुँदैन । चार दशक पुरानो ऐतिहासिक संरचनाको मौलिकता जोगाउँदै नयाँ पुस्ताका लागि आकर्षण थप्नु मुख्य चुनौती हो ।

घण्टाघर वीरेन्द्रनगरको इतिहाससँग जोडिएको संरचना हो । यसको संरक्षणसँगै आसपासको क्षेत्रलाई सार्वजनिक, सांस्कृतिक र पर्यटकीय गतिविधिको केन्द्र बनाउने प्रयासले सहरको सार्वजनिक जीवनमा नयाँ आयाम थप्न सक्छ ।

आज घण्टाघरले दुई कुरा एकसाथ देखाइरहेको छ—घडीले समय बताइरहेको छ, तर त्यसको वरिपरि बदलिँदो वीरेन्द्रनगरको समय पनि देखिइरहेको नागरिक अगुवा मोहन मल्लले जानकारी दिए ।

 

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?